पुर्पक्षका लागि थुनामा राखिएका सन्यासीले हिरासतमै समाधि लिए

कथाः सन्यासीको समाधि

महेश न्यौपाने ‘पराग’

धेरै वर्षपछिको कुरा हो । नेपाल भन्ने देशको कुनै एक सन्यासी हिमालयमा तपस्या गरौँ भन्ने उद्देश्य बोकेर नेपालकै उत्तरी सीमातर्फ प्रस्थान गर्दै थिए । संयोगवश त्यसबखत नेपालमा भएका अनियमितता र भ्रष्टाचारले गर्दा नेपालको अर्थतन्त्र एकदमै दयनीय अवस्थामा पुगेको थियो । राज्य नागरिकप्रति एकदमै अनुदार भएको र नागरिक पनि राज्यप्रति गैरजिम्मेवार हुँदै गएका थिए । तथापि त्यस्तो विषम परिस्थितिमा पनि विश्वकल्याणको उच्च भावना बोकेर ती सन्यासी हिमालयमा तप गर्न भनी जाँदै थिए ।

महिनौँ दिनको पैदल यात्रापश्चात् उनी हिमालयको लगभग फेदीमै रहेको काष्ठमण्डप नगरको नजिकै आइपुगे । श्रीपशुपतिनाथको दर्शन गर्ने अभिलाषा प्रवल भएर आयो । श्रीपशुपतिनाथको दर्शन गरौँला अनि केहि समय पशुपतिनाथमै विश्राम गरी हिमालय प्रस्थान गर्ने सोच सन्यासीले बनाए । एकदिनको कुरा हो, श्रीपशुपतिनाथको दर्शनार्थ काष्ठमण्डप भित्रिने क्रममा उनलाई काष्ठमण्डपको नाकामै प्रहरीले रोक्यो । प्रहरीले सोध्यो, ‘कता जान लाग्नुभएको ?’

सन्यासीले जवाफ दिए, ‘प्रहरी महोदय ! म एक सन्यासी हुँ । विश्वकल्याणको निमित्त आफूले सक्ने जति कार्य गर्ने मनसायका साथ हिमालयमा तपस्याका खातिर जान लागेको थिएँ । श्रीपशुपतिनाथको नगीचै आएर पनि पशुपतिनाथलाई बेवास्ता गरेर जान सकिँन र तिनै पशुपतिनाथको दर्शनार्थ जान लागेको ।’

प्रहरीः हेर्दा त तपाईं हट्टाकट्टा र जवान पनि देखिनुहुन्छ । तपाईंलाई देखेर सन्यासी हुनुहुन्छ जस्तो देखिनुहुन्न त ? घरजम गर्ने उमेरमा किन सन्यास लिनुभयो ?

सन्यासीः मलाई संसार देखेर वैराग्य आयो । संसार दुखी र त्रस्त छ । सबैमा रज र तम गुण भरिएको छ । सत्वगुणको अवलम्बन कसैले गरेको देखिएन ।जताततै मनुष्य स्वार्थी एवं स्वेच्छाचारी हुँदै गएको छ । भौतिक दुनियाँमा सुख रहेनछ र म आध्यात्मिक बाटोमा अग्रसर हुँदै गएँ र सन्यासी बन्न पुगेँ ।

सन्यासीको नम्र वचन र आदर्शका कुरा सुनेर नाकामा रहेका प्रहरीले विना चेकजाँच नै सन्यासीलाई काष्ठमण्डप नगरमा प्रवेश गर्ने अनुमति दिए । ती सन्यासी सरासर पशुपतिनाथतर्फ जाँदै थिए । पशुपतिनाथकै छेउमा प्रहरीले उनलाई रोक्यो र सोध्न सुरु गर्यो ।

प्रहरीः कता जान लाग्नुभएको सर ?

सन्यासीः म श्रीपशुपतिनाथको दर्शनार्थ पशुपति मन्दिरतर्फ जान लागेको हुँ ।

प्रहरीः तपाईंसँग पास छ त ?

सन्यासीः कस्तो पास ? मसँग त केहि पनि छैन ।

प्रहरीः यहाँ हिडडुल गर्न पास चाहिन्छ नि । बिनापास कसैलाई पनि हिँडडुल गर्न नदिनु भन्ने माथिको आदेश छ ।

सन्यासीः अब म के गरौँ त ? मलाई जसरी भए पनि पशुपतिनाथको दर्शन गर्ने अभिलाषा छ ।

प्रहरीः तपाईंले चिनेको वा तपाईंको कोहि आफ्नो मान्छे पशुपतिनाथतिर वा कोहि ठूला मान्छे काठमाडौँमा छन् त ?

सन्यासीः सन्यासीको जीवनमा त ईश्वरबाहेक अन्य केहि कोहि पनि हुँदैन । सारा संसार त्याग गरेर हिँडेको सन्यासीसँग के नै रहन्छ र ?

प्रहरीः तपाईं त हेर्दा पनि हट्टाकट्टा र जवान देखिनुहुन्छ । तपाईंलाई गेरु वस्त्र लगाएकै भरमा कसरी सन्यासी मान्ने ? फेरि सरकारले नेपाललाई माग्ने, जोगी मुक्त देश भनेर घोषणा गरेको छ । मैले कसरी तपाईंलाई सन्यासी भनेर विश्वास गर्ने ? कुनै आधार पनि त छैन । कतै तपाईं विदेशी जासूस त होइन ? कतै पक्राउ पर्नबाट बच्नलाई सन्यासीको भेष धारण गरेको त होइन ? (प्रहरी शङ्काको दृष्टिले भन्यो)

सन्यासीः होइन होइन । सायद तपाईं भ्रममा हुनुहुन्छ होला, म कतैको जासूस होइन र पक्राउ पर्नबाट जोगिन सन्यासीको भेषमा हिँडेको पनि होइन ।

प्रहरीः तपाईंसँग नेपाली नै रहेको र विदेशी जासूस नभएको भन्ने के प्रमाण छ ?

सन्यासीः प्रहरी भाइ, म सन्यासी हुँ । सबै कुरा न्यास गरेर हिँडेको मान्छेसँग के नै प्रमाण हुन्छ र ?

प्रहरीः त्यसो हो भने तपाईं पक्कै पनि जासूस नै हुनुपर्छ । तत्काल नै गृह मन्त्रालयमा यो कुरा जानकारी गराउनुपर्छ । तपाईं अब कतै जान पाउनुहुने छैन ।

सन्यासीः हे ईश्वर, यो कहाँ आएर फसेँ म ?

गृह र अर्थ मन्त्रालयका पदाधिकारीहरू आउँछन् र सन्यासीसँग पुनः सोधपुछ सुरु गर्छन् ।

मन्त्रालय अधिकारी (हाकिम): तपाईंको नाम ?

सन्यासीः सच्चिदानन्द सरस्वती ।

हाकिमः तपाईंको घर कहाँ हो ?

सन्यासीः म सन्यासी हुँ । मेरो घरबार त के, आफन्त पनि कोहि छैनन् । मेरो सबै कुरा भन्नु नै ईश्वर मात्रै हो ।

हाकिमः सच्चिदानन्द सरस्वती तपाईं नै हो भन्ने के प्रमाण छ ?

सन्यासीः मसँग मलाई नै प्रमाणित गर्ने म स्वयंबाहेक अरु केहि र कोहि साधन र मान्छे छैनन् ।

हाकिमः तपाईंले किन सन्यास लिनुभएको ?

सन्यासीः संसारदेखि वैराग्य जागेर सन्यास लिन पुगेँ ।

हाकिमः कसरी जाग्यो सन्यासको भावना ?

सन्यासीः समाज पथभ्रष्ट हुँदै गएको, मान्छेमा मानवता हराउँदै गएको, तम र रजगुणले संसार ढाक्दै गएर समग्र पृथ्वीमा नै जीवहरू अज्ञानी र दुखी हुँदै गएको देखेँ । नश्वर चीजको प्राप्तिमा मान्छेको होडबाजीले समग्र संसार दुखी छ र त्यस्तो नश्वर, मिथ्या चीजमा मलाई कुनै अभिलाषा नै भएन र सन्यासको भावना जागृत भयो ।

हाकिमः कसलाई सोधेर सन्यास लिनुभयो त ? सरकारबाट अनुमति लिनुभयो त ?

सन्यासीः मैले सन्यास लिनेबेलामा आफ्नै पिताजीबाट आज्ञा लिएर सन्यास लिएको थिएँ । सरकारबाट पनि अनुमति लिनुपर्छ भन्ने कुरा मलाई थाहा थिएन ।

हाकिमः नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा सुन्नुभएको छैन ? सरकारले सबैलाई खुशी, सुखी राख्छु भनेको थाहा छैन कि क्या हो तपाईलाई ?

सन्यासीः खै हजुर, आफू त सन्यासी परियो । त्यस्ता सरकारी कुरा त मलाई केहि पनि थाहा छैन ।

हाकिम तपाईंसँग आफूलाई प्रमाणित गराउने कुनै पनि कागजपत्र नभएको, सरकारलाई बुझाउनुपर्ने कुनै पनि कर नतिरी र सरकारबाट अनुमति पनि नलिइ सन्यास लिएको अभियोग लाग्ने देखियो । सरकारको अवज्ञा गरेको तथा सरकारलाई छलेर आफूखुशी कार्य गरेको अभियोगमा जेल सजाय पनि हुन सक्छ ।थाहा छ तपाईंलाई ?

सन्यासीः लौन हजुर, म अज्ञानी रहेछु । काष्ठमण्डप अबउप्रान्त आउने पनि छैन । कृपा गरेर मलाई अहिले छोडिदिनुहोस् ।

आफूलाई युवा सन्यासी बताउने सच्चिदानद सरस्वतीलाई हदैसम्मको सजाय होस् भनेर फाइल बनाएर मुद्दा चलाउनू भनेर प्रहरीलाई आदेश दिँदै हाकिम निस्किए ।

तत्पश्चात् ती सन्यासीलाई पुर्पक्षका लागि थुनामा राखियो र उनले प्रहरी हिरासतमै समाधि लिए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button