
‘चुङ्को रन पु लान, चुुङ्को सोयसङ्ग छिङपन्’

भरत शर्मा
संस्कृत भाषामा एउटा सूूक्ति छ, ‘प्रमादः सम्पदं हन्ति ।’ अर्थ– अल्छीपनाले सम्पत्ति तथा ऐश्वर्य नाश गर्छ ।
चिनियाँहरुको जाँगर देखेर कहिलेकाहीँ रिस उठछ, आफै समालिन खोज्छु । चीन र चिनियाँ जनताको प्रगति देखेपछि आफैलाई प्रश्न गर्छु ‘के म साँच्चै अल्छी हो ।’ अरुलाई अल्छी भन्दा रिसाउन सक्छन्, तर आफूले आफैलाई भन्दा जति रिसाए पनि आफैलाई फाइदा र हानी हुने हो । त्यसैले भन्छु, मभित्रको अल्छीपनालाई नहटाएसम्म ‘म’ हुन सक्दिनँ । अरुलाई गाली गर्नुभन्दा पहिले आफूले आफैलाई प्रश्न र गाली गर्नु हाम्रो सनातनीय नियम हो ।
केही ‘मोटिभेसनल स्पिकर’ र केही अध्यात्म प्रवचकहरुले भनेको सुनेको छु, ‘सबैभन्दा पहिले आफूले आफैलाई चिन्नुु पर्छ, आफूभित्रको शक्ति, क्षमता र दक्षताको पहिचान गर्न नसकेर हामी अर्काले गरेको प्रगतिमा डाह गर्ने समाज भित्रका सदस्य हौं ।’ कुरा सुन्दा त हो जस्तो पनि लाग्छ ।
चीनमा बस्छु, चिनियाँ हावापानी, चिनियाँ हरिया तरकारी, फलफूल खाए पनि दाल र गेडागुडी चाहिँ नेपालबाट ल्याएको खाने गरेको छु । अर्थात् मेरो भान्सामा चिनियाँ र नेपालीको मिश्रण छ । ३५ तलाको अग्लो भवनको १३ तलाको फराकिलो घरभित्र एक्लैै बसेर ‘योगी’को जिन्दगी बिताइरहेको छुु । बर्षमा जाडो र गर्मी गरेर आठ महिना २० दिन चीनमा बसेर काम गर्दा चिनियाँहरुको दैनिकी, खानपान र यिनीहरुको जीवनशैली देखेर, चिनियाँ संगतमा परेर चिनियाँ शैलीमा काम गर्ने अभ्यास गर्न खोज्दैछु ।
नेपाल फर्केपछि नेपाली जीवनशैलीमा लुटुुपुटु भएर जाडो र गर्मी विदा सकिएको पत्तो हुँदैन । भेटघाट, घुमफिर र मित्रहरुका राजनीतिक बात सुन्दासुन्दा वाक्क भएर चीन फर्केपछि थप आनन्द महसुस गरेको छु ।
अघिल्लो हप्ता मैले आफूभित्रको अल्छीपनाको बारेमा शनिदशाको कारण म आफू अल्छी भएको भनेर आफैलाई प्रश्न गर्दै आलेख लेखेपछि मेरा प्रिय मध्येका श्रेष्ठ जेष्ठ प्रजापति जिवेन्द्र सिम्खडाले बडो मज्जाको कमेन्ट लेखिदिनुुभयो, त्यो कमेन्टलाई मैले कार्यालयको मेरो कार्यकक्षमा प्रिन्ट गरेर भित्तामा टाँसे । लेखिएको थियो, ‘वास्तवमा चीनमा बस्ने, चिनियाँसँग संगत गर्ने ब्राह्मणपुत्र कसरी अल्छी हुन्छन, हुनै सक्दैनन् ।’
युनान विश्वद्यिालयमा नेपाली भाषामा विद्यावारिधी गर्दै गरेका मेरा चिनियाँ मित्र ह्वाङ मुर्छां परेर भित्तामा लेखेको शब्दहरु पढे र हाँसे । र, भने, ‘तपाई सन् २०१९ भन्दा अगाडि अल्छी भए पनि त्यसपछि हाम्रो संगतमा आएपछि तपाई अल्छी भएको देखेको छैन, अल्छी छैन ।’ उनको नेपाली लबज मजाको छ । उनको कुरा सुुनेर मेरो अलिकति मनोबल बढ्यो । धन्यवाद मित्र ह्वाङ !
मेरा प्रियतम दाजुुको यो शब्द मैले धेरै पटक मन्त्र पढेजस्तै पढेँ, हरेक रातको समय आदि प्रयाग देवघाटधामबाट मेरा गुरु शत्रुध्न अर्यालले श्रीमद्भागवतमहापुराणको कक्षा शुरु गर्नुभन्दा पहिले मंगलाचरण मन्त्रपाठ गर्न लगाउनु हुन्छ । त्यसबखत संस्कृतका मंगलाचरणसँगै नेपाली भाषामा मंगलाचरण मन्त्र पढने गरी लेखेको छु ।
उत्तर हिमाल पारी बस्छु म । कैलाशको उत्तरदिशा युनानमा छु म ।
कोरोना महामारीपछि नेपालमा पनि शिक्षाको एउटा अनौठो अभियान चलेको छ, घरघरमा गुुरुकुलम् अभियान । आचार्य पंण्डित कपिलदेव सुवेदी गुरुदेवको पहल र महेश संन्यास आश्रम देवधाटधाम अन्तर्गत महेश संस्कृत गुुरुकुलमकाे संरक्षणमा ४० भन्दा बढी पाठशाला र सदनहरुमार्फत अनलाइन कक्षाहरु सञ्चालन भएका छन् । यी अनलाइनबाट पढ्ने कक्षामा नेपाल, नेपालभन्दा बाहिर अस्ट्रेलिया, अमेरिका, बेलायत र जापानबाट गरी एक हजार छात्रछात्रा छन् । उमेर समूहका कुरा गर्नुहुन्छ भने १० देखि ७० बर्षका आमा र बाहरु पनि पढ्नु् हुन्छ । चीनबाट घरघरघरमा गुुरुकुलीय कक्षामा पढ्ने म पनि छात्र हुँ ।
श्रीमद्भागवत पाठशालामा ‘श्रीमद्भागवतमहापुराण’ र देवघाट सदनबाट पढाई हुने ‘अध्यात्म रामायण’को कक्षाका सामेल छु । नेपाली समय ९ बजेदेखि १० बजेसम्मको अध्यात्म रामायणको अनलाइन कक्षामा ६० देखि ७० जना विद्यार्थी पढ्छन् । कक्षामा १२ बर्षे नानीदेखि ६० बर्षे आमाहरु कक्षामा हुनुहुन्छ । चिनियाँ समय ११ः१५ देखि १२ः१५ सम्म म पढ्ने गर्छु । महेश संस्कृत गुरुकुलमका प्राचार्य श्री कमल सुवेदी गुरुले दिनभरको थकित कार्यसम्पादनपछि पनि यति उर्जाशील भएर शास्त्रीय शैलीमा ज्ञान, विज्ञानसँग जीवन जोडेर अध्यात्म रामायणमा श्लोक वाचन र त्यसका दार्शनिक अर्थ गर्नुहुुन्छ । कमल गुरुको अध्यापन कलाबारे के लेखौं, कसरी लेखौं, मेरो अध्ययन र अध्यापनका लागि ‘ज्ञानको ऐन्टीबायोटिक’ जस्तो अनुुभव गरेको छु ।
शुक्रबार र शनिबार कक्षा हुँदैन । आइतबार साँझ कहिले आउला भनेर प्रतिक्षा गरेर शुक्रबार र शनिबार शास्त्रीय दिव्यवाणी श्रवण गरेर रात छिचोल्छु ।
एक्लै हुनुको मज्जा बेग्लै छ । मेरो लागि म आफै शिक्षक हुँ । किन ढिलो सुुतिस्, किन सुुतिनस्, किन पढिनस्, किन मिठो खाइनस्, किन लेखिनस् भन्ने कोही छैन । होइन, होइन, किन लेखिनस् भन्ने चाहिँ एकजना लेखक छन्, अशोक सिलवाल । भन्छन्, ‘यो हप्ताको शनिवार आउन लागिसक्यो, खोइ, खोइ, लेख के भयो ।’ शास्त्रले भनेको छ, सयौ साथीभाइमध्ये एकजना मात्र असल भयो भने जीवन सार्थक हुन्छ । शहरमा धेरै मित्रहरु छन्, तर ती मित्रहरु लेखेको कुरा पढेर पनि खुसी भएर हाँस्न सक्दैनन् । एकजना मेरा हितैषी गुरुदेवले हिजोमात्र टेलिफोन संवादमा भन्नुुभयो, ‘मित्रहरु किन यति दुुष्ट र महादुुष्ट हुँदै गएका छन् भनेर ज्योतिषीय अध्ययन गर्नुपर्ने भयो । त्यसका लागि तपाईले पनि तपाईका दुुष्ट मित्रहरुको जन्ममिति संकलन गर्नुस्, उनीहरुको कुुण्डली अध्ययन गर्नुस् ।’
गुरुले भन्नुुभयो, ‘गतहप्ता मैले मेरो सामाजिक सञ्जाल फेसबुकबाट ५० जना भन्दा बढी दुुष्टहरुलाई हटाइदिएँ । उनीहरुका पारिवारिक गतिविधि, स्वार्थी र महादुुष्ट चित्र, विचारहरु हेर्न र पढ्नै परेन, टन्टै साफ भयो ।
गुरुको कुरा मनासिव लाग्यो । पछिल्लो समय सामाजिक सञ्जालमा दिने समय मैले कम गरेको छु गुरुदेव । गुरुले जंगिदै भन्नुुभयो, ‘तपाई अबदेखि सञ्जालको समय कम गर्नुस् ।’ अब सोच्दैछु, दिनमा एकघण्टा मात्र हेर्ने समय निर्धारण गर्ने सोचमा छु । बेकारका गलपत्ती, अनावश्यक खण्डन र मण्डन हेरेर पढेर तन, मन, र समयको नाश के गर्नु ?
यो अनुुभव मेरा गुरु र मैले मात्र होइन, तपाईहरुले पनि गर्नुभएको छ । सामाजिक सञ्जालको मोहजालमा समय बेकारमा गइरहेको छ, कसैलाई थाहा छैन । राम्रा कुरा पनि छन् सामाजिक सञ्जालमा तर हरेकको सामाजिक सञ्जालमा एकपटक कुशल सम्पादन गर्नुपर्ने देख्छु म ।
अब चीनतिर लागौं । चिनियाँहरु दिनमा तीनपटक खाना खान्छन्, विहान ८ बजे, दिउँसो १२ बजे र साँझ ६ बजे । सूर्यास्तभन्दा पहिले नैं चिनियाँहरु रातीको भोजन गरिसक्छन् । सनातन शास्त्रले भनेको छ, सूर्यास्तपछि भोजन गर्नुहुँदैन । हाम्रो शास्त्रमा लेखिए पनि हामीले पालना नगरे पनि चिनियाँहरुले भने पालना गरेका छन् । साँझ घर फर्केपछि उनीहरुको स्नान संस्कृति छ । भन्छन, दिनभरको दौडधुप, कामपछि रातीको स्नानले दिनभरको थकान भेटिन्छ । गजब छ, चिनियाँ शैली । कुुकुरको पुच्छर १२ बर्ष.. राखे पनि भनेजस्तै म चीनमा बसेर पनि मेरो स्नान समय चाहिँ बिहान नै छ । कहिलेकाहीँ साइकल यात्रा र पदयात्राबाट फर्केपछि मात्र रात्री समयमा स्नान गर्छु । हामी सनातनीहरु विहान पूजापाठ गछौं । पूजा गर्नुभन्दा पहिले स्नान गर्नु हाम्रो सनातनीय सस्कृति हो ।
चीनमा यो हप्तादेखि चिनियाँ विश्वविद्यालयमा पढ्ने जेनजी समूहका छात्र–छात्रामा खुसीको महिना शुरु भएको छ । यो समेष्टरको अन्तिम महिना हो, डिसेम्बर । यो हप्ता कक्षामा विद्यार्थीहरुले खुसीका कुरा सुनाए । भने, गुरुजी अब एक महिना मात्र पढ्न बाँकी छ, त्यसपछि हाम्रो छुुट्टुी हुन्छ, त्यसपछि हाम्रो छुन्चे (नेपालको दसैैंं) आउँछ । चीनमा एक समेष्टर कक्षा चार महिना १५ दिनको हुन्छ ।
विद्यार्थीहरुको लागि छुुट्टी शब्द किनैं महत्वपूर्ण हुन्छ, एमए पढदै गरेका दयारामले भने, छुुट्टी, छुट्टी, गुरु जी छुुट्टी । त्यो समय आनन्द हुन्छ, घुम्ने हो, खाने हो, रमाइलो गर्ने हो । अध्यापकको पारा देखाउँदै अलि कडकेर भने, ‘अल्छी हो, तिमीहरुको खुसीको दिन आयो हैै ।’ उनीहरुले मुुस्कुराउँदै एकै स्वरमा भने, गुुरुजी ‘चुङ्को रन पु लान, चुुङ्को सोयसङ्ग छिङपन्’ (अर्थ– चिनियाँ जनता अल्छी छैनन्, चिनियाँ विद्यार्थी मेहनती छन् ।)
म चुप भएँ । उनीहरुले मलाई पढाउन थाले, गुरुजी हाम्रो पूर्वजहरुले धेरै मेहनत गरेर आज हाम्रो चीन बनेको हो । हामी कहिल्यै अल्छी हुनु हुँदैन भनेर हामी विश्वविद्यालय प्रवेशपछिको पहिलो महिनाको तीन हप्ताको समय हामीलाई गुरुजीहरुले स्नातकको चार बर्ष, स्नातकोत्तर(एमए) तीन बर्ष पढ्दाको अनुुशासन, मेहनत र हाम्रा पुुर्खाले कति मेहनतका साथ चीनको विकास गरेको कथा पढाउनुु हुन्छ, । हामीले तीन हप्ता देशको माटो, देशको भूूगोल, देशको संस्कृति, देशभक्तिका गाथा र पछिल्लो दशकमा हाम्रो देशले गरेको विकासको इतिहास पढ्छौं । ं। त्यसैले हामी चिनियाँ विद्यार्थीहरु अल्छी हुन सक्दैनौं । अरे, कडा स्पष्टिकरण दिदै भीमले भने, गुरुजी तपाईले देख्नुुभयोे नि चीनका सबै विश्वविद्यालय पढ्ने सबै चिनियाँ विद्यार्थीहरुले तीन हप्ता सैनिक पोशाक लगाएर तालिम लिएको । मैले मधुर स्वरमा भनेँ, ‘हो, युनान विश्वविद्यालयमा पढन आएका सबै नयाँ चिनियाँ विद्यार्थीहरुले तीन हप्तासम्म तालिम लिएको देखेको थिएँ ।’ भीमले थपे, अनि गुरुजी हामी कसरी अल्छी हुनसक्छौं ? तपाई पनि चीनमा बँस्दा अल्छी हुनुहुँदैन, चिनियाँसँग संगत गर्ने नेपाली साथीहरु पनि अल्छी हुन सक्दैन ।
भीमले भन्दै गए, म नेपालजाँदा मैले बनाएको नेपाली साथीहरु अलिअलि अल्छी छ, तर भविष्यमा म मेरो नेपाली साथीहरुलाई पनि अल्छी हुनु हुँदैन, हामीसँग मिलेर काम गरौं भन्छु । नेपालको विकास गरौं, नेपालको सडक राम्रो छैन, सडक राम्रो चाहिन्छ । गत बर्ष ६ महिना नेपाल पढ्न गएका भीमलाई नेपाली सडक खाल्टाखुल्टी, धुलो देखेको कुरा बेला बेलामा मसँग गुनासो र आक्रोश पोख्छ । र, भन्छ, नेपालमा सडक बनाउने कम्पनी राम्रो छैन, काम गर्ने कामदार अल्छी भएर होला सडक राम्रो बनाउँदैन । अहिले म चिनियाँ जेनजी विद्यार्थी हो । भविष्यमा गुरुजी म नेपालको सडक राम्रो बनाउन चीन सरकार र हाम्रो नेताहरुलाई भनेर नेपालमा राम्रो सडक बनाउने योजना लिएर नेपाल जान्छु ।
हाम्रो अभिभावक हाम्रो राष्ट्रपति सी चिनफिङले भन्नुुभएको र गर्नुभएको छ, देशको विकास गर्ने हो भने ‘सबैभन्दा पहिले देशभर राम्रो सडक बनाउनुु पर्छ ।’ चीनमा सडक राम्रो छ, अनि हाम्रो देशमा विकास र गरिवी निवारण भएको छ ।
चिनियाँहरु आफ्नो देश विकासका काम अल्छी नगरी तोकिएको समयभन्दा पहिले गर्दछन् । चीनमा तोकिएको समयभन्दा पहिले काम गर्ने संस्कार छ, विद्यार्थीले यो हप्ता मलाई चीन बारे मजैसँग पढाए ।
हाम्रो चीनको पाँचपुस्ताको नेताहरुले कसरी देश विकास गरे थाहा छ, गुरुजी ?
विद्यार्थीहरुले चीनबारे सिकाएको कुरा डायरीमा टिपेको छु ।
चीनको विकासमा पाँचपुस्ताका पाँचजना महान नेताले अल्छी नगरी कसरी चीनको विकास गरे भन्नेबारे विस्तृत आलेख अर्को हप्ता ..
लेख लामो भयो भनेर सम्पादकलाई ठुस्कने मौका दिनुु हुँदैन । त्यसैले यो हप्ताको कुरा यति नैं हो ।
अन्तमा,
यो शनिबार युनान शहरको पश्चिमी पहाडमा पदयात्रा (ट्रेकिङ्ग) गर्नेे योजना बनेको छ । चिसो मौसममा घामको पार लिदै पदयात्रा गर्नुको मज्जा बेग्लै हुनेछ ।
नेपालमा पनि पदयात्रा (ट्रेकिङ्ग)को मौसम हो, कयौैं विदेशीहरु यात्राका लागि नेपाल आएका छन् । हाम्रो नेपाली संस्कार र संस्कृतिमा अतिथि देवो भवः (पाहुना भनेका देवता हुन्)
चिनियाँहरु पनि पाहुनालाई बोलाएपछि निकै मान मनितो गर्दछन् । म पनि पाहुँना हुँ चीनको लागि । मैले पनि मेरा चिनियाँ मित्रहरुबाट पाएको सम्मानको लागि हद्यदेखि आभार भनेको छु ।
हिमाल र नदीले जोडेको नेपाल–चीन बीचको कयैन संस्कृति र संस्कारहरु समान छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


