
‘विश्व ब्राह्मण दिवस’ किन सुरु नगर्ने ?
ब्राह्मणपुत्र लकडाउन डायरी–३४
भरत शर्मा
फेसबुकले एउटा राम्रो काम गरेको छ । पुराना मित्रहरुको खोजी गर्न सजिलो बनाइदिएको छ । २० बर्ष अघि काशीमा साथै पढेका मित्र उमेश तिवारीले दुई दिनअघि म्यासेन्जरमा एउटा पोष्टर पठाए, ‘जुन १ तारिख विश्व ब्राह्मण दिवस हो, नेपालमा यो पनि दिवस मनाउनु प-यो ।’
हात धुनेदेखि सुर्ती सेवन नगरौं भनेर दिवस मनाउदै गर्दा ‘विश्व ब्राह्मण दिवस’ पनि मनाउने दिन आएछ हैं । ल ठीकै छ, अनुरोध मान्नै प-यो ।
मैले ब्राह्मण दिवस मनाउने भनेर सुनेको यो पहिलो पटक हो । अहिलेसम्म नेपाल र भारतमा विश्व ब्राह्मण दिवस मनाइएको थाहा थिएन । सहपाठी साथीले भनेको कुरा मान्नै प-यो । मैले चाहिँ आज १ जुन मंगलवारको दिन विहानैं आफ्नो घरभित्र बसेर ‘विश्व ब्राह्मण दिवस’ मनाएँ ।
कूटनीतिज्ञ आचार्य चाणक्यको जन्मोत्सव, पराक्रमी परशुरामको तस्वीर समेत राखिएको पोष्टरमा ‘विश्व ब्राह्मण दिवस’को अवसरमा भारतका विभिन्न प्रान्तका संगठनहरुले शुभकामना आदानप्रदान गरिरहेका छन् । सामाजिक सञ्जाल ह्वाटसपबाट मलाई पनि मंगलवार शुभकामना पठाएका छन् ।
विश्व ब्राह्मण दिवस भने पनि नेपालमा भने कुनै संगठनले दिवस मनाएको छैन । नेपालमा यो खासै चासो बनेको छैन । मेरो दुई दशकको भारत यात्राले यही भन्छ, ‘भारत संसारको विचित्रको देश हो ।’ भारतमा के छैन ? गरिवी, अमिरी, विद्वता, साधु (नक्कली–सक्कली) सबैसबै ।
भारतमा नभएका संघ संगठन संसारमा कही पनि छैनन् । धेरै विविधता भएको संसारको देश ‘भारत’ हेर्न लायक छ । यदि तपाईले भारत यात्रा गर्नुभएको छैन भने जीवन अधुरो, अपुरो र केही नयाँ ठाउँ नदेखेको यात्री हुनुहुन्छ । त्यसैले अनुरोध छ, जीवनमा एकपटक भए पनि भारत यात्रा गर्नुहोस् । विचित्र संस्कृति, अनेकौं परम्परा, मानिसको जीवनशैली र भारतका नागरिकको दिनचर्या थाहा पाउनु भयो भने अनौंठो लाग्छ । भारतभित्र पनि उत्तर र दक्षिणमा धेरै भिन्नताहरु छन् ।
आज हामीले कुरा भारतको होइन, विश्व ब्राह्मण दिवसको गर्न खोजेको हो ।
कुरा उही पुरानो दिनको याद आयो, सन् २००१ तिर हुनुपर्छ । काशीबासका लागि जानु भएका विराटनगरका गुरू देवराज पौडेलले हामीलाई कक्षामा भन्नुभएको थियो, ‘शम, दम, तप, स्वाध्याय, वेदाध्ययन, त्याग, सन्तोष, सहनशीलता, विनय, विद्या, अर्काको गुणमा दोषदृष्टि नराख्ने, आत्मज्ञानमा प्रसन्नता हुनसक्नु नैं ब्राह्मणमा हुनपर्नेे चरित्र हो । त्यसैले बाबुहरु जीवनभर आफुनो सत्चरित्रमा रहनु ।’
गुरुको पढाउने शैली निकै मिठो थियो, सरल तरिकाले एउटा श्लोक भन्ने र त्यसको ब्याख्या घण्टौंसम्म गर्ने । कहिलेकाही निकै अल्छी लाग्यो भने गुरुले भन्नुहन्थ्यो, ‘अहिले तिमीहरुलाई मेरो कुरा नमिठो लाग्न सक्छ । तिमीहरु नैं अध्येता बनेपछि थाहा पाउँछौं ।’
एउटै विषयमा अनेक शास्त्रका प्रसङ्ग उल्लेख गर्दै प्रस्तुत गर्ने गुरुले एक दिन ब्राह्मण चरित्रको बारेमा पढाउनुभएको थियो । संस्कृत साहित्यमा एउटा सानो ग्रन्थ छ ‘तर्कसङ्ग्रह’, यो पुस्तक जति पढ्यो नयाँ सोच आउँछ ।
पिताको धर्म आफ्नो सन्तानलाई शिक्षा दिनु हो । आमाको धर्म सन्तानको लालनपालनमा ध्यान दिनु हो । ‘ब्राह्मण चरित्र अनुसार जीवन चलाउने हो भने हाम्रो कर्म भनेको अध्ययन, अध्यापन, यज्ञ र अनुष्ठान गर्ने, दान दिने र दान लिने हो ।
ब्राह्मणको मित्र भनेको ‘प्राणीभित्रको आत्मा’ हो । उसले कसैलाई शत्रु नैं देख्दैन । शत्रु भनेको ‘मन’ हो । काम, क्रोध, लोभ, मद, मोह, भत्सर हाम्रा महान शत्रु हुन् । मैले, तपाईंले हामी सबैले मःमः भनेर सम्झने शत्रु यिनै हुन् ।
मानिस त केवल हर्ष, शोक, भय, पीडा र जन्म–मृत्युको चक्करमा परेको छ । सूर्य, अग्नि, आकाश, बायु इन्द्रिय, चन्द्रमा, सन्ध्या, दिन रात, दिशाहरु, जल, पृथ्वी, काल यी सबै हामीले भोगेका कर्मका साक्षीहरु हुन् ।
सत्व, रज, तम यी तीन गुणको विभिन्नताले गर्दा हामीले गरेका कर्मको आधारमा पुण्यात्मा, पापात्मा र पाप र पुण्य दुवैले युक्त भएर सुखी, दुःखी र सुख र दुःख दुवैले युक्त भएका तीन प्रकारका प्राणी छौं संसारमा ।
हाम्रा कुनै न कुनै पुर्खाले पाखुरी खियाएर आर्जित धनमा सन्तानले सुख र दुःख पाइरहेको हुन्छ ।
हामीले जानी नजानिकन तीन तरिकाले पाप गरेका हुन्छौं । मन, वाणी र शरीरले गरेको पापको प्रायश्चित गर्न सक्छौं तर हामी भित्रको अहम् भावले क्षमा भाग्न सक्दैनौं । विनम्रता र शालिनता नभएपछि क्षमा माग्न सक्ने क्षमता हुँदैन ।
हामीभित्रको दुःख, राग, द्वेष, भय, अभिमान, प्रमाद, उन्माद, शोक, मोह, लोभ, भात्सर्य, ईष्र्या, अपमान, भोक, प्यास, मानसिक–शारीरिक कष्ट दिने रोग, जन्म, जरा र मृत्यु आदि यस्ता अनेकौं विध्नबाट जीवन चलेको छ ।
हाम्रा चार आश्रम छन्’ ब्रह्मचर्य, गृहस्थ, बानप्रस्थ, संन्यास । सबैको २५– २५ बर्ष आयु गरी मोटामोटी सय बर्षको तोकिएको छ । अहिलेको खानपान, जीवनशैली र रोगब्याधिले अल्यापुमा इहलीला समाप्त हुने गरेको छ । पूर्ण आयुमा बाँच्ने अधिकार खोसिएको छ ।
यी सबै कुरा गुरुले बताउनुभएको प्रसङ्ग अहिले सम्झदै छु ।
त्यसो त, अहिले उपदेश सुन्ने, पढ्ने र मनन गर्ने समय नैं होइन, भौतिक उन्नती नैं जीवनको सफलता ठान्नेहरुले आफन्तजनको परलोक यात्रा हुन थालेपछि मात्र धर्म र संस्कार भनेको के रहेछ भन्ने हेक्का हुन थाल्छ ।
चार आश्रममध्ये सुखको आश्रम भनेको गृहस्थ हो । तर, कलिकालमा सबैभन्दा बढी तनाव भनेको गृहस्थ आश्रममा हुने गरेको छ । सनातन धर्म र हाम्रा पूर्वजले नारीहरुलाई देवी मानेर हरेक बर्ष दुर्गापक्षमा पूजा अर्चना गर्ने परम्परा मान्दै आएका छन् । आधुनिक जगतमा महिलाले गृहस्थ आश्रममा भोग्य र अधिनमा राख्ने काम गरेका छन् ।
सुन्दर घरमा एक देवी कालीको रुपमा प्रवेश गरिन भने भताभुङ्ग र देवी भइन भने सुन्दर मन्दिर भएका तथ्यहरु हामीले देखेको छौं ।
शास्त्रमा दुई मार्ग बताइएको छ– एउटा अविद्यारुप कर्ममार्ग, दोस्रा उपासनायुक्त विद्याको मार्ग निष्काम उपासकको लागि हो । यी दुवै मार्गमा हिड्नेहरुले कर्म गरेकै हुन्छ । कर्म गरेपछि प्राप्त हुने फल त अवश्य भोगेको हुन्छ ।
श्रीमद्भागवत महापुराणका एक विद्वत पात्र विदुरले भनेका छन्, ‘कलिकालका प्राणीहरु सुखको निम्ति काम गर्दछन्, तर ती कामबाट न सुख मिल्छ न दुःख नैं हटेर जान्छ । एकपछि अर्को दुःखै दुःख मात्र थपिदैं गएपछि हरेक मानिस दुःखी हुन्छन् ।’
यसो जीवन यात्रालाई फर्केर हेर्दा महात्मा विदुरको भनाईमा म चाहिँ सहमत भएँ । तपाईंहरु सहमत नहुन पनि सक्नु हुन्छ ।
दुःखको कथा नभएको मानिस जगतमा हुँदैनन् । हाम्रा ऋषिमुनिले भनेका कुरामा लौं त काट्ने आधार बताउनुस् । यो मेरो चुनौती तपाईंलाई, मलाई र हामी सबैलाई हो ।
ब्राह्मणको धर्म मोक्षका लागि, क्षेत्रीयको धर्म भोगका लागि, वैश्य अर्थका निम्ति र शुद्र भनेको सेवक हो । मानिसको जात र धर्म भन्ने चाहिँ पछि बनेर आएका विभेद हुन् । मानिसको कर्मको आधारमा नैं वर्ण तयार भएको हो ।
कुनै मानिस मन्दिर गएर पूजा आराधना गर्छ भने उसले ब्राह्मण कर्म ग¥यो । कसैको हक अधिकारको पक्षमा लागेको छ भने क्षेत्रीयको काम ग¥यो । कुनै वस्तु विनिमय गरेर काम गरेको छ भने व्यापारमार्फत वैश्यको काम गर्यो । सेवा परायण काम गर्दा शुद्र वर्ण अनुसारको भयो ।
मेरो एकजना पत्रकार मित्रले ‘ब्राह्मण शब्द नैं गलत छ’ भने । उनी आफूलाई भाषाको विज्ञ भन्ने ठान्छन् तर कसरी भन्दा आधार केही भन्न सकेनन् । उनी अझै पनि ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रलाई जातिको नजरले हेदैं रहेछन् । हामी कति अल्पज्ञानको घेरामा छौं भन्ने एउटा उदाहारण मात्र हो ।
मानिसको जात र धर्म भन्ने कुरा पूर्खा र उसले गर्ने कर्मको आधारमा तय हुने हो ।
‘म ब्राह्मण कुलमा जन्मेँ, आफ्नो आचरण कायम गरेँ, अध्ययन अध्यापन जारी गरेँ । कसैलाई समस्या परे मनैैंदेखि सकेको सहयोग गरेर मैले क्षेत्रीय धर्म पालना गरेँ । पर्यटन क्षेत्रमा लागेर मैले व्यापार गरेँ । त्यो मेरो वैश्य धर्म भयो । गुरु र विद्वान मित्रहरुलाई क्षमताको आधारमा निरन्तर सेवा गर्दैछु । यो शुद्र काम गरेँ’, पत्रकार मित्रलाई भनेँ ।
कलियुगमा सबै यस्तै चरित्रमा बाँचेका छन् । अब भन्नुस्, मानिसको जात र धर्म कर्मको आधारमा हुन्छ भन्ने हाम्रो शास्त्रको अकाट्य वचनमा तपाई र म सहमत भयौं नि ?
ब्राह्मण भन्ने कुनै पद वा जात होइन । ब्राह्मण कु्लमा जन्मिएको आधारमा कोही व्यक्ति ब्राह्मण हुँदैन । शास्त्रले भनेको छ, मानिसको कर्म र चरित्रको आधारमा उसको पहिचान हुन्छ ।
ब्राह्मण कुलमा जन्मिएर ब्राह्मण कर्म र चरित्र छैन भने यसलाई म ब्राह्मण हुँ भन्ने अधिकार छैन । क्षेत्रीय, वैश्य, शुद्र सबै कर्मका आधारमा पहिचान हुने हो ।
एउटा मात्र उदाहरण, स्वामी प्रपन्नचार्यको जन्म राई परिवारमा भएको हो । तर, उनको आचरण र चरित्रका कारण उनी (काले राई) ब्राह्मण भए । अहिले पनि यस्ता आचरणमा रहने कयौं राई र हामीले थाहा नपाएका कयौं अन्य जातिका मानिसले कर्म र चरित्रका आधारमा ब्राह्मण जीवन बिताइरहेका छन् ।
पछिल्लो समयमा गतिछाडा भएका चाहिँ ब्राह्मण कुलमा जन्मिएका मानिसहरु अलि बढी छन् भनेर देखेको, सुनेको र भोगेकैं छौं । ट्राफिक प्रहरीले सडकमा मद्यपान चेकजाँच गर्दा बाह्मण जातिका भन्नेहरुलाई अलि बढी चेक गर्नुको कारण पनि यही हो ।
पुर्खा वैश्य व्यापारी थियो तर उसको परिवारले व्यापार छोडेर अध्ययन–अध्यापनको काम ग¥यो भने ऊ ब्राह्मण धर्ममा आयो । ब्राह्मण कुलमा जन्मिएको छ तर आचरण र चरित्र केही छैन, अध्ययन, जप, तप निष्ठा नभएको ब्यक्तिलाई कसरी ब्राह्मण भन्ने ? पूर्खा र परम्परा विरोधी काम गर्दा जति भौतिक सुविधासम्पन्न भए पनि उसको तन, मन खुसी हुन सक्दैन ।
सन्तोष र सुखको लागि आफ्नो संस्कृति, आफ्नो परम्परा र आफनो रिती र थिती छोड्दा जहाँ पुगे पनि, जति भौतिक उन्नति गरे पनि मानिसले आनन्दको मर्म गुमाएको हुन्छ ।
दक्षिण छिमेकी भारतबाट मनाउन शुरु गरेको ‘विश्व ब्राह्मण दिवस’को हार्दिक शुभकामनासहित अन्तमा यत्ति भन्छु, नेपालमा ‘विश्व ब्राह्मण दिवस’ किन सुरु नगर्ने ?
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)