
कलम भिरेेर ऊ नयाँ अफिसतिर लाग्याे
१
नयाँ अफिसमा पहिलो दिन !
यसले केही पूर्वकथा खाेज्ने नै भयाेे लाग्यो, उसलाई ! आफ्नाे सपना साकार गर्ने कुरामा उसकाे सासुमाले ज्वाइँका लागि गर्नुपर्ने सबै बन्दाेवस्त गर्न कुनै कसर बाकीँ राखिनन् । घरमा सबैसँग यथाेचित विदावारी भई साँक्कसुक्क र लामाे सासफेराईबीच ऊ त्रिभुवन एयरपोर्ट लाग्याे । मधु उनीहरुका ७ वर्षको छाेरी श्यामा, ५ वर्षकाे छाेरा सुरज,र भर्खरै १ वर्षकी कान्छी छाेरी सवितालाई साथै लिएर पतिकाे शुभयात्रा सफल गर्न भनी सँगै एयरपाेर्ट गइन् । ३ वर्षकी माहिली छाेरी सलीला मामाघरै बस्ने भएकीले ऊ उतै रही ।
एयरपाेर्टमा सबै बन्दाेवस्त उसकाे बालसङ्गाती तर ठूलीआमापट्टिबाट दाजु, RNAC staff ताराप्रसाद रिमालले मिलाइदियाे ।
उसकाे एकजना धेरै मिलेकाे स्कूले सहपाठी पनि टपलल्क देखा पर्याे, त्यहीँ । कहिले प्लेन नचढेकाे र दिल्ली पनि पहिलाे पटक गइरहेकाे, बडाे बिलखबन्द अवस्थामा रहेकाे त्याे साथी उसलाई यसरी देख्नासाथ झ्वामल्याङ्ग अङ्गालाे हाल्न पुग्याे– भरथेग हुने भयाे, ‘अनुभवी’ साथी पाइयाे भनेर, विचरा ! उसलाई के थाहा उसकाे साथी पनि उस्तैउस्तै हाे, प्लेनयात्राकाे माम्लामा भनेर !
आशा, आशङ्का र अन्याैलकै मनाेभावबीच मधु र छाेराछाेरीसँग बिदा भएर ऊ उड्याे । धरातलीय सम्पर्क टूटी निरालम्ब आकाशमा उड्दाकाे विचित्रको कुरा मनमा खेलिरहेकैबेला उसकाे कानमा सुस्तरि आवाज आयाे: ‘ए … भाइ, याे प्लेनमा इन्टर्भल हुँदैन ? आवाज उसकाे त्यही अन्याेलमा परेकाे साथीकाे थियाे । ऊ आफू ‘विज्ञ’ भईटाेपलेकाे देखाउँदै, मुसुमुसु हाँस्दै, ‘अँह,हुँदैन, भाइ’ भन्दा उसकाे आफ्नाे व्यथा काे जानाेस् !
निकै समयपछि एक्कासि अङ्ग्रेजीमा आवाज आयाे: ‘Ladies and Gentlemen, We are shortly landing at Safdarjung Airport! Please fasten the seat belt! साथी यसै तरखरमा थियोे । एयरपोर्ट बाहिर आफ्नाे भाइ लिन आएकाे पाउँदा उसकाे साथीकाे खुशीकाे साँधि भएन । ऊ पनि प्रसन्न नभइरहन सकेन । मित्रवत बिदावारीपछि दुवै आ-आफ्नाे बाटाे लागे । तर ऊ आफ्नै अनिश्चितताबाट बाहिर निस्का सकिरहेकाे थिएन ।
ऊ सीधै नर्थ एभेन्यू गयाे, रेनु चक्रवर्तिकै फ्ल्याटमा । आफू यसरी हठात आउनाकाे उद्धेश्य बतायाे । उही प्रेमपूर्ण आतिथ्य पायाे । निखिलले उसलाई भारतीय कम्युनिष्ट पार्टीको संसदीय बाेर्ड अफिस Wimsdor Place मा बस्न मिलाइदिएका भाेलिपल्ट बिहान !
निखिलले अघिल्लो पटक दिएका बाटाेखर्च ५० रू बाट उसले पुरानो दिल्लीको प्रख्यात बजार चाँदनी चौकमा किनेकाे पहेंलो रंगको फेशनदार टी-शर्ट र घ्यू रंगको ग्याबर्डीन कपडाको रेडिमेड प्यान्ट लगायाे । जीउमा ठीक्क मिल्ने लुगाहरू उसलाई धेरै मनपरेका थिए । आफूले दिल्लीमा कमाई गरेर नयाँ लुगाहरू किनेर लगाउँदा पनि त्यो लुगाको जोडीलाई उसले जतन गररै राखेकाे थियोे ।
सेप्टेम्बर सन् १९५९ को दिन तिनै लुगा लगाएर, जुत्ता टिलिक्क टल्काएर, आँखामा सँधैझै कालाे चश्मा लाएर, खल्तीमा कलम भिरेेर ऊ नयाँ अफिसतिर लाग्याे ।
ऊ ठीक्क आठ बजे बिहान २५ बार खम्बा राेडस्थित साेभियत सूचना विभागकाे अफिस पुग्याे । अफिस बिहान ८ दिउँसो २ बजेसम्म चल्छ भन्ने कसरा उसलाई अस्तिका दिन नै भनिसकिएकाे थियाे । नयाँ मान्छे देखेर ढोकामा बसेको अग्लो पालेले उसलाई रोक्यो । उसले आफ्नो परिचय दियाे । अस्तिसम्म त महिला पाे थिइन्, मिस क्षेत्री भनी पाले आफैसँग कुरा गर्न थाल्यो । उसलाई पर्खाएर ऊ ढोकासँगै सटेको कोठामा फाेन गर्न गयाे ।
यत्तिकैमा अफिस आउनेहरू उतिर हेर्दै अगाडि बढ्दै गए । एकैछिनपछि एकजना अलि तालु खुइलिएको, सेतो शेरवानी र पाइजामा लगाएका युवक ‘आप ही मिस्टर … हैं ?’ भन्दै आए र उसलाई सम्पादकको कोठामा लगे । मिस्टर ओलेग बेनुख आफ्नो कुर्सीबाट उठेर उसँग हात मिलाउन अघि बढे अनि अंगालो मारे । उसलाई यत्रो सम्मान ! भन्ने तुरुन्तै लाग्यो ।
रिसेपशनिष्ट रईस मिर्जा पनि यो देखेर छक्क परे । ‘You may go now, Mr. Rais’ (रईसजी, अब तपाईं जानुभए हुन्छ) भन्दै बेनुखले उसलाई बगलको काउचमा आफूसँगै बसाए ।
(प्रसंगवश, यिनै बेनुख २०३२-३३ सालतिर काठमाडौं आउँदा उसैले उनलाई एउटा ‘दारुण ठट्टा’ सुनाएकाे थियाे । त्याे प्रसङ्ग कुनै बेला)
त्यसदिन बेनुखसँग भएको कुराकानी उसलाई कण्ठै जस्तो याद थियाे । अनि सम्पादकको त्यो स्यानो साधारण कोठा, भित्तामा एकमात्र निकिता खुश्चोमको फोटो टांगिएको पनि झल्झली सम्झना थियाे । उनले उसकाे हात समातिराखेर ‘Welcome Mr. Rimal, on the first day of your office. We are really very glad to have you here.’ (स्वागत छ, रिमालजी तपाईँलाई, अफिसमा प्रथम दिवसको अवसरमा । तपईँलाई यहाँ आफूबीच पाउँदा हामीलाई साँच्चै ठूलो खुशी लागेको छ) भने । उनलाई उसका पूर्वकथाहरु थाहा भइसकेकाे रहेछ– ऊ चीन गएकाे,चीनकाे कम्युनिष्ट पार्टीको महत्वपूर्ण आठाैँ महाधिवेशनको कार्वाही देखेको, अनि सोभियत संघमा ‘प्राभदा’काे अतिथि भएर भ्रमण गरेको, नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समिति सदस्य भएकाे पूर्वकथाहरू थाहा भइसकेको रहेछ । पार्टी मुखपत्र ‘नवयुग’को उप-सम्पादक भई काम गरेको अनि नेपाल-सोभियत मैत्री संघको संस्थापक कार्यसमिति सदस्य भएको, २५-२६ वर्षको कलीलै उमेरमा उसका यस्तो जीवनकथालाई उनले ‘ठूलो उपलब्धि’ ठानेर सह्राएका रहेछन् । अफिसको क्यान्टिनबाट दुई कप कागती चिया मगाएर उनले ऊसँग निक्कै बेर भलाकसारी गरेपछि भने: ‘You yourself know, Mr. Rimal, how to make the ‘Soviet Bhumi’ a really Nepali magazine. Till now it was an Indian – Nepalione.’
(भोलि क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



