
रातो घोडा चढ्ने रहर अझै
पेशल आचार्य
जीवन भनेको अधिकांश रहरको योग हो । एकपछि अर्को गर्दै यस्ता रहरहरु कति आउँछन् कति एउटा मानिसका जीवनमा । मेरा जीवनमा पनि धेरै त्यस्ता रहरहरु आएका थिए, जुन बेला म कक्षा ६ मा पढ्थेँ ।
यो २०३४ सालतिरको कुराकन्था हो, जसका फड्के साक्षीहरु अहिले धेरै यै देशभित्र र थोरे देशबाहिर पलायन भैसकेका छन् । म भने मध्यपहाडी भेगको एउटा सदरमुकाममा पढाउने लेखाउने पेसाका रुपमा थन्केको छु ।
मलाई धेरैजसो सीप घरमै प्राप्त भयो । बुवाले घरका काममा प्रवीण बनाउनु भएको हो । आमाले ससाना संस्कारहरु दिनु भएको हो । यी दुवै कुराहरुको मिश्रणबाट आज म जे छु सोही अवस्थामा छु ।
मभन्दा माथिकाले मलाई याने मेरो जीवनलाई सामान्य ठान्दा हुन् । मभन्दा साना पद र हाँचका मानिसहरुले मेरो जीवनलाई ठूला मान्दा हुन् । जसले जे भने पनि जे माने पनि मेरा लागि श्रम गरेर खाने जीवन नै यो जुनीमा प्राप्ति भयो । यसैमा म मख्ख छु ।
साथीहरु धेरै भएको बाहुन गाउँ थियो । यस मानेमा बाहुन गाउँ भने कि त्यसको वरिपरि अन्य धेरै थर र जातका मानिसहरुको समेत वस्ती थियो । हाम्रो गाउँको पूर्वतिर थारु टोल थियो भने सोको पूर्व दक्षिणतिर नेवार टोल थियो । पूरै दक्षिणतिर तराईवासीका अनेक थर र उपथरहरु भएका मानिसहरुको गुरुप्प वस्ती थियो । जसमा धेरैजसो गरिब गुरुवा थिए । जनबनी गर्ने, सर्वहारा हाँचमा मानिसहरुको वस्तीले गर्दा सो दक्षिणतिर मानिसहरु उति संगत गर्दैनथे ।
हामी पढाइ लेखाइमा तन्मयसाथ लागेका थियौं । बीच बीचमा केटाकेटी स्तरबाट गरिने उपध्रो समेत गरिन्थ्यो । यो कुरा मैले काले पात्रलाई उभ्याएर लिम्बुको बगैँचामा अम्बा चोर्दा, लिँडे कुुकुर, नोष्टाल्जियामा सिँदुरी गाई र यस्तै अरु शीर्षक र उपशीर्षकहरुमा लेखिसकेको छु । यो मेरो फरक खालको सम्झौटो हो ।
त्यो बेला तराईमा हिँउदमा घुँडा घुँडासम्म धूलो र बर्खामा त्यही तिघ्रा तिघ्रासम्मै हिलो हुन्थ्यो । अहिलेजस्ता ज्यास्ती सडकहरु बनिसकेका थिएनन् । मानिसको औकात तलै थियो ।
भाउ विक्री सस्तो थियो । त्यही बेला हुनुपर्छ मैले ३० रुपैयाँमा बाख्राको पूजा गर्ने बेला भएको पाठी किनेको याद छ । धान, गहुँ, मकै लगायतका अन्नहरु उधुमै फल्ने गर्दथ्यो । तेल, दाल, तरकारी र फरकारीहरु समेत निक्कै फल्दथ्यो । एक रुपियाँको १६ किलो काँक्रा समेत सोमबारे र बिहीबारे हाटमा नबिकेका कैँयौं उदाहरणहरु मैले देखेको छु ।
यो जीवनको एउटा फालक भयो । क्रमशः २०३६ साल र २०४६ सालपछि भाउ विक्रीले तेज रफ्तार पक्रियो । मानिसहरुको संख्या वृद्धिसँगै बाहिर विदेश जाने लय बढेपछि विदेशी मुद्राको छेलोखेलो पर्याप्त भयो अनि पैसा सस्तो र माल, वस्तु सस्तो भयो । यो कुराले कहिलेकाहीँ मेरा मनमा अत्यास समेत ल्याउँदछ ।
अहिले यो संस्मरणमा लेराउन खोजेको विषयचाहिँ रातो भोटे घोडा हो । बुवा भूूमि प्रशासनको बसनि हुनुहुन्थ्यो । हप्ताका चारपाँच दिन फिल्ड हिँड्नु पर्ने । मोटर साइकल र साइकलको भर्खर चलन आएको थियो । त्यो किन्ने र चलाउने उति मानिसहरुको बानी नबसी सकेकाले बाले प्रायः घोडा चढ्ने गर्नु हुन्थ्यो ।
गाउँमा विष्णुप्रसाद पोखरेल (भकारी घरे) पनि घोडा चढ्थे । तिनी प्रायः घोडा मात्र नचढेर कहिले घोडा र नहुँदा घोडी समेत चढ्दथे । तर मेरो बुवाचाहिँ घोडा मात्र अझ त्यसमा पनि रातो भोटे घोडा चढ्नु हुन्थ्यो ।
हामीलाई रुटिन बनाइदिनु भएको थियो । तीन भाइ छोराहरुले हप्ताका एकएक दिन घोडाको लिदी सोहोर्नु पर्ने । हामीलाई घोडाको लिदी भनेपछि डर र घिन दुवै एकैपटक लाग्थ्यो ।
एक त लिदी सारै नमिठो गन्ध आउने हुन्थ्यो भने अर्कोतिर त्यसले काटेको वा घाउ भएको ठाउँमा छोयो भने टिटानस भन्ने रोग लाग्थ्यो भनेर मानिसहरु भन्थे । हामी डरले थरहरी हुन्थ्यौं तर बुवाको आज्ञालाई शिरोपर गर्दै मान्दथ्यौं ।
घोडाको लिदी सोहोरेको पीर त्यो बेला अन्त्य हुन्थ्यो जब घोडा चढ्न पाइन्थ्यो । दुई तीनपटक घोडा चढ्न नजान्दा लडिएको समेत याद छ तर घोडाले आफ्नो सवारलाई कहिल्यै टेक्दैनथ्यो ।
आज पनि घोडा कुदेको कतै देखियो भने उही बुवाको जमानाको घोडा र आफूले डराई डराई चढेको याद आइहाल्छ । असिम आनन्दको वर्षा हुन्छ । रहर अझै मरेको छैन त्यस्तै भोटे घोडा चढ्ने ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



