‘नानी शर्मिला ! कसले बनाउँछ तिमीलाई राजदूत ?’

गो अहेड

कमल ढकाल

नाता । शब्द मार्मिक छ । धार्मिक छ । पारस्परिक र हार्दिक छ ।

एउटै कुलमा जन्मेका, विवाहबाट जोडिएको पारस्परिक सम्बन्ध, गोत्र कुटुम्बको सम्बन्ध वा साइनुलाई नाता भनिन्छ । जीवनमा नाताहरु यस्तरी आउँदछन् कि को कतिबेला कसरी आउँछन् थाहै हुँदैन । मन परे पनि नपरे पनि नाताहरु, नातेदारहरु भेटिन्छ, बोलिन्छ ।

जीवनमा धर्म, मर्म, पर्वमा नातेदार भेटिरहनु पर्दछ ।

रगतको नातासँगै भावनाको नाता भयो भने त्यहाँ झन् बढी हार्दिकता, प्रेम र समर्पण हुन्छ, हुँदोरहेछ । स्नेह र माया नातादारी भयो भने नाताको गाथा अझ मज्जाले बढ्दछ, बढ्दोरहेछ ।

कुरो २०६२ सालको हो । अनुहार हिन्दी फिल्मकी हिरोइन रानी मुखर्जीसँग मिल्ने र अलिकति स्वर पनि उनको जस्तै भएको, गोलो र बाक्लो गाला, कपालको कट पनि रानी मुखर्जीसँग मिल्ने एक केटी पुरानो बानेश्वरको मेरो अफिसको कोठामा देखा परिन् । त्योभन्दा अगाडि मेरो भाइ विमल ढकाल जसलाई मेरो जीवनको सनसाईन भन्ने गर्दछु । भाइ भए पनि मेरो जीवनको दाइ जस्तो लाग्दछ ऊ । ऊ मलाई कृष्ण जस्तो र म आफूलाई बलराम जस्तै लाग्दछ । बुबाको महाप्रस्थान २०५५ सालमा भएको र २०५७ सालमै बिदेशिएको ऊ मलाई जहिले पनि नियास्रो लाग्ने मान्छे थियो । उसलाई सम्झेर नियास्रोले म धेरैपल्ट रोएको छु । उसलाई चिठी लेख्दा कागजहरु बीचबीचमा आँशु झरेर उस्सै फुल्दथे । उतिबेला फोन गर्न पनि गाह्रो र इमेल गर्न पनि गाह्रो समय थियो तर साइबर देख्ने बित्तिकै छिरेर इमेल वा फोन गर्न मन लागिहाल्थ्यो । हरेक साइबरमा म उसैलाई देख्दथेँ र छिरिहाल्थेँ । इमेल गर्दा पनि मायाले गह भरिन्थ्यो ।

ऊ मेरो भाइ, छोरा, साथी र अभिभावक झैँ लाग्दथ्यो ।

उसैले भनेर भेट्न आएकी ती रानी मुखर्जीजस्ती केटी मलाई भेटन आउँदा नै उनको काठमाडौं पोष्टमा निक्लिएको आर्टिकल र उनले गरेका अभियानहरु लिएर आएकी रहिछन् । केही बेर बसेर चिया खाएर उनी छुट्टिईन् । शान्ती र्याली गरेको फोटो र बच्चामै सरस्वती पूजा गर्न पैसा उठाएको र मन्दिर बनाएको छापिएको पत्रिका बोकेर आएकी थिइन् ।

बेलुकै विमलले फोन गरेर सोध्यो, ‘आज कोही भेटन आएको थियो ?’

मैले भनेँ, “अँ, आएको थिइन् एकजना …’

उसले सोध्यो, ‘कस्तो लाग्यो ?’

मैले भनेँ ‘मोटो मोटो स्मार्ट छिन् ।’

उसले ‘मन पराएको छु’ भनेन । मैले ‘बाबु ! तैँले मन पराएको रैछस् नि ! हैन’ भनेर सोधिनँ । हामी दुवैले घुमाउरो तरिकामा त्यही दिन दुवैलाई मन परेको बताएको थियौँ ।

विदेशमा पढ्न गएको बेला उसले भेटेको रहेछ र ‘प्यारको इजहार एक अर्काले उतै गरिसकेको’ गाईगुँई उनी मेरो अफिसमा नआउँदै आइसकेको थियो ।

विमल मेरो मनको मान्छे थियो । मजस्तै थियो । हरेक कुरा उसले नभने पनि म बुझ्दथेँ । मैले नभने पनि ऊ बुझ्दथ्यो कि ! यतिसम्म कि फोन गर्दछु भनेर उसले थिच्दा म फोन गरिरहेको हुन्थेँ । मैले फोन गरौँ भनेर थिच्दा उसको फोन आएको हुन्थ्यो । एकै पल्ट एकै शब्द कतिऔँ पल्ट हामी उच्चारण गर्दथ्यौँ । अनि हाँस्दथ्यौँ । उसले मन पराएको कुरा नबुझ्ने कुरै थिएन ।

उसले मन पराएपछि उनी पनि मलाई मन परिन् । २०६२ सालमा मेरो विवाह भयो । विवाहपछि सिर्जना उनी अर्थात शर्मिलाको साथी जस्तै भईन । उनी सिर्जनासँगै मुलपानी घरमा आउन थालिन् । घरमा आमा, वालविधवा फूपु (जसले बुबालाई पनि हुर्काउनु भएको थियो) हुनुहुन्थ्यो । सानो भाइ निर्मल सानै थियो । दिदिबहिनीको विवाह भैसकेको थियो । हामी फूपुलाई पनि आमा नै भन्दथ्यौँ । आमाहरु र निर्मल सबैसँग चिनजान गरिन् ।

मैले भनेँ, ‘हाम्रो विमलुले मन पराएको मान्छे हो आमा ।’

हाम्रो कल्चर भन्दा फरक थियो, विवाह पहिल्यै प्रेमिका चिनाउनु । उहाँहरुलाई अप्ठ्यारो लाग्यो । मान्छे आफ्नोभन्दा पनि समाजले के भन्लान भनेर आत्तिन्छन् । आमाहरुले पनि त्यस्तै भन्नुभयो । विमल घरको नानी थियो । ऊ हरेक कुरामा मभन्दा माथिल्लो तर नातामा मात्र मेरो भाइ थियो । उसले मन पराएको भनेपछि राम्रै गरेको होला भन्ने भयो ।

एक दिन बुढीआमा र आमाले पनि भन्नुभयो, ‘बावुु झापाको भन्छन्, घर बिग्रने त हैन ?’

मान्छेलाई आफ्नो मान्छे राम्रो र अर्काे मान्छे के हो के लाग्दछ । त्यसैले त्यो प्रश्नसँगै उहाँले सोध्नु भयो, ‘विमल सोझो छ, झापाका टाठा हुन्छन् भन्छन्, छक्याउलिन् नि ।’

काठमाडौं झापासँग जहिल्यै आत्तिने मानसिकता त्यसमा लुकेको थियो । काठमाडौंले जहिले भन्दथ्यो, ‘झापामा छोरी दिनु, छोरी नलिनु ।’

कारण छोरी दिँदा आफ्नो छोरी बाठा हुन्छन् र छोरी लिँदा आफ्नो छोरा लाटो हुन्छ र छक्याउँछन् । यस्तै सोच थियो काठमाडौं र झापाको । त्यो यद्यपि धेरै ठाउँमा कायमै छ ।

बुझ्दै जाँदा उनी आफ्नै खुट्टामा दुःख गरेर उभिएकी । ज्ञानी । पायोनियर काम गर्न रुचाउने उनी डिस्काउन्ट कार्डको एप्रोच नेपालमा ल्याएर क्याम्पेन सुरु गरिरहेकी रहिछन् । कलेज पढ्दै १९ बर्षकै उमेरमा झापाबाट आमा बुबालाई काठमाडौ ल्याएर राखेकी रहिछन् । दुई दाजुलाई र उहाँहरुबाट जन्मेका बच्चाहरुलाई अभिभावकत्व दिएकी रहिछन् । त्यस्तो फुच्चीमा त्यस्तो आँट र हिम्मत देखेर म पनि छक्क परेँ । उनले गरेको संघर्षको ह्ृदयविदारक भनाईले मेरा आँखा भरिएका थिए । उनका दुःख र संघर्षका कथाले मेरो मन पगालेको थियो । मन पग्लिएको त्यतिबेला थाहा भयो, जब उनका कुरा सुनेर आँखामा पानी बगिरहेको थियो ।

जीवन त हो, अगाडि बढिरहन्छ । हरेक जीवनका घटना राम्रैका लागि घट्दछन् । मान्छेले त्यसलाई धैर्यपूर्वक र इमान्दारीपुर्वक हेर्न जान्दैन र मात्र ऊ डराउँछ । नकरात्मक होस् वा सकरात्मक जीवनका एक–एक घटनाले मान्छे बनेको हुन्छ ।

यस्तैमा आयो २०६५ साल बैशाख १५ गते । विवाहको दिन थियो त्यो दिन । विमल र शर्मिलाको विवाह भव्य भयो । म अभिभावकको रुपमा थिएँ । दिनभर व्यस्त भएर त्यो दिनको विवाहको कति फोटो मैले खिच्नै पनि भ्याईनँ ।

उनी त एक अनुशासित बुहारी भएर घरमा प्रस्तुत भईन् । डराउने बुढीआमा नै उनको प्रशंसा गर्ने हुनुभयो । भन्नुभयो, ‘बुहारी त ठिक छ जस्तो छ बाबु ?’

अनुशासित बुहारी भएर हरेक रितिरिवाज पालन गरेर बसिन् । फुच्ची बुहारी झैँ लाग्दथ्यो ।

विवाहपछि व्यापारका लागि उनीहरु दुवई गए । उनीहरु दुईको प्रितको प्रमाणपत्र बासना दुवईमै जन्मिनँ । म हेर्न गएँ ।

त्यही बेला उनले भनिन्, ‘म राजदुत हुन्छु दादा, देशको लागि असल राजदुत बन्न सकियो भने देशलाई फाईदा हुन्छ दादा ।’

म छक्क परेँ । के नचाहिँदो कुरा गरेको ? यति सानी फुच्चीलाई कसले राजदुत बनाउँछ भने झैँ लाग्यो ।

भनेँ, ‘नानी कसले बनाउँछ तिमीलाई राजदुत ? धेरै पढेको पनि छैनौ ।’

उनको दिमागमा पढाईको भूत र राजदुतको भूत सवार भईसकेको रहेछ । सुत्केरी हुने अघिल्लो दिन पनि दुवईको ओलुंगन विश्वविद्यालयमा तकिया च्यापेर पढ्न गएको दृश्य सम्झन्छु । अनि १७ दिनको सुत्केरी उनी बच्चा लिएर पढ्न नेपाल आईन् ।

गर्छु भनेपछि जे पनि गर्ने जोधाहा खालकी उनी २० दिनको सुत्केरी हुँदा पनि बच्चालाई छाडेर शिक्षक बोलाएर दिनभर–दिनभर गरेर १८ घन्टा पढेको देखेर म छक्कै परेँ । उता सानो बालख छोरी रुँदा कसरी पढ्न सकेको होला यो मान्छेले ? झै लाग्दथ्यो । एक त सुत्केरी महिला, त्यसरी दुःख गर्दा भोलि आफ्नो शरीर के होला भन्ने किन नसोचेको ? मलाई बच्चा रोएकोमा हुटहुटी भै सक्यो उनलाई किन नभएको होला ? भनेर मनमनमा प्रश्न बहुत आउँदथ्यो ।

कहिलेकहिँ कस्तो जीवन नबुझेकी मान्छे होलिन ! बच्चालाई आयासँगै राखेर आफू पढ्न कसरी सकेको होला ? हामी केटा मान्छेलाई त त्यो बच्चा रुदा कुन बेला गएर समाऊँ जस्तै लाग्दछ भने उनले त ब्रेस्ट फिडिङ गराउन पर्ने, एक सुत्केरी आमाको स्तन चर्केर दुधको धारा बग्दछ भन्ने सुनेको छु । उनी किन यस्तो भएकी होला भन्ने लाग्यो । तर, बेला बेलामा फुत्त गएर बुबु खुवाएर फेरि पढन आउने रहिछन् ।

मेहनतको फल मिठो भएर निक्लियो ।

उनले पढिन् र मेजर ईङ्लिसमा एमए प्रथम डिभिजनमा पास गरिन् । हरेक कुरा म्यानेज गर्न जान्ने र माया दिएर माया लिन जान्ने उनी केही समय आफ्नो व्यायार व्यवसायमा संलग्न रहिन् । र, नभन्दै २०७४ सालमा उनी राजदुत भएर देखा परिन् ।

दश बर्षमै आफूले आफ्नो युग उनले परिवर्तन गरिन् । उनले मनले सोचेको काम व्यवहारले पूर्णता दिईन् । दशै बर्षमा हामीले (भाइ र मैले) पनि नपत्याएको सपना विपनामा बदलिन् । म सम्झन्छु, त्यतिबेला मेरा भन्ने साथीभाइ पत्रकारले पनि उनलाई नचाहिँदो लेखे । नभएको कुरा लेख्ने, अनुसन्धानमुलक भन्दा पनि आरोपित पत्रकारको पीडित उनी पनि भईन् । भाइ र मैले काठमाडौंको रैथाने भाषामा भन्यौँ, ‘भैहाल्यो छाडिदेऊ । हामीलाई खान लाउन नपुगेको छैन, किन चाहियो, राजदुत ?’

उनले भनिन्, ‘यति दुःख भैसक्यो भने अब किन गिभअप गर्ने दादा ?’

त्यहाँनेर काठमाडौंको रैथाने र झापाको संस्कृति झुलुक्क देखा पर्यो । उनको कुरा सहि थियो । उनी राजदुत भईन् । सायद ३४ बर्षमा राजदुत हुने पहिलो नेपाली महिला भईन् । उनले आफ्नो इतिहास आफै बनाईन् । ओमानको पहिलो नेपाली महिला राजदुत भईन् ।

जब राजदुत भईन्, त्यसपछि उनले चार बर्षको कार्यकालमा गरेको काम नेपाली जनमनले थाहा पाए र उनी अहिले जनताको मान्छे भईन् । जाने बित्तिकै दुई महिनामा नेपालको प्रधानमन्त्री शेरबहादुर देउवाको भिजिट गराईन् । नेपाली राजदुतावासलाई जग्गा लिईन् । अरुले देखेको ठुला कामहरु उनको लागि सानातिना भयो । मैले पनि त्यो लेखिनँ । लेख्न पनि मन लागेन । त्यस्तो त दैनिक जस्तै देशको लागि अनेक काम गरिन् ।

कोरोना आयो । कोरोनाको कालमा नेपालीहरु देश फर्कन खोजे । सरकारले ७५ हजार भाडा दर तोक्यो । गरिब नेपाली घर फर्कंदा भएको कमिशनको खेल उनलाई मन परेन । उनले ३६ हजारमा ओमानको नेपालीलाई नेपाल पठाईन । सरकारको कुरा राजदुत शर्मिला पराजुलीले नमानेको भनेर अनलाईनमा न्युज समेत आयो । मलाई मन पर्ने कुरा उनले के गरेको थिईन भने यहाँ नेपाली घर फर्कंदा होस्टलमा १४ दिन बस्नु पर्ने थियो । त्यो पनि कमिशनको चक्कर थियो । आउने बित्तिकै घर जाउँ भन्ने भावनामा कुठाराघात थियो त्योे । उनले कम्पनीलाई भनेर पिसिआर गराएर डाईरेक्ट घर जाने गरी फर्काईन् । वास्तवमा नेपालीको धेरै पैसा बचेको थियो, त्यतिबेला । पहिलो लकडाउनमा उनले मनैदेखि गरको कामले उनलाई मासले चिन्ने भयो ।

केही समयपछि दोस्रो भेरियन्ट सुरु भयो कोरोनाको । नेपालमा अक्सिजनको अभाव भयो । उनले नेपाली एनआरएनसँग मिलेर राजदुतावासको कोअर्डिनेसनमा ५ सय ६६ सिलिन्डर नेपाल पठाईन् ।

यसले उनीभित्र भएको मानवीय भावना उजागर भयो । परिवारले मात्र थाहा पाएको उनको मन प्रत्यक्षतः नेपाली जनताले जाने । मन त उनको त्यही थियो । हिजो पनि आज पनि । तर आज कर्मले उनको नाम अगाडि आयो र देखियो । कर्मलाई क्रान्ति बनाईन् उनले । मेरो एक जना मित्र बसन्तराज कार्कीको भतिजोको ओमानमै देहान्त भयो । उनको शव नेपाल फर्काउन समय लाग्दथ्यो । तर, उनले तुरुन्तै शव नेपाल पठाएर उनको घरमा समेत फोन गरेर आउने बीमाको कुरा गरिछन् ।

एक दिन भन्दै थिइन्, ‘दादा, ओमानमा नेपालीको लाश राखेर म कसरी खाना खान सक्छु ? कसरी निदाउन सक्छु ?’

मनमनै मैले त्यो बेला बहुत सम्मान गरेको थिएँ ।

अर्काे, ओमानमा जाँदा उनले मेरै अगाडि बिचल्लीमा परेको महिलाको गार्जेन बनेर तीज गिफ्ट दिँदा ती महिलाहरु डाँको छोडेर रोएको देखेको थिएँ । ती महिलालाई राजदुतावासमै राखेर कम्पनी वा कसैलाई भनेर टिकट काटेर उनीहरुलाई नेपाल पठाउनु उनको नियमितता भैसकेको रहेछ । दशै तिहारलगायतका चाडबाड उनी आफै सक्रिय भएर नेपालीहरुसँग बसेर मनाउछिन् ।

आफूले सानो ठानेको रुख ठुलो भएर फल र फूल लाग्दा कस्तो हुन्छ, मलाई शर्मिलाले गरेको कामले यस्तै लागेको थियो ।

धर्तीमा सबैभन्दा लामो आयु इतिहासको हुन्छ । कारण इतिहासमा सबै कुरा अटाउँछ । आफ्नो कर्म इतिहासमा लेखाउन सफल भईन उनी । उनलाई सदैव भन्थेँ, ‘नानी तिमी सबैको आँखाको नानी हुनु ।’

नेपाल सरकारले विश्वास गरेर उनलाई राजदुत बनाएर पठाएपछि मैले लेखेको थिएँ, मेरै फेसबुकको टाइमलाईनमा । ‘जीवन सुन्दर छ । कारण संसारमा सुन्दर मान्छे छन् । नामले, रुपले वर्णले र जातले भन्दा पनि कर्मले हुने सुन्दरता अमर हुने रहेछ । त्यसैले त कालो वर्णका नेल्सन मण्डेला आजसम्म बाँचेका छन् । यस्ता अनगिन्ति उदाहरण पाईन्छ । १५ वटा हिट फिल्म लगातार दिएका राजेश खन्ना भारतीय पहिलो सुपरस्टार मानिन्थे । उनी सुकेर मरे । विनोद खन्नाको त्यही हाल थियो । बाहिरी सुन्दरता मरे पनि कर्मकै कारण दुबैलाई आज पनि फिल्ममा देख्न सकिन्छ ।’

ओमानको राजदुत बनेर धेरै नेपालीको आँखाको नानी बनेको छौ । जति बढी मान्छेलाई आफ्नो प्रकाश छरेर अरुलाई उज्यालो बनाउँछौ, त्यत्ति नै तिमी सुर्य जस्तै हुन्छौ ।

महापुरुषहरु खराव संसार काटेर सुन्दर संसार बनाउँछन् र उनीहरुलाई भेट्दा जीवन सुन्दर लाग्छ । तिमी पनि घरको, समाजको हुँदै देशको र विश्वको सुन्दर मान्छे बन्नु । जिन्दगी सुन्दर छ । सारा पृथ्वी र सिंगो ब्रम्हाण्ड हामीलाई सुन्दरता बर्र्षाईरहेका छन् । सारा मानव जातिका विभिन्न पेशा व्यवसायले हामीलाई कसरी सुन्दर पारौ भनेर कुदिरहेका छन् । तिम्रो जन्मदिनले तिमीलाई झन् सुन्दर पारिरहेको छ ।

अर्काे दिन फेसबुकमा यस्तो लखेथेँ । जीवन त्यहाँदेखि यहाँसम्म आईपुग्दा धेरै परिवर्तन भयो । हरेक परिवर्तनलाई सकारात्मक ढंगले हेर्ने तिम्रो बानीले तिमी जीवन जस्तै अगाडि बढेर महामहिम राजदुत बन्न सफल भयौ । तिमीलाई देखेपछि लाग्दछ, एक बर्षमा पनि जीवन कत्ति परिवर्तन हुँदो रहेछ । जसको उदाहरण आफै बनेर देखायौ । मेरो छोरी, बुहारी र साथी हो भन्ने डाइलग पनि थोत्रो हुन लाग्यो । हाम्रो आँखाको नानी तिमी सबको बन्दैछौ । खुशी लागेको छ । ह्याप्पि बर्थ डे ।

जीवनमा अंकभन्दा अर्थ बढी महत्वपूर्ण हुन्छ । प्रेमको अर्थ जीवनमा अपरम्पार छ । जहाँ प्रेम छ, त्यहाँ १० बर्ष १ बर्ष जस्तो लाग्दैन । विमल र सरुको प्रेम यस्तै छ । यो प्रेमिल जोडी एकअर्कामा जोडिएकोमा हामी खुशी छौँ । परिवार र समाजलाई खुशी राख्दै देश र विश्वलाई खुशी दिने यस्तो जोडी हाम्रै घरमा छ भन्दा हामी खुशी छौँ । छोरीजस्तै भाइ, छोरी बहिनी जस्तै बुहारी, साथी जस्तै बुहारी पाउँदा हर्षित छु । जुगजुगको जोडी बनोस् ।

एकमा एक थपिदा यस्तै हुँदो रहेछ ! कस्तो कस्तो हुँदो रैछ ? हो १ र १ कहिलेकहिँ ११ हुँदो रहेछ । यस्तै भईरहेछ ।

हरेक एनिभर्सरी, बर्थडे र खुशीको कुरामा पोष्ट गर्नु र बोल्नु, फोनमा भन्नु सामान्य कुरा भयो मेरो ।

अहिले यतिबेला उनको फेसबुको टाइमलाइन भरिएको छ । कारण उनले वद र वाईवलमा महिला विषयमा पिएचडि गरेकी छिन् ।

जीवन चलाउन सबै कुरा मिलाएर जानु पर्दछ भन्ने उनलाई थाहा छ । त्यसैले उनले पिएचडि गरिन् । संसारमा डाक्टर लेखिएपछि त्यो बढी विद्वानमा गनिन्छ । विद्धतामा अहंकारको लेस कम हुन्छ । उनमा त्यो पहिल्यैदेखि छ । म कत्ति गाली गर्दछु । जिस्काएर कहिलेकहिँ उनलाई अपमानपूर्वक बोल्दछु । तर पनि उनी कहिल्यै रिसाउँदिनन् ।

म कहिलेकहिँ छक्क पर्दछु । मभन्दा आठ बर्षले कान्छी मान्छे मभन्दा यति गह्रुँगो किन र कसरी भएको होलिन् ? म आफू आफ्नो अवगुण लेखेर घटाउन खोज्दछु । लेखेर हैन, व्यवहारमा घटाउन नजानेर पटक पटक त्यो दोहोरिन्छ । उनको त्यस्तो छैन । म यत्रो किताबहरु हेरेर आफूलाई विद्वान सम्झन्छु होला र मलाई कसैले अपमानपूर्वक केही भन्यो वा तिमीलाई यो उमेरमा यत्ति पनि थाहा छैन, तिमी नजान्ने, कस्तो रहेछ भन्यो भने मभित्रको अहंकार पैदा हुन्छ र त्यो कालो अहंकारले सट्टामा कालै अहंकार फाल्दछ । उनी जति गाली गरे पनि, रिस उठेको मान्छे अगाडि आए पनि मज्जाले बोल्न सक्दछिन् । केही क्लेश नराखी कुरा गर्दछिन् । आज मात्र होला भन्यो, भोलि पनि त्यही हुन्छ । अनि मलाई लाग्छ, यी नानी फरक धातुले बनेकी होली । म सिलाभरको भए उनी चाँदीको रहिछिन् । म पित्तल भए उनी सुनको रहिछिन् । उस्तै देखिने मान्छे हामी तर कत्ति फरक रहेछौ जस्तै लाग्छ । संसारको अगाडि मैले क्या काम गरेको जस्तो लाग्छ तर जब नानीसँग बस्दछु उसँग अध्यात्म, दर्शन, विज्ञान र ज्ञानका कुुरा गर्छु । म आफूलाई लिलिपुट पाउँछु ।

यस्तो लाग्छ, दयालु मान्छेहरु जीवनमा जब आउँछन् उनीहरुले कालो बादलमा पनि सुर्य देखाउँछन् । त्यसपछि मान्छेले उसलाई धेरै विश्वास गर्छन् । जसका कारण उसलाई आफूसँग आफ्नै विश्वास बढ्दै जान्छ । जब आफूसँग आफ्नो विश्वास बढ्छ, संसारले ऊसँग विश्वास बढाउदै लैजान्छ । उनी पनि अब अन्तराष्ट्रिय मान्छे बनिसकिन् । उनको सामान्य जीवनदेखि असमान्य जीवनसम्मको जानकार म आफै उनको प्रगतिले उनीमा प्रत्युत्पन्न मति पैदा भएको देखिरहेछु । फेरि पनि शर्मिलालाई, नानीलाई, बुहारीलाई, साथीलाई, छोरीलाई, राजदुतलाई, डाक्टरलाई हार्दिक हार्दिक बधाई । जे सोच्यो त्यही गर्न सक्ने, आत्मबल र आत्मविश्वासको खानी, देशप्रति वफादार, देशलाई आमाजस्तै माया गर्ने, एक्सन ओरियन्टेड, संसारमा एक्सोपोजर भएको, नेपाल र नेपालीलाई परिवार जत्तिकै माया गर्ने नानी तिमीले देशको लिड गर्ने क्षमता बनाइसक्यौ ।

अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने तिम्रो यात्राको लागि शुभकामना । गो अहेड नानी शर्मिला ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

2 Comments

  1. हृदय हल्लाउने सिर्जना । बधाई कमलजी । तपाईं फलेको वृक्ष हुनुहुन्छ । कति विनम्र हुनुहुन्छ । जति तपाईं अरूलाई सम्मान गर्नुहुन्छ त्यति नै तपाईं सम्मानित हुनुहुन्छ ।
    गो अहेड कमलजी, गो अहेड शर्मिलाजी ।

  2. बिषयबस्तु गहन र शर्मिलाको कर्म मीठो। त्यो भन्दा लेखन शैली र अभिव्यक्ति कला स्वादिलो । बधाई तथा शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button