त्यो उत्तरपट्टि कुनामा चम्किरहेको तारा नै मेरो छोरो हो

लघुकथा : निको नहुने घाउ

मीना चौलागाई

ममता र म एउटै घरमा भाडामा बस्छौँ । एउटै घरमा पाँच वर्ष बिताएका हामी असाध्यै मिल्ने साथी भएका छौँ । हाम्रो उमेर पनि उस्तै उस्तै छ । त्यसैले हामी एक अर्कालाई बोलाउन नाम नै प्रयोग गर्छौँ । उनकी एउटी छोरी छिन् । हाम्रा छोराछोरी पनि साथी भएका छन् । ममता हरेक वर्षको साउनमा अलिक अनौठो व्यवहार देखाउँछिन् । विषेशगरि साउन २२ गते उनलाई बढी नै निराश देख्छु । त्यस दिन उनी अलिक अनौठो व्यवहार देखाउँछिन् । मैले यस्तो थाहा पाएको तीन वर्ष भयो । उनको यस्तो उदासिनता देखेर मैले निकै पटक बुझ्ने प्रयास पनि गरेको हुँ तर आँसु झार्ने सिवाय उनले अरू केही भनिनन् ।

यो साल साउन २२ गते पनि उनले त्यसै गरिन् । साँझ परिसकेपछि घरको छतमा गइन् र निकैबेरसम्म तल झरिनन् । निकैबेरपछि म पनि माथि गएँ । सुरुमा त उनले मेरो उपस्थिति स्वीकार गरिनन् । मैले निकै आग्रह गरेपछि भने उनले बोल्न सुरु गरिन् । बोल्नुभन्दा पहिले उनका आँखा भरिए । पछ्यौरीको छेउले आँखा पुछदै आकाशतिर हेरेर उनले सुरु गरिन् । आजभन्दा २४ वर्ष अघि साउन २२ गते साँझ बीस वर्षको उमेरमा मैले एक सन्तानलाई एउटा अस्पतालमा जन्म दिएकी थिएँ । त्यो सन्तानले छोराको रूपमा जन्म लिएको थियो । डाक्टरको भनाइअनुसार त्यो बच्चा जन्मनुपर्ने समयावधिभन्दा केही समय अघि जन्मेकोले बच्चालाई नवजात शिशु सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भन्दै काठमाडौको कान्ति बाल अस्पताल पठाइयो । ठूलो आशा बोकेर कान्ति बाल अस्पताल त आइयो तर त्यो अस्पतालले नवजात शिशु स्याहार सघन उपचार कक्षमा बेड खाली नभएको भन्दै सामान्य कक्षतिरै राखेर उपचार अघि बढायो ।

अस्पतालमा पनि शक्ति र पैसा दुवै चाहिने रहेछ । त्यो दुवै मसँग थिएन । अस्पतालले १३ दिन यसैगरी बिताइदियो । न आमाको स्वास्थ्यको ख्याल गरियो न त बच्चाको स्वास्थ्यको नै । शरीरभरि केके औषधि दिने नाममा सुई रोपियो र छियाछिया बनाइयो । आमाको दूध निचोरेर नाकबाट पाइप राखेर खुवाइयो तर नवजात शिशुले जसरी स्याहार पाउनुपर्थ्यो, त्यो अस्पतालले उपलब्ध गराउन सकेन । म पनि अपरिपक्व जस्तै थिएँ । कुनै आवाज उठाउन सकिनँ । आफन्तहरूले पनि असहयोग नै गरे । एउटा अबोध शिशुले तेह्र दिनमा यस धर्तीबाट बिदा लियो । अस्पतालको चरम लापरबाहीको कारण एउटी आमाको काख रित्तियो । यो घटनाले २४ वर्षदेखि पोलिरहेको छ । यो साउन २२ गतेले झन् बेस्सरी मुटु घोच्छ । यो घटनाले कहिल्यै निको नहुने मुटुको घाउ बनेर सताइरहेको छ ।

उनी आँखाबाट भेल बगाउँदै भक्कानिदै बोल्दै गइन् । म पनि एउटी आमा हुँ । मलाई पनि असह्य भयो । उनी आकाशतिर हेरेर भन्दै थिइन्, ऊ त्यो उत्तरपट्टि कुनामा चम्किरहेको तारा नै मेरो छोरो हो जस्तो लाग्छ । त्यसैले हरेक रात एकपटक म त्यो तारालाई हेर्छु । उनका कुरा नसकिँदै म उनलाई अँगालोमा बेर्न पुगेछु । म कसरी भनूँ ममता मेरो मुटुमा पनि तिम्रो जस्तै कहिल्यै निको नहुने घाउ छ । हामी एकअर्काको अँगालोमा आँसुमा पीडा बगाउने प्रयास गरेर निकैबेर रोइरह्यौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button