
दुर्गमको जन्मेकी चेपाङ भएकोले मलाई किन अर्कै ग्रहको प्राणीजस्तो व्यवहार ?

लैङ्गिक हिंसाका भित्र लुप्त भुगोल र जातीय विभेदका आयामहरु
सविना चेपाङ
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर ९ देखि सुरु भएर मंसिर २४ सम्म यो अभियान सञ्चालन हुदैछ । मानव अधिकार, महिला अधिकार, सेवामूलक लगायत सबै क्षेत्रमा काम गर्ने सरकारी निकायहरु तथा गैह्रसरकारी सस्थाबीच समन्वय गरी विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरी यो अभियान सशक्त रुपमा मनाइँदैछ । परिवार समाज, कार्य स्थल र राज्य यी तीन क्षेत्रमा महिला हिंसा हुने गर्छ । पारिवारिक सम्बन्धका आधारमा हुने घरेलु हिंसा अन्तर्गत वैवाहिक बलात्कार, कुटपिट,यौनजन्य,दाइजोको नाउँमा हुने हिंसा, कुरीति र अन्धविश्वासका आधारमा हुने हिंसा लगायत विभिन्न कुरीतिजन्य हिंसा पर्छन् ।
नेपालको संविधानले महिलाको अधिकार (धारा ३८), यातनाविरुद्धको हक, छुवाछुत र शोषणविरुद्धको हक, प्रजनन स्वास्थ्य सम्बन्धी हक, गोपनीयताको हक, सम्पत्तिमा समान हक र न्याय सम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । यसका अलावा थुप्रै एैन नियमहरुले पनि महिला हकअधिकारलाई जोड दिएको छ तैप्निे यौनजन्य दुव्र्यवहार, मानव बेचबिखन, बलात्कार जस्ता हिंसावाट महिलाहरु अछुतो छैनन् । यसका साथै दुर्गम ग्रामिण भेगमा घरेलु हिंसाको साथमा जातीय विभेदको कारण पनि समाजमा बिबिध प्रकारको हिँसा भोग्न परिरहेको अवस्था छ । शिक्षा आर्जन गर्ने बिद्यालयमा हुने जातीय, भाषिक, लिङ्गीय र शारिरीक हिंसा बिचमा शिक्षा लिनु पर्ने परिस्थिती दुर्गम भौगोलिक चेपांङ गाँउमा बिधमानमा पनि जीवित छ । उज्जल भविस्यको अभिलाशासहित शिक्षा आर्जन गर्ने विद्यालयमा समेत हुने हिंसाले हाम्रो समाजको जातीय,लिङ्गीय भेदभावको चरित्र चित्रण गर्छ, जुन हामीले भोग्न विवश भइयो, जातीय विभेद मानसिक अपराध हो । अब हाम्रा बहिनी तथा भाइहरुले भोग्न नपर्ने गर्न पनि यो लैङ्गिक हिंसा विरुद्धको अभियानले सार्थकता पाउनु जरुरी छ, जविरूद्ध सबैको सरोकारवालाको पहल कदमी अति आवश्यक छ ।
म विद्यार्थी हुँदा महिनावारीको कारण विद्यालय, कलेजको कक्षामा बस्ने उचित वातावारण नहुदा केटा साथीहरु र सरहरुबाट समेत धेरै पटक अपाच्य शब्द र व्यवहारहरुको शिकार हुनु परेको अनुभूति छ । महिनैपिच्छे हुने महिनाबारीको समयमा बिद्यालय,कलेज छुट्दा पढाइ खस्किने समस्याको भागीदार हुदाको पिडा संगालेको म जस्ता भुक्तभोगीहरुको लागि पनि यो लैगिक हिंसा विरुद्धको अभियान’ अवस्था सुधारको एक बरदान बन्नेमा आशा गरेको छु । यति मात्रै हैन, म धादिङ धुषाको दुर्गम भौगोलिक चेपाङ गाउँमा जन्मेकी छोरी हुँ । त्यहीँ दुर्गममा हुर्केकी र माध्यमिक तहको अध्ययन पनि त्यहीँ पुरा गरेकी थिए । जब माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाको लागि गाउँ छोडेर कलेजको पहिलो दिन नया अपरिचित मान्छे भेट्दा नाम, थर, ठेगानासहित परिचय दिन्छु अनि फेरि पुरक प्रश्न गर्दै ए चेपाङ पो हो, कस्तो दुर्गमको मान्छे हुनुहुदो रछ है ? ई–आदिबाट चेपाङ थर भएकोमा, दुर्गममा जन्मेकोमा अर्कै ग्रहबाट आएको प्राणी जस्तो व्यवहार चुपचाप सुनिरहन बाध्य बन्नु परेको दिन बिर्सिन सकेको छैन । मेरो अनुहारको भाव त्यो बेला कस्तो थियो, सम्झना भएन । मैले आफ्नो नाम भनुन्जेल सुन्ने मान्छेहरूको अनुहारमा एउटा ‘रियाक्सन’ अनि ठेगाना भन्दा अर्कै ‘रियाक्सन’ हुन्छ । मैले यस्तो धेरैपटक महसुस गरेँ । किन सुन्ने मान्छेले यस्तो गर्छन् भन्ने पनि धेरै सोचेँ ।
मैले यति भन्न पाउँछु कि पाउँदिनँ, म जान्दिनँ । तर म के जान्दछु भने जाति र भूगोलले कुनै पनि व्यक्तिलाई मूल्यांकन गर्न हुँदैन । जाति र भूगोलले व्यक्तिलाई चिन्दैन । तर के चाहिँ सत्य हो भने भूगोलले दिने आवरण र जाती, भाषा हेरेर सोही अनुरूप प्रश्न गर्नेहरूको जमात धेरै रहेछ । यस्तै हेपाहा प्रवृत्तिको गन्ध आउने प्रश्नले हामी जहाँको हौं, त्यहाँको भन्न अझै हिच्किचाउँछौं । यी सबै ठाउँमा मैले आफ्नो परिचय दिँदा प्रश्नमाला पाएकी छु । कतिपटक प्रश्न पचाउन नसकेर कक्षाकोठा, तालिम हलबाटै निस्किएकी छु । कतिपटक मनमा आएका जवाफलाई मनमै थुपारेकी छु । कुनै पनि बिषयमा प्रश्न सोध्नै हुँदैन भन्ने होइन । तर सोधेको प्रश्नपछिको उत्तर पनि त स्वीकार्नु प¥यो नि । मैले मेरो जन्मभूमि धादिंङको बिकट बस्तीको चेपांङ हुँ भन्दा साँच्चै हो ? सत्य हो त ? भनेर शंका गर्नु त भएन नि । अनि चेपाङ भएर जन्मनु मेरो अपराध हो र ? विकट बस्तीको चेपाङले शहरमा बस्ने व्यक्तिलाई त्यस्तै प्रतिक्रिया दिएँ भने अपमान भएको महसुस गर्नुहुन्छ होला कि गर्नु हुन्न होला ? उनीहरूले परिचय दिँदै गर्दा मैले पनि त्यस्तै भनेँ वा सोधेँ भने उनीहरूले के गर्नुहुन्छ होला ? केही यस्ता कुरा हामीसँग जोडिएका हुन्छन् जुन हामीले परिवर्तन गर्नै सक्दैनौं, त्यो मध्ये एउटा मेरो जन्मभूमि हो । एउटा व्यक्ति आफू बसिरहेको ठाउँ छाडेर अर्को ठाउँमा जाँदा कत्ति दबाव, तनाव, भय, चिन्ता र अप्ठ्याराबाट गुज्रिएर आएको हुन्छ । विकट बस्तीको चेपाङ गाउँबाट आएको मान्छे यसै पनि सुगम ठाउँका मान्छेसँग डराइरहेको हुन्छौ । अझ त्यसमाथि हरेक मान्छेको जाति र भूगोलप्रतिको प्रतिक्रियाले उसलाई कमजोर बनाइरहेको हुन्छ । आफू जन्मेको ठाउँ जस्तोसुकै किन नहोस्, प्यारो लाग्छ, मलाई पनि प्यारो लाग्नु स्वभाविक नै ठान्दछु ।
जन्मेको ठाउँ म सँधै आफ्नोपन र आत्मीयता अनुभूति गर्छु । त्यसैले पनि अझ आफू जन्मेको ठाउँ नजिकको लाग्छ । त्यही ठाउँको नाम आफ्नो परिचयमा मिसाउँदा कसैले नाक खुम्च्यायो, निधार खुम्च्यायो हेय भाव दर्शायो भने आफ्नै आमालाई गिज्याए जस्तो लाग्नु अस्वभाविक हो र ? एउटै जिल्ला गाउँभित्रको भूगोलका मान्छेलाई स्वीकार्न यति गाह्रो हुन्छ हो ? स्वीकार्नु भनेको सम्मान गर्नु हो, प्रेम गर्नु हो, विश्वास गर्नु पनि होला नि ? मलाई मात्रै महसुस भएको मात्र त पक्कै होइन होला । होइन भने विकट ठाउँबाट सुगममा आएकालाई त यो प्रश्नले कहिले नछाडेको हुन सक्छ । म जन्मेको ठाउँको भाषा अनि मान्दै आएको संस्कृति र पहिरिँदै आएको भेषलाई स्वीकार गरिरहेको छु जस्तो लाग्छ । मेरो जन्मभूमिबाहेक यो देश, प्रदेश र पालिकाभित्रको अरू ठाउँ मेरो होइन कि जस्तो लाग्छ । स्थान, जात, लिङ्गका आधारमा हुने यस्ता अत्यन्त गम्भीर र संवेदनशील विषयलाई एकदमै हलुका र सतही बनाउनु पनि एक प्रकारको सामाजिक हिँसा रुम हो जस्तो लाग्ने रहेछ, अहिले म अनुभूति गरिरहेको छु । यो लैगिक हिंसा विरुद्धको १६ दिने अभियन २०७९ यस्ता अत्यन्त गम्भीर र संवेदनशील एक प्रकारको सामाजिक हिँसालाई निर्मुल गर्न सफल बर्ष बन्न सकोस् ।
लक्षित वर्गको समेत सहभागितामा हरेक विद्यालय, समुदाय, वडा तथा पालिका तहमा प्रभावकारी रणनीति, कार्यनीतिका साथ योजनाहरु निमार्ण गरी कार्यान्वयन गर्न पनि सभ्य समाजको पहिचान हुन पर्दछ । दिगो किसिमका उत्पादनमुलक क्षेत्रमा लगानी र संचेतनामूलक गतिविधिहरु संचालन गर्ने, समह तथा सहकारी संस्थामार्फत आर्थिक विकासका लागि स्थानीय स्तरमा नै आय–आर्जनका गतिविधिहरुमा जोड दिने, रोजगारीका अवसरहरु प्रसस्त खुलाउने, सीपमूलक र क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु लागु गर्ने, आधारभूत शिक्षा, सार्बजनिक सेवामा पहुँच सुनिश्चि गर्ने, नीति–नियम कार्यान्वयन तथा कानुनी संचेतना जस्ता यावत विषयहरुलाई सम्बोधन सामाजिक सचेतना गर्न सभ्य समाजको पहिचान हुनु जरुरी हुन्छ । लैगिक हिंसारहित समाज बनाउन सभ्य समाज एक मुख्य कडी हो र हुनुपर्छ । लैगिक हिंसाविरुद्धको १६ दिने अभियनको यस बर्षको नारा ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ सार्थक र समय सापेक्ष छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



