अमरबाबुले आँखाभरी आँशु गर्दै दुवै हत्केलाले जयजयकाे आशीर्वाद दिए

अरविन्द रिमाल

बडो उग्र स्वभावको २० वर्षे केटोले सामन्ती शोषक वर्गको ठेट प्रतिनिधि एवम् सुशिक्षित मृगेन्द्रशम्शेर राणाप्रति त्यतिबेला त्यस्तो संयमभाव राखेको सम्झँदा आज ऊ स्वतः आफैँ बडो प्रसन्न अनुभव गरिरहेछ !

एक दिन मृगेन्द्रशम्शेरलाई मेजिस्ट्रेटबाट फेरि बोलावट आयो । त्यसपछि उनी ‘उनीहरुकाे कोठा’मा फर्केनन् । उनलाई अन्त कतै थुनुवामा राखियो वा छाडियो त्यो थाहा भएन । उनलाई आफूबीच नपाउँदाचाहिँ केही समय आफू शून्य लागेको अनुभव नगरिरहन सकेन, ऊ ।

त्यसको भोलिपल्ट उसलाई पनि पूर्जी काटेर थप थुनामा राख्न नख्खु जेल चलान गरियो जहाँ उसका आफ्ना राजनीतिक मित्र, पार्टी कमरेड निर्मल लामा उसलाई त्यहाँ कहिले ल्याउला भनेर जोहो गरी रहेको बेला साँच्चै उसलाई जेलको ढोकाअगाडि ल्याइपुर्‍याउँदा ताली बजाएर प्रसन्न भएको भावलाई पनि उसले झल्झली नसम्झिरहन सकेन । जेल जीवनको सौहार्द्रताको आनन्द त बेग्लै पो हुन्थ्याे!

काठमाडौं-पाटनबाट बुद्धिजीवी, प्राध्यापक तथा समाजसेवीहरू पनि उसकाे निम्तामा त्यहाँ चिया खान आउँदा त्यहाँको साधारणतम अवस्था देख्दा छक्क पर्थे । कोही त्यस होटलको नामको आकर्षणले तानिएर त्यसलाई हेर्न आउँथे अनि तिनीहरू नेपालको एउटा सक्रिय बहुदलीय राजनीतिक क्लबको जमघट स्थलको सरलतालाई देखेर जिल्ल पर्थे । के यही हो त, ‘आज डिल्लीबजार जे सोच्दछ, भोलि गएर नेपालले त्यही दोहोऱ्याउँछ’ भन्ने आख्यानलाई चरितार्थ गर्ने थलो ?

याे थियाे, ऊ त्रिचन्द्र कलेजमा BA final year मा पढ्दाकाे कुरा, २०१० साल !

फेरि भवानी भिक्षुका शब्दमा कथा त सकियाे तर शीर्षककाे कथा त अधुरै रहेकाे लाग्ला,पाठकलाई । हाे पनि ! ऊ यसैबारे रुमल्लिरहँदा उसले पनि पायाे- Archimedesले जस्तै Eureka भन्न मात्र सकेन ।

त्याे त उनै माष्टर अमरबाबुकाे खुला प्रायश्चितकाे उद्गार थियाे ।

जेलबाट छुटेपछि एकदिन साँझ दर्बार हाईस्कूलकाे बाहिरी पेटीबाट टुँडिखेलतिर जानलाग्दा थाेत्राेमा महाथाेत्राे साइकल चढ्दै अमरबाबु जमलतिर आइरहेका थिए । उसले मयालु झुम्रे तालमा निहुरिँदै साइकल चलाउँदै गएकाे अनुहारकाे मानिस देख्नासाथ ‘माष्टरसा´ब, नमस्कार’ भन्याे ! उनी झस्के, अनि अलि अगाडि पुगेपछि साइकल राेकेर पछाडि फर्के । ऊ उनीतिर गएर फेरि नमस्कार गर्‍याे । अनि त झर्न थाली हाले शब्द, क्रन्दन नै भरिएका मार्मिकस्वरमा: ‘बाबू, तिमीरु द्याैता रै छ । हामी कती तुमलाई खाेजतिाे, हामले । हामी दुष्ट पापी, कस्ताे कस्तो गाली गर्‍याे, कति पीट्याे कति, तिमीरुलाई । ओहाे, कहिल्यै क्यै भनेन, बाबू, हामलाई, तिमिरुले ।

‘बाबू, तुमी त political leader नै भएछ, speech पनि orator ले जस्तो गर्दा रे छ, हामीले पनि सुन्याे, ऊ त्याँ, तीनधारा ग्राउण्डमा । हामी बडाे impress भयाे ।’

‘बाबू आजका केटाहरु बहाेत नरामराे । अस्ति हामी साइकल चढ्न लाग्दा हामलाई पछाडिबाट पछारिद्याे, एकजना चिनेकाे दुष्ट केटाेले । बाबू, हामी झन्नैे मरेकाे । ओहाे,बाबू, तुमीहरुकाे गुन!’

अनि अमरबाबुले आँखाभरी आँशु गर्दै दुवै हत्केलाले जयजयकाे आशीर्वाद दिए, उसलाई ।

किन ? किन ? याे घटना उसले सम्झेकाे ?

उसले यसलाई आफ्नाे ‘१९९७ सालदेखि २०१७ साल- एक अवलाेकन’मा लिपिबद्ध गरेर विद्यार्थी समुदायमाथि राणाशासन कालमा अमरबाबु तथा त्यस्तै अरु माष्टरहरुले अह्राएर हाेस् वा नअह्रारिईकन हाेस्, आफूहरुले मालिक प्रणालीकाे नूनकाे साेझाे गर्नगरेका साह्रा उत्पीडन, अत्याचार,निर्ममताप्रति सामूहिक पश्चाताप ठानेकाे लेखेकाे सम्झ्याे । त्यसैले कथालाई यसरी यति लामाे बिट मारेकाे हाे, उसले !

अब त, निकै थरिका गुनहरुकाे उल्लेखले एउगा सानाे कथा नै अपेक्षा गर्नेभएकाे ऊ अर्काे भेटकाे लागि आज मित्रजनमा अभिनन्दन, शुभकामना एवम् जय नेपालकाे अभिवादन गर्ने अनुमति
चाहन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button