
खुसी हुन के गर्ने ? ५ सुत्र
कुमार रुपाखेती
विभिन्न कालखण्डमा विषमभन्दा विषम परिस्थितिको सामना गर्दै अहिलेसम्म मानवले आफ्नो अस्तित्वलाई जोगाउँदै आफ्नो नश्लको विकास गरिनै रहेको छ । मानव कसरी खुसी र आनन्दित हुन सकिन्छ भन्ने विषयमा प्रयत्नशील भइनै रहने प्राणी हो ।सुख सुविधा पाउन धनले मद्दत गर्दछ । धनको काम दरिद्रता नास गर्ने र सुविधा बढाउने हो ।सुविधाले खुसी र आनन्द प्राप्त हुन्छ ? सायद यस असिमित सुविधाका श्रृङ्खलामा कति उचाईमा पाईएला खुसी र आनन्द ? खुसी र आनन्द प्राप्त गर्न सुविधाले भन्दा पनि जीवन जिउने प्रवृत्ति र शैलीले मद्दत गर्दछ । र, यो शैली आफूभित्र विकास गर्न सकिने अत्यन्त सजीलो र सरल ५ बुँदाहरू यस प्रकारका छन ।
१. खुसी हुन र आनन्द लिन नपर्खने ।
खुसी र आनन्द ठुल्ठुला प्रगतिले भन्दा पनि ससाना उपलब्धिले दिने तथ्य थाहा हुँदाहुँदै पनि हामी ठुल्ठुला प्रगति पर्खिन तयार हुन्छौ । ठुलो खोज्ने र अगाडि आएको खुसीलाई महसुस गर्न नसक्नाले आनन्दको रसोपान गर्नबाट बन्चित होइन्छ । समय कसैको अधिनमा हुँदैन । त्यसैले आनन्द साना र सहज कुरामा खोजौ ।
२. अरुसँग आफूलाई तुलना नगरौ ।
जसरी एक व्यक्ति अर्कोसँग स्वरूपमा फरक देखिन्छ, त्यसरी नै उसमा विकास हुने गुण र दोष, जन्म र मृत्यु, आदि एकैनासको हुँदैन । मानिसमा विकास हुने बौद्धिक धरातल पनि फरक हुन्छ । भलै उनीहरुका शिक्षादिक्षा एकै समान भए पनि विद्धतता फरक हुन्छ । कहिल्यै पनि कसैले पनि एकअर्कोसँग तुलना गर्नु उचित होइन ।
३. सामाजिक हुने ।
धेरै मानिसह आफूलाई अरुभन्दा पृथक वा परिष्कृत ठान्ने र समाजबाट टाढा रहने गरिरहेका छन् । यो रोग सहर बजार र पढेलेखेकामा ज्यादा देखिदैछ । आफ्नु समुदाय, भाषा, रहनसहन र भेषभूषालाई छोड्दै जाँदा उनीहरुमा एकलकाँट्टे प्रवृद्धिको विकास भइरहेको छ । जसले गर्दा सामाजिक सुखको आनन्दबाट बन्चित भइरहेका छन् ।
४. उपलव्धि पूर्णतामा नखोज्ने ।
हरेक कामका चरणहरू हुन्छन् । सम्पूर्ण चरणहरु पुरा हुन समय लाग्न सक्छ र परिणाम पर्खिन गाह्रो हुनसक्छ, विरक्त लाग्न थाल्छ । त्यसैले आफूले गरेका र गरिरहेका हरेक कामलाई चरणवद्ध मुल्याङ्कन गर्दै त्यसको उपलब्धि बाट आनन्द लिने ।
५. आफ्नो कमजोरी अरुलाई नथोपर्ने ।
कमजोरी सबैका हुन्छन्, पुरा हुन नसकेका चाहना र कमजोरीको कारण अरुलाई ठान्ने र दुखी हुने । कयौ मनिसहरु आफुसँग नभएर भन्दा पनि अरुको देखेर दुःखी हुन्छन् । त्यसैले हामीले जीवनमा प्राप्त गरेका उपलब्धिका श्रेय अरुलाई दिने र पुरा गर्न बाँकी काममा मेहनत गरिरहने वा अरुलाई दोष दिएर अझ बढी दुखी हुनुभन्दा भएकोबाट सुख, सन्तोष र आनन्द लिन जान्नु पर्दछ ।