
‘परशुराम जयन्ती’मा ‘ब्राह्मण दिवस’
प्रा.डा माधव भट्टराई
अध्यक्ष, राष्ट्रिय धर्मसभा नेपाल
‘विश्व ब्राह्मण दिवस किन सुरु नगर्ने ?’ राष्ट्रिय धर्मसभाका संस्थापक सदस्य भरत शर्माले मंगलबार नेपालनाम्चामा प्रकाशित आफ्नो लेख पठाए ।
शीर्षकले नै मेरो ध्यान तान्यो, ध्यान दिएर पढेँ । मित्रराष्ट्र भारतमा १ जुन दिन अर्थात (हिजो) धर्म, संस्कृतिसँग सम्बन्धित संघसंगठनहरुले ‘विश्व ब्राह्मण दिवस’ मनाएको खबर पाएपछि शर्माले ब्राह्मण चरित्र र दिवसको सार्थकताबारे लेख लेखेका रहेछन् ।ं पत्रकार एवं अध्यापक शर्माले विगत १७ बर्षदेखि निरन्तर धर्म, संस्कृति विषयमा लेख्दै आएका छन् । धर्मशास्त्रका बारेमा शर्माले सोधेका प्रश्नमा हाम्रा शास्त्रीय मान्यता र शास्त्रीय निर्णयहरुबारे आफ्ना प्रमाणिक भनाई राख्दै आएको छु ।
भारतमा हिजो ‘विश्व ब्राह्मण दिवस’ घोषणा गरेर मनाएकोबारे मैले शर्मासँग सीधै प्रतिवाद गरेँ । उनलाई भनेँ, ‘हामी नेपालमा १ जुन (तारिख) लाई आधार मानेर ‘विश्व ब्राह्मण दिवस’ मनाउन सक्दंैनौँ ।’ हाम्रा सनातन संस्कारभित्र सबैजसो दिवस र पर्वहरु तिथीका आधारमा छन् । हामीले राम, कृष्ण र बुद्वको जयन्ती र अन्य दिवसहरु जन्म र तिथिको आधारमा मनाउँदै आएका छौं ।
त्यसैले हामी नेपाल मात्र होइन, विश्वभर ‘अक्षय तृतीया र परशुराम जयन्ती’को दिनलाई ‘ब्राह्मण दिवस’ मनाउन अनुरोध गर्छौं । हामी पनि अबदेखि हरेक बर्ष बैशाख शुक्लपक्ष तृतीया ‘परशुराम जयन्ती र अक्षय तृतीया’को दिनलाई नै ‘ब्राह्मण दिवस’ मनाउने घोषणा गर्छौं । त्यसो त अहिले नै हामी विश्व ब्राह्मण दिवस भन्दैनौं । अन्य देशमा पनि यही आधारमा दिवस मनाउन शुरु गरेपछि अक्षय तृतीया परशुराम जयन्तीका दिन नै ‘विश्व ब्राह्मण दिवस’ मनाउनका लागि घोषणापत्र जारी गर्छौं ।
यो दिवस मनाउनेबारे मेरो मनमा पनि कुरा उठिरहेको थियो । केही बर्षअगाडि मैले ‘ब्राह्मण सहश्रनाम’ पुस्तक लेखेको थिएँ । पुस्तकका प्रमुख पात्र ‘परशुराम’ थिए । पिता जमदग्नी र माता रेणुकाको गर्भबाट जन्मिएका परशुरामले ब्राह्मण भएर पनि दुष्ट संहार र विधर्मी नाशका लागि क्षेत्रीय धर्मको पालना गरेका हुन् । युगको थालनी भएको दिन जन्मिएका परशुरामको जन्म ब्राह्मण कुलमा भए पनि उनले क्षेत्रीय कर्म गरे । आफनो कर्तव्य र जिम्मेवारी पुरा गरेपछि ब्राह्मण आचरणमा फर्किए ।
हिमाञ्चल प्रदेशमा रहेको ‘रेणुका सरोवर’ मा पत्रकार शर्मा लाई लिएर गएको थिएँ । त्यहाँ परशुरामको ब्राह्मण चरित्रको ब्याख्या गरेका शिलालेख पढेका थियौं । माता रेणुकाको नाममा बनेको सरोबरमा गएर जमदग्नी दर्शन गरेर फर्केका थियौं ।
त्यसैबेला, परशुरामले नेपालको कोशी नदीको किनार र नेपालका कयौं स्थानमा तपस्या गरेको प्रमाण र प्रसङ्ग बारे हामीलाई भारतको देहरादुनस्थित पं.डा.दिवाकर शर्माले बताएका थिए ।
परशुरामले नेपालको कोशी नदीको किनार र नेपालमा तपस्या गरेको प्रमाणहरु छन् । ब्राह्मण कुलमा जन्म लिएको आधारले मात्र व्यक्ति ब्राह्मण हुँदैन, कर्मको आधारमा हुन्छ । हाम्रो सनातन शास्त्रले भनेको छ, शुद्र कुलमा जन्मिएर पनि ब्राह्मण आचरण गर्ने व्यक्ति ब्राह्मण हुन सक्छ । ब्राह्मण कुलमा जन्मिएर ब्राह्मण आचरण र चरित्र भएको भए त्यो ब्रह्मतेज भएका ब्राह्मण भए । नत्र, आचरण नभएकालाई हामीले पनि ब्राह्मण भन्न सक्दैनौं ।
शास्त्रीय उदाहरण धेरै छन्, विश्वामित्र ऋषि क्षेत्रीकुलमा जन्मिएका थिए । ब्राह्मणको ब्रह्मतेज देखेपछि उनले तपस्या गरेर ब्रम्हज्ञान प्राप्त गरे । उनले नेपालको सुनकोशी नदीको तट सिन्धुलीको दुम्जा आदिलिङ्ग ‘कुशेश्वर’ क्षेत्रमा साधना गरेर ‘गाययी मन्त्र’ प्राप्त गरेका थिए । कालान्तरमा वशिष्ठ जस्ता महान ऋषिले पनि विश्वमित्रलाई ब्राह्मण होइन भन्न सकेनन् ।
रावण एक ब्राह्मण भएर पनि कर्मको आधारमा शुद्र भए । उनका भाइ बिभिषणले ब्राह्मण कर्म र चरित्र अवलम्बन गरे । ऋषि ब्यास शुद्र थिए । साधना, तप र जप गरेर ब्राह्मण बने ।
शास्त्रले भने अनुसार ब्रह्मतेज ब्राह्मणको कर्म भनेको पढ्ने, पढाउने, यज्ञ गर्ने–गराउने, दान दिने–लिने हो । लोकजीवनमा बाँच्नका लागि गरिने कर्म जे भए पनि ब्रह्मकर्म गर्नेहरुले मात्र ब्राह्मण पद पाएका छन् । शास्त्रीय चिन्तन, अध्ययन, मननलाई व्यवहारमा प्रयोग गरेर आफ्नो कर्मको आधारमा ब्राह्मण चरित्र देखाउने हो । त्यो कसैले दिने दान वा उपहार होइन ।
ब्राह्मण कुलमा जन्मिएर आफ्नो कुल परम्परा, संस्कृति र साधना, आचरण नगर्नेलाई ब्राह्मण भन्न सकिदैन । आउनुहोस् एकपटक ‘ब्राह्मण’ दिवसको बारेमा अझै बहस गरौं, विज्ञ र अध्येताहरुलाई सुझावका लागि आग्रह गर्छु ।
राष्ट्रिय धर्मसभा नेपालले आगामी बर्ष अक्षय तृतीय परशुराम जयन्तीकै दिनदेखि देशव्यापी रुपमा नेपालमा ब्राह्मण दिवस मनाउने छ ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

