
मेड इन चाइना मन्त्र एन्ड मेन

भरत शर्मा
आज, चीनको विकासको कुरा लेख्ने सोचमा छु । तर, चीन विकास यात्राको शुरुवात कहाँबाट कसरी गरौं भनेर अलमलमा परेको छु ।
सन् २००७ मा पहिलोपटक चीन आएको हुँ । त्यसपछि पटक–पटक गरी पाँचपटक चीन यात्रा गरेँ । सन् २०१९ देखि हालसम्म चिनियाँ सरकारले दिएको सुुविधा भोग गरेर गुजारा चलाएको छुु । नेपाली भाषा, संस्कृति र साहित्यका चिनियाँ विद्यार्थीहरुसँग सिकाउने र सिक्ने यात्रामा छु । संयोग, कोभिड महामारी भएको बेला जाडो छुट्टीमा नेपालमा थिएँ, त्यतिबेला झण्डै दुई बर्ष नेपालमा अडकिएँ । महामारीपछि अनलाइनबाट भए पनि पढाउने, पढ्ने काम जारी नै रह्यो ।
सन् २०२२ को अप्रिलमा चीन फर्केँ । त्यसपछि जाडो र गर्मी विदा बाहेकको समयमा चीनमा बर्षको करिव नौ महिना बस्ने अवसर पाएको छु । चीनको विकासबारे चिनियाँ टेलिभिजन सीजिटिएन (चाइना गोल्वल टेलिभिजन नेटर्वक)ले चीनको प्रगति र विकासका कथाहरु देखाउँछ । सीजिटिएन अङ्ग्रेजी भाषामा प्रशारण हुने चीनको एकमात्र सरकारी टेलिभिजन हो । चीनको घरमा एक्लै बस्ने भएकाले होला, मेरा लागि नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृतका पुस्तक र टेलिभिजन नै मेरा ‘प्रियसी’ हुन् । पुस्तक पढ्नु, केही लेख्नु र अल्छी लागेपछि टेलिभिजनमा छायाँचित्र हेरेर समय बिताउनु मेरो दैनिकीको एउटा पाटो बनेको छ ।
गृहस्थ भएर पनि एक्लै एउटा परिवार बस्ने घर (अर्पाटमेन्ट) भित्र बस्दाको साथी टेलिभिजनमा प्रशारण हुने चीनको विकासको कथा देखेर एक्लै मग्न हुन्छु । आफैलाई खुसी बनाउँन खोज्छु, म विकसित देशभित्रको एउटा कुनामा बसिरहेको छु । किनकी हाम्रो सनातन शास्त्रले भनेको छ, आफूले आफैलाई खुसी बनाउन आफैभित्र खुसी खोज्नु पर्दछ । सनातन संस्कृतिको हिमायती भएकाले म आफूभित्र खुसी हुन्छु । र, चिनियाँ धर्तीमा बिताएका विगत र भविष्यका दिनहरुमा खुसी मात्र देख्छु । खुसी देख्नुको कारण हो, चीनको विकास ।

विश्व समाचार, र चीनको विकासका कथा, अनि अन्तर्राष्ट्रिय राजनीतिको बहस हुने कार्यक्रम हरेक दिन हेर्ने गर्छु ।
चीनको विकासको कुुरा गर्दा यहाँको सबैभन्दा राम्रो भनेको सडक यातायात हो । चिल्ला, फराकिला सडक र सडकमा कुद्ने मोटरहरु देख्दा लाग्छ, विकास गर्ने हो भने पहिलो, राम्रो सडक बनाउनु पर्छ । चीनको विकास भनेको ‘रेल’ पनि हो । संसारमा सबैभन्दा बढी रेल सञ्जाल र छिटो कुद्ने रेल चीनमा छ । त्यतिमात्र होइन, चीनमा सबैभन्दा अग्ला भवन र ब्यबस्थित शहरहरु छन् । त्यतिमात्र पनि होइन, चीनमा सबैभन्दा ठूला उद्योगहरु छन्, विश्वको आवश्यकता के हो, यहाँ त्यस्ता सामानहरु उत्पादन हुन्छ, अनि देश अनुसारको भेष भनेजस्तै गरी हरेक देशमा चीनको सामान फरक गुणस्तर र मूल्य निर्धारण गरेर निर्यात गरिन्छ ।
आज संसारका कुनै पनि देशमा ‘मेड इन चाइना’को सामान नपुगेको कमै होला ? के चीन धनी देश हो ? युनान विश्वविद्यालयमा एमए पढ्ने छात्र दयाराम (नेपाली नाम) चीन धनी देश मान्न तयार छैनन् । उनी भन्छन्, ‘चीन विकासको यात्रामा अघि बढेको मुलुक हो रे । चीन धनी देश हुने योजना र आकांक्षा लिएर अगाडि बढेको छ । देश धनी बनाउन जनता (हामी)ले अझै मेहनत गर्नुपर्छ ।’ दयाराम अगाडि भन्दैछन्, ‘चिनियाँहरु आफ्नो देश बनाउने अभियानमा छन् । चीनमा पनि गरिवी छ, सन् २०१२ पछि देशमा आठ करोड जनता गरिवीको रेखाबाट माथि उठेका छन् । शहरहरु राम्रा भएका छन्, ठूला भवन, रेल, सडक, खानेपानी, विजुली छ ।’ दयारामको विचारमा चीनका जनताले राम्रा नाना, मिठो खाना र बस्नका लागि राम्रो छाना पाएका छन् । जनताले चाहना राख्ने यि तीन चीज पाएपछि चिनियाँ जनता खुशी छन् । तर, चीनका नेताहरु देशलाई अझै धनी बनाउने अभियानमा छन् ।
पहिले चीन गरिव देश थियो । सन् १९८५ मा अहिलेको राजधानी बेइजिङमा मोटर होइन, साइकल धेरै थियो । दयारामले एउटा भिडियो देखाउँदे भने, ‘गुरुजी, हाम्रो पाँच पुस्ताका नेताले गरेको मेहनतले आज हाम्रो देश विकास भएको हो । अध्यक्ष माओ चेतुङ, तङ, स्याओपिङ, ज्याङ चमिन, हु जिन ताओ, र अहिलेका राष्ट्राध्यक्ष सी चिनफिङको कुशल नेतृत्वले आजको चीन बनेको र विकास भएको हो ।’
चीनको विकासमा यी पाँचजना नेतालाई हामीले सधैँ सम्झनु पर्छ । दयारामको विचारमा चीनका पाँचजना नेताहरु देशका करिव एक अर्ब ४१ करोड जनताको भविष्य बनाउने नेता हुन् । दयाराम नेताको नाम उच्चारण गर्दा कतै गल्ती हुन्छ कि भनेर निकै शुुद्व उच्चारण गर्न खोज्छन् । र, अन्तिममा भन्छन्, ‘हाम्रा राष्ट्राध्यक्ष सी चिनफिङ्ग हामी युवाहरुको भविष्यबारे सोच्ने नेता हुन् । हामी सधै उहाँलाई सम्मान गछौं ।’
‘पाँचौं पुस्ताका अहिलेका राष्ट्राध्यक्ष सीको कुशल नेतृत्वमा आज हामीले राम्रा नाना लगाउन पाएका छौं, यस्तो राम्रो कक्षा कोठामा बसेर पढ्न पाएका छौं, हाम्रो भोजनालयको खाना पनि मीठो छ’, उनले भने ।
छोङछिङ महानगरपालिकामा घर भएको दयाराम सबै सुविधा राम्रो छ भनेर खुलेर आफनो ठाउँ र देशको विकास भएको कथा सुनाउँछ ।
चीनका जेनजी पुस्ताका मेरा छात्र–छात्रा चीनको विकासको बखान सुनेर खुशी हुन्छन् । तर, उनीहरु बेलाबेलामा दुखित स्वरमा भन्छन्, ‘गुुरुजी, नेपालको सडक राम्रो भएन ।’ काठमाडौंदेखि पोखरा दुई सय किलोमिटर यात्रा गर्न १० घण्टा लगाएर यात्रा गरेका मेरा छात्र–छात्राले सधै गुनासो गर्छन् । नेपालको सडक राम्रो नभएर विकास पनि राम्रो नभएको हो । ‘लुम्बिनीदेखि काठमाडौं यात्रा गर्दा १७ घण्टा लागेको थियो गुरुजी, नेपालको बाटो बनाउनु पर्छ’, बेलाबखत भीमले गुनासो गर्छ, ‘नेपाल सरकार र नेपालका नेताहरुले चीन सरकार र हाम्रो नेताहरुलाई भनेर नेपालको बाटो राम्रो बनाउन सकिन्छ ।’
युनान विश्वविद्यालयमा नेपाली भाषामा एमए पढने भीम (नेपाली नाम)को चीनको सरकारी सेवामा प्रवेश गर्ने योजना छ । ‘नेपालमा राम्रा सडक आवश्यक भएकोले चीनको सहयोग आवश्यक छ भनेर म हाम्रो नेतालाई भन्छु’, उनले भने ।
सडक, रेल, भवन मात्र होइन, चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत परियोजना पनि चीनबाटै शुरु गरेको छ । उत्पादनको क्षेत्रमा पनि चीन अगाडि नै छ । पछिल्लो समय चीनले अध्ययन र अनुसन्धानको क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । विश्वका वैज्ञानिक तथा अध्येताहरुलाई चीनमा नयाँ अवसरको ढोका खोलेको छ । भौतिक विकास चरम हुँदै गएपछि चीनले शैक्षिक र अनुसन्धानको काममा पनि जोड दिन थालेको छ ।
चीनको विकासको कुरा गर्दा छोड्नै नहुने कुरा हो, आन्तरिक पर्यटन । चिनियाँहरु धनी छन्, धनी मात्र होइन, उनीहरु घुमन्ते छन्, हप्ताको दुई दिन शनिवार र आइतवार घरमा बस्नु हुँदैन भन्ने चिनियाँ संस्कृति बनेको छ । छुट्टीमा घुम्न जानु पर्छ, देशको अर्थतन्त्र उकास्न योगदान दिनुपर्छ भन्ने सोच छ । क्या गजब छ है चीन ! विदेशी पर्यटकको तुलनामा पाँचतारे होटलहरुमा चिनियाँहरु नै बसेका बढी देखिन्छन् । पछिल्लो दशकमा चिनियाँहरु देशदुनिँया बढी नै घुम्न रुचाउने भएका छन् । कारण, देशको विकास नै हो । चीन सरकारले पनि राष्ट्रिय विदाको समयमा केही दिन सापटी विदा मिलाएर लामो विदा दिने र जनताहरु घुम्न हिँडुन् भन्ने ‘आन्तरिक पर्यटनमैत्री’ नीति लिएको छ । अर्थतन्त्रलाई चलायमान बनाई देश विकास गर्न पर्यटन एक आधार हो भन्ने कुरा चीनले मजाले बुझेको छ । युवा पुस्ताहरु पनि छुट्टीमा रमाउने र घुम्ने प्रचलन बढ्दो छ । केन्द्रीय र प्रान्तीय सरकारले पर्यटकीय क्षेत्र विस्तारमा निकै ठूला लगानीहरु गरेका छन् ।
चीनले देशभर तालहरुको संरक्षण गरेको छ । सानो पोखरी भएको ठाउँलाई पनि संरक्षण गरेर त्यसलाई पर्यटकिय केन्द्र बनाउने र जनतालाई पोखरीको छेउमा बसेर छुुट्टीमा रमाउने विकासको काइदा निकालेको छ ।
आजको चीन बुझ्नका लागि चीनको इतिहास पढ्दा के थाहा हुन्छ भने, चिनियाँहरुले कति कष्ट र दुःख भोगे र आज तिनै चिनियाँले सुखको अनुुभव गर्दैछन्, थाहा हुन्छ ।
नेपालसँग सीमा जोडिएको चीनको सिचाङ्ग प्रान्त (तिब्बत)को विकासको कथा बेग्लै छ । सिचाङ्ग प्रान्तको विकासको कथा कुनै दिन लेखौँला ।
शनिवार बिहान फोन गरेर सम्पादकज्यू भन्दैछन्, ‘चीनबाट नमस्कार खोइ ? समयमा काम न-गर्ने ब्राह्मणपुत्र !!’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


