कोख त पटकपटक भरिसकेको थियो, काख भरिनेमा शंका थियो

‘मनको कुरा’मा महान मातृत्व

अम्बिका घिमिरे

रजस्वलाको समय दुई दिन के पर जान्थ्यो, छिमेकीदेखि आफन्तसम्मलाई ‘चिन्ताको बिषय’ बनिसक्दोरहेछ ।

विवाह भएर बच्चा नहुँदासम्मको समयमा शरीर एकदमै कमजोर भइरहेको थियो । खानामा रुचि थिएन । रजस्वला नभएको दुई महिना नाघिसकेको थियो । के भइरहेको छ भन्ने बुझ्न विगतका अनुभव नै काफी थियो । कोख त पटक पटक भरिसकेको थियो काख भरिने कुरामा शंका थियो । अघिल्लो तीन बर्षमा प्रत्येक वर्ष गर्भ बस्थ्यो अनि तीन महिना पुरा हुँदै गर्भस्वला हुन्थ्यो अनि मेरो आमा बन्ने सपना तुहिन्थ्यो, गर्भसँगै । चर्चा चल्थ्यो मेरो तुहिएको गर्भको अनि भेट्न आउँथे मलाई दया देखाएर ‘विचरा ! यसपाली नि गर्भ खेर गएछ है, हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि किन रहर गरेकी होली’ भन्नेहरु ।

विचरा भन्ने शब्द कति धारिलो हुन्छ भन्ने त आफै विचरा बन्नेहरुलाई मात्र थाहा हुँदो रहेछ । जब आफुलाई समाजद्वारा नै विचरा बनाइन्छ नि, आफ्नो एक्लो हिम्मत र साहसले पनि जिस्क्याउँदो रहेछ ।

एक दिन एकजना छिमेकी दिदीको दुई वर्षजतिको बच्चा रोडमा एक्लै कुद्दैरहेछ । गाडी आउँदै थियो । डर लाग्यो अनि दौडेर त्यो बच्चालाई च्याप्प समातें । पछि त्यो बच्चाको आमा आएर मलाई एकदमै गाली गर्नुभो । बच्चा खेर गइराख्ने मान्छेले सानो बच्चा छोयो भने बिरामी हुन्छ भन्ने चलन रहेछ । एकदमै दुख लागेको दिन थियो त्यो । त्यो दिनदेखि कसैको बच्चा छुने हिम्मत राखिनँ ।

त्यसपटक पनि त्यहि दिनहरु दोहोरिने चिन्ता थियो । रजस्वला नभएको दुई महिनासम्म नि टेस्ट गराएकी थिइनँ । मन अमिलो बनाएर भए पनि एउटा किट किनेर ल्याएँ । टेस्ट गरेँ । पोजेटिभ देखायो । फेरि चौथो पटक प्रेग्नेन्ट भएँ । डाक्टर भोला रिजाल धेरै राम्रो स्त्रीरोग विशेषज्ञ रे । उनले कसैलाई रित्तो हात फर्काउदैनन् रे भन्ने सुनेकी थिएँ । उनीसँगै जाँच गराउने निर्णय गरेँ । श्रीमानलाई भनेँ, सहमति जनाउनुभयो । ओम नर्सिङ्गहोममा डाक्टर रिजाल भेटिँदोरहेछ । त्यहि गयौँ । डाक्टर रिजाललाई भेट्न घन्टौं लाइन बस्नुपर्ने रहेछ । दिनभरी कुर्दा पनि पालो नआउलाजस्तो देखियो । अनि श्रीमानले अर्कै हस्पिटलमा जचाउँला । जाँउ भन्नुभो । मैले मानिनँ । ‘म एक्लै बस्छु । हजुर जानु’ भनेर श्रीमानलाई फर्काइदिएँ । दिनभरी लाइन बस्दा नि पालो आएन ।

भोलिपल्ट बिहानै फेरि नर्सिङ्गहोम गएँ । डाक्टरलाई भेट्ने मौका मिल्यो । सबै समस्याहरु सुनाएँ । डाक्टरले ‘राम्रै छ । एक महिना जति बेड रेस्ट गर्नु अनि अर्को महिना आउनु’ भने । त्यसै गरेँ । ममीले प्रत्येक पटक फोन गर्दा मेरो रजस्वलाको बारेमा सोध्नुहुन्थ्यो । धेरै चिन्ता गर्नुहुन्थ्यो । त्यसपटक ममीलाई पनि झुट बोलेँ । थाहा पाउनेले आफै थाहा पाए होला । कुरा काट्नेले आफ्नो इमान्दारिता देखाए होला । शंका गर्नेले मेरो प्रजनन् प्रणालीमाथि शंका गरे होला । जोसुकैले जेसुकै भनुन्, मैले मतलब राखिनँ । मैले आफैलाई माया गरेँ । आफ्नै मतलब राखेँ । सासुससुरा बितिसक्नु भएको थियो । घरमा श्रीमान र म मात्र बस्थ्यौं । खासै केही काम गरिनँ । बेड रेस्ट गरेँ । तीन महिना पुरा भयो । पेटमा बच्चा चलेजस्तो भयो । एकदमै खुशी लाग्यो र एकदमै डर पनि लाग्यो । हस्पिटल गएँ । डाक्टरले राम्रो छ भने । खुशी लाग्यो । मरिसकेको कोख भरिने आस फेरि फक्रिन थाल्यो । आफ्नो एकदमै ख्याल राख्न थालें । मनपर्ने किताबहरु खोजेर पढ्न थालेँ । आफुलाई चाहिने जति पोजेटिभ भाइब आफैभित्र जम्मा गरेँ ।

प्रेग्नेन्सीको समय एकदमै लामो लाग्ने रहेछ । एक एक पल एकदम मुस्किलले बिताएँ । मन मरुभूमिजस्तै भइसकेको थियो । फेरि एकपटक हराभरा भयो । त्यो हरियाली सधैंको लागि भइदियोस् भनेर भगवानसँग प्रार्थना गरेँ । दिनहरु बिते । महिनाहरु बिते । सात महिना पुरा भएपछि मात्र ममीलाई भनेँ । ममी एकदमै खुशी हुनुभयो । नौ महिना लागेको मात्र थियो । एक दिन अचानक पेट दुख्यो । मलाई एकदम डर लाग्यो । श्रीमानलाई भनेँ । हस्पिटल गयौं । डाक्टरले खासै समस्या नभएको बताए । घर जाने सल्लाह दिए । मलाई आफ्नै गर्भको भर थिएन । घर फर्किन मन लागेन । अप्रेसन गरेर निकाल्न मिल्ने रहेछ भने समयभन्दा अगाडि नै निकाल्ने सोच आयो । डाक्टरसँग सल्लाह गरेँ । डाक्टरले बच्चाको तौल पुगेकोले अप्रेसन गर्न मिल्ने कुरा गरे । त्यसै गरियो । मैले पहिलोचोटी सन्तानको मुख देखेँ । अप्रेसन थिएटरमै डाँको छोडेर रोएँ । जिन्दगीभरीकै सबैभन्दा खुशीको क्षण थियो त्यो ।

रोदनको हाँसो धेरै हाँसेको थिएँ । पहिलो चोटी खुशीको आँसु खसेको अनुभव बटुल्ने मौका पाएँ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button