२०२६ मा अझ सुन्दर तथा सक्रिय जीवन बिताउनेछु

नेपालनाम्चाकाे नयाँ बर्ष स्तम्भ ‘याेजना २०२६’ मा दुर्गा कार्की

भोलि २०२६ को नयाँ बिहानीसँगै नयाँ सूर्योदय हुनेछ । आशाका किरणसँगै हरेकका घरआँगनमा उमङ्ग छाउनेछ । हरेक मानिस आशैआशमा बाँचेको हुन्छ, ती आशाका त्यान्द्रा चुडिए निराशा बाहेक केही रहँदैन । त्यस्तै म पनि एक सामाजिक प्राणी हुँ। हरेक पल रमाएर बाँच्न चाहन्छु । तर प्रकृतिको नियम झैँ कहिलेकाँही सोचेभन्दा भिन्न भैदिन्छ समय । तर पनि तुलनात्मक रुपमा म आफूलाई एक भग्यमानी ठान्छु । ईश्वरप्रति कृतज्ञ हुन मन लाग्छ । घरपरिवारको जिम्मेवारी प्रायः पूरा भैसकेकोले जीवनको उत्तरार्धतिर पुगेकी म स्वतन्त्र रुपले आफुलाई अघि बढाउन सफल भएकी छु ।

२०२५ मेरो लागि मिश्रित वर्ष रह्यो । सकृय जीवन बिताउने क्रममा राजनीतितर्फ केही झुकाव रह्यो । अवकाश पछि पनि आफूलाई चुस्त र दुरुस्त राख्ने उद्देश्यले शिक्षण पेशापश्चात् यसतर्फ सक्रिय हुँदै आएकी छु । एक मात्र उद्देश्य समाजसेवा हो । अबको बाँकी जीवन सेवामूलक कार्य गर्ने मनसायले मेट्लाइफ इन्स्योरेन्समा समेत आबद्ध छु । मलाई के लाग्छ भने महिलाहरु आत्मनिर्भर हुनुपर्छ । आफूमा भएको क्षमताअनुसार कुनै क्षेत्रमा ढाल्न सक्नुपर्छ । २०२६ मा पनि म सक्रिय रही मानिस उमेरले बूढो भए पनि मन र मस्तिष्कलाई ताजा राख्न सके, शरीर चलायमान तुल्याए सुन्दर जीवन बाँच्न सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छु । २०२५ को गत माघ ८ गते म सडक दुर्घटनाबाट जोगिएँ भन्नुपर्छ । हिम्मत हारिन । गोडाको चोट निको हुन ३ महिना लाग्यो । फेरि पनि हिड्डुलमा कमी रहेको छैन । वर्षको अन्त्यतिर अस्ति पुस ५ गते घरबाट सद्दे निस्किएकी मानिस अचानक अस्वस्थ भएँ। तर म यस्ता घटना र दुर्घटनालाई संयोग र प्राकृतिक नियम ठान्छु जुन हाम्रा सामु प्रकोप हरु भैरहेका हुन्छन । रात पछि पुनः नया बिहानी पनि त आउँछ नि ।

उकाली ओराली, झरी बादल, अनि घाम छायाँ यस्तै हो जीवन । हामी मानिस भाग्यमानी प्राणी हौँ , हामी सुन्दर आशाहरु बोकेर बाँच्छौँ। २०२६ मा अझ सुन्दर तथा सक्रिय जीवन बिताउनेछु । मेरो अनुभवमा सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो । यसमा म सचेत छु । हुने हुनामी टर्दैन । म असाध्ये खुसी भएर बाँच्न सक्ने मान्छे हुँ। सत कर्म गर्दै ईश्वरमाथि भरोषा राखी अघि बढे हामीले सही गन्तव्य पुग्न सकिन्छ भन्नेमा विस्वस्थ छु । कसैको ईष्र्या डाह गरेर कहिल्यै खुसी प्राप्त हुदैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button