कुलमानको कोपभाजनमा म

गोसाई केसी

प्राधिकरणको पनि आफ्नै नियम छ । कुनै पनि मानिसलाई कुनै एउटा शाखामा सरुवा गरिसकेपछि उसलाई २ वर्र्षसम्म सरुवा गर्न मिल्दैन । सरुवा भइसकेपछि २ वर्र्ष पछि अर्काे शाखामा जानुपर्छ भन्ने नियम नै हो । तर कुलमान घिसिङलाई मध्य मस्र्याङ्दी प्रोजेक्टबाट फर्केर कर्मचारी प्रशासन महाशाखा सरुवा भएर आएपछि चिलिमे जवि कम्पनीमा पठाएको थिएँ । कम्पनीको आफ्नो विधान हुन्छ । त्यसमा ४ बर्षसम्म सिइओ हुन सकिन्छ । त्यसपछि पनि संस्थाले चाहेमा म्याद थप्न सक्छ भन्ने लेखेको रहेछ, तर चिलिमे जलविद्युत् कम्पनी भएको हुँदा प्राधिकरणले त्यसमा हस्तक्षेप गर्दैन र आफ्नो कर्मचारी आवश्यक परे सञ्चालक समितिको निर्णयले पठाउन पनि सक्छ, फिर्ता बोलाउन पनि सक्छ ।

२०६७ सालमा कुलमान घिसिङलाई चिलिमेमा प्रोजेक्ट चिफ बनाएर पठाइएको थियो । पठाएको ४ वर्र्ष भएको रहेछ । त्यो ठाउँमा सबैभन्दा पहिला इ. डा. डम्बर बहादुर नेपाली हुनुहुन्थ्यो । उहाँको म्याद थप भएको त हामीलाई थाहा भएन, उहाँ अवकाश नहुन्जेल बस्नुभयो । त्यसपछि चिलिमेमा इ. लिलानाथ भट्टराई हुनुहुन्थ्यो । उहाँ डम्बर बहादुर नेपाली चिफ हुँदा सेकेन्ड म्यान हुनुहुन्थ्यो । डा. डम्बर बहादुर नेपालीको अवकाश भएपछि चिफ बन्नुभएको थियो । तर उहाँले कुनै पनि प्रोजेक्ट अगाडि नबढाई बसेको कुरा डा. डम्बर बहादुर नेपालीले मसँग भनेपछि कुलमानजीलाई चिलिमे जलविद्युत् कम्पनीमा चिफको रुपमा पठाएको थिएँ ।

एकदिनको कुरा । नेविप्राको बोर्ड मिटिङमा बस्नुपर्ने थियो । मन्त्री राधा ज्ञवाली मन्त्रालयको काम सकाएपछि मात्र अर्थात् रातिको ६–७ बजेतिर मात्र प्राधिकरणको बोर्ड मिटिङमा आउनुहुन्थ्यो । हामीहरु उहाँलाई कुरेर बसेका थियौ । उहाँले आउनेबित्तिकै कुलमानको सरुवा गर भनेर नौ बजे राति बोर्ड मिटिङमा भन्नुभयो ।

त्यो बेला माओवादीबाट पीडित मानिसहरु पनि जागिर देऊ भनेर आएका थिए ।

हामीहरु सबैजना बोर्ड मिटिङमा बसेका थियौ । रातिको ९ बजिसकेको थियो । त्यतिबेला मलाई उहाँले कुलमानलाई तुरुन्तै सरुवा गर भनेर आदेश दिनुभयो ।

‘अभिलेखशाखाको मानिस ५ बजे घर गइसक्यो । पहिले सरुवा गर्नुपर्छ भन्ने कुरा थाहा भएको भए म उसलाई राखिराख्थेँ । उक्त कर्मचारी गइसकेको हुनाले अहिले मसँग शाखाको चाबी छैन । कुलमान घिसिङको रेकर्ड छैन । अख्तियारमा ट्रान्सफर्मर काण्ड भइरहेको छ । धेरै उजुरी भइरहेको छ । तपाईलाई पनि त्यसबारे जानकारी छ होला । फेरि मैले कुलमानलाई सरुवा गरेँ भने उनले पनि उजुरी गर्नसक्ने सम्भावना छ । पत्रमा मैले साइन गर्ने भएपछि जवाफ दिन पनि म नै जानुपर्ने हुन्छ । तसर्थ भोलि बिहान १० बजे कार्यालय खुलेपछि उनको रेकर्ड फाइल अभिलेखमा गएर हेरी म सरुवाको कारबाही अघि बढाउँछु ।’

अभिलेखको मानिस नभएर रेकर्ड पाइएन । चिलिमेमा कहिले पठाएको हो । निजको रेकर्ड हेरेर नियमअनुसार सरmवाको काम गर्छु । आज राति भयो । भोलि अफिस खुल्नेबित्तिकै गर्छु भनेर मैले मन्त्रीज्यू र निमित्त काकानि रामचन्द्र पाण्डेलाई पनि भनेँ । मेरो नजिक जनसाधन विभागका निर्देशक ओमराज पाण्डे पनि हुनुहुन्थ्यो । त्यसपछि मेरो रसुवागढी जलविद्युत् कम्पनीमा बोर्ड मिटिङ थियो । म त्यो मिटिङमा हाजिर भएँ । रातको ९ बजेको थियो । त्यस कम्पनी पनि चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भएको हुनाले मैले त्यहाँ कुलमान घिसिङ तथा अन्य सदस्यहरु सबैजनालाई कुलमानको भोलि सरुवा हुन्छ के कति काम बाँकी छ आजै गर्नुस् भनेँ । त्यसपछि त्यही दिन २०७१ असार ३१ गतेको रातिको बोर्डको निर्णयबाट रसुवागढीको इलेक्ट्रोमेकानिकलको ठेक्काको निर्णय गरियो । यदि त्यो दिन नगरेको भए फेरि अरु कति दिन धकेलिने थियो । अन्य बाँकी जरुरी निर्णयहरु सम्पन्न गरियो र म घर फर्किएँ । भोलिपल्ट २०७१ साउन १ गते सङ्क्रान्ति परेकोले मलाई मेरो माइतीमा खाना खान बोलाएका थिए । त्यही दिन सरुवाको काम भयो । कुलमानजीको सरुवाको पत्र बन्यो ।

अघिल्लो दिन मन्त्रिज्यूसँग नौ बजे राति कुरा भएको थियो । मैले भन्नेबित्तिकै मानिनँ भनेर उहाँले अर्को बोर्ड मिटिङमा आएको बेलामा मलाई मिटिङ हलमा बोलाउनुभयो । अनि मैले भनेको नमान्ने होइन भनेर कुहिनाले घचेडिदिनुभयो । नमस्कार पनि भन्न नपाईकन उहाँ रिसाएर फटाफट बोर्ड रुममा पस्नुभयो ।

मैले भन्नेबित्तिकै कुलमानजीको सरुवा गरिनँ । यही कारण मेरो लागि सरुवाको जाल ओछ्याइसक्नुभएको रहेछ । यसरी भनेको तुरुन्तै नमानेको भनेर उता उर्जामन्त्रीले मलाई नै सरुवा गर्ने आदेश गरेको रहेछ । त्यो कुरा मलाई थाहा भएन ।

मलाई एमडीले भन्नुभयो, ‘तपाईंलाई तुरुन्त सरुवा गर्नका लागि प्रेसर आएको छ । सरुवा गरेर पनि मैले कता पठाऊँ ? उपकार्यकारीको पद दुईवटा मात्र हुन्छ । एउटा अर्थ निर्देशनालयमा र अर्काे प्रशासन निर्देशनालयमा । अरु सबै प्राविधिकमा मात्र हुन्छन् । अब सरुवा गर्ने ठाउँ र पद छैन, के गर्ने भन्नुभयो । मलाई अर्थमा काम गर्ने धेरै आइडिया थिएन । मैले लेखामा त्यति काम गरिनँ । काकानिलाई पनि अप्ठ्यारो प-यो ।

मन्त्रीले तपाईंलाई सरुवा गर्नू भनेर प्रेसर दिनुभएको छ भनेर अरुले फेरि पनि भन्न थाले । जबकि मैले कुनै नराम्रो काम गरेकी थिइनँ । कुलमानलाई सरुवा गर्ने निर्णय तुरुन्त नगरेको कारण उहाँले मलाई सरुवा गर्न लाग्नुभएको थियो । भोलिपल्ट कुलमानजीको सरुवा त गरिसकेको थियो ।

मलाई सरmवा गर्ने ठाउँ प्राधिकरणमा नभएपछि उर्जामन्त्रीले मलाई हटाउनकै लागि आफ्ना पार्टीका सङ्गठनहरुसँग सल्लाह गर्नुभएछ । त्यसमा उहाँलाई हाम्रै अफिसको प्रशासनका मानिस विश्वनाथ शर्माले साथ दिनुभएछ । किनभने उहाँ प्रशासनमा धेरै बर्ष काम गरिसकेको र युनियनको (एमाले सङ्गठनको) पनि अध्यक्ष भइसकेको मान्छे भएको हुँदा एमालेका मन्त्रीज्यूलाई सल्लाह दिनुभयो । पुराना काकानिलाई पठाएका प्रक्रियाहरु मन्त्रीज्यूलाई र मन्त्रीज्यूको निजी सचिव राजेन्द्र ढकाल सबैलाई सिकाइदिनुभयो ।

पहिलापहिलादेखि नै मन्त्रीहरुले भनेको नमान्ने र संस्थाको हितका विपरित काम नगर्ने मानिसहरुलाई मन्त्रालयमा अफिसर अन स्पेशल ड्युटी भनेर लगिन्थ्यो । मलाई पनि त्यसरी नै फ्याँकिदिने जाल रच्नुभएछ । त्यसमा सहयोग गर्ने सहयोगी युनियनका विश्वनाथ शर्मा, लोकेन्द्र थापा आदिको केही मिलीभगत भएको रहेछ । उहाँहरुले मलाई कसरी हटाउने भन्ने सल्लाह दिनुभएछ ।

पहिला काकानि डा. जनकलाल कर्माचार्य, सन्त बहादुर पुन, टिकाराम बिसीलाई पनि मन्त्रालयमा हाजिर गर्न पठाइएको थियो । यसको मतलब कोही पनि मानिसलाई मन्त्रालयमा बिना काम राखिदिने र त्यो खाली भएको ठाउँमा आफ्ना मानिस राखी आफ्नो इच्छाअनुसार काम लगाउने ।

आफूले भनेअनुसारको काम गराउन उनीहरुले त्यस्तो गर्ने गरेका रहेछन् । त्यसै अनुसार मलाई पनि हटाउने प्रक्रिया प्रारम्भ भएछ ।

मलाई हटाउनका लागि उनीहरुले जल तथा उर्जा आयोगमा पठाउने कुरा मिलाएर काकानि मुकेशराज काफ्ले बाहिर भएको मौका पारे । कोही एमडी बाहिर गयो भने तल्लो तहको कर्मचारीलाई निमित्त एमडी बनाउने चलन छ ।

केही मभन्दा सिनियर उपकाकानि व्यक्तिहरु कोरिया जाने भएका रहेछन् । कार्यकारी निर्देशक पनि बाहिर जाने भएपछि मलाई निमित्त कार्यकारीको चिठी दिइयो । एमडीको पद चाहिँ मन्त्रालयले दिन्छ । मलाई निमित्त कार्यकारी निर्देशक भई काम गर्नुहोला भनेर पत्र दिएपछि मैले कार्यकारी निर्देशकको काम पनि गर्नुपर्ने भयो ।

यसरी मलाई निमित्त कार्यकारी निर्देशक बनाइयो । अर्थात् म सबैभन्दा टप भएँ । त्यसैले मैले काकानिको हैसियतले काम गर्न पाउने भएँ । अब उनीहरुलाई अर्काे चिन्ता कुलमानलाई चिलिमेमा पठाउँछे कि भन्ने भएछ । सुनिल कुमार ढुङ्गेललाई चिलिमे जलविद्युत् कम्पनीको ऋभ्इ पठाउने भित्री सल्लाह पनि भएछ ।

त्यो चिठी पाएर मैले काम सुरुमात्र के गरेकी थिएँ, अर्थात् चार दिनमात्र के भएको थियो मलाई मन्त्रालयमा मिटिङमा बोलाइयो । म मिटिङमा गएँ । मन्त्रालयको मिटिङ हलमा सबैजनासँग बसेर छलफल भयो ।

श्री राजेन्द्र किशोर क्षेत्री त्यो बेलामा उर्जा सचिव हुनुहुन्थ्यो । उहाँले अरु कोही एमडी हुनुहुन्न भनेर प्रश्न राख्नुभयो ।

‘हुनुहुन्न । मलाई निमित्त दिएर जानुभएको हो’, मैले भनेँ ।

कुराकानी सकिइसकेपछि म प्राधिकरणको अफिसमा फर्कें । अफिस पुग्नेबित्तिकै मलाई एउटा चिठी बुझाउन मन्त्रालयका मानिस आए । मैले भनेँ, ‘म भर्खर मन्त्रालयबाट त आएकी हुँ । फेरि किन चिठी पठाउनुप-यो ।’

मलाई त्यसबेला प्रधानसेनापति रुक्माङ्गत कटुवालको याद आयो । उहाँलाई पनि एउटा चिठी प्रधानमन्त्री कार्यालयमा कोठामा बसेको बेलामा दिइएको रहेछ । उहाँले म यो चिठी मेरो अफिसमा बुझ्छु, यहाँ बुझ्दिन भन्नुभएको थियो रे । त्यस्तै म पनि मेरो अफिसमा बुझ्छु भनेर हो कि, म अफिस पुग्नु र चिठी दिने मानिस आइपुग्नु लगभग सँगसँगै भयो । चिठी बुझेर भर्पाई गरिसकेपछि खोलेर हेरेँ । चिठीमा यस्तो थियोः–

मिति २०७१–१२–२
उपकार्यकारी निर्देशक गोसाई केसी
नेपाल सरकार (माननीय मन्त्रीस्तरको २०७१–१२–१ को निर्णयअनुसार तपाईंलाई अर्को व्यवस्था नभएसम्म ‘अफिसर अन स्पेसल ड्युटी’को रुपमा काम गर्न जल तथा उर्जा आयोगको सचिवालयमा काज खटाइएको ब्यहोरा अनुरोध गर्दछु ।

त्यो चिठी लिइसकेपछि कुलमान घिसिङ काण्डको कारणले यस्तो भएको हो भनेर मैले पत्ता लगाएँ । त्यो चिठी पाएपछि मलाई अचम्म लाग्यो । मानिस कतिसम्म गर्न सक्दा रहेछन् !

मलाई फेरि खुलदुली भयो । कता जाऊँ, कता जाऊँ भयो । जागिर छोडौ कि त्यहीँ हाजिर गर्न जाऊँ ? के गरौ जस्तो भयो । म प्राधिकरणको मानिस, जल तथा उर्जा आयोगमा गएर के गर्ने ? त्यसपछि म घर आएँ ।

मैले डिसिजन लिन सकिरहेकी थिइनँ । सोच्नुपर्छ भनेर केही समयको बिदा लिई म घरमा बसेँ ।

म बिदामा त बसेँ, तर पनि मलाई तनाव भइरहेको थियो ।

हुन त उर्जा मन्त्रालयमा पनि केही मानिसहरुलाई मैले चिनेकी थिएँ । उर्जा तथा सिँचाइ मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा हुनुहुन्थ्यो । उहाँले फोन गरेर ‘तपाईं प्राधिकरणको त्यति सिनियर मानिस आउँदै हुनुहुन्छ । हामी तपाईंको कोठा रङ्गरोगन गर्दैछौ । आउनुहोस् है’, व्यङ्ग्य गर्नुभयो ।

‘सोच्दै छु’, भनेर मैले पनि छोटो उत्तर दिएँ । त्यसपछि फोन काटियो ।

एसएलसीमा मेरो वर्र्ष बढाएकाले चाँडै अवकाश पाउन लागेकी थिएँ । अवकाशको समय आइसकेको थियो ।

त्यो बेलामा मेरो अवकाश हुनका लागि ६ महिना बाँकी भनेर चिठी पनि आइसकेको थियो । मेरो अनिवार्य अवकाश हुनेवाला थियो । जागिरको अवधि छ महिनामात्र बाँकी थियो । त्यसैले खटाएको काम गरौ कि नगरौ भन्ने मलाई लागिरहेको थियो । बिदामा बसेको बेला मैले मेरा पुराना साथीहरुसँग सल्लाह गरेँ ।

कोही पनि प्राधिकरणको कर्मचारीहरुलाई अवकाश दिनुभन्दा केही समयअगाडि विदेश भ्रमणमा पठाउने गरिएको थियो । मलाई पनि मेरा साथीहरुले आइएलएस तालिममा जानका लागि सल्लाह दिएका थिए । तर त्यसमा जान पनि पहिला एमडी रामेश्वर यादवले सही गरेनन् । म जान पाइनँ । जापानबाट पनि केही सिटहरु जाइकामार्फत आएका थिए । त्यसका लागि पनि मलाई मन्त्री राधा ज्ञावालीले सही गरिदिइनन् । किनभने उपकार्यकारी निर्देशक बाहिर जाँदा सञ्चालक समितिबाट स्वीकृति लिनुपर्छ । सञ्चालक अध्यक्ष उहाँ हुनुहुन्थ्यो । मैले मनोनयन गरेर गोकर्ण शर्माको नाम जाइकामा पठाइसकेको थिएँ । त्यो नाम पनि काटिदिनुभयो ।

विदेश जाने कुनै मौका पाइनँ । पुरस्कार त परै जाओस् । मन्त्री उमाकान्त झा तथा सचिव श्री हरिराम कोइरालाज्यू सञ्चालक समितिको अध्यक्ष हुँदा मलाई पुरस्कारका लागि सिफारिस गरिदिन्छु भनेर आश्वासन दिनुभएको थियो । त्यो पनि पूरा हुन नपाउँदै उहाँहरु जानुभयो । मलाई अब त झन् के आस भयो र ? तर पनि मैले हिम्मत हारिनँ । हरेस खाइनँ । संस्थाको भलो हुने काम गर्न छाडिनँ । छ महिनामा त धेरै गर्न सकिन्छ, अब त झन् केको डर ?

मैले आजसम्म कुनै प्रकारको घुस खाएकी छैन । कुनै कर्मचारीको कुभलो हुने काम गरिनँ । कर्मचारीलाई सहयोग गर्दा उनीहरु पैसा दिन आउँथे । त्यस्तोे पैसा घर्रामा हाल्न आउँदासमेत म लिन्न थेँ । मेरो आफ्नो काम गर्दा तपाईंहरुको पैसा किन लिनु भनेर भन्थेँ ।

मैले गरेको काम गलत हो भनेर कसैले पनि भनेनन् । मात्र मैले कुलमान घिसिङलाई सरmवा नगरेर पत्र पाएकी थिएँ । त्यसरी मलाई सरुवा गरेपछि सबै पत्रपत्रिकामा मेरो खबर छापिन थाल्यो । ‘उर्जामन्त्रीले भनेको नमान्दा गोसाईको सरुवा मन्त्रालयमा’ भन्ने कुराहरु पत्रिकामा आउन थाले ।

कान्तिपुर, अन्नपूर्ण पोस्ट, राजधानी आदि सबै पत्रिकामा मेरो न्युज आयो । ठाउँठाउँका मानिसहरुले थाहा पाए ।

कान्तिपुरका एकजना सम्पादकले मलाई ‘तपाईलाई यसरी राधा ज्ञावालीले सरुवा गर्नुभएकोमा के भन्नु हुन्छ ?’ भनेर प्रश्न राख्नुभएको थियो ।

मैले भनेँ, ‘हाम्रो विभागीय मन्त्रीज्यूले मैले काम गरेको देख्नुभएको थियो । म रातिसम्म बसेर कामहरु गर्थें । त्यसैले उहाँले मलाई माया गरेर आफूनजिकै सरुवा गर्नुभएको हो ।’ त्यही कुरा कान्तिपुरमा छापिदिनुभएछ ।

सबैजनाले पढेपछि कति धेरै माया गरेको गोसाईज्यूलाई भनेर जिस्काउँथे ।

म बिदाको दिनमा समेत अफिसमा काम गर्थें । व्रतको दिनमा पनि म मरीमरी काम गर्थें । यसैको पुरस्कार दिनुभएको उहाँले भनेर मैले भनिदिएँ ।

त्यसपछि मलाई धेरैजनाले फोन गरे । मैले गरेका राम्रा कामहरुको बारेमा सम्झाए । मैले विदेश नगएका मानिसलाई विदेश पठाएकी थिएँ । म्यादी कर्मचारीलाई स्थायी गराएकी थिएँ । अख्तियार दुरmपयोग अनुसन्धान आयोगमा गएर आयुक्तलाई भेटेर स्वीकृति लिएर आएर परीक्षा लिएर ६५० लाई एकैपटक स्थायी गरिदिएकी थिएँ । काठमाडौ“बाट कर्मचारीहरुलाई बाहिर सरmवा गर्न सकिँदैनथ्यो । अख्तियारबाट रोकिएको कार्यलाई विनियमलाई संशोधन गरेर सर्वोच्चबाट आदेश लिएर आएर एकैपटक एघारजना निर्देशकको बढुवा र प्रशासनका चारजना निर्देशकको बढुवा गरे । त्यसमा कुलमानको नाम एक नम्बरमा थियो । सञ्चालक समितिमा एजेन्डा लग्दा कुलमानको नाम अगाडि भएकोले मन्त्री राधा ज्ञवाली अध्यक्षज्यूले सहयोग गर्नुभएन । बल्लतल्ल तेस्रो पटकपछि अन्य बढुवा हुनेको नाम पनि रोकिने हुँदा हस्ताक्षर हुनसक्यो ।

पहिलापहिला सबैजना काठमाडौ“मा नै बस्न चाहन्थे । उनीहरुलाई सरुवा गर्दा ट्रेड युनियनले पनि दुःख दिन्थ्यो । यसरी काठमाडौ“मा मात्र धेरै कर्मचारी हुन्थे । बाहिरबाहिर कर्मचारी एकदमै कम हुन्थे ।

मैले त्यसका लागि पनि कर्मचारी विनियमावली २०६२ संशोधन गरी क्षेत्रीय कार्यालयबाट रिक्त दरबन्दी क्षेत्रीय स्तरमा परीक्षा लिने र नियुक्ति दिने बनाएकी थिएँ । जो मान्छे जुन क्षेत्रमा बस्छ, जुन क्षेत्रमा मान्छे चाहिन्छ त्यही क्षेत्रबाट विज्ञापन गराउने व्यवस्था गरेँ । त्यो क्षेत्रका लागि त्यही क्षेत्रमा बसेर जाँच दिनुपर्ने हुन्थ्यो । नियुक्ति पाएपछि महिला भए पाँच वर्र्ष र पुरmष हो भने सात वर्र्षसम्म सरmवा नगरिदिने नियम बनाइदिएँ ।

यसरी सातवटै क्षेत्रमा जाँच दिलाउन सबै मान्छेहरु खटाएर परीक्षा सञ्चालन गर्न पठाएँ । प्रश्नपत्रहरु बनाएँ । सबै कुराहरु रेडी भइसकेको थियो । त्यसमा म धेरै खटिएकी थिएँ । सञ्चालक समितिबाट त्यस्तो विनियम पास गराउन धेरै गाह्रो भएको थियो । तैपनि पास गराएँ ।
त्यही समयमा २०७२ साल वैशाख १२ गते भूकम्प गयोे । १३ गतेदेखि जाँच थियो । त्यो रद्द गराएँ ।

क्षेत्रीय स्तरमा जाँच लिने भनेर मानिसहरु खटाएका थियौ । सबैलाई फिर्ता बोलाएँ ।
क्षेत्रीय स्तरमा जाँच लिने भनेर हामीले विज्ञापन ग-यौ । भूकम्पले मेरो घरका सबै पर्खाल भत्काइदियो । पर्खाल लडेर कति मान्छेको ज्यान गयो । उता क्षेत्रीय स्तरमा मान्छेहरु पठाइसकेकी थिएँ । फोन बन्द भयो । उता गएका कर्मचारीहरुलाई पनि टेन्सन भयो । जाँच लिन सेन्टर तोकेको स्कुल पनि भत्किएछ ।

चार तला माथिको घरमा बसिरहेकी थिएँ । अचानक घर हल्लाउन थाल्यो । कोठामा रहेको दराज र सुटकेसले थिच्यो । बल्लबल्ल कोठाबाट निस्के । तर भ-याङबाट तल जानै सकिनँ । हातमा एउटा फोनमात्र थियो । तल आइयो । अब माथि जान सक्ने अवस्था भएन ।

क्षेत्रीय स्तरमा लिन लागिएको परीक्षाको प्रश्नपत्र बोकेर काठमाडौ फर्कन मैले साथीहरुलाई भनेँ । म प्रशासन प्रमुख थिएँ । मैले नै सबै कुराको जिम्मेवारी लिनुपर्ने थियो । सबैलाई काठमाडौ फर्काइयो ।

पहिलापहिला काठमाडौंमा मात्र परीक्षा हुन्थ्यो । तर पछि अन्य क्षेत्रमा पनि विस्तार गरियो । एक पटक विज्ञापन हाल्दा १५ सयको कोटामा १ लाख १४ हजार दरखास्त आएको थियो । विभिन्न तह र विभिन्न पदका लागि । काठमाडौमा आवेदकहरुको बढी भीड भएर भक्तपुरको टेनिङ सेन्टरमा पनि राख्यौं । शाखा बैङ्क नै राखिदिएका थियौ । पाँच–सातवटा स्टल राख्दा पनि मान्छेको लाइन कम थिएन । त्यसपछि परीक्षा स्तगित भयो । र सो परीक्षा तीन महिनापछि अर्को सूचना जारी गरेर क्षेत्रीय स्तरमा नै परीक्षा लियौ । म नेपालगन्जको अत्तरियासम्म गएर परीक्षा सञ्चालन गराएँ । जनकपुर, हेटौडा, विराटनगर, पोखरा, काठमाडौ, बुटवल सातै क्षेत्रमा एकैपटक परीक्षा सञ्चालन भयो । परीक्षा केन्द्रबाट कापीहरु बक्सामा बन्द गरेर लिएर आउन लगाएँ । विशेषज्ञहरुकहाँ कापी जाँच्न पठाइयो । कापी जाँच्न पठाउँदा कापी, कोडिङ, डिकोडिङ गरेर जुन सिस्टम बनाएको थिएँ, त्यसैअनुसार पठाएर लिखित परीक्षाको रिजल्ट प्रकाशित गरिदिएँ र अन्तरवार्ता लिएँ । ३६० जना त इन्जिनियरहरु भर्ना गरेँ । महिलाहरुलाई काठमाडौ“मा राखेँ । अनि पुरmषहरुलाई नागरिकताको आधारमा जिल्ला–जिल्लाका शाखाहरुमा खटायौ ।

मलाई सरुवा गरेको थाहा पाएका साथीहरुले अदालत जाने सल्लाह दिए । मैले गरेका धेरै राम्रा कामहरुका बारेमा साथीहरुसँग छलफल भयो ।

हामी प्राधिकरणका मानिसलाई त्यस्तो चिठी दिए पनि त्यो गलत हुन जान्छ । अवकाश हुनका लागि छ महिनामात्र बाँकी छ । त्यसरी छ महिनामात्र बाँकी हुँदा इच्छा बिना सरुवा गर्न नपाउने नियम प्राधिकरणमा छ । मलाई सरुवा गर्नुपर्ने अन्य कुनै कारण थिएन । मैले संस्थाको नियम–कानुनबमोजिम काम गरेकी थिएँ । यो कुरा सबैलाई थाहा थियो । मैले भ्रष्टाचार गरेकी थिइनँ । उनका भ्रष्ट कार्यकर्ताले जे जे भन्यो त्यो मान्नुपथ्र्यो । तिनका इसारामा काम गर्नुपथ्र्यो । निलम्बनमा परेका, विभागीय कारबाहीमा परेकालाई प्रोजेक्टको काम दिनुपर्ने, राम्रो काम गरेर चारवटा प्रोजेक्ट अगाडि बढाइरहेको योग्य मानिसलाई फर्काएर काम नजान्ने कुनियत र बुद्धि नभएका कर्मचारीलाई राम्रो काम दिनुपर्ने भन्ने आदेशदिने सँग काम गर्नुभन्दा बरु अदालत जानुस् भनेर साथीहरुले सुझाए ।

त्यो सल्लाह मेरा लागि ठूलो ज्ञान भयो ।

सन्त बहादुर पुन र टिकाराम बिसी चाहिँ मन्त्रालयमा हाजिरी हुन जानुभयो । अदालत जानुभएन । मैले अदालत जाने निर्णय गरेँ ।

मैले संस्था र संस्थाका कर्मचारीका लागि सधै राम्रो काम गरेँ । कुनै ठगी गरिनँ । फिल्डमा गएर पनि धेरै काम गरेँ । के यही हो मेरो मिहिनेतको प्रतिफल ? मेरो मनमा यस्तायस्ता कुराहरु आउन थाले । आक्रोशले मन भरियो । त्यसपछि मैले सर्वाेच्चमा उजुरी दिन वरिष्ठ अधिवक्ता शम्भु थापाकोमा गएर उहाँलाई मैले यी सारा कुराहरु भनेँ । मैले यसो भन्दा उहाँले ‘तपाईंको केस मैले बिहानै पढिसकेको छु कान्तिपुरमा’ भनेर भन्नुभयो ।

‘एमडीले तपाईंलाई मेरो कर्मचारी हो, पठाउन सक्दिनँ भनेर भन्नुभएन ?’, शम्भु थापाले मलाई सोध्नुभयो ।

उहाँले त्यति भन्न सक्नुहुन्न भनेर मैले भनेँ ।

‘प्रयास गर्नुहोस्’, उहाँले भन्नुभयो ।

काकानिको त्यति हिम्मत थिएन जति वरिष्ठ अधिवक्ता शम्भु थापाज्यूले सोच्नुभएको थियो ।

त्यसपछि उहाँले मेरो केस लिनुभयो । पहिला ममजवि आयोजना हुँदा बढुवाको केस पनि लड्नुभएको हुँदा मलाई चिन्न सजिलो भयो र मैले केही भन्नै परेन । उहाँले आफ्नो भाइलाई मुद्दा लेख्न लगाउनुभयो ।

एकजना अनिता भन्ने महिला वकिल हुनुहुन्थ्यो । उहाँको कोठामा दिनभरि बसेर उजुरी बनाएँ । त्यो उजुरी सर्वाेच्च अदालतमा सोमबार दर्ता भयो । मुद्दाको सुनुवाइ भोलिपल्टै भयो ।

भोलिपल्ट शम्भु सरले मेरो सम्पूर्ण वृत्तान्त बताइदिनुभयो । मेरो कामको प्रशंसा गरेर उहाँले अदालतमा छर्लङ्ग पारिदिनुभयो । किनभने मेरो बारेमा उहाँलाई सबै थाहा थियो । मध्यमस्र्याङ्दीमा बढुवाको समयमा पनि मैले उहाँलाई मेरो वकिल राखेकी थिएँ ।

फैसला पनि सोही दिन आयो । मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भनेर फैसला भयो ।

त्यसरी मुद्दा जितेपछि म प्राधिकरणमा हाजिर हुन गएँ । त्यसमा तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अन्तरिम आदेश दिनुभएको थियो ।

फेरि म आफ्नै कुर्सीमा गएर बसेँ । एक किसिमले भन्नुपर्दा मन्त्रीलाई मैले च्यालेन्ज नै गरेँ । फेरि अन्नपूर्ण पोस्टले ‘केसीको सरुवामा सर्वाेच्चको रोक’ भनेर पत्रिकामा खबर छाप्यो ।

‘कर्मचारी विनियम मिचेर उर्जामन्त्री राधा ज्ञावालीले गोसाई केसीलाई गरेको सरmवालाई सर्वाेच्चले रोकेको छ । सर्वाेच्चले बुधबार अन्तरिम आदेश जारी गरी अर्काे निर्णय नभएसम्म ज्ञवालीको निर्णय नगर्न, नगराउन आदेश दिएकोे हो । सर्वाेच्चले केसीका सम्बन्धमा ज्ञवालीले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।’

उर्जामन्त्री राधा ज्ञावाली मदेखि फायर हुनुभयो । कुलमानको सरुवा काठमाडौ केन्द्रमै गरियो । तर राधा ज्ञावालीले कुलमान घिसिङलाई बस्नका लागि कोठा दिनुभएन । गर्नलाई काम पनि केही दिइएन । निजको बिदा स्वीकृति गर्न हाकिमहरु डराए । दुई वर्षसम्म उहाँलाई निकै मानिसक चिन्ता प¥यो । राजीनामा दिन पनि खोज्नुभयो । ‘भोलि एमडी हुनसक्ने मानिस किन राजिनामा दिने ? सत्ता सधै एकनासको हुँदैन’, भनेर मैले सल्लाह दिएँ ।

त्यसपछि मैले कुलमान घिसिङलाई मेरै कोठामा राखेँ । उहाँलाई कुनै काम पनि तोकिएको थिएन ।

कुलमानजीले ‘अब म जागिर छाडिदिन्छु । राजीनामा दिन्छु । यस्तो तरिकाले कति दिन बस्नु ?’ भन्न थाल्नुभएको थियो । तर मैले उहाँलाई सम्झाएँ । उत्पादन निर्देशनालय अन्तर्गत उहाँलाई सरुवा गरिएको थियो । कुलमानलाई राजीनामा दिनबाट रोकेर राखेँ । मन्त्री भनेको सधै रहने होइन । उनी पनि एक दिन रिटायर हुन्छिन् । हामीले चिन्ता लिनुपर्दैन भनेर मैले भनेँ ।

पछि उहाँलाई राहुघाट आयोजनामा काम तोकियो । तालिम केन्द्रको प्रोजेक्ट राख्नका लागि मैले तालिम केन्द्रमा कोठा खोजिदिएँ । मेरो प्राधिकरणबाट अवकाश हुने बेला नजिकै आइसकेको थियो । त्यो बेला मलाई एमडीले अब गोसाईजीलाई बिदाइ दिनुप-यो भनेर भन्नुभएको थियो ।

मैले भनेँ, ‘तपाईले मलाई त्यसरी मन्त्रालयमा सरुवा गर्दा समेत केही भन्न सक्नुभएन । मैले विदेश भ्रमण जाने अवसर पटकपटक पाएर पनि खोसिँदा समेत केही गर्नुभएन । चाहिने बेलामा नपाएपछि अब जाबो दश रुपैयाँको अबिर चाहिएको छैन ।’

हुन पनि जाबो सानो कुरामा मैले सर्वाेच्चको साथ लिनुपरेको थियो । मलाई मानिसक चिन्ता भएको थियो । जागिर नै छोडूँ कि, खाऊँ कि, हारेर हरुवाजस्तो बनेर बस्नुजस्तो भएको थियो । ठूलो तनावमा थिएँ त्यसबेला ।

मैले सुरुमा आफ्नो कार्य गर्न दराज, टेबल, कुर्सी र कम्प्युटर लिएकी थिएँ । त्यो पनि अफिसलाई बुझाइदिएर म लेखाबाट क्लियर भएँ । त्यसरी त्यही दिन म प्राधिकरणबाट अवकाश लिएर निस्किएँ । २०७२ भाद्र ३० गते म मेरो कार्यालय उपकार्यकारी निर्देशक प्रशासनको कार्यकक्षबाट निस्किएँ । मलाई आफू स्वतन्त्र भएको, शिरबाट ठूलो बोझ बिसाएको अनुभव भयो । अनि आफ्ना सबै कुरा पुस्तकमार्फत जानकारी गराउँछु भन्ने मनमा अठोट लिएँ ।

यसप्रकार मैले ३० वर्र्षको जागिर खाएर १० रुपैयाँको अबिर पनि मैले नलिईकन बिदा भएर आएँ । मैले आफ्नो कार्यावधिभित्र एउटा निष्पक्ष, निर्भिक र इमानदार भएर काम गरेँ । यसैमा ठूलो सन्तोष मानेकी छु ।

(घोस्ट राइटिङ नेपालले छापेको केसीकृत मेरो जीवनचक्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button