स्कुलको ‘पाँडेदाइ’ अन्तिम घन्टी बजाइदेऊ

नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह गोरखाबाट काठमाडौं आए । र, आधुनिक नेपालको शासनसत्ताको केन्द्रीय किल्ला गाडे काठमाडौंमा । अहिले उनको वंश शासन छैन देशमा । तर, गोरखाबाट राजकुमार र राजकुमारहरु काठमाडौ आइरहेकै छन् । तिनैमध्येका राजकुमार बानियाँ, जसले काठमाडौंमा लेखन, सम्पादन र कला पहरेदारीमा कडा किल्ला गाडेका छन् । उनै किल्लेदार बानियाँले जुराएका हुन्, यो सिरिजको नाम पनि । र, सिरिजको पहिलो अंकमा प्रस्तुत छ, छोराको झोलामा लुकेर स्कुल जान रहर गर्ने बानियाँले पठाएको स्कुल स्मृति ।

गोरखा गौरव

राजकुमार बानियाँ

‘बाई बाई !’

छोराले स्कुल बसको ढोका उक्लेर हात हल्लाउँदा उसकै झोलामा लुकेर जाऊँ जस्तो लाग्छ । किन किन स्कुले जीवनको लोभ लाग्छ । समयको चक्का कति पर धकेलिएछ भने, चाहेर पनि म स्कुले जीवनमा फर्कन सक्दिनँ । समयको स्वभाव बिचित्र रहेछ । बालक बूढो हुन सक्छ तर बूढो बालक हुन सक्दैन ।

१० वर्षे स्कुले जीवनका मसिना धर्काहरू दुरुस्त छैनन् । दिमागमा स्कुले जीवनको पहिलो र अन्तिम दिन नै ‘डिलिट’ भइसकेछन् । स्कुलको पहिलो दिन कस्तो हुँदो हो ? हाजिरी बोलाउने शिक्षक को थिए ? पहिलो दिनको गृहकार्य के थियो ? बालसखा को-को थिए ? यस्ता सामान्य प्रश्नको जवाफ दिने कोही छैन ।

आँखा बन्द गर्न मन लाग्छ, हियारा खोल्न मन लाग्छ । सोच्न थाल्छु- स्कुले जीवनको त्यति अनमोल पल मैले किन ‘मेमोरी बक्स’मा राख्न सकिन ? खेद लाग्छ, म कति उदासी, कति निस्पृह र कति संवेदनहीन रहेछु !

गोरखाको एउटा ग्रामीण स्कुल बागडाँडामा पढेँ मैले । मलाई किन किन बागडाँडा भन्ने शब्द धेरै निकट लाग्छ । जति नै स्मृतिभ्रंश भए पनि मेरो मथिङ्गलमा एक जना मायालु पात्र नाचिरहेका रहेछन्, पाँडेदाइ । तिनलाई ‘पालेदाइ’ भनेको कि ‘पाँडेदाइ’ भनेको मलाई यकिन छैन । पालेदाइ भने पनि, पाँडेदाइ भने पनि तिनै गङ्गाबहादुर पाण्डे हुन् ।

आफैँलाई धन्यवाद दिन मन लाग्छ । कम्तीमा मैले स्कुले जीवनमा पाँडेदाइको अपार स्नेह बिर्सेको रहेनछु । मलाई तिनी कुनै लोककथाका पात्र जस्ता लाग्छन् । दयालु, हितैषी र ठट्यौला । तिनीसँग नभेटेको थुप्रै वर्ष भयो । सायद स्कुल छाडिसकेका पनि हुन सक्छन् ।

बाल सम्झनामा पाँडेदाइप्रति कति धेरै आग्रह हुन्थ्यो, तिनले कतिखेर ट्वाङ्, ट्वाङ् घन्टी बजाउलान् र खेल्न पाइएला ! तिनले कतिखेर घन्टी बजाउलान् र प्यास मेट्न पाइएला ! तिनले कतिखेर घन्टी बजाउलान् र घर जान पाइएला !

स्कुलको आँगनमा धारा थिएन । पँधेरो पनि नजिक थिएन । धौखोलाबाट घैँटोमा पानी ल्याएर लालाबालालाई कित्ली या मगले हाँसीहाँसी घाँटी भिजाइदिने तिनको पवित्र काम । त्यसमा तिनले कहिल्यै सम्झौता गरेनन् । तिनको पुर्पुरोमा रह्यो- सेवा, सेवा, मात्र सेवा ।

वैशाख-जेठको उखरमाउलो धुपमा अघाउञ्जेल पानी कहाँ पाउनु ? तैपनि तिनले अफिस कोठाको झ्यालअगाडि धुइरिएका काकाकुल केटाकेटीका गाला, कपाल र हृदय एकसाथ मुसारेका छन् । त्यतिबेला हाम्रो हातमा न घडी हुन्थ्यो, न त तुमलेट नै । सारा विद्यार्थीको घडी र तुमलेट तिनै एक्ला पाँडेदाइ थिए ।

समाज खोतल्नु पर्दा मेरासामुन्ने तिनै पाँडेदाइको निर्दोष अवतार पटक-पटक नाचिरहन्छ । मानिसहरू शक्ति, पद र पैसाका लागि मरिमेट्छन् । लगन, इमान र परिश्रमका यस्ता प्रतिमूर्तिलाई कमै सम्झन्छन् ।

साँच्चै भनुँ भने स्कुले जीवनमा मलाई ‘टिफिन बक्स’ भन्ने समेत थाहा भएन । मेरा खाजाका रुख तिनै वरपीपल थिए । वरका जरा अनि पीपलका दाना खाएर भोक टर्थ्यो । रुख चढ्ने सामर्थ्य थिएन । चराहरु हाँगामा बसेर गेडा खान्थे, तिनैले झारिदिएका गेडा खाजा हुन्थ्यो ।

कहिलेकाहीँ पुराना दिन कता कताबाट मडारिएर आउँछन् । हिज्जे कण्ठ गर्न नसक्दा बाबुराम राना सरले कक्षाबाहिर राखेको, छडीले उल्टो हाततिरबाट हानेको, इन्द्रबहादुर कँवर सरले कान निमोठेको, ज्ञानप्रसाद पन्त सरले ‘फ्युचर’लाई ‘फुतुरे’ भनेर जिस्काएको सम्झन्छु । ती यस्ता प्रीतिकर सजाय रहेछन् कि घरमा कहिल्यै उजुरी गरिएन । माफीजस्तो महान् कुरा संसारमा अरु छैन ।

सारु भेनाको पसलमा सुन्तला मिठाइको प्याकेटै किनेको, साथीहरूलाई बाँडेको, बाँकी झोलामा लुकाएर घर लगेको दृश्य एकपटक फेरि हेर्न मन छ । तर स्कुले जीवन त्यस्तो ‘बाइट’ रहेछ, जसलाई दोहोर्याएर सुन्न पाइन्न ।

अहिले सम्झँदा मेरा शिक्षकहरु सिपालु रहेछन् । नेपाली, गणित, अर्थशास्त्र, विज्ञान, कृषि, स्वास्थ्य, संस्कृत सबै पढाउन तम्सिने । म त्यसै पनि लजालु र अन्तर्मुखी । शिक्षक भनेपछि कामज्वर छुटिहाल्ने । बाँदरलाई बन्दुक देखाएजस्तो । 

बन्दीपुरे ढुङ्गाले छाएको पुरानो भवनमा मैले सिसाकलम कति हराएँ, हराएँ । दुई फल्याक बीचबाट गुड्दै खसेको सिसाकलम मैले कहिल्यै फेला पार्न सकिनँ । साथीहरु भने फल्याक उप्काएर अँध्यारोमा सुरुङमा पस्थे र ठुटाहरु जम्मा गर्थे । मेरो त आँखा पनि कमजोर रहेछ ।

कक्षा ७ पछि लुइँटेल स्कुलका लागि प्रवेश परीक्षा पनि उत्तीर्ण गरेँ मैले । त्यतिबेलै गाउँमा हाइस्कुल खोल्ने सुरसार चल्यो । सूर्यबहादुर अधिकारीलगायत अगुवा ताते । त्यतिबेला प्रमाणपत्र मलाई दिइएन । अधिकारीले मेरा बुवालाई भनेछन्, ‘यहीँ मावि खुल्न लागेको छ, अरु विद्यार्थी ल्याउनुपर्नेमा आफ्नै छोरा लैजाने त ?’ सजिलै सहमत गराएछन् पनि ।

सुख खोज्नेलाई विद्या छैन, विद्या खोज्नेलाई सुख छैन भन्छन् । मैले न सुखको खोजी गरेँ, न त विद्याकै । वादशाह बन्ने जोश कहिल्यै आएन । काँधमा फुर्के झोला भिरेर, कमिजको देब्रे पाकेटमा कलम खिपेर हिँड्ने विद्यार्थीबाहेक कुनै मखमली सपना देखिनँ ।

चानचुन २१ वर्ष पहिले बागडाँडा स्कुलबाट पहिलो छिमलको एसएलसी दिएँ मैले । एसएलसी नतिजा आउने दिन मुटुको धड्कन बेपत्ता बढेको सम्झना छ । सदरमुकाममा ‘गोरखापत्र’मा तेर्सो लहरमा हेर्नुपर्ने सिम्बल नम्बर ठाडो हेर्दा म झन्डै विचलित भएको थिएँ । अरुले पास भएको भन्दा पनि ढुक्क थिइनँ ।

बागडाँडाको स्वर्ण महोत्सव वर्ष भनेपछि म अलिकति बरालिएँ । सम्हालिने कोसिस पनि गरिनँ । कहिलेकाहीँ भूपू भनिँदा पनि उल्लासबोध हुँदो रहेछ । एसएलसीलाई धेरैले ‘आइरन गेट’ भन्छन् । निकै अप्ठ्यारो । मलाई त ‘डाइमन्ड गेट’ जस्तो लाग्छ । सप्रने र बिग्रने दुवै बाटो यसकै मेनुमा हुन्छन् ।

केही सिक्ने, केही बन्ने र भविष्य रेखा कोर्ने बेला राम्ररी पढिएन । बोक्रे र फोहोरी राजनीतिमा कलिला सपना निमोठिँदा रहेछन् । समाजलाई जोड्ने त पाँडेदाइहरूको जस्तो सेवाका हातले हो । उज्यालो ल्याउने आशाको नवीन रङले हो । दुःख सहेर अघि बढ्ने सामर्थ्य आशामै हुन्छ । जीवनमा आशा र हावा उत्तिकै अनुपम छन् । पानीको बाटो ओरालो हो, जीवनको बाटो उकालो ।

बागडाँडा स्कुल अर्थात् चुहिने छाना, चर्किएको भित्तो, बाछिटा लाग्ने झ्याल, उदाङ्गो ढोका, आहाल जस्तो कोठामा पढ्नुपर्थ्यो । एउटै बेन्चमा सात, आठजना अटेसमटेस । दुब्लोपातलो भएकाले होला, म कि कुनामा च्याप्पिन्थे कि छेउमा घचेटिन्थे । यो सिकुटे ज्यानले स्कुलका लागि कुसुन्डे वनबाट काठ अनि दरौँदीको बगरबाट झोलामा चिसो बालुवा बोक्यो पनि ।

मैले जानेको बागडाँडा एउटा रमाइलो भञ्ज्याङ हो । जङ्गलको सिरानमा रहेको खुला डाँडो । वन्यजन्तु घाम ताप्न र खेल्न आउने ठाउँ । गाउँलेको बाखा चराउने ठाउँ । बाघ मार्न पासो थापेको डाँडा । त्यसबाटै यसको नाम रहन गयो ।

बागडाँडामा जता गयो, उतै वरपीपल र समीको चौतारा छन् । गनेरै सकिँदैनन् रहरलाग्दा चौतारा । राम्चे, मोहोरिया लागेदेखि नै चौताराको लस्कर सुरु हुन्छ । फराकिला र चिल्ला ढुङ्गामा बसेर सुस्ताउँदा यस्तो लाग्छ, पितापुर्खाले रोपेका चमत्कारी रुखले अझै हामीलाई आत्मीक शान्ति र शीतल छहारी दिइरहेका छन् ।

रुख र आमा मलाई उस्तै उस्तै लाग्छ । दिनमात्र जान्ने, लिन नजान्ने । हाम्रो गाउँठाउँमा कति महामना बस्दा रहेछन् । चौतारा लगाउनेका सन्तति काटमारमा लागेका थिए भन्ने सुन्दा मात्र पनि उदेक लाग्छ ।

बागडाँडा स्कुल प्रोडक्ट देश-परेदशमा छरिएका छन् । म तिनलाई काठमाडौँका साँघुरा गल्लीहरूमा भेट्छु । सेना, प्रहरीका ब्यारेकमा भेट्छु । विश्वविद्यालयका ढोकामा भेट्छु । सरकारी, गैरसरकारी कार्यालयका कुर्सीमा भेट्छु । अनलाइनका च्याट बक्समा भेट्छु । तर, त्यो चल्लाजस्तो बालापन कहीँ पाउँदिनँ । र, त छोराको झोलामा लुकेर स्कुल जान रहर लाग्छ । (निर्बन्ध मोन्टाज, २०६६ बाट)

(नेपालनाम्चाले सुरु गरेको विशेष सिरिज गोरखा गौरवमा गोरखाको बहुआयाम समेटिनेछ । यहाँको सपना र संघर्ष समेटिनेछ । यहाँको माटो समेटिनेछ । माटोको वासना समेटिनेछ । यहाँको समाज, संस्कृति, इतिहास र भुगोल समेटिनेछ । यहाँको कला, कथा र व्यथा समेटिनेछ । तर, यति मात्र विषय होइन, यहाँहरुले गोरखाको आत्मालाई आफ्नै प्रकारले र अनेक प्रकारले लेख्नसक्नु हुनेछ ।

नेपालनाम्चाको यो सिरिजमा जोडिएर गोरखाको लेखिदै गरेको जीवन्त प्लस क्रियटिभ दस्तावेजको सहयात्री बन्न विशेष अनुरोध गर्दछु । nepalnamcha@gmail.com सामाग्री पठाउने इमेल हो । सम्पादक)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button