बुढ्यौलीपनः कसरी पीडालाई आनन्दमा बदल्न सकिन्छ ?

रितु शाक्य

जो जन्म लिन्छ, ऊ अवश्य मर्छ । यो प्रकृतिको अकाट्य नियम हो । प्रत्येक वस्तु होस् या व्यक्ति या स्थिति, सँधै एकनासको हुँदैन । जे उत्पति हुन्छ, त्यो विनास पनि हुन्छ । मानिसको कुरा गर्नु पर्दा ऊ जन्मिन्छ, बालक हुन्छ, जवान हुन्छ, बृद्ध हुन्छ अनि मर्छ । जन्मेलगत्तै उसको मृत्युको दिन पनि नजिकिँदै जान्छ । हाम्रो जीवनमा पनि यो सब समय आउँछ । सबैभन्दा पीडादायी क्षण भनेको वृद्धावस्था नै हो । तर पनि त्यो समयमा पनि हामीले केहि कुराको ध्यान राख्न सक्यौँ भने हामीले त्यो पीडालाई आनन्दमा रुपान्तरित गर्न सक्छौं ।

वृद्धावस्थाका विविध समस्यामा शारीरिक, मानसिक, आर्थिक, पारिवारिक, सामाजिक समस्या पर्दछन् । ती सब समस्याका हल तलको बूँदामा उल्लेख गरिएका छन् ।

१. शरीरसम्बन्धि समस्याहरु हुन नदिन बालक या युवा अवस्थादेखि नै उचित योग, व्यायाम र प्राणायामको अभ्यास निरन्तर गरिरहनु पर्छ । शुद्द, ताजा र पोषणसहितको सन्तुलित खाना समयमा खानाले हाम्रो शरीर स्वस्थ हुन्छ । जसले आफ्नो लागि डेढ घण्टा दिन सक्दैन, उसले भोलिको दिनमा रोगी जीवन अवश्य जिउनु पर्ने हुन्छ । खानाको साथसाथै उचित मात्रामा आराम पनि आवश्यक हुन्छ ।

२. मानसिक स्वास्थ सबल राख्नको लागि सजगताको अभ्यास गर्नुपर्छ । यसको लागि विविध ध्यान–साधनाको अभ्यास गर्नु पर्छ । जसले गर्दा हामीमा आफ्नो ५ इन्द्रियलाई नियन्त्रण गर्न सक्ने क्षमता वृद्धि हुन्छ । हामीमा सकारात्मक भावनाको वृद्धि हुन्छ । आफ्नो आचरणमा शुद्दता ल्याउने पञ्चशीलको पालना गर्ने अभ्यास अति उत्तम हुन्छ । आजको आचरण भोलिको आनन्दको कारण बन्छ । अनावश्यक इच्छा, आकांक्षाको पछि नलाग्ने । चित्त विचलित हुने किसिमका परिस्थिति ठाउँ मान्छेहरुबाट टाढा बस्ने । परिस्थिति प्रतिकुल छ र त्यसलाई बदल्न सकिदैन भने संयमित हुने उपेक्षा या स्वीकार भाव बढाउने । यसको लागि ध्यान साधनामा आफुलाई लगाउने । हरेक उत्पति भएका चीज अनित्य छ भन्ने परम सत्यलाई बुझ्ने ।

३. भावनात्मक र पारिवारिक समस्या हुन नदिन हृदयमा करुणा, मैत्री भावना जगाउन विविध बुद्धपुरुषहरुको संगत गर्नु पर्छ । ज्ञानवर्द्धक अध्यात्मिक पुस्तकहरुको अध्ययन गर्दा पनि हुन्छ र ती ज्ञानलाई व्यवहारमा उतार्ने प्रयास गर्नु पर्छ । हरेक कुरामा चिन्ता लिने बानीलाई त्यागेर चिन्तन गर्ने बानी बसाल्नु पर्छ । घरपरिवारमा सबलाई सहयोगको भावनामा वृद्धि गर्नु राम्रो हुन्छ । आफुले जानेको, सकेको काम गर्नुपर्छ । म बुढो भएँ भनेर चुप बस्नु रोग र मनमुटावलाई निम्त्याउनु हो । आफूभन्दा सानालाई आफ्नो जीवनभरका अनुभव सुनाउने गर्नु पर्छ । भूत र भविष्यमा नरुमल्लिकन वर्तमानमा आनन्द लिने बानी गर्नुपर्छ । हरेक घरायसी निर्णय घरपरिवारको सल्लाहमा लिने आफ्नो एक मत लाई मात्र धेरै मान्यता नदिने । जीवन वरदानको रुपमा स्वीकार गर्ने न कि अभिशाप ।

४. आर्थिक र सामाजिक समस्या आउन नदिनको लागि आफु सक्षम हुँदा नै आफ्नो लागि प्रशस्त धनको जोह गर्नुपर्छ ताकी पछि कसैको अगाडि हात फैलाउन नपरोस् । सामाजिक रुपमा आफुलाई सम्मानित गर्न आफुले कमाएका धनबाट केहि सामाजिक संस्था, बृद्ध आश्रम, बालआश्रम आदिमा दान धर्म पनि गर्दै गर्नु पर्छ । यस्तो कर्मले मनमा अहंकार आउन पाउँदैन र धर्ममा पनि मन लागिरहन्छ । कसैबाट केहि अपेक्षा गर्नुभन्दा आफुले अरुलाई दिने कुरामा बढी ध्यान दिनु उपयुक्त हुन्छ । यस्तो कर्मको प्रभावले समाजमा मान प्रतिष्ठा र इज्जत मिल्छ ।

यी त भए आफुले बृद्धत्वोमा आउन सक्ने समस्याबाट जोगिने उपाए । अब हामीले आफ्नो घरका अग्रज सदस्यहरुलाई उचित सम्मान, सेवा, स्याहारसुसार गर्ने उहाँहरुका दैनिक आवश्यकता पूर्ति गरिदिने र उहाँहरुलाई समय दिएर घुमाउने रमाइलो वातावारण सिर्जना गरिदिने, मिठो बोल्ने, आदि गर्नाले उहाँहरुको पीर, व्यथालाई कम गर्न मद्दत मिल्छ । भनिन्छ, जुन घरमा आमा लक्ष्मी या धर्तिमाता र पिता नारायण या आकाशको रुपमा पुजिन्छ, त्यो घर साँच्चिकै स्वर्ग समान हुन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button