सत्य बोलेकोमा कुरीकुरी
रुपा पौडेल
कुपन्डोल, ललितपुर
सत्य तीतो हुन्छ भन्ने उक्ति मानिसमा पुर्ण रुपले चरीतार्थ हुन्छ । कसैले साँचो कुरा गरिदियो भने हामीलाई यति धेरै रिस उठ्छ कि त्यो रिस दिमागसम्म आइपुग्दा मानौ चारैतिर अन्धकार छाएजस्तै हुन्छ । के गरुम् ? कसो गरुम् ? रिस थाम्नै सकिँदैन । अगाडि जो छ, त्यसैमाथि रिस पोखायो अनि गाली थोपार्यो । अगाडि कोही छैन भने बाटोमा साथीभाइ वा आफन्त जो भेटिन्छ त्यसमाथि रिस बिसायो । होइन भने घरमा गएर आफुले अलिक हेप्न सकिने परिवारका सदस्यलाई त्यो कालो रिस पोख्यो । नत्र आफै मुर्मुरिदै कालो अनुहार लगाएर बस्नुबाहेक अन्य विकल्प नै रहँदैन ।
साँच्चिकै कलियुगले बृहत रुपमा आफ्नो जरा गाडिसकेको छ । अब कसले कसलाई सम्झाउने ? साँचो कुरा त गर्नै हुँदैन । काँचै खाउँला जस्तै गरी हेर्छन् । बरु त्यो भन्दा मनमा लागेको कुरा मनमै राख्यो र मुखले एकदम नौनी दलेर ठिक्क पारेर प्रसंशा गरिदियो, चाहे त्यो झुठो नै किन नहोस् । ऊ पनि खुसी आफू पनि खुसी । मुखमा रामराम बगलीमा छुरा । कसले देख्छ र ? कहीँकतै आत्मग्लानी भैहालेछ भनेनी । तर, आजकल यति गहिरिएर सोच्ने फुर्सद कमैलाई होला । गहिराइमा डुब्नेहरुले ढाँट्दै ढाँट्दैनन् । जसले ढाँट्छन्, तिनीहरूले सत्यको अर्थ र सत्यको गहिराई नै बुझेका हुँदैनन् । त्यसैले कलियुगे जीवनको कलियुगे भोगाइ अनि यस्तै सोचाइ । ‘आफू बाँच्न पाउँ र अरुलाई … ?’
मानिस भएर जन्मिएपछि कमजोरी त हरेक मानिसमा हुन्छ । पुर्ण रूपमा सम्पुर्ण भगवान त हुदैनन् भने नाथे मान्छे कसरी होस् । फेरि मान्छेलाई यहाँ नाथे भन्दा ठुलो आपद भनौं वा वित्यास पर्न बेर छैन । किन नाथे भनिस् भनेर । दिमाग खियाएर सोच्यो भने यो कुरा पनि सही नै हो । मान्छे कसरी नाथे हुन्छ ? भगवानले गर्न नसक्ने काम अहिले मान्छेले गरिरहेका छन् अनि नाथे भन्नु त डरलाग्दै कुरा होइन त ?
विज्ञान र प्रविधिले कस्तो चमत्कार गरिसक्यो । चमत्कार वास्तवमा विज्ञान र प्रविधिले होइन, मानिसले नै गरेको हो अनि मानिस कसरी नाथे भयो ? विज्ञानविना संसार चल्दैन अनि मानिस (वैज्ञानिक) विना विज्ञान र प्रविधी चल्दैन । सम्पुर्ण तागत, बल र बुद्धि सबै मानिसको हातमा छ अनि नाथे मानिस भन्दा त वित्यास परिहाल्छ नि ।
अस्ति भर्खरैको कुरा हो हाम्रै छिमेकी दाइलाई ‘अहो ! दाइ आजकल त तपाईलाई देख्नै मुस्किल परिसक्यो । धेरै नै ब्यस्त हुनुहुन्छ कि ?’ भनेर प्रश्न गरें । दाइले सिधा उत्तर दिनुभो, ‘कहाँ बहिनी ? म त अस्पतालमा थिएँ नि । भर्ती भएको थिएँ, अलिकति लिभरको समस्या भएर ।’ पहिला त आफू उहाँको शारीरिक अवस्थाबाट अनविज्ञ रहेकोमा क्षमा प्राथना गरेँ ।
फेरि मुखबाट फुत्तै निस्किहाल्यो, ‘अलिक होश् गर्नुहोस है दाइ, धेरै पिउनु भएजस्तो लाग्यो ।’
यति मात्रै के भनेको थिएँ । दाइ त एक्कासी बम्किन थाल्नु भयो, ‘तिमी डाक्टर हौ ? तिमीलाई थाहा छ म के भएर बिमारी परेँ ? बुझ्नुसुझ्नु छैन, जे मन लाग्यो, त्यही प्याच्च बोल्यो ।’
म त लाजले रातो, पिरो, हरियो, पहेँलो, के के भएँ भएँ, आफैलाई कुरीकुरी लाग्यो सत्य बोलेकोमा ।
उहाँ असाध्यै पिउनु हुन्छ । यो कुरा टोलमा सबैलाई ज्ञात छ । भाउजूले त कतिपटक मसँग दुखेसो पनि पोख्नु भएको थियो, दाइको पिउने बानीलाई लिएर । तर के गर्नु मुखबाट फुत्तै साँचो कुरा अनायासै निस्किहाल्यो । आफैले आफैलाई मनमनै सान्त्वना दिएँ, ‘अबदेखि विचार गरेर मात्र बोल्नु है ।’
मानिसको जन्मजात स्वभाव नै हो, यस्तो साँचो कुरा कसैलाई पच्दैन् । अपवादको रूपमा छन् कतिपय मानिसहरु जो वास्तविकतालाई स्वीकार्दछन् । प्रेममा रमाउँछन् अनि सत्यलाई आफ्नो जीवनको मार्ग ठान्दछन् । तर पनि साँचो बोल्न धेरै सोच्नुपर्ने रहेछ अनि सोच्नलाई दिमाग खियाउनु पर्यो । दिमाग खियाउन बलियो मुटु र भित्री तागत पनि चाहियो । साँचो कुरा गर्न यति धेरै बल, तागत र क्षमता खर्च गर्नुपर्यो बरु सोच्दै नसोची ढाँटेर कुरा गरिदियो, जे पर्छ त्यही टर्छ भने झै । ऊ पनि खुसी । आफ्नो पनि दिमाग, मुटु र बलको हिफाजत हुने । किन बेकारमा यस्तो महँगीलेले पिरेको समयमा बल्लबल्ल दुई हात दश नंग्रा खियाएर कमाएको मेहेनतको पैसाले पुगनपुग दुई छाक खाएर सन्चय गरेको बल बेकारमा खेर फाल्नु ?
इमान्दारीले कमाएको दुई पैसा जगेडा गर्न नसकेको बेलामा साँचो कुराले सुन्नेलाई उल्टो प्रभाव पार्यो र म जस्तो भए पनि तँलाइ के सकसक लाग्यो र, के खाँचो पर्यो भन्दियो भने त एक त कमजोर दिमाग र थुपारेको बलको नाश । फेरि काँचै खाउँला जस्तो गरेर करायो भने कोलस्टोरले खियाएको मुटुमा हार्ट फेल हुने सम्भावना ।
आजकल त भन्न सकिदैन कसैको त मुखभन्दा हात छिटो चल्छ । भरे हात खुट्टा लगाएर एक कसेर दियो भने त भुतुक्कै भइन्छ । फेरि उपचारको खर्छ कता र पुलिस केससेस गरुँ भने त्यस्तो झन्झट कस्ले ब्यहोर्ने ?
त्यसमाथि पुलिसले उल्टै ‘तिमीलाई केको खसखस पर्यो, जसले जेसुकै गरोस, तिम्रो कमाइ त खाएको छैन’ भनिदियो भने त परेन मर्का, भोभो यस्तो कामै नगररौं । तर के गर्नु ? मनै मान्दैन, जति मनाउन खोज्छु, त्यति नै बुरुकबुरुक उफ्रिन्छ, चाहे जेसुकै होश् साँचो भनिदिन्छु अनि त राम भरोसे छोडिदिन्छु ।
केही महिनाअघिको कुरा हो । एकजना असाध्य मिल्ने आफन्त दिदीको एउटै मात्र छोरा सरकारी विद्यालयमा कक्षा आठमा पढ्छ । घरको आर्थिक अवस्था त्यति दरिलो छैन । निजी विद्यालयमा छोरालाई पढाउने उहाँहरुको धोको मनभित्रै अधुरो रहेको छ । तर, पनि लाउन, खान र दिन कुनै कमी राखेका छैनन् । हो, त्यही आँखाको तारा, दिदीको बाबुले मज्जाले चुरोट तान्दै गरेको मैले मेरै आखाले देंखे । मन थाम्न सकिनँ । यताउता साथीसङ्गत पत्ता लगाएर बुझ्दा त उहाको प्राणप्रिय छोराले खै क्याप्सुलस्याप्सुल, गाँजासाँजा के के पनि घिच्दोरहेछ, सानो उमेरमै ।
मुटु चसक्क दुख्यो आमा बाबुको मीठो सपना सम्झेर अनि कलिलो छोराको तितो यथार्थता देखेर । तैपनि समय बितिसकेको छैन । मानिसले हिम्मत हार्नु हुँदैन । उसलाई प्रयास गरेर सुधारेर राम्रो बाटोमा ल्याउन सकिन्छ । यही सोचेर दगुर्दै दिदीको घरमा गएँ अनि खिन्न मन र दुखित स्वरले यथार्थ मात्र के उजागर गरेको थिएँ, दिदीले त वास्तविकता र सत्यलाई नबुझिकनै ममाथि पो उल्टै आरोप लाउनु भयो, डाह र इर्ष्याको । म त छाँगाबाट खसेझै भएँ । मनमा ठुलो विश्वास लिएर दिदीकोमा गएकी थिएँ, कतै हाम्रो प्रयत्नले उसलाई सही बाटोमा ल्याउन सकिन्छ कि भनेर । तर, दिदीले वास्तविकता नबुझिकनै … ?
मेरो र दिदीको घनिष्ठ सम्बन्ध सदाको लागि टुट्यो तर मलाई सम्बन्ध टुटेको घाउभन्दा उहाँले वास्तविकतालाई ननियाली आफ्नो सन्तानको जीवन अझै अन्धकारतर्फ धकेलेको अनुभवले भित्रदेखि आङ जिरिङ्ग भएर आयो । तर के गर्नु ? साँचो बोल्नुको सजाँय यति धेरै भयावह ! तर, पनि हिम्मत हारेको छैन । आशा गर्दछु, उहाँहरुलाई पनि एकदिन अवश्य नै सत्यको ज्ञात हुनेछ ।
तर हिम्मतले मात्र कहाँ हुँदो रहेछ र ? हिम्मत सँगसँगै बुद्धि पनि लाउनु पर्दो रहेछ । बुद्धिविनाको हिम्मत के काम ?
बरु बुद्धि लाएर कुरालाई यताउति खोला वा हँसिया जस्तै घुमाएर भन्न जान्यो भने अलिकति लाज बच्छ कि ? नत्र उही हो, साँचो हो भनेर सत्य कुरा गर्यो, कुरा सकिँदानसहिँदै गलहत्याएर निकालिदियो भने त मुख लुकाएर भिजेको बिरालो जस्तो भएर लुरुक्क परेर आफ्नो बाटो तताउनबाहेक केही विकल्प नै रहँदैन ।
त्यसमाथि देख्नेलाई रमिता, भोग्नेलाई लाज । साँचो बोल्नुको यत्रो ठुलो सजाँय । बाफ रे बाफ ! सोच्दा मात्र पनि हात खुट्टा लल्याकलुलुक भएर आउँछ । तर, हरेसचाहिँ खाएकी छैन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)