
रिस खप्न नसकेर रानी ढोकाभित्र पसिन्, भगवती रिसाउँदै अलप भइन्
मल्लकालका एक राजा तलेजु भवानीसँग आधा रातमा पासा खेल्दै राजकाजसम्बन्धी सरसल्लाह गर्थे । यो कुरा राजाबाहेक भाइभारदार र रानीलाई समेत थाहा थिएन ।
कसैले पनि थाहा नपाउन् भनेर तलेजु भवानीले राजालाई कडा रुपमा आदेश दिएकी थिइन् । कसैले थाहा पाएमा आफू नआउने धम्की दिएकी थिइन् । त्यसैले राजा सबै सुतिसकेपछि आधारातमा भवानीसँग भेट गर्न जान्थे । आफूसँग सँगै सुतेका राजा नभेटेपछि रानीको मनमा चिसो पस्यो र रातभर जागा बसेर चियो गर्दा राजा आधारातमा उठेर हिँडे । उनी पनि पछिपछि लागिन् । कोठाको ढोकामा कान थापेर सुन्दा राजा तरुनीसँग हाँस्दै कुरा गरेको सुनिन् । रिस खप्न नसकेर रानी ढोका खोलेर भित्र पसिन् । तत्काल भगवती रिसाउँदै अलप भइन् ।
राजा पनि रानीसँग साह्रै रिसाए । उनलाई राजकाजमा सघाउने कोहि भएन । भोलिपल्ट सपनामा भगवतीले पीर नगर्न र बत्तिस लक्षणले युक्त कुमारी केटी खोजेर स्थापना गरी उनैसँग सल्लाह गर्न भनिन् । खोज्दै जाँदा शाक्यवंशमा फेला परेपछि भगवतीको रुपमा स्थापना गरेर उनैसँग सल्लाह गर्न थाले । अब मानवरुपमा प्रकट भैसकेपछि सम्पूर्ण प्रजालाइ दर्शन दिन आग्रह गरे । तलेजु भवानीले पनि स्विकृति दिइन् । र, राजाले जात्राको शुभारम्भ गरे ।
त्यहि जात्रा जिवित देवी कुमारी जात्राको रुपमा प्रख्यात छ ।





(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)