नुवाकोट भन्नु एउटा जिल्ला मात्र होइन

देशको समग्र चित्र कोर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा सूर्यगढी-४, नुवाकोटका पुरु लम्साललाई विशेष धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
जब कसैले ‘नुवाकोट’ भन्छ, मेरो मनमा कुनै तस्बिर मात्र होइन, एउटा सिङ्गो युग नै बिउँझिन्छ । इतिहासको त्यो कालखण्ड, जहाँ नेपाल राष्ट्रको जग बसाल्ने रणनीतिहरू बुनिएका थिए, ती साततले दरबारका ईटाहरू र यहाँका गढीहरूले बोकेको सामरिक महत्त्व मेरो आँखैअगाडि नाच्न थाल्छ । मेरो लागि नुवाकोट भन्नु केवल एउटा जिल्ला मात्र होइन, यो त वीरताको सुगन्ध आउने एउटा जीवित इतिहासको ठेगाना हो ।

२. यहाँ जन्मिकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
यस पुण्यभूमिमा जन्म लिन पाउनुलाई म मेरो अहोभाग्य र पितृहरूको आशिर्वाद मान्छु । जहाँको माटोमा पृथ्वीनारायण शाहको पाइला परेको थियो र जहाँको हावामा हाम्रा पुर्खाहरूको पसिना र वीरताको कथा मिसिएको छ, त्यही धर्तीको सन्तान हुन पाउनुले मलाई भित्रैदेखि एउटा छुट्टै स्वाभिमान र ऊर्जा प्रदान गर्दछ । म जहाँ पुगे पनि, मेरो नसामा नुवाकोटको त्यही अजेय र निडर रगत बगिरहेको महसुस गर्छु ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
पाहुनाहरूलाई “यो मेरो जिल्ला हो” भन्दै गर्वका साथ देखाउन मसँग अमूल्य सम्पदाहरूको भण्डार छ । म उहाँहरूलाई मल्लकालीन र शाहकालीन वास्तुकलाको अनुपम नमुना नुवाकोट साततले दरबार देखाउन चाहन्छु । त्रिशूली र तादीको संगमस्थल, जहाँ इतिहास र अध्यात्म मिसिएको छ, त्यो देवीघाट पुर्‍याउन चाहन्छु । सूर्यगढीको उचाइबाट वीरताको गाथा सुनाउँदै, दुप्चेश्वर महादेवको आँगनमा पुगेर आस्थाको गहिराइ नाप्न मन छ । अनि गोसाइँकुण्डको काखमा रहेको सूर्यकुण्डको त्यो अलौकिक प्राकृतिक सौन्दर्य देखाएर उहाँहरूलाई मन्त्रमुग्ध पार्न चाहन्छु ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
मलाई मेरो जिल्लाको त्रिवेणी- अद्वितीय कला, जीवन्त संस्कृति र गौरवशाली इतिहासमा सबैभन्दा बढी गर्व लाग्छ । यहाँका जात्रा, पर्व, सिन्दुरे जात्रा जस्ता मौलिक परम्पराहरूले हाम्रो पहिचानलाई कहिल्यै पुरानो हुन दिएका छैनन् । हाम्रो पुर्खाले सिर्जना गरेको कला र उनीहरूले लडेको लडाइँले नै आज हामीलाई ‘नेपाली’ भनेर गर्व गर्ने आधार दिएको हो । यो ऐतिहासिक जग नै मेरो सबैभन्दा ठूलो गर्वको विषय हो ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
धेरैका लागि नुवाकोट एउटा पर्यटकीय वा ऐतिहासिक स्थल मात्र होला, तर मैले महसुस गरेको कुरा अलि फरक छ । नुवाकोटको इतिहास अझै पनि पूर्ण रूपमा उजागर भएको छैन; यसको पुनरलेखन हुन अति आवश्यक छ । शङ्खमणि रानाको वीरताको इतिहास र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अन्तिम क्षणहरूका कतिपय रहस्यमय र महत्त्वपूर्ण पक्षहरू अझै पनि गर्भमै छन् । यी अनुत्तरित प्रश्नहरूको खोजी हुनु र हाम्रो वास्तविक विरासतलाई संसारले चिन्नु नै यो जिल्लाको खास तर ओझेलमा परेको विशेषता हो ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्यो भने, कस्तो स्वभावको हुन्छ ?
यदि नुवाकोट एउटा मानिस हुन्थ्यो भने, ऊ एउटा ‘पूर्ण र आदर्श पुरुष’ हुन्थ्यो । जसमा प्राकृतिक सुन्दरताको तेज हुन्थ्यो, हजारौँ वर्षको अनुभव र विरासतको गाम्भीर्य हुन्थ्यो । ऊ सांस्कृतिक रूपमा निकै धनी, संस्कारमा बाँधिएको र स्वभावमा अत्यन्तै शालीन हुन्थ्यो । उसको व्यक्तित्व नुवाकोटको भूगोल जस्तै अटल र अग्लो हुन्थ्यो, तर उसको हृदय त्रिशूलीको जल जस्तै कञ्चन र शितल हुन्थ्यो । ऊ यस्तो मानिस हुन्थ्यो, जसलाई भेटेपछि जो कोहीले पनि श्रद्धाले शिर झुकाउँथ्यो ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
म मेरो जिल्लालाई केवल कंक्रिटका भवनहरू र चिल्ला सडकहरू भएको आधुनिक सहरका रूपमा मात्र देख्न चाहन्न । मेरो सपना छ- नुवाकोट आत्मनिर्भर र स्वाभिमानी बनोस् । यसको विकास यस्तो होस् जहाँ हाम्रा मौलिक संस्कृति र पहिचानहरू सङ्ग्रहालयमा मात्र होइन, हाम्रो दैनिकीमा जीवित रहून् । विकास भनेको काटेर ल्याइएको र माटोमा गाडिएको बाँसको लिङ्गो जस्तो हुनुहुँदैन, जो केही दिनमै ओइलाउँछ । बरु, हाम्रो विकास त बाँसको झाङ जस्तो हुनुपर्छ, जसको जरा आफ्नै माटोमा बलियोसँग गढिएको होस् । जुन जतिसुकै माथि अग्ले पनि आफ्नै भार र संस्कारले गर्दा भुइँतिरै नुघ्न सकोस् । म यस्तो नुवाकोट देख्न चाहन्छु, जसको आफ्नै मौलिक चिनारी होस् र जसको उपस्थितिमा एउटा बलियो अस्तित्व र गर्विलो इतिहास सधैँ झल्कियोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button