
नामै काफी गोरखा मेरो घर, माइती, मावली
गोरखा गौरव
शकुन्तला देवकोटा
मेरो पुर्खौली घर गोरखा । हाम्रो सबै शाखा सन्तान आज पनि गोरखामै बस्दै आउनु भएको छ ।
म सानो छँदै आफ्नो सन्तान लिएर मेरो बुवा चितवन बसाई सर्नुभएको रे । गोरखामै जन्मिएको भए पनि गोरखाको बिषयमा किताबमा पढेको जति मात्र हो । त्यो भन्दा धेरै कुरा थाहा थिएन मलाई । तर, कसैले नानीको घर कता भनेर सोध्नु भयो भने सजिलै गोरखा भन्ने गथेँ ।
चितवनमै हुर्किएर पढेलेखेकी म । बाआमाले जसलाई काका, ठुलो बुवा भन्न सिकाउनु भयो, उहाँहरुलाई नै नाता लगाउदै हुर्किएँ । चितवनबाट गोरखा दुरीको हिसाबले त्यति टाढा त होइन रहेछ । तर, पनि पढ्ने बेला पढ्न पर्ने अनि काम गर्ने बेला काम गर्न पर्ने । गोरखा जाने समय मिल्थेन । हिजोआजजस्तो बाटोघाटोको सहज सुविधा पनि थिएन । मामा घर पनि गोरखै भएकोले आमाको पछि लागेर कहिलेकाही काहीँ पुगिन्थो । तर, घुम्ने र सबै परिवार चिन्ने मौका मिलेको थिएन ।
जब मेरो विवाह पनि गोरखामै भयो, त्यसपछि म अलि बढी गोरखा आउने जाने गर्न थालेँ । आफन्त चिन्न थालेँ । गोरखाको महत्त्व बुझ्न थालेँ । गोरखा आउने जाने क्रममा गोरखकालीको मन्दिर, मनकामना मन्दिर, गोरखा दरबार आदि घुम्ने मौका पाएँ । त्यसपछि गोरखाको अझ बढी महत्त्व बुझ्न थालेँ । विश्वमा नेपाललाई चिनाउन पर्दा गोरखाको नाम अघि आउँदा गर्व लाग्छ । गोरखा आखिर नामै काफी रहेछ ।
महत्त्वपुर्ण हिमाल मनास्लु, महत्त्वपूर्ण पोखरी दूधपोखरी, महत्त्वपूर्ण कोट लिगलिगकोट, महत्त्वपूर्ण खोला बुढिगण्डकी, न्यायिक राजा राम शाह, रास्ट्रनिर्माता पृथ्वीनारायण शाह, नेपालकै पहिलो प्रधानमन्त्री भिमसेन थापा, बरिस्ठ चिकित्सक न्युरो विशेषज्ञ डा. उपेन्द्र देवकोटा, राजनैतिक व्यक्तित्व डा.बाबुराम भट्टराई आदि महत्त्वपूर्ण व्यक्तित्वहरुको जन्मस्थान गोरखा । हामी पनि केही सिकौं, केही गरौं ।
जय गोरखाली ।
…
(नेपालनाम्चाले सुरु गरेको विशेष सिरिज गोरखा गौरवमा गोरखाको बहुआयाम समेटिनेछ । यहाँको सपना र संघर्ष समेटिनेछ । यहाँको माटो समेटिनेछ । माटोको वासना समेटिनेछ । यहाँको समाज, संस्कृति, इतिहास र भुगोल समेटिनेछ । यहाँको कला, कथा र व्यथा समेटिनेछ । तर, यति मात्र विषय होइन, यहाँहरुले गोरखाको आत्मालाई आफ्नै प्रकारले र अनेक प्रकारले लेख्नसक्नु हुनेछ ।
नेपालनाम्चाको यो सिरिजमा जोडिएर गोरखाको लेखिदै गरेको जीवन्त प्लस क्रियटिभ दस्तावेजको सहयात्री बन्न विशेष अनुरोध गर्दछु । nepalnamcha@gmail.com सामाग्री पठाउने इमेल हो । सम्पादक)



