गृहस्थ सन्तको सत्यकथा

ब्राह्मणपुत्रको लकडाउन डायरी–४०
भरत शर्मा

‘हामीले आँक्न नसक्ने कुनै अदृश्य शक्ति छ, जसले सबै योजना बनाउँछ । अन्तमा, मान्छे यसै ठेगानामा पुग्छ । यसको मतलब कर्म नगर्ने होइन, कर्म त गरी नं रहनुपर्छ, तर कर्मले मात्र अभिष्ट प्राप्त हुँदैन । स्कूलका केटाकेटीलाई ‘पढ न पढ’ भने जस्तै हो मानिसलाई ‘कर्म गर’ भन्नु । मानिसले केही न केही कर्म त गरेकै हुन्छ, शरीर नछुट्दासम्म । सङ्कल्पपूर्वक कर्म गर्दा होसियारी भने हुनु पर्दछ । यति मात्र भन्न खोजिएको हो, ‘कर्म र योजना’का विषयमा ।’

माथिका बोली हुन् प्रा.डा. माधव भट्टराईका । लकडाउन डायरीको आजको श्रृङ्खलामा कर्म, योजना र अध्यात्मका बारेमा होइन, नितान्त प्रा.डा. भट्टराईसँगका सम्बन्धका ‘यादगार दिनहरु’ सम्झँदै छु ।

म कसैको जीवनी र आत्मवृतान्त लेख्नै जाँन्दिन । पछिल्लो समयमा केही व्यक्तिले जीवनी लेखनका लागि अनुरोध गरे । मैले चाहिँ आफू विद्यावारिधिको छात्र भएको भन्दै त्यस कामलाई पछि सारेँ । छात्र जीवनको नियम पालना गर्दैछु । हामी सबैले भागेको कुरा हो, विद्यार्थी जीवन कति कठिन हुन्छ । म त्यही कठिन छात्र जीवनको अनुभव गर्दै छु ।

प्रा.डा भट्टराईको उमेर कति भयो, त्यो चाहिँ थाहा छैन । जन्म तिथिका दिन अनामनगर घरबार पशुपतिनाथ मन्दिरको गर्भ गृहको समिपमा श्रीका प्रधान अर्चक गणेश भट्टबाट जल अभिषेक र गलामा शीरोमाला पहिराइदिएको दु्ई महिना पुरा भयो । सायद, गुरु ७० माथि असीको बाटोका हिँड्दै हुनुहोला भन्ने अनुमान लगाएँ । कति बर्ष हुनुभयो भनेर सोधिनँ, मलाई कसैको उमेर सोध्न त्यति मन लाग्दैन । उमेर भन्ने कुरा गौण हो, उनको कर्मयात्रा कस्तो छ, त्यही अनुसार उमेर जाँच गर्न सकिन्छ ।

तर, मलाई चाहिँ गुरु भर्खरैं ४० टेक्दै गरेकोे युवा जस्तो लाग्छ । मैले गुरुसँग दोस्ती गरेको १८ बर्ष भएछ । २०६० सालमा राष्ट्रिय समाचार समितिको समाचारदाता भएपछि गुरुसँग वार्ता हुन थालेको हो । त्यसपछि झाङ्गिदै गएको सम्बन्ध । २०६४ सालदेखि राजधानी दैनिकका काम गर्न शुरु गरेपछिका दिनमा उहाँसँग निरन्तर साथमा हिँडेको छु ।

गुरुसँग हजारौं किलोमिटर तीर्थयात्रा गरेको छु । हरिद्वार, जगन्नाथ, काशी, वृद्वाबन र सनातन संस्था गोवाको यात्रा सबैभन्दा बढी पटक गरेका छौं । ब्राह्मण सम्मेलन, धर्म सम्मेलन, ज्योतिषी सम्मेलनमा सहभागी हुन सयौं पटक भारत यात्रा गर्दा माधव गुरुको साथ लागेर गएको छु । म पनि फक्कटलाल हुँ । हिँड्नु र यात्रा गर्नु जीवनको ध्येय हो । नयाँ ठाउँ र तीर्थयात्रा गर्दाको आनन्द शब्दमा बताउन सकिँदैन । यात्राका अनुभूति अझै भित्र पसेर लेख्न सकेको छैन ।

गुरुको साथमा भारत यात्रा नगरेको केही बर्ष भयो । उहाँसँग पछिल्लो चरणमा सिन्धुलीको कुशेश्वरमा दुईपटक यात्रा गरेँ । हरेक यात्रा र हरेक भेटमा हामी सनातन शास्त्रका बारेमा चर्चा गछौं, छुट्टिने बेलामा गुरुले भन्नुहुन्छ, ‘स्वाध्याय (पढ्न–लेख्न) नछोडनु है, मानिसको जीवनको सबैभन्दा ठूलो मित्र ‘विद्या’ हो ।’ नेपाल–भारत तीर्थ यात्रामा जाँदा समेत गुरुको झोलामा नुछुट्ने भनेको श्रीमद्भागवत् महापुराणको गुटिका पुस्तक नैं हो ।

केही महिना भयो, गुरुले यो कुरा तपाईंलाई मात्र भन्छु, धेरैलाई नभन्नुहोला हैं भनेर वाचा बाध्य लगाउँदै भन्नुभयो, ‘म एकबर्षदेखि गुरुसँग वेद पढ्दै छु ।’ गुरुको नाम चाहिँ गोप्य राख्छु, अहिले बिहानको पुरा समय म वेद पढ्नमा व्यस्त छु । खल्ती फोनले दुःख दिन्छ, विहान मेरो अफ गर्छु । पहिले पनि पढेको हो, अहिले त त्यसको अर्थ र स्वरलाई मनन गर्दै पढ्दा अहिले आएर मेरो जीवनको साथी भनेको ‘वेद’ पाठ भएको छ । छात्र जीवनमा सधै प्रथम थिएँ म । अहिले पनि म आफूलाई छात्र भएको सम्झदा आनन्द आउँछ । सिक्ने, पढ्ने लेख्ने कुरा कहिल्यै सकिँदैन र बीचमा छोड्नु पनि हुँदैन । मानिसहरु उमेर पाको भएपछि एक्लै भएको महसुस गर्छन् हामी कहिल्यैं एक्लै हुँदैनौं, साथी भनेको ‘शास्त्र’ हो, त्यसलाई साथी बनाउन सक्यौं भने हामी एक्कै भएको महसुस गदैनौं । आफूलाई भौतिकवादी बताउनेहरु पनि उमेर ढल्केपछि अध्यात्म चिन्तनमा आएका कयौं उदाहारण छन् । हामी त भाग्यमानी । बालककालदेखि अध्यात्मका छात्र भएकोमा खुसी छु ।’

अचेल गुरुलाई दाँतले दुःख दिएछ । आयुर्वेदिक उपचारपछि निको हुँदै गरेको खबर थाहा पाएपछि हिजोमात्र निवासमा पुगेर झण्डै दुई घण्टा शास्त्र चर्चा गरे फर्किएँ । ‘पत्रकारको परिचयपत्र देखाएर हिँड्नु भएको होला तर बाहिर धेरै नहिँड्नु । अहिलेकोे समय भनेको ‘दुर्दिन’ हो’, फर्कने बेला ‘ब्राह्मण–सहस्रनामस्तोत्रम्’ पुस्तक दिँदै भन्नुभयो, ‘यो पुस्तकको पटक–पटक अध्ययन, चिन्तन र मनन गर्नु ।’

संस्कृत भाषामा लेखिएको १००८ ब्राह्मण सहस्रनामावली उल्लेख गरिएको पुस्तक जम्मा ३० पेजको छ । हिजो एकपटक, आज दुई पटक पढेर गुरुको आज्ञा पालना गर्दैछु ।

नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय)मा २७ बर्ष प्राध्यापन र आठ बर्ष बाल्मिकी विद्यापीठका क्याम्पस प्रमुख भएर सेवा निवृत्त माधव गुरु अहिले पनि आफूलाई सनातन शास्त्रको छात्र नै ठान्नुहुन्छ । बिहान वेदपाठबाट शुरु हुने उहाँको दैनिकी साँझसम्म पनि सनातन शास्त्रका ठेली पल्टाएर बित्ने गर्छ ।

लकडाउन भएपछि त अझ घरभित्र एक्लैै पुस्तकसँग गफिदै, गहिरिनुको मज्जा सुनाउँदै भन्नुभयो, ‘मलाई समय कटाउन केही समस्या छैन, मेरो साथी भनेको पुस्तक हो । अहिले मेरो कमजोरी भनेको लेख्न सक्दिनँ । लेख्न खोज्छु, उमेरले पनि होला, त्यति सक्रिय हुन सकेको छैन् । तर शास्त्र पढ्दा नै आनन्दित र हर्षित छु ।’

गुरु बस्ने घरको चारैकुनो, पुस्तक र सम्मानपत्रले घेरिएको छ । पूर्व, पश्चिम, उत्तर दक्षिण चारै दिशा पुस्तकको घुँइचो लागेजस्तो लाग्ने बासस्थानमा भित्र सरस्वती माता आएर बसेजस्तो लाग्छ ।

भारत यात्रा गर्दा हामीले रात गुजार्ने स्थान ‘आश्रम’ हो । आक्कल झुक्कल होटल र केही भक्तका घरमा बँस्दा सिरानीको छेउमा पुस्तकको झोला राख्ने उहाँको बानी देखेर म सोच्थेँ, पुस्तकलाई कति प्रेम गरेको होला !

भारत यात्रामा हाम्रो यात्राको रोजाईको साधन हो ‘रेल’ । रेल यात्रामा पनि सुत्ने बेला सिरानीमा पुस्तक राख्ने बानी थियो गुरुको ।

प्रवास यात्रा होस् वा गृहस्थ जीवन, सबैभन्दा प्रिय साथी ‘पुस्तक’ । गुरुको जीवनशैली, रहनसहन, सरलता र नैतिक आचरण देखेपछि गुरुले लेख्नु भएको ‘उन्मुक्त’ पुस्तकमा मैले ‘गृहस्थ सन्तको सत्य कथा’ भन्ने शीर्षकमा भूमिका लेख्न पुगेछु । पुस्तक २०७४ सालमा राष्ट्रिय धर्मसभा नेपालले प्रकाशित गरेको छ । उहाँले मैले दिएको उपाधिलाई निकै खुसी भएर स्वीकार गर्नुभयो ।

‘सेतो र पहेँलो लुगा लगाएर घर छोड्दैमा व्यक्ति सन्त हुन सक्दैन । हरेक व्यक्ति गृहस्थ धर्म पालन गरेर पनि सन्त हुन सक्छन् । श्रीमतीसँग मन नमिलेर, बन्धुहरुसँग कलह भएर वा देखासिकी गरेर ‘सन्त’ बन्नु भनेको जीवनमा अर्को कलहमा पर्नु हो’, गुरुले धर्मसभाको बैठकपछिको अनौपचारिक छलफलमा भन्ने गर्नुहुन्छ । जीवनमा जन्म र मृत्युलाई सरल भाषामा बुझ्नु पर्छ भनेर आफू र आफना मित्रमण्डलीलाई बेला–बेलामा सम्झाउनु हुन्छ ।

संस्कृत साहित्यका पारखी माधव गुरुले महाकवि कलिदासले रघुवंश महाकाव्यमा लेखेका पंक्तिलाई बेलाबखत सुनाइरहनु हुन्छ ।

मरणं प्रकृतिः शरीरिणां विकृतिर्जीवितमुच्यते बुधौःं।
क्षणमप्यवतिष्ठते श्वसन् यदि जन्तुर्ननु लाभवानसौं ।।
रघुबंश ८-९०

अर्थः मृत्यु स्वभाव हो, बरु जीवन विकृति हो । त्यसैले मृत्युमा किन शोक गर्ने ? बाँचुन्जेल राम्रो काम गर्ने पो लक्ष्य हुनुपर्दछ ।

समय छँदै आत्मा, जीव, जगत र यावत चराचर पदार्थको तात्विक विवेचन गरी कार्ययोजना बनाउनु बुद्धिमानी हो । सबैको भलो, सर्वत्र ईश्वर दर्शन, सदैव प्रसन्नता, मुखमा रामनाम, प्रपञ्चमा अनाशक्ति, ह्रदयमा नारायण राखेर शुद्व वृत्ति, शुद्व आसन गरेर प्राण छोड्दा निश्चय नैं सद्गति प्राप्त हुने सिद्वान्तका पालनकर्ता हुनुहुन्छ माधव गुरु ।

‘सत्सङ्ग र स्वाध्यायले नै जीवनमा मुक्ति र शक्ति प्राप्त गर्ने हो । कर्म र सेवा यति गरेँ, उति गरेँ, यसरी गरेँ, उसरी गरेँ भनेर दुःख मनाऊ गरेर विरक्तिने होइन । तपाईं हामीले गरेको कर्मको आधारमा प्राप्त हुने फललाई कसैले रोक्न सक्दैन’, उहाँ भन्ने गर्नुहुन्छ, ‘संसारका सुखी र धनी व्यक्ति त्यही हो, जसले आफनो मित्रसँग प्रेम गर्नसक्छ । धन कमाएर खुसी र सुखी भएका व्यक्ति मैले भेटेको छैन । जीवन बाँच्ने आधार धन हो भने सुखी र खुशी हुने आधार (मित्र) चाहिँ आफै र आफ्नो स्वाध्याय भित्रको ज्ञान र प्रकृतिसँगको विचरण हो ।’

‘हरिद्वारमा बस्ने नेपाली सन्त रविले पटकपटक बोलाइरहेका छन् । ‘दुर्दिन’ हटेपछि देवघाट हुँदै हरिद्वारको यात्रा गर्नुपर्छ’, हिजो मात्र गुरुले भन्नुभयो ।

जीवनको यति धेरै अनुभव र फराकिलो अध्यात्म ज्ञान भए पनि विद्वताको आडम्बर र अहङ्कार केही देखिँदैन । ‘अब धर्म, संस्कृति संरक्षण गर्ने काम तपाईंहरुको हो । हामी पछिपछि हिँड्छौं’, युवाहरुलाई त्यसरी प्रोत्साहन गरिरहने माधव गुरु सञ्चार मिडियामैत्री छन् ।

पत्रकारले खोजेको चुरो कुरो के हो भनेर छिनभरमै बुझ्ने गुरुले नेपाल पञ्चाङ निर्णायक समितिको अध्यक्ष हुँदा अनेक विधर्मीहरुले राखेका प्रस्तावविरुद्व कडा निर्णय गरेर सनातन धर्म संस्कृतिको रक्र्षाथ निर्णय लिनुभयो ।

प्राध्यापनपछि तत्कालीन शेरबहादुर देउवा सरकारले उहाँलाई नायव बडागुरुज्यू नियुक्ति गरेको थियो । उहाँसँग विश्व हिन्दु महासंघ, विपी चिन्तन प्रतिष्ठानलगायतकासंस्थामा काम गरेका अनुभव छ । पछिल्ला दिनमा राष्ट्रिय धर्मसभा नेपालमार्फत देशभर संगठन विस्तार र धर्मयात्रामा दौडिरहने माधव गुरुको जोशमा कुनै कमी नै छैन ।

नेपालमा सनातन धर्म रक्षाका लागि काम गर्ने राजनीतिक दल नै नभएकोमा उहाँको गुनासो छ ।

सनातन धर्म अध्येता माधव गुरु ‘सत्य साई’ अनुयायी समेत हुन् । संस्कृत भाषामा सत्य–साई चरितम् महाकाव्य लेखेका छन् । संस्कृत भाषामा लेखिएको महाकाव्य नेपाली र अङ्ग्रेजीमा अनुवादित छ ।

महाकाव्यमा स्व. राजा वीरेन्द्रले २०५८ जेठ १८ गतेको मितिमा दिइएको शुभकामना सन्देश प्रकाशित छ । सम्भवत राजा वीरेन्द्रको जीवनको त्यो अन्तिम. शुभकामना सन्देश पनि हुनसक्छ । त्यसको भोलिपल्ट २०५८ जेठ १९ का दिन राजदरवार हत्याकाण्ड भएको थियो ।

‘परिवार, समाज र राष्ट्रप्रति धेरै गुनासो राख्नु हुँदैन’, माधव गुरु भन्नुहन्छ, ‘हामी सबैले आ–आफ्नो कर्म गर्ने हो भने सबैजना सुखी र खुसी हुन सकिन्छ । तर, अहिले व्यक्ति, समाज र राष्ट्रभित्र असन्तोष, द्वेष र पीडा मात्र भएको देख्छु ।’

वानप्रस्थ जीवन शुरु गरेका माधव गुरु अब आफना लागि होइन, जाने बुझेको शिक्षा समाजलाई दिन देशभर धर्मसभा अभियानलाई अगाडि बढाउने योजनाको रुपरेखा तयार गर्दै हुनुहुन्छ ।

‘सामाजिक सञ्जालमा कम समय दिनु, आफनो मुल कर्ममा लाग्नु है’, सोमबार विहान माधव गुरुले भन्नुभयो, ‘आजको लकडाउन डायरी के विषयमा लेख्दै हुनुहुन्छ ?

‘विषय चयन गर्दैछु’ मैले भनेँ ।

‘हिजोको डायरी पढेँ, तिखो रहेछ, आज अझै राम्रो लेख्नु’, उहाँले भन्नुभयो ।

मैले माधव गुरुको बारेमा लेख्ने सोच मात्र गरेको थिएँ । सम्पादकले आजको विषय के हो भनेर प्रश्न गर्दै आदेश दिए, ‘माधव गुरु वा तपाईको आफ्नै गाउँघरको बारेमा लेख्नु ।’

संजोग पनि अचम्मैको ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button