
१९२० पेजको चिकित्सा शब्दकोष पहिलोपटक
नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको शब्दकोष ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ । प्रा.डा. दिब्या सिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा चिकित्सा शब्दसागर’ विमोचन गरेका हुन् ।
समारोहकी प्रमुख अतिथि एवं त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिब्या सिंह शाहले नेपाली भाषामा आएको ‘चिकित्सा शब्दसागर’ले चिकित्सा विज्ञानलाई नेपाली भाषी डाक्टर र बिरामी दुवैले बुझ्न सघाउने बताइन् । ‘चिकित्सा विज्ञानमा अध्ययनका लागि सबै पुस्तकहरु अंग्रेजीमा छन् ।’ उनले भनिन्, ‘चिकित्सा विज्ञानमा रहेका असहज शब्दहरु बुझ्नका लागि यो शब्दकोषले पक्कै पनि सहयोग पु-याउनेछ ।’ नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्त्वपूर्ण उपलब्धि भएको भन्दै उनले सम्पादक तथा प्रकाशकहरूलाई धन्यवाद दिइन् ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दैं काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा।डा। राजेन्द्र कोजुले चिकित्सा विज्ञानको विद्यार्थी र अहिले चिकित्साशास्त्र अध्यापन गराउने भएकाले आफूले चिकित्सा शब्दसागरको महत्व अनुभव गर्ने धारणा व्यक्त गरे । ‘अहिलेका धेरै चिकित्सक साथीहरुले अंग्रेजी भाषा नै प्रयोग गर्छन्, समाजमा चिकित्सकले जुन कुरा परिभाषित गर्न खोजिरहेको हुन्छ, त्यो कुरा सबैले बुझ्न सकेको हुँदैन,अप्ठयारो पर्छ’ उनले भने, ‘शब्द नै धेरै अंग्रेजीमा हुने भएकाले जुन बुझाउन गाह्रो परिरहेको छ । यो शब्दसागरले त्यसलाई निश्चय नै सहज बनाउनेछ ।’
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठ परिषदमा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको बताउँदैं उनीहरुलाई ज्ञान हासिल गर्न यो शब्दसागरले निक्कै महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे । स्वास्थ्यकर्मीले आफूले जानेको कुरा सर्वसाधारणलाई बुझाउनका लागि भाषागत कारणले रहेको समस्या चिकित्सा शब्दसागरले हटाउने बताए ।
कार्यक्रममा समीक्षात्मक मन्तव्य राख्दैं प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नेपाली भाषाका लागि चिकित्सा शब्दसागर महत्त्वपूर्ण उपलब्धि भएको बताए । ‘अरूले बनाएको बाटो हिँड्न सहज हुन्छ, तर आफै जंगल फडानी गरेर बाटो बनाउन गाह्रो हुन्छ,’ डा. गौतमले भने, ‘यो चिकित्सा शब्दसागर जंगल फडानी गरेर बाटो बनाउने कामजस्तै गाह्रो हो, यसले यो गाह्रो काम गरेको छ ।’
८ वर्ष लगाएर तयार पारिएको ‘चिकित्सा शब्दसागर’मा १२८ पेज रङ्गीन चित्र (एटलस) समेत १९२० पेजको रहेको छ । उक्त शब्दसागर शब्दार्थ प्रकाशनले प्रकाशित गरेको हो । मुख्य सम्पादक विनयकुमार शर्मा नेपाल, शब्द सङ्कलक प्रकाशमणि दाहाल, मेडिकल सम्पादक डा. कमल लम्साल र डा. विपिन नेपालको उक्त चिकित्सा शब्दसागरमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ६० हजारभन्दा बढी शब्दहरु छन् । उक्त शब्दकोषमा अंग्रेजी-अंग्रेजी र नेपाली भाषामा छ ।
स्वास्थ्योपचार तथा स्वास्थ्य विज्ञानको प्राज्ञिक क्षेत्रमा एउटा कोसेढुङ्गा। सम्बन्धित सबैलाई हार्दिक बधाइ।