
आफ्नो प्राण त्याग्न मान्छेका छातीमा अचेत पल्टिरहेको मृत्यु
कवि बेलवासेले मृत्यु शीर्षकमा कविता लेखिरहेका छन् । उनका अनुसार मृत्युसंवादले जीवनको गहिराई बुझाउँछ ।

मृत्यु–१४
ठाकुर बेलवासे
दुःखेर
बेहिसाब पीडामा अथाह पिरोल्लिएको
मृत्यु
हरेक क्षण दुःखमा छ ।
मान्छेका घाउहरुमा
रोगहरुमा
खुसीहरुमा पनि
छटपटिरहेको मृत्यु
मान्छेभन्दा बढी दुःखमा छ
मान्छेभन्दा बढी पीडामा छ ।
आफ्नो प्राण त्याग्न
मान्छेका छातीमा अचेत पल्टिरहेको मृत्यु
साँच्चै निरीह छ
टिठलाग्दो छ ।
विचरा मृत्यु
मान्छे नभएको भए
मर्नका लागि के गथ्र्यो होला !
आफ्नो अन्त्यका लागि
मान्छेको सहरा लिने
अत्यन्त कमजोर त्यही मृत्युसंग
संसारमा मान्छे भयानक भयवित छ !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



