लीना, जसलाई सेतो सबैभन्दा रंगीन लाग्छ

सकारात्मक, सिर्जनशील र सकृय । यहाँ यत्ति भनौं, बाँकी उनका उत्तरहरुबाट बुझौं । आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा लीना दुवाडी ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मेरो मम्मीले बनाउनुहुने वेजीटेरियन मोमो ! किनकी वहांले बनाउने जस्तो मोमोजको अरु कुनै रेसिपीसंग तुलना नै छैन ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
राजस्थान (भारत)को माउन्ट आबूस्थित पांडव भवन । ब्रह्मकुमारी संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय रहेको पांडव भवन, विगत ८० बर्षभन्दा धेरै समयदेखि कैयौं राजयोगी तपस्वीहरुले जीवन बिताएको ठाउं हो । परमात्म अवतरण भूमि त्यहाँको वातावरण अलौकिक छ । आफ्नो पटक पटकको माउन्ट आबू भ्रमणमा मैले संस्थाका स्थापनाकालदेखिका केहि व्यक्तित्वहरुको सानिध्यमा समय बिताएको छु । व्यावहारिक जीवनमा रहेर आफ्ना सबै जिम्मेवारी सम्हाल्दा सम्हाल्दै आफ्नो व्यक्तित्वलाई कसरी व्यर्थ र नकारात्मकताबाट सुरक्षित राख्न सकिन्छ भन्ने उदाहरण ब्रह्मकुमारी संस्थाको मुख्यालयले प्रष्ट पार्छ ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
स्टोरीटेलिङ्का हिसाबले मैले अहिलेसम्म पढेका थुप्रै किताबमध्ये बुद्धिसागरको ‘कर्नाली ब्लुज’ सबैभन्दा मनपरेको किताब हो । शब्दसंग खेल्ने कला र शब्दको जादू सिकाउछ ‘कर्नाली ब्लुज’ले ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
कस्तो अनौठो प्रश्न, हाहा ! संसारका हरेक व्यक्तिप्रति मेरो उत्तिकै आत्मिक प्रेम र सम्मान छ । हामी सबै यो विश्व रंगमंचमा आ-आफ्नो भूमिका निभाईरहेका छौं । हरेक व्यक्ति आफैंमा अद्वितीय छ ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
सेल्फ केयर र आत्म सम्मान । म हरेक दिन ध्यान गर्छु र आध्यात्मिक पढाई पढ्छु । आध्यात्मिक जीवनशैली आफैंमा यौटा महत्वपूर्ण लगानी हो जसले व्यक्तित्वलाई मुल्यवान बनाईदिन्छ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
नेता अर्थात् लीडर । मैले अहिलेसम्म आफुले प्रत्यक्ष देखेका व्यक्तिहरुमध्ये दादी प्रकाशमणि सबैभन्दा महान लिडर हुनुहुन्छ । दादी प्रकाशमणि भारतकी एक आध्यात्मिक नेता हुनुहुन्थ्यो, जसले ब्रह्माकुमारी संस्थाको मुख्य प्रशाशिका भएर ४० बर्ष कार्य गर्नुभयो । वहाँको व्यक्तित्व कस्तो थियो र वहाँले कस्तो जीवन बिताउनुभयो भन्ने कैयौं उदाहरणमध्ये एक यहाँ शेयर गर्छु- न्यायालयको क्षेत्रमा कार्य गर्ने व्यक्तिहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनको अन्त्यमा वहाँले भाषण गर्नुपर्ने थियो । आफ्नो भाषणको शुरुमा वहाँले ५०० जनाको त्यो सभालाई सोध्नुभयो- “आफ्नो जीवनकालमा आजसम्म एकपटक पनि झूठ नबोल्ने व्यक्तिले हात उठाउनुस !” न्यायालयमा इमान्दारिताको विषयमा सभामा २ घण्टा जति चर्चा चलेको थियो । प्रकाशमणिले सभामा आजसम्म झूठ नबोल्नु भएको कोही हुनुहुन्छ भनेर सोध्धा पूरै हल सुनसान भएको थियो । त्यसपछि वहाँले आफ्नो एक हात उठाएर भन्नुभयो- “मैले आजसम्म एकपटक पनि झूठ बोलेको छैन !” दादी प्रकाशमणि एक आदर्श लीडर हुनुहुन्थ्यो ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
सानो छंदा दशैं रमाइलो लाग्थ्यो किनकि मिठो-मिठो खान पाइन्थ्यो, टीका लगाएर पैसा पाइन्थ्यो, तिहारमा पनि खुशी लाग्थ्यो किनकि देउसी भैलोमा नाचगान गरिन्थ्यो । चाडपर्व एकदमै रमाइलो लाग्ने र मनपर्ने भनेको बाल्यकालमा रहेछ । अहिले अमेरिका आएपछि हामी सबै पर्व र अवसर समान भावना र सम्मानले मनाउने गर्छौं । हरेक कल्चर अन्तर्गत पर्ने पर्वहरुका आफ्नै आध्यात्मिक अर्थ छन्, र त्यसबाट सिक्नुपर्ने कुरा धेरै छन् ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
मलाई लेखन पेशा मन पर्छ, किनकि शब्द यौटा रचनात्मक हतियार हो, त्यसको प्रभाव छिटो र गहिरो हुन्छ । नेपाल र भारतमा रहंदा मैले विभिन्न मीडिया संस्थामा रहेर कार्य गरें जसमा लेख्ने काम बढी हुन्थ्यो । अहिले अमेरिकामा पनि म केहि म्यागजिनहरुका लागि लेखकको रुपमा कार्यरत छु । लेखनले चिन्तनको दायरा बढाउछ, बुद्धि फराकिलो पार्दछ जस्तो लाग्छ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
सेतो, किनभने सेतो सबैभन्दा रंगीन कलर हो।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
के’नानद्वारा गाइएको २०१० को फिफा वर्ल्डकपको गीत “गिव मी फ्रिडम, गिव मी फायर….” मलाई सबैभन्दा मनपरेको गीत हो । यो गीतले विश्वास र दृढताको सुन्दर पराकाष्ठालाई दर्शाउंछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button