
नियतिका अनेक जाेडताेडले ऊ छक्क !
‘हिन्दीसँग पोइल गएकाे भाषा’-२
आजकाे कथारम्भ ७ दशकदेखिका उसका मित्र आनन्ददेव भट्टप्रति यसरी नै श्रद्धासुमन अर्पणबाट निर्दिष्ट भएकाे रहेछ । २००८ सालतिर यिनी अध्ययन गर्न डाेटीबाट त्यतिबेला ‘नेपाल’ नै भनिने काठमाडौँ आउँदा चन्द्रधर उप्रेती एवम् हाम्राे कम्युनिष्ट मैत्री फन्दामा नपर्ने कुरै थिएन, परे । प्रगतिशील अध्ययन मण्डलबाट उत्तीर्ण हुनेे पहिला ‘स्नातक’ भए । विद्यार्थी फेडरेशनका कार्यकर्ता- प्रचारक- वक्ता हुँदै भक्तपुर कम्युनिष्टका जिल्ला ‘राजा’ भए । आफ्नाे पार्टी काडरकाे जाँचप्रखरमा विशिष्ट महासचिव पुष्पलालले यिनलाई अघि बढाउँदै गए ।
लेखकीय प्रतिभायुक्त आनन्ददेव सृजनकाे क्षेत्रमा पनि लम्कँदै गए । ‘साेभियत भूमि’का पृष्ठले यिनकाे नाम फैलाउन र यिनलाई नेपालसम्बन्धी साेभियत साहित्यकार- समालाेचककाे दृष्टिमा ल्याउन सघायाे । झर्राेवादकाे नजिकबाट बुझेका यिनले नेपाली भाषाकाे सुधार तथा सम्बर्द्धनमा याेगदान पुर्याउँदै, साहित्यबाट नेपाल देश तथा जनताकाे यश- कीर्ति बढाउँदै सर्वथा सार्थक जीवन बताउँदै अन्तिम विश्राम लिए ।
यसर्थ आजकाे याे कथा आनन्ददेव भट्टकाे नाम तथा सम्झनामा समर्पित छ ।
…
सन् १९५९ काे सेप्टेम्बरका आखिरी दिनमध्येकाे एक दिन ! कथा अघि बढ्न नपाउँदै, एउटा विषयान्तर हुन पुग्याेे !
ऊ जसरी कथा बताइरहेथ्याे त्याे कथा विधामा पर्छ कि पर्दैन भन्ने प्रश्न स्वत: मनमा उठ्याे ! यसकाे छिनाेफानाे विज्ञ- समालाेचकहरु गर्दै गरून् वा गर्लान्, अहिले ऊ फेसबुककाे सदुपयाेग गर्दै एवम् ‘नेपालनाम्चा’काे साैजन्यलाई धन्यवाद दिँदै अघि बढ्दै जानमा रमाइरहेथ्याे । अनि भविष्यकाे चिन्ता भविष्यलाई नै छाडेर ऊ वर्तमानकाे धरातलबाट अतीतपट्टि फर्किन ‘माेहित’ भइरहेकै समयमा ऊ हठात् अतीतमा डुबुल्की लगाउन पुग्याे ।
…
प्रधानमन्त्री विश्वेश्वरप्रसाद काेइरालाले दरबारबाट नियमविरुद्ध आफूमाथि ‘कम्मर मुनिकाे हिर्काई’ भएकाे त बिर्सेका थिएनन् हाेला, त्यत्राे चलखेल भएकाे थियाे उनलाई प्रम नबनाउनका लागि । तर, पनि उनी संसदीय प्रजातान्त्रिक व्यवस्थाले संवैधानिक राजतन्त्रलाई यथाेचित मान्यता दिँदै, दायाँ – बायाँ प्रतिपक्षकाे समुचित सम्मान गर्दै, आफ्ना पहिलाका राजनीतिक एवम् व्यावहारिक त्रुटिकमजाेरीबाट शिक्षालिँदै अघि बढ्न प्रयत्नशील देखिन्थे ।
यता, नेपालकाे इतिहासमा राजर्षि हुनसक्ने राजा समयविपरीत आफ्नै चक्रव्युहमा आफैँ फस्नाले उत्पन्न भएकाे प्रतिउत्पादक फल भाेग्न बाध्य हुँदाकाे बदला लिने अनिष्ट महत्त्वाकांक्षामा थिए । अनि गाेर्खा परिषद तथा नेपाल कम्युनिष्ट पार्टी आ-आफ्नै तरिकाले संसदीय राजनीतिकाे महत्त्व र अनिवार्यता बुझदैथ्ये ।
अर्काेतिर, आफूमा परम नेतृत्व पद नहुँदा पनि समग्र कम्युनिष्ट आन्दाेलनका एकमात्र प्रतीक रहेका पुष्पलाललाई बाउँठ्याएर समानन्तर उत्तर गण्डक प्रान्तीय कमिटीमै सीमित गर्ने गुटवन्दी चलखेल भइसकेकाे थियाे । तथापि अल्पमतीय केन्द्रीय कमिटी सदस्य शम्भुराम पूरै पार्टीको तर्फबाट राष्ट्रिय सभामा मनाेनीत भएकै थिए । यी र आदिकारणबाट देशकाे राजनीतिक भविष्यले अगाडिको सकारात्मक बाटो लिनेमा निजी तवरले ढुक्क भएर पनि ऊ दलगत राजनीतिबाट अलग भएकाे थियाे । तथापि ‘नवयुग’काे काम सम्झिन्थ्याे, ऊ । कत्ति जिम्मेवारीयुक्त, कत्ति चुनाैतीपूर्ण, कत्ति राेमाञ्चक थियाे, ताना शर्माकाे प्रहार खप्दाखप्दै पनि ।
तर, झर्राेवादी प्रहारसँग डटेर जुध्नेमा ‘हालखबर’मार्फत दाताराम शर्माकाे भाषा- व्याकरणसहितकाे सम्पादकीय सहयाेग तथा भैरव रिसालकाे खाेजखबरयुक्त पत्रकारिताबाट माड्साब अगाडि बढेका थिए भने श्यामप्रिाद शर्मनकाे ‘सेवा’ पत्रिका, मणिराज उपाध्यायकाे ‘समाज’, कुशल बालमुकुन्द देव सह-सम्पादक रहेका पशुपतिदेव पाण्डेकाे ‘नयाँ समाज’, तारिणिप्रसाद काेइरालाकाे ‘कल्पना’ पनि उल्लेखनीय थिए । सरकारी प्रकाशनकाे विशुद्ध भाषावादी ‘गाेरखापत्र’काे आफ्नै याेगदान थियाे । (प्रसङ्गवश, १७-१८ सालपछि त राेचक घिमिरेका ‘रचना’ तथा उत्तम कुँवरका ‘रूपरेखा’जस्ता सम्यक साहित्यिक पत्रिकाले झर्राेवादीहरुलाई पनि आफ्ना पृष्ठमा स्थान दिई तिनकाे प्रतिराेध गर्दै तिनलाई आफ्नाे अतिवादकाे गल्ती स्वीकार्न लगाउनमा विशेष याेगदान गरेकाे पनि प्रशंसनीय थियाे। )
अब प्रभावशाली पाेलिटब्यूराे सदस्य-सम्पादक डीपी अधिकारीलाई ‘नवयुग’मा सघाउनेमा टीआर विश्वकर्मा भएकाेमा पनि ऊ ढुक्क थियाे, यद्यपि डीपीजीका सूत्रात्मक पनि हाेइन व्याख्यात्मक पनि नभएकाे गुजुुल्टिएकाे लेखाईलाई बाझीबाझी परिमार्जन गर्न पाे उनी सक्लान्, नसक्लान् ?! ऊ चिन्तित नभइरहन सकेन ।
डीपी अलि मनाेवैज्ञानिक प्राणी, महासचिव केशरजङ्ग रायमाझी साैम्य, ‘Every thing will be alright’का थेगाेवाला आशावादी, पीबी सदस्य शैयद कमर शाह गम्भीर, अध्ययनशील विश्लेषक, पार्टी हेडक्वार्टरमा पूर्णरूपमा कार्यरत् केक सदस्य पीबी मल्ल कर्मठ एवम् जुधारु,सांसदकाे जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्ने कमलराज रेग्मी यिनीहरु मिलेर काम चलाइरहिएकाे, पीबी सदस्यद्वय पुष्पलाल, तुलसीलाल अमात्य तथा काठमाडौँका केक सदस्यद्वय शम्भुराम श्रेष्ठ तथा पी. एन. राणाकाे उपस्थिति पात्लिँदै गइरहेकाे प्याफल टाेलस्थित नेकपाकाे केन्द्रीय पार्टी प्रधान कार्यालयकाे स्वरूप यस्तो थियाे । यस्ताेमा उत्तर गण्डक प्रान्तीय समितिबाट असहायाेग मात्र हाेइन, प्राय: पूरै विराेध र जडसूत्रवादी ‘वैचारिक’ प्रहार झेलेकाे बहुमतीय केन्द्रीय समिति संघर्षशील एवम् कुशल सङ्गठनकर्ता विष्णुबहादुर मानन्धरकाे मनाेनयनबाट केही बलशाली हुन पुगेकाे थियाे, जसमा बाराका मधु सिँह, सप्तरीका कृष्णराज वर्मा, पूर्व काेशीतिर अनुभवी केदारप्रसाद उपाध्याय आदिकाे पनि आवश्यक सहयाेग रहन्थ्याे ।
…
यत्तिकैमा कथा वर्तमानमा ओर्लिएर यसप्रकार बढ्न पुग्याे ।
मित्रहरु, ठट्टामै किन नहाेस्, पछिपछिसम्म पनि मिस क्षेत्री बडाे शालीन एवम् आकर्षक महिला भएको चर्चा गर्थे । उनीहरू पनि तिनको रिक्तताबाट केही ‘मायूस’ देखिन्थे । यहाँ कुनै यौन – आकर्षणको मामला नभई युवक – युवतीको एक अर्काप्रति सहज आकर्षणको भावको कुरा थियो हाेला भन्ने लाग्याे, उसला ई। कुमारी क्षेत्रीको मनमा के थियो हाेला, त्यो ऊ के जानाेस्, र ! तर, अफिसका महिला कर्मचारीहरु भने उसँग लामै समयसम्म रुष्ट भए । यहाँ बलियाे पुरुषजातिले निर्धाे नारीजातिलाई व्यवसायबाट हटाएको विषय परेछ क्या र अर्थात् नारी शोषण वा नारीमुक्ति, जसरी, जताबाट हेरे पनि ।
अफिसमा महिला कर्मचारीहरूलाई हलुका काम थियो । कुमारी क्षेत्री आफ्नो दाजु कर्णसिंह क्षेत्रीले घरमा गरिदिएका अनुवाद- लेख उपाध्यायलाई बुझाएर अरु महिलाहरूसँग कुराकानी, हाँसाेठट्टा बढी गर्न पाउँदिरहिछन् । यसरी उनीहरूबीच बढिरहेको घनिष्टता एक्कासी हरिएकोमा उनीहरू उसँग रिसाउनु पनि स्वाभाविक थियो । पछिपछि उनीहरूको र उसका यसबारे निकै रोचक हाँसोठट्टा हुनेगर्थ्यो ।
वास्तवमा कुरा के रहेछ भने दिल्लीस्थित साेभियत दूतावासका केही अधिकारीहरू नेपाली भाषामा छापिने भएको ‘सोवियत भूमि’ पत्रिकाका लागि दुईजना अनुवादकको खोजीमा रहेछन् । उनीहरू र कर्णसिंह क्षेत्रीबीच कहाँ, कसरी र कसद्वारा परिचय भएर पुगे त्यो उसले थाहा पाउने कुरा थिएन । तथापि, दिल्लीमै अल इण्डिया रेडियोमा काम गरिरहेका दुईजना- हरिप्रसाद शर्मा र गणेश राणा अनि जवाहरलाल नेहरू विश्वविद्यालयको पूर्वरूप इण्डियन काउन्सिल अफ वल्ड एफेयर्सको सप्रु हाउसस्थित कार्यालयमा काम गर्ने ईश्वर बरालजस्ता तीन-तीनजना खाँटी नेपालीहरूसित सम्पर्क नभएर आसामका ती नेपालीसँग रुसीहरूको परिचय भएको कुरा उपरोक्त तीनैजनालाई थाहा रहेनछ । किनभने शर्मा तथा राणासँग सम्पर्क भएको भए दुईजना अनुवादक, स्वाभाविकरूपमा, काठमाडौंकै हुन्थ्ये र ती अलि गतिलै हुन्थे हाेलान् ।
गोर्खाली यूनिटमा सँगै काम गर्ने क्षेत्रीले यो ‘रहस्य’ उनीहरूलाई बताएका रहेनछन् ।
तर यहाँ त ऊ आफ्नो प्रारब्ध कर्मफलमा पो आश्चर्यचकित परिरहेकाे थियाे ।
जेहोस्, क्षेत्रीले बनारसबाट एमए गरी त्यहींबाट ऐनकानून विधामा एलएलबी गरेका शिवप्रसाद उपाध्यायलाई तेजपुरबाट झिकाएका रहेछन् । उपाध्याय र आफूकहाँ बसेर केही अध्ययन गरी जागीरको खाेजिरहेकी आफ्नी बहिनीलाई लिएर साेभियत अधिकारीलाई भेटेर ‘सोवियत भूमि’मा काम गर्ने दुई अनुवादक हस्तान्तरण गरेका रहेछन् । अर्थात् ऊ गएकोभन्दा एकवर्ष अघि १९५८ काे अगस्टबाट नै ‘सोवियत भूमि’को नेपाली प्रकाशन शुरुभएकाे रहेछ ।
यसरी अनेक प्रारब्धहरूको सम्बन्ध, नियतिका अनेक जाेडताेड यहाँ भएकाे पाउँदा ऊ छक्क परिरहेकाे थियाे ।
(क्रमश:)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)