संस्कारयुक्त शिक्षा आजको आवश्यकता

हरिप्रसाद गौतम

मान्छेले निरन्तर केही न केही सिकिरहेको हुन्छ । सिक्ने प्रक्रिया जन्मदेखि मृत्युपर्यन्त चलिरहन्छ । घरपरिवार होस् या विद्यालय, समाज होस् या परिस्थिति, जहाँबाट कुनै कुराको ज्ञान मिल्दछ, त्यही ज्ञान नै शिक्षा हो । शिक्षाबाट पाइने जानकारी अथवा सिपले नै मान्छेभित्रको प्रतिभालाई निखार्ने र सुधार्ने काम गर्दछ । संसारमा अनेक विषयसम्बन्धी शिक्षा लिने वा दिने काम भइरहेको पाइन्छ । यस्ता विषयमध्ये संस्कार सिकाउने शिक्षा पनि एक हो, जसले मान्छेलाई धैर्यवान्, जिम्मेबार तथा चरित्रवान् बन्न मदत गर्दछ ।

मान्छे जतिसुकै क्षमतावान् भए पनि यदि ऊ चरित्रवान् छैन भने उसलाई कसैले पनि राम्रो मान्छे मान्दैनन् । अनुशासनहीन तथा खराब चरित्रको मान्छे समाजको धब्बा मानिन्छ । जन्मले कोही ठुलोसानो वा असल-खराब हुने होइन । मान्छे कर्मका हिसाबले चिनिने प्राणी हो । जसले जस्तो काम गर्छ, ऊ त्यही हिसाबले चिनिएको हुन्छ । व्यक्ति असल हुनु वा खराब हुनुसँग उसले पाएको शिक्षा, घरको संस्कार र उसको सङ्गतले अहम् भूमिका खेलेको हुन्छ । जब कुनै घरमा बच्चा जन्मन्छ, त्यस घरका सबैले उसको असल भविष्यको बारेमा सोच्न थाल्छन् । उसलाई हरतरहले राम्रा कुराहरू सिकाउने प्रयास गर्छन् । बिस्तारै ऊ बढ्दै र पढ्दै अघि बढ्छ । उसले विद्यालयबाट ज्ञान तथा सिप हासिल गर्दछ । समाज र परिवारबाट सामाजिक, व्यावहारिक तथा जिम्मेबार बन्न सिक्छ । साथीसँगीसँग आपसी लेनदेन, दुःखसुख, हाँसखेल र रमाइलो गर्दै जिउन पनि सिक्छ । हुर्कँदै गएपछि चेतनाको स्तर र ज्ञानको दायरा पनि फराकिलो हुँदै जान्छ । मान्छेले उमेरका अवस्थासँगै ठीक-बेठिक, उचित-अनुचित वा राम्रो-नराम्रोका बारेमा पनि बुझ्दै जान्छ । यति हुँदाहुँदै पनि ऊ समय र परिस्थितिसँग अलग रहन भने सक्दैन । क्रमशः साथीसँगी र उमेरजन्य चाहनाको पछाडि लाग्न थाल्दछ । यहीँनेर उसको जीवनमा थुप्रै कुराहरू पनि घटित हुन पुग्छन्, जसले ऊ स्वयमंलाई नै भ्रमित बनाउँछन् । एकातिर ऊ पढाइ पनि गरिरहेको हुन्छ भने अर्कातिर साथीहरूको सङ्गतमा पनि परिरहेको कारणले गर्दा सुन्दर भविष्य बनाउने उसको लक्ष्यमा गतिरोध देखा पर्छ । यस्तो बेलामा उसले आफूलाई नियन्त्रण गर्न सकेन भने अथवा घरपरिवार र समाजले उसलाई सही मार्गमा ल्याउन सकेन भने ऊ बिस्तारै गलत बाटोमा लाग्न थाल्छ ।

हुन त समाजका सबै बालबालिका बिग्रन्छन् नै भन्ने त होइन, तैपनि अहिलेको समाजको तरल अवस्था र विभिन्न माध्यमहरूका कारण हाम्रो हाम्रा कतिपय आशालाग्दा बालबालिकाले गलत बाटो समात्ने खतरा बढिरहेको छ । जथाभाबी बोल्ने, अटेरी गर्ने, झगडा गर्ने, पढाइमा ध्यान नदिने, दुर्व्यसनमा लाग्ने जस्ता बानी सामान्य भइसकेका छन् । यस्ता बानीले व्यक्ति स्वयम्‌लाई मात्रै नभएर घर, परिवार र मानवसमाजलाई ठुलो क्षति पुर्‍याउन सक्ने हुँदा हामी सबै समयमै सचेत हुनुपर्ने देखिन्छ । यसका लागि घरपरिवारले प्रेमपूर्वक असल बानीव्यवहार र परम्परा अपनाउन प्रेरित गर्नुपर्छ । समाजले सामाजिक दायित्व पूरा गर्ने भूमिकामा अग्रसर गराउनुपर्छ । त्यसै गरी पाठ्यक्रम विकास केन्द्रले पनि मानवीय मूल्य र मान्यता अनि देशप्रेमका कुराहरू समेटिएका पुस्तकहरू लागु गर्ने नीति अवलम्बन गर्नुपर्छ र शिक्षकहरू पनि त्यही भावनाअनुसार पठनपाठन गराउने, नैतिक आचरण तथा असल संस्कार सिकाउनतिर लाग्नुपर्छ । संस्कारयुक्त शिक्षाले सिप मात्र सिकाउने होइन, यसले त अघि बढ्ने र जीवन सफल बनाउने बाटो पनि देखाउँछ । संस्कृतमा एउटा श्‍लोक छ : “विद्या ददाति विनयं, विनयाद् याति पात्रताम् । पात्रत्वात् धनमाप्नोति, धनात् धर्मं ततः सुखम् ।।” अथवा- विद्याले विनम्रता दिन्छ, विनम्रताले राम्रो पद पाउने योग्यता दिन्छ । यही योग्यताबाट धन कमाउन सकिन्छ, धनले धर्मको पालन हुन्छ र धर्मले अन्ततः सच्चा सुख प्रदान गर्दछ । यो श्‍लोक जस्ता ज्ञानगुनका कुराहरू हामी हाम्रा आफ्नै संस्कारजन्य परम्परागत सिकाइमा पनि खोज्न र सिकाउन सक्छौँ । साँच्चै यसो गर्न सकियो भने हाम्रो आउँदो पुस्ता हरेक कुराका लागि विश्‍वासिलो र योग्य हुनेछ ।

यसरी, आजको युगमा संसारले भौतिक रूपमा थुप्रै उपलब्धि हासिल त गरेको भए पनि यस्ता उपलब्धिको महत्त्वलाई बुझ्ने, सदुपयोग गर्ने र चुनौतीको सामना गर्नसक्ने अर्को पुस्ता तयार गर्न सकिएन भने त्यो उपलब्धि निरर्थक हुने हुँदा अब विकासका साथै मानवीय मूल्य र मान्यताअनुसार चल्न सक्ने संस्कारी पुस्ता तयार हुनु जरूरी छ । यस्तो पुस्ता संस्कारले युक्त भएको शिक्षाले मात्रै तयार गर्न सक्छ । यसका लागि सबै पक्ष एक भएर लाग्नुपर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button