
घमण्डी मान्छे र सल्किएको चुरोटको खिल्ली उस्तै
घमण्ड केका लागि !
विमल गाउँले
गुल्मी, जुभुङ्ग ७, ठुलाचौर ।
जन्म अर्कैले दियो । सित्तैमा हुर्कायो, बढायो । ठुलै मान्छे बन्ला भनेर पढायो त्यो पनि सित्तैमा !
कलेज जाँदा पनि बाईक दियो । त्यसपछि ब्राण्डेड बाईक, अनि गाडी, लुगा, चस्मा, रेष्टुरेण्टका मिठा मिठा खाना पनि अर्कैको पैसले खायो । नेपालमा मनोरन्जन पुगेन अनि विदेशिने सोच बनायो त्यो पनि सित्तैमा !
भिसा लगायो, किनमेल गर्यो , प्लेन टिकट पनि सित्तैमा !
विदेशमा एयरपोर्टसम्म लिन आफ्नै मान्छे आयो, आफन्तकै अपार्टमेन्टमा बस्यो, त्यो पनि सित्तैमा !
विदेशमा घुम्ने गाडी पनि साथीको मिल्यो, विदेशको हरेक समस्या अरुले नै हल गरिदियो सित्तैमा !
साहुको रेष्टुरेण्टको खाना, खाजा, ब्राण्डेड रक्सी, बियर, वाईन, ह्विस्कीको चुस्की लगायो त्यो पनि सित्तैमा ! फी तिरिदियो अर्कैले ।
२/३ बर्षमा नेपालसम्म आउने सबै खर्च अरूको, अनि त्यसले गर्ने गफ पनि अरूकै । बिहेमा केटी पायो अर्कैले हुर्काएकी सित्तैमा । महिना दिनसम्म घुम्दै बितायो, मौजमस्ती गर्यो सबै सित्तैमा !
अबचाहिँ एकदिन रिन लिएको पैसा सकियो, हिजो आफ्ना भनिएकाहरू विभिन्न कारणले टाढिए । पैसा पनि सकियो, श्रीमती आफ्नी हो अरू मतलब छैन भन्ने मान्छे आज सामाजिक संजालमा कुर्लिरहेको हुन्छ सित्तैमा । श्रीमती लाई फकाएर लिएका गहनाले रमाउँछ फेरि सित्तैमा ।
श्रीमती पनि विभिन्न बहानामा झगडा गर्न थाल्छे । विदेश जाने दिन पनि आयो अनि फेरि रिन थप्यो र गयो ।
केहि दिनमा प्रियसीलाई पनि ढाँटेर एक्लियो । रंगिन संसारमा रमाउन थाल्यो । १/२ बर्ष बितायो आयो-गयो । आऊने जाने क्रम रोकिएन ।
फेसबुक टिकटकमा मनका बहहरू पनि पोख्दै गयो ।
जब कमाएर खाने दिन आयो, तब जीवनको वास्तविकता बुझ्न थाल्यो । पछिल्ला दिनमा निकै कमायो तर यसरी कमाएको पैसाले मोज गर्न मन लागेन । जीवनले सकारात्मक मोड लिँदै थियो तर निकै ढिला भइसकेको थियो । एकदिन बिरामी पर्यो । केही दिनको हस्पिटल भर्नाकै क्रममा मृत्यु भयो त्यो पनि विदेशमा । आफन्तसँग एक्लिएको उसको श्रीमतीबिनै दाहसंस्कार सकियो । त्यो पनि अरू कसैले सित्तैमा गरिदिए ।
अब यहाँ श्रीमती एक्ली भईन् । समय पनि बित्दै गयो । पछि उनी पनि आफ्नै संसारमा रमाउँदै गइन् ।

विदेशमा दु:ख गरेर जम्मा गरिदिएको पैसाले उनले पो मजा लिँदै छन् । हिजो उसले अरूको खायो सित्तैमा तैपनि उपलब्धि केही हुन पाएन । अहिले श्रीमती बल्ल रंगिन दिनहरू बिताईरहेकी छन् । उनको घमण्ड चर्को छ । अरूकै पैसामा ! एक दिन उनी पनि सकिने दिन आउँछ ।
संसार अरूले नै चलाइदिन्छ र पनि मान्छे घमण्ड गरिरहन्छन् केका लागि !
भन्न सकिन्छ घमण्डी मान्छे र सल्किएको चुरोटको खिल्ली उस्तै हो भन्दा फरक नपर्ला !
जन्मजात मान्छे घमण्डी भएर जन्मिएको हुदैन तर तिनीहरूले देखाउने गुण र दोषका आधारमा मान्छेको पहिचान गरिन्छ ।
जब मानिस क्षणिक सोचबाट ग्रसित हुन्छ, तब उस्का सपनाहरू पनि क्षणिक नै बन्छन् ।
सोच बदलौँ । घमण्ड त्यागौँ । हामी अधिकांश अर्कैको सहारामा बाँचेका बेला पनि घमण्ड गर्छौँ अनि अरुलाई ढाँटेका बेला पनि घमण्ड गर्छौँ । आखिर केका लागि !
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)