नेपालनाम्चा सृजनशील वर्ग-स्रष्टाको निर्माणस्थल

पाठक समीक्षा: केही महिनादेखि नेपालनाम्चा डट कम हेर्ने/पढ्ने गरेको छु

प्रकाशप्रसाद उपाध्याय

केही महिनादेखि नेपालनाम्चा डट कम हेर्ने र पढ्ने गरेको छु । यस क्रममा यसको क्षेत्र दिन प्रतिदिन फराकिलो हुँदै गएको अनुभव पनि गर्दै आएको छु । यसमा प्रकाशित विभिन्न किसिमका लेख, लघु कथा, कविता, अनुभूतिका प्रसङ्ग, डायरीका कुरा, अँग्रेजीका कविता र आफ्नो मनका कुराहरूको अभिव्यक्ति पढ्न र लेखक-लेखिकाहरूका तस्वीरबाट, भेट्न नपाए पनि, चित्रमार्फत उहाँहरूबाट परिचित हुन पाएको छु । यस अवसरले नेपालनाम्चालाई एउटा रोचक पठनीय मञ्च र अनलाइन पत्रिका रहेको अनुभव गराउँदछ ।

बेला–बेलामा प्रस्तुत ट्रेकिङ्गको दृश्यले प्रकृतिको हरियो आँचल र हिम क्षेत्रको सुन्दरताबाट सजिएकी नेपाल आमाको दर्शन गर्ने अवसर जु¥याउँदछ । लामटाङ्गिनको हिम प्रदेशको पर्वतीय स्वच्छता र धवल परिवेशको दृश्यले यो पनि त कहीँ देवी पार्वती र महादेवको क्रीडास्थल थिएन भन्ने भाव पनि उत्पन्न गराउँछ । किनभने पूर्णिमाको रातमा हिम शिखरहरूबाट प्रतिविम्बित हुने किरण चाँदीसरह टल्किने र सर्वत्र उज्यालो छर्ने जुन र सूर्योदयमा तिनै हिम शिखरहरूबाट प्रतिविम्बित हुने सुनौलो आलोक फैलाउने हिमालय र हिम क्षेत्र नै त ती दैवी दम्पत्तिको विचरण स्थल, क्रीडास्थल र वासस्थल थिए । यी सबै हेर्दा र पढ्दा मन आनन्दित हुने र आँखाले असीम शीतलता पाउने गरेको पनि अनुभव गरेको छु ।

लेखहरू पढ्दै गर्दा नेपालनाम्चाले सर्जक-स्रष्टाहरूको एक यस्तो वर्गलाई पनि स्थान प्रदान गरेको वा तिनलाई एउटा यस्तो मञ्च प्रदान गर्दै गरेको अनुभव गरेको छु, जो कल्पनाशील छ, जसको सृजनशील प्रकृति छ, जसमा कविता रच्ने, लेखहरू लेख्ने क्षमता र आफ्नो भावना अभिव्यक्त गर्ने शक्ति छ । यस दृष्टिले नेपालनाम्चा एउटा सृजनशील वर्ग र स्रष्टाको निर्माण-स्थल हुनसकेको छ भन्दा अतिशयोक्ति नहोला ।

यसका सामग्रीहरूमा राजनीतिको छाप वा रङ परेको पनि पाइन्न । यसरी यसले कुनै दल वा गुटको विचारधाराको प्रतिनिधित्व गरेको अनुभव पनि हुँदैन, जुन राम्रो कुरो हो । तर बिहान उठेर अनलाइनमार्फत देश–विदेशका ताजा घटनाबाट सूचित हुन चाहने पाठकहरूका लागि यसले निराश भने पार्दो हो । यस्तो वर्गलाई पनि सन्तुष्ट पार्न, बिहानको ताजा र प्रमुख समाचारका केही शिर्षकहरू मात्रै समावेश गर्न सकिए, समाचारका जिज्ञासुहरूका चाहना पनि पूरा हुन्थ्यो र नेपालनाम्चामाथि कुनै दलविशेषको प्रतिनिधित्व गरेको दोष पनि लाग्न पाउँदैनथ्यो भन्ने मेरो मत छ । संक्षेपमा भन्नुपर्दा –

‘यसमा कहिले कसैको आँखाको सुन्दरताको बखान हुन्छ, कहिले हुन्छ चर्चा कसैको न्यानो काखको, कहिले बाढीको वेदना छचल्किएको हुन्छ त कहिले पहिरोले उत्पन्न गरेको विनाश लीलाको, कहिले नारीको ममताको वृत्तान्तले भावुक पार्दछ मन, त कहिले व्यथित पार्दछ ऋतुमतिकालमा नारीले भोग्नुपरेको तिरस्कारको वृत्तान्तले, कहिले लामटाङ्गिनको स्वच्छ चाँदी टल्किरहेसरह टल्कने हिम क्षेत्र देख्दा डोलिएर जाउँ–जाउँ गर्दछ मन,’ र भन्ने गर्दछ– यस्तै स्वच्छ रहे नेपालनाम्चा, Long live and keep it up.

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button