अस्ट्रेलिया बसाइको स्मृतिमोह

डा.विष्णुबहादुर जीसी

माया प्रेम ज्ञान खुसी बाँड्दा यसको दायरा अझ वृद्धि हुने कुरा सुन्ने र पढ्ने गरेको छु । यसपटक अस्ट्रेलियामा चार महिनाको बसाइले सुनेको पढेको विषयलाई चरितार्थ गर्ने, साक्षात्कार गर्ने अवसर मिल्यो; विदेशी भूमि, विदेशी नागरिक, विदेशी वातावरणले पनि मानिसको मन छुँदो रहेछ,माया प्रेम लाग्दो रहेछ,खुसी बढ्दो रहेछ । सायद वैश्वीकरण (Globalization) को उद्देश्य र परिकल्पना पनि एक विश्व एक समाज नै  हो ; यहाँ मानिस, संस्कृति र अर्थतन्त्र समेत एकअर्कामा जोडिएको हुन्छन् । भौगोलिक सीमा, पारिवारिक नाता भन्दा धेरै टाढा टाढा सम्म नाता गास्न, सम्बन्ध सुमधुर बनाउन सकिँदो रहेछ आफ्नो मातृभूमि, आफ्ना नातेदार, इष्टमित्र, साथीभाई सँगको सम्बन्ध र सोचाईलाई कुनै घाटा बाधा नपर्ने गरी । बरु यस किसिमको सोचाइ, व्यवहारले  आफ्नो मातृभूमिप्रति गर्नुपर्ने जिम्मेवारी बढेको अनुभव महसुस भएको छ ।  त्यसैले धेरै माया र खुसीका अवसरहरू जुटाइदियो यो बसाइले । ती अवसरहरूको सम्झना नेपाल आइसकेपछि झन् प्रगाढ हुँदा मनको भारीलाई निकास दिने खोजीको क्रममा लेखले आकार लिएको हो ।

 १८  असोज २०८१ का दिन काठमाडौँबाट प्रस्थान गरी दोस्रो दिनको राति ८.१० बजे अस्ट्रेलियामा पुगेर १८ माघ २०८१ राति ७.३० बजे काठमाडौँ ओर्लिँदा हामीहरूको अस्ट्रेलिया बसाई  ठिक चार महिना पुग्यो । काठमाडौँ उत्रेको पनि आज चार दिनका दिन २१ माघ २०८१ मा चार महिनाको सुखद बसाइको स्मरण गर्ने जमर्को गरेको छु । लेखमा अस्ट्रेलियाका सबै सुखद क्षणहरूको विवरण राख्न नभ्याउने तथा समय पाबन्दीका कारण मुख्य मुख्य विषयहरु मात्र समेट्नु पंक्तिकारको बाध्यता बनेको छ । त्यसैले केही केही विषयहरू र कुनै कुनै समयलाई मात्र समेट्न सकिएको छ, यहाँ । केही विषय पहिलेको लेखमा समेटिएको र केही विषय आउँदो समयमा पनि समेट्ने अभिप्राय राखेको छु ।

अस्ट्रेलिया पुगेको तीन चार दिनमै मैले परदेश शीर्षकमा लेख तयार गरेको थिए । तर सम्पादकले मेरो लेखको शीर्षकलाई लेखको पाठ्यंशमा रहेको “खुसीको उच्चतम उपहार हो यो लेख” भन्ने वाक्यलाई टिपेर शीर्षक राखिदिनु भयो । अहिले सम्झँदा उहाँले ठिक निर्णय गरिदिनुभयो मेरो लागि भन्ने लाग्दछ-‘त्यो मेरो खुसीको उच्चतम बिन्दु थियो नै’ अस्ट्रेलिया बस्ने दिनहरू छोटिँदै जाने क्रममा र नेपाल आइपुग्दाको अवस्थामा पनि । त्यो लेखले अस्ट्रेलियाको परिवेशलाई उजागर गरेको थियो । उक्त लेख nepalnamcha.com/view-point/23956/ मा हेर्न सकिनेछ । त्यसैगरी लगत्तै पचछाएको क्रुज यात्राले खुसी अझ उच्चतम बिन्दुमा पुगेको महसुस भयो ।  अस्ट्रेलिया पुगेको १० दिनमै तीन रात चार दिनको क्रुज यात्रा हाम्रो लागि प्रथम र सुखद अनुभव थियो । यो बारेमा पनि मैले एउटा लेख “प्रशान्त महासागरमा क्रुजयात्रा” मार्फत अनुभव सेयर गरेको हुनाले यहाँ लेख छोट्याउन खोजेको छु । कृपया यो लेख nepalnamcha.com/global/ 23973/ मा हेर्न सक्नुहुनेछ ।

हामीहरू (म र मेरो श्रीमती) अस्ट्रेलिया पुगेकै महिनाको २५ तारिख हाम्रा अनन्य मित्रहरु Zak Rahmani र Sally Rahmani ले हामी र हाम्रो छोरा बुहारीहरूको लागि आफ्नो बासस्थान Drummoyne, सिडनीमा Lunchको आयोजना गर्नुभयो । समुद्रको किनारमा बनेको भव्य र सुन्दर बासस्थानबाट बाहिर देखिने समुद्री दृश्य  र हरियाली अत्यन्त मनमोहक थियो । त्यसमाथि Sally ले तयार पार्नुभएको विभिन्न परिकारको खाना र Zak-Sally को आतिथ्यले हामीहरू रमायौँ, हर्ष विभोर भयौँ । हसी मजा निकै भयो । यो खुसी मेरो पूर्व कर्मथलो शिक्षा विभागसँग जोडिँदाको स्मरणले पनि त्यत्तिकै आनन्ददायक बन्यो । अस्ट्रेलियन सरकारको तर्फबाट शिक्षा विभागमा volunteer सिनियर कन्सल्टेन्टको रूपमा रहेका Zak र उनको श्रीमती Sally सँगको सम्बन्ध आजको करिब १० वर्षअघि सुरु भएको थियो । त्यो सम्बन्ध झाँगिएर आज यो रूपमा यति फराकिलो र एकअर्काको  शुभेच्छुक बन्न सक्ने कुरा सायद मेरो  कल्पनामा थिएन ।

नीलो कञ्चन समुद्र र हरियाली भूभागको अनुपम संगम Cape Solander घुम्नका लागि हामीहरूलाई २८ अक्टोबरका दिन संयोग मिल्यो । संयोजन छोरा विविधले गरेको थियो । Cape Solander न्यू साउथ वेल्स (NSW) को Kurnell Peninsula (उपद्वीप) मा रहेको एउटा बेजोड सुन्दर ठाउँ लाग्यो । गाडीबाट ओर्लन बित्तिकै त्यहाँ स्थित Look Out (दृश्यावलोकन गर्ने ठाउँ) बाट टाढा टाढासम्म देख्न सकिने दृश्यहरू हेरीरहन मनले चाहे पनि त्यहाँ बनाइएका हिँड्ने बाटाहरु र पर्यटकहरूको आवतजावत भइरहेको देख्दा छोराबुहारी समेत हामीहरु चारजना आआफ्नो झोला बोकेर हिँड्नका लागि तयार भयौँ । करिब ३x४ फिट चौडा र टाढा टाढासम्म बिछाइएका छुट्टै किसिमको मेटलका साना टुक्राहरू जोडेर बनाइएको निकै नरम र सुविधाजनक यो बाटो हिँडिरहँदा अझ पर परसम्म पुग्ने चाहना बढ्दै गयो र धेरै परसम्म पनि पुगियो । तर कुनै पनि विषयवस्तुको गन्तव्य र सीमा हुने भनेजस्तै जङ्गलको बीच टुप्पोमा बनाइएको Light House सम्म पुगेपछि अगाडि नबढ्ने निर्णय गर्यौ । लाइट हाउस समुद्रमा जहाजहरूको मार्गनिर्देशनका लागि, चट्टानी भागहरू र अन्य जोखिमहरूको चेतावनी दिन तथा जहाजहरूलाई बन्दरगाहसम्म सुरक्षित रूपमा प्रवेश गराउन मद्दत गर्ने उद्देश्यले एक उज्यालो प्रकाश उत्सर्जन गर्ने संरचना बनाइएको हुँदो रहेछ ।

 फर्कने क्रममा नजिकै ठूलाठूला चट्टानहरू जुन एकले अर्कोलाई बोक्दै आफैमा मिलेर बसेका छन्, तिनीहरुलाई बिछौना सम्झेर केही क्षण आराम गर्यौ । करिब १००० फिट सिधा तल देखिने समुद्र र समुद्रको छेउबाट उठ्दै गरेका पत्रपत्र परेका चट्टानहरुमा गुफाहरु बनेका, बनाइएका रहेछन् । ती गुफाहरूमा माछा मार्ने माझीहरू बास बस्ने पनि गर्दा रहेछन् । सरकारले ठाउँ ठाउँमा साइन पोस्टहरू राखेको र बाटो पनि हिँडौँ हिँडौँ खालको भएकाले ससाना केटाकेटीहरु साथै सबै उमेरका मान्छेहरु एक्ला एक्लै पनि आउने जाने गरेको देख्दा नेपालका पहाड र हिमाली भागमा पदयात्रामा जाँदा म आफू बाटो थाहा नभएर अलमलमा परेको सम्झना भयो । मानिसको उचाइसँग मिल्दाजुल्दा ससाना बुट्यानहरूको बीचमा बनाइएको आर्टिफिसियल ट्रेकिङ ट्रेलमा हिँड्न, सुन्दर प्रकृति र शान्त सुमधुर वातावरणको आनन्द लिइरहने इच्छा हुँदाहुँदै  हाम्रो समयले भने नेटो काटेछ । तर प्राकृतिक सौन्दर्यका लागि प्रख्यात सुन्दर समुद्री तट केप सोल्यान्डरको सम्झनाले भने जीवन पर्यन्त खुसी निम्त्याइरहनेछ ।

अब म Mt. Canobolas को प्रसङ्ग कोट्याउन चाहन्छु । यो पहाड अरेन्जबाट १३ किलोमिटर दक्षिण पश्चिममा र सिडनीबाट २५० किलोमिटर पश्चिममा पर्दछ । छोरा विशेष र बुहारी रिशनको कर्मथलो अरेन्जको  सबभन्दा अग्लो पहाड माउन्ट क्यानोबोलस (Canobolas) को टुप्पोमा (१४०० मिटर) धेरै पहिलेदेखि पुग्ने मेरो इच्छा डिसेम्बर ४ का दिन पूरा भयो, विशेषको संयोजनमा । अविरल पानी परेका कारणले पैदल यात्राको सम्भावनालाई परित्याग गरी गाडीबाटै टुप्पोमा पुगियो । गाडीमै बसेर करिब पौने घण्टासम्म पानी रोकिने सम्भावना लाई कुर्दै बाहिरको अस्पष्ट दृश्यको अवलोकन गर्यौ । यो अस्पष्ट दृश्यमा पनि अरेन्ज सहरको धेरै भाग देख्न पाइयो, यहाँबाट । अनि टुप्पोमा आगन्तुकहरूको लागि निर्माण गरिएका पूर्वाधारहरू र त्यहाँ वरपरको दृश्यप्रति सम्मान गर्दै माउन्ट क्यानोबोलसको फेदमा (Foot) रहेको अत्यन्त रमणीय पर्यटकीय स्थल, क्यानोबोलस ताललाई फनको मारेर घरतर्फ लाग्यौँ । । त्यहाँ उम्रेको पानी जम्मा गरी बाँध निर्माण गरेर ठूलो क्यानोबोलस ताल बनाइएको हो । यहाँ पिकनिक गर्ने, स्विमिङ गर्ने, फिसिङ गर्ने, घुम्न आउने मानिसहरूको घुइँचो लागिरहेको हुन्छ । जङ्गलको बीचमा रहेको यो तालको सुन्दरता हेर्न र पिकनिकका लागि हामीहरु यसभन्दा अघिको अस्ट्रेलिया यात्रामा पनि त्यहाँ पुगेका थियौँ; मनोरञ्जन गरेका थियौं । यसपटक पनि दुईचोटिसम्म पुग्न समयले साथ दियो ।

यसपटकको अस्ट्रेलिया भ्रमणमा पनि क्यानवेरा जाने संयोग मिल्यो,कामको सिलसिलामा । यो भन्दा पहिले छोरा विशेषसँग र यो पटक छोरा विविधसँग हामी डिसेम्बर ८ मा ४ बजेतिर क्यानबेरा पुग्यौ र Madison Capital Executive Apartments मा Check in भयौं । त्यही दिन बेलुकी अस्ताउँदो सूर्यको दर्शन गर्न एवं दृश्य अवलोकनका लागि ८४३ मिटर अग्लो  Mt Ainslie मा हुत्तिँदै पुग्यौँ । यसअघिको भ्रमणमा हामीहरुले यो ठाउँ र क्षणको स्वाद लिइसकेकाले योपटक पनि यो लुकाउट (Look out) भ्यूप्वाइन्ट  छुटाउन चाहेनौँ । यसपटक पनि माउन्ट एनस्लीबाट देखिएको सूर्यास्तले आकाशलाई सुनौलो र गुलाबी रंगले रंगाइदिएको थियो; सम्पूर्ण क्यानबेरा जादूमय बनेको थियो । चम्किलो बत्तीको प्रकाशले क्यानबेरा आकर्षक र सुन्दर देखिन्थ्यो । तर विडम्बना भनौँ वा वास्तविकता भनौँ रात छिपिँदै गर्दा  हामी त्यहाँबाट बिदा हुन बाध्य भयौँ ।

अहिले अस्ट्रेलिया र नेपालमा निर्माण गरिएका लुकाउट तुलना गर्नु गर्दा अस्ट्रेलियामा पहाडका टुप्पामा न्याचुरल सेटिङमा ससाना पूर्वाधार निर्माण गरेको देखियो भने नेपालमा बनाइएका भ्यु टावर अग्ला र खर्चिला देखिन्छन् । नेपाल एम्बेसीमा गर्नुपर्ने काम पनि त्यसै दिन सम्पन्न भएकाले क्यानबेराको सुखद अनुभव आत्मसाथ गर्दै त्यही दिन Sydney फर्क्यौँ । समयमै काम सम्पन्न गरिदिनुहुने एम्बेसीका Charge’ d’ Affaires’ श्री कुलबहादुर मगरलाई अहिले पनि धन्यवाद दिन चाहन्छु ।  पहिलोपटकको भ्रमणमा विश्व प्रख्यात वार म्युजियम,पार्लियामेन्टको अवलोकन गरिसकेकाले पनि यसपटकको दुई दिन एक रातको यात्रामा सम्भव भएजति भ्रमण र अवलोकन गरेर क्यान्बेराबाट बिदा भइयो । मेरो सिंहावलोकनमा फराकिला बाटोहरू, बाटोहरूको छेउछेउमा ठुलठुला रुखहरुको हरियाली, ठाउँठाउँमा सुन्दर पार्कहरू, पातलो र सुन्दर बस्तीको सहर हो, अस्ट्रेलियाको राजधानी क्यानवेरा ।

१४ डिसेम्बरका दिन करिब पौने घण्टाको ड्राइभपछि हामीहरु Wentworth Falls क्षेत्रमा पुग्यौं । गाडीबाट ओर्लने बित्तिकै नजिकै बनाइएको लुकाउटबाट वरपरको दृश्य अवलोकन गर्दा साह्रै रमाइलो लाग्यो । थाहा भयो,यो ब्लु माउन्टेन भित्र पर्ने सानो रमणीय स्थल रहेछ । ब्लु माउन्टेनको मन लोभ्याउने दृश्यावलोकनपछि हामीहरू ओरालो लाग्ने निर्णय गर्यौ । सुरुसुरुमा ओरालो सजिलै भएपनि ओडार खोपेर, काटेर बनाइएको नाक ठोकिने ठाडो बाटोमा फलामका बारहरू समाउँदै बिस्तारै बिस्तारै ओरालो झर्दै गर्यौ । केही ठाउँहरूमा यस्तो डर पनि लाग्यो कि अब तल पनि जान सकिँदैन अनि माथि फर्कन पनि सकिँदैन । तर नजिकै देखिएका झरनाहरुले  हामीहरूको मनोबल लाई उत्प्रेरित गर्दै थिए । त्यही उत्प्रेरणाले हामीहरू अझ तल तलसम्म पुगेर ठूलो झरनाको दृश्यावलोकन गर्न र त्यसमा स्नान गर्न पनि भ्यायौँ । ठूलो झरनाको पानी आफूमाथि बज्रिदा धेरैबेर उभिन गाह्रो भयो । त्यसैले झरनाको बीचबाट छेउछेउ तर्फ लागियो र छेउछाउको झरनामा मात्रै नुहाउने काम गरियो । साथै, त्यहाँ जम्मा भएको पानीमा स्विमिङ पनि गर्‍यौँ । यो रमाइलो क्षण सकिनासाथ उकालो चढ्नुपर्ने बाध्यताको सम्झनाले हामी फेरि होस् हवास भयौ । तर विकल्प कुनै नभएकाले उकालो चढ्न हिम्मत निकाल्यौँ । विशेष गरी मेरो श्रीमती बिमलाको खुट्टाको समस्याले गर्दा यो यात्रा उनको लागि कठिन र चुनौतीपूर्ण नै थियो । तर चुनौतीका बावजुद पनि हामीहरुलाई साथ दिन सकेकोमा उनको अदम्य साहसको  छोरा विविध र मैले पनि प्रशंसा गर्यौ । अहिले सम्झँदा छोरा विविधको सहयोग,साथ र प्रेरणाले मात्र मेरो खुट्टाहरु अघि बढेका हुन् भन्ने गर्छिन्,उनले ।

अब म अलिक फरक विषय तर नेपालको लागि पनि उपयोगी हुनसक्ने विषयसँग ठोकिन पुगेको छु । Penrith City Council भित्र पर्ने पेनरिथ Beach जसलाई पोनडाई (Pondi) पनि भन्ने गरिन्छ, हालचालै मर्मत निर्माण गरिएको आर्टिफिसियल ताल हो, यो । सायद पेनरिथ काउन्सिल वरिपरि,नजिकमा समुद्री Beach नभएकाले जनताको सुविधाको लागि २५ लाख डलर खर्च गरेर यो ताललाई प्रयोगमा ल्याइएको छ । वरपरको पानी जम्मा गरेर बाँध बाँधेर पानी जम्मा गरी तालसम्म पुग्ने मोटर बाटो निर्माण पश्चात ताललाई प्रयोगमा ल्याइएको हो । तालको छेउहरू बालुवाले भरिएको हुनाले पनि यसलाई Penrith Beach भनिएको हुनसक्छ । गर्मीको दिनमा यहाँ मानिसहरूको घुइँचो लाग्न सुरु भएको छ । चारजना छोराबुहारी र हामी दुई धेरै पटक घुइँचो बढाउन मद्दत गर्‍यौँ, मनोरञ्जन लियौ । यो संरचना हेर्दा र जनताको चासोको विषयमा सरकारको अग्रसरता देख्दा नेपालका पोखरी खोलानालाको पानी संरक्षण गरेर खानेपानी, सिँचाइ तथा मनोरञ्जनका सुविधाहरु थप गर्न सकिने सम्भावनालाई मननसम्म गरियो । उदाहरणका लागि काठमाडौँको मध्य सहरबाट बगिरहेको, पुर्खाहरुले तीर्थका रूपमा मान्दै आएको, धार्मिक सम्पदाका रूपमा संरक्षण गर्दै आएको बागमती नदीको बलियो र दुरगामी संरक्षण र उपयोगका लागि नेपालले सपना देख्नुपर्ने दिन आइसक्यो जस्तो पनि लाग्यो ।

अस्ट्रेलियाको प्रमुख सहर सिडनीको सिटी सेन्टर डार्लिङ हार्बरमा यसपटक पनि धेरै पटक भ्रमण गर्यौ, टहलियौँ र बरालियौ पनि । यो डार्लिङ हार्बर अस्ट्रेलिया र विश्वकै एउटा प्रसिद्ध पर्यटकीय स्थलको रुपमा चिनिन्छ भने अस्ट्रेलिया भ्रमणमा आउने सम्भवत धेरै मानिसहरू यो ठाउँको अवलोकन गर्न छुटाउँदैनन् होला । पर्यटकहरूको घुइँचो लाग्ने यो ठाउँमा हामीहरु पनि पाँच छ पटक पुग्यौँ, यसपालि मात्र । नोभेम्बर २३ मा यहाँ आयोजना गरिएको नेपाल महोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरिएको थियो । कार्यक्रम निकै रमाइलो थियो भने त्यहाँ उपस्थित नेपालीहरू निकै खुसी देखिन्थे । नेपाली परिकारका स्टलहरूबाट दर्शकहरूले आफ्नो रुचि अनुसारको खानाको आनन्द लिइरहेको पनि देखिन्थ्यो । फेरि डिसेम्बर ३१ का दिन नयाँ वर्ष २०२५ लाई स्वागत गर्न,मनाउन सिडनी हार्बर क्षेत्रमा गरिने आतिस बाजी हेर्न र अनुभव लिन हामी पनि राति करिब ११.३०बजे डार्लिङ हार्बरको नजिक, भिडभाडमा लामबद्ध हुन पुग्यौँ । यो रमाइलो हेर्न मानिसहरू दिउँसोदेखि नै हार्बर क्षेत्रमा भेला हुने रहेछन् । हामी त्यहाँ पुगेको करिब आधी घण्टामा आतिसबाजी (Firework) सुरु भयो । आतिसबाजीले धेरै टाढा टाढासम्म रङ्गीन भयो आकाश, रङ्गियो सिडनी । करिब एक घण्टाको उभ्याईपछि रमाइलो सम्झना बोकेर करिब ३ घण्टापछि Quakers’s Hill, आफ्नो बासस्थान पुग्यौँ ।

चार महिनाको अस्ट्रेलिया बसाईमा आठ दश पटक सिडनी-अरेन्ज-सिडनी आवतजावत गरियो होला । प्रत्येकपटकको ड्राइभ र यात्रामा छुट्टै रौनक, छुट्टै अनुभव, छुट्टै गफ र खुसीले बास गरेको अनुभूति भयो यात्राभरि र अहिले पनि । ड्राइभमा निस्कनु आफैमा रमाइलो त्यसमाथि हरियाली, घना जंगल,तरेली परेर फैलिएको बान्की परेको भूभागमा बनेका समथर, भिरालो र थुम्का थुम्कीहरूमा गरिएका कृषि, पशुपालन, घाँसखेती पालनका दृश्यहरू जोसुकैको लागि मनमोहक नहुने कुरै भएन । त्यो दृश्य अहिले पनि मेरो आँखा वरिपरि घुमिरहेको पाउँछु, साह्रै रमाइलो थियो त्यो समय! प्रत्येकपटकको यो यात्रा ब्लु माउन्टेनको जङ्गल पार गर्दै जानुपर्ने भए तापनि जाने आउने बाटोहरू धेरै भएकाले प्राय: हिँड्नु अघि कुन बाटो जाने भनेर छोराहरूले सोध्थे ।  सुरुसुरुमा हामीहरुले नयाँ बाटो जाने प्रस्ताव राख्थ्यौ । ब्लु माउन्टेनको घना र विशाल जङ्गलको बीचबाट यात्रा गर्दा जङ्गलभित्र लुकेको अनुभूति हुन्थ्यो । जङ्गल पातलिएको ठाउँबाट देखिने टाढा टाढासम्म फैलिएको जंगलको दृश्य अवलोकन गर्दा, ठाउँ ठाउँमा रोकेर चिया कफी खाजा खाँदा, विश्राम गर्दाको अनुपम आनन्द सायद बिरलै भेटेको छु, मैले । साथै कान्छो छोरासँग हिँडेको बेला त्यहाँ उसले ठाउँठाउँको बाटो विकास र निर्माणमा आफू संलग्न भएको, हुँदै गरेको  जानकारी गराएको विषयले मलाई आनन्द एवं गौरवको अनुभूति हुन्थ्यो र अहिले पनि छ ।

अब म सिडनीमा ठूलो छोरा बुहारी बस्ने Quakers Hill को नजिकैको रमणीय Nuragingy Reserve पार्कको बारेमा केही पंक्तिहरू मात्र थप्न चाहेँ । यहाँ ठूलो छोरा र म एकपटक छोटो समयको लागि पुगेका थियौं । नेपाल हिँड्नु दुई दिनअघि बिहानीको उदाउँदो सूर्य सँगै बिमला सहित तीनजना त्यही ठाउँमा पुग्यौ । करिब आधी घण्टा भित्र त्यहाँको रमणीय र अन्तिम घुमघाम र कफी पिएपछि हामीहरू फर्किने क्रममा छोराले “बाबुआमालाई घुम्न पाए पुग्ने” भन्यो, हँसिलो अनुहारमा । हामीहरु खुसी भयौँ ।  खुसी यस मानेमा कि सायद छोरा पनि हामीलाई घुमाउन पाएकोमा खुसी थियो होला । हाम्रो मन दुख्ने गरी अहिलेसम्म उसले कुनै व्यवहार वा शब्द प्रयोग गरेकै छैन । मन खुलेर पुग्ने गरी हाँस्यौँ; सत्य कुरालाई छोराले मजाकका रुपमा व्यक्त गरेकोमा ।

यी सबै क्षणहरुको सुखद अनुभूति गराउन विशेषगरी हाम्रा छोराबुहारीहरु, भाइबहिनीहरू, भतिजाभतिजीहरू, भान्जाभान्जीहरू, स्वदेशी तथा विदेशी इष्टमित्रहरूको अहम भूमिका रह्यो । नेपालमा जन्मनुभएका अस्ट्रेलियन नागरिक Tim Cooke र उहाँको परिवारसँग हामी नेपाल आउनुभन्दा १० दिन अघि मात्र भएको भेटघाट र सामिप्यता पनि फलदायी रह्यो । हामी नेपाल फर्केपछि उहाँले मलाई लेख्नुभएको इमेलमा छोटो भेटघाटको महत्वलाई यसरी प्रष्टाउनु भएको छ, ‘ Imagine if we lived life like we only have a couple of days left on the earth, I’m sure we would make the most of our precious short time’. हामी नतमस्तक छौं, माथि उल्लेख भएका र हुन नसकेका विषयमा हाम्रो मन लोभ्याउने अवसर दिनुहुने हाम्रा सम्पूर्ण सम्पूर्ण परिवारजन र अस्ट्रेलियाप्रति ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button