कोरोनाले खोसेको खुसी

साहित्यकार-गायक जगतमर्दन थापाको स्मृतिमा

मोहित मर्दन थापा
आर्टिस्टः रविन्द्र मानन्धर

एक वर्षअगाडिः२०७७ चैत्र महिनामा ‘कोरोनाको व्यापक संक्रमणको कारणले विश्वका अन्य राष्ट्रहरूमा झैँ हाम्रो देश नेपालमा पनि लकडाउन हुने भयो रे !’ भन्ने चर्चा चल्यो । यो चर्चाले हुनेखानेहरुको लागि खासै अर्थ नराखे पनि वर्षभरि निरन्तर आफ्नो दैनिक काम गरेर विहान बेलुका आफ्नो तथा परिवारजन सबैको रोजीरोटीको जोहो गरिराखेकाश्रमजीवि मानिसहरूको लागि भने निकै दुःखदर अब कसरी छाक टार्ने भन्ने समस्या बन्यो । केही वर्षअघि मात्र भोगेको महाभुकम्प र नाकाबन्दीको पीडा जनमानसमा अझै ताजै रहेको अवस्थामा कोरोनाको डरले लकडाउन ग¥यो भने परिवारको पालनपोषण अनि दैनिक गुजारा कसरी गर्ने ? भन्ने समस्याले धेरैको मन पोलिरह्यो ।

‘एक हप्ता’ भनेर सुरु भएको लकडाउन केही समयपछि अहिलेजस्तै सात दिन, पन्ध्र दिन हुँदै महिनौँ–महिना, जोर–बिजोर गर्दै लम्विइरह्यो । जे भए पनि बाँच्नको लागि केही त आफ्नो तर्फबाट पनि गर्नै प¥यो । ‘अब एकदमै सचेत भएर घरमा नै बस्नुपर्छ है बुबा !’ भन्दै बुबा र परिवारका सबै सदस्यहरूलाई यस्तो विषम् परिस्थ्तििमा जुध्न आग्रह गरेँ । यता कोरोनाले भने एकदमै उग्र रुप लिदै आफ्नो निर्दयीपन धारण गरेर समाजमा चारैतिर जानमानसलाई संक्रमित तुल्याउँदै निकै भयावह स्थितिको सिर्जना गर्यो । घरमा सबै सदस्यहरूसुख, दुःख गरी मिलीजुली जे जसो दिनचर्या गुजार्दै थियौँ । सामाजिक सञ्जालहरूमा पनि सबैको आ–आफ्नो दैनिक कार्य देखाउने, विभिन्न सोख पू्रा गर्ने होडबाजी जस्तै थियो । साथै अनेकौँ घटना, सुख,दुःख तथा विश्वका विभिन्न स्थानमा पाइएका भयावह अवस्थाको सूचना सम्प्रेषण पनि तीव्र रुपमा भइनै रहेको थियो ।

आफ्नी प्यारी माइली छोरी संगीताले पोखराबाट बारम्बार बुबालाई फोन गरेर ‘यसपालीको दसैँ यतै मनाउन आउनू’ भनेर आग्रह गरिरहेकी थिइन् । माइलो ज्वाइँसाहेब प्र.उ. दीपेन्द्र जि.सी. भर्खरै पाल्पाको सफल कार्यकालपछि पोखरामा दरबन्दी लिएर आउनुभएको थियो । नेपालमा लकडाउन अलिअलि खुकुलो हुन थालेको थियो । त्यसै कारणले हामी सपरिवार उतै बहिनीज्वाइँ साहेबसँग दसैँ मनाउने कार्यक्रम तय गरियो । परिवारको जेष्ठ सदस्यको नाताले हामी प्रत्येक वर्ष दसैँ आफ्नै निवास लाजिम्पाटमा मनाउने गथ्र्यौँ । आफ्ना इष्टमित्रहरूसबै एकै ठाउँमा सँगै टीका ग्रहण गर्ने कार्यक्रम गथ्र्यौँ । तर यसपाली कोरोनाको महामारीले कार्यक्रम विथोलिने भयो । सोहीअनुसार हामी सम्पूर्ण परिवार बहिनीज्वाइँको निमन्त्रणामा जाने तय भयो । दसैँ सुरु हुनुअगावै बुबाको नियमित स्वास्थ्य परीक्षण गर्न मैले बुबालाई नर्भिक अस्पताल लिएर गएको थिएँ । उहाँको प्रत्येक तीन÷तीन महिनामा स्वास्थ्य जाँच हुन्थ्यो । फुर्सद भएको बेलामा बुबालाई नर्भिक अस्पताल लिएर जान्थ्यौँ । दसैँको छुट्टीमा पोखरा जानुअगावै बुबाको स्वास्थ्य परीक्षण गर्न ४५ मिनेटजति लाग्यो । ‘आज अलि समय लाग्यो है बुबा ? बुबा, तिम्रो सबै स्वास्थ्य ठीक त छ ?’ भनेर सोधेँ । उहाँले ‘सबै ठीक छ, पोखरा जान मिल्छ’ भन्नुभयो । (सानै उमेरदेखि बुबालाई हामीले तिमी भनेर सम्बोधन गथ्र्यौँ ।) स्वास्थ्य परीक्षण गराएर बुबालाई गाडीमा राखेर घर फर्किने क्रममा मैले बुबाको मुखमा बेलाबेलामा हेरेर यस्तो कोरोनाको महामारीमा बुबालाई कसरी सुरक्षित राखेर पोखराको भ्रमण गराउने भनेर मनमनै सोच्दै थिएँ । तर अहिलेसम्मउहाँको स्वास्थ्य राम्रो छ, केही नहोला भन्ने लाग्यो ।

समयको मामलामा उहाँको स्वभाव भने अचम्मको थियो । जहिले पनि घडीको सुईभन्दा करिब पन्ध्र मिनेट छिटो । कहिल्यै कसैलाई प्रतीक्षा नगर्ने र सकभर कसैसँग सहयोग, सहारा लिन नचाहने स्वभावको व्यक्ति हुनुहुन्थ्यो । कतै कार्यक्रम अथवा कामको सिलसिलामा बाहिर जानुप-यो भने मलाई अथवा आफ्नो नजिकको आफन्त साथीभाइहरूलाई पु¥याउनका लागि अह्राउनुहुन्थ्यो । कथमकदाचित हामीले व्यस्तताको कारण वा अन्य कारणले बाहानावाजी गरेको खण्डमा उहाँ स्वयं टेम्पो, बस वा ट्याक्सी लिएर कुदिहाल्नुहुन्थ्यो । केहीसमयपछि मलाई फोन गरेर हिँडिसकेको जानकारी दिनुहुन्थ्यो । कहिले लैनचौर, कहिले जमल त कहिले महाराजगञ्ज पुगिसकेर ‘म हिँडिसकेँ, तिमीले मलाई अब पु¥याउनु पर्दैन’ भनेर फोन गर्नुहुन्थ्यो । समयले मानिसलाई कहिल्यै कुर्दैन भनेर बुबाले सधैँ सिकाउनुहुन्थ्यो । कहिलेकाहीँ बुबालाई पर्याप्त समय दिन नसकेकोमा पछुतो लाग्छ । हुन त मैले बुबालाई भ-याङसम्म सकभर पु-याउने र लिन जाने गर्दथेँ । तर उहाँले मलाई सकभर काम लगाउनुहुन्थेन, बरु आफैँ सम्पूर्ण बोझ लिनुहुन्थ्यो ।

सन्दर्भ हो गत वर्ष कार्तिक १ गते घटस्थापनाको । ‘आहा ! दसैँको पहिलो दिन कस्तो रमाइलो’ भन्दै यस्तो उस्तो गर्ने योजना बनाउँदै परिवारका सदस्यबीच आपसी सल्लाह भइरहेको थियो । जिउ अलि असहज भएकोले फ्रेश पनि भइन्छ, धर्मकर्म पनि हुन्छ भनेर घरनजिक रानीबारीको मन्दिरमा म र मेरी धर्मपत्नी दीपा पूजाआराधना गर्न गयौँ । पूजा सकिएपछि बुबासँग त्यहीँ भेट भयो । उहाँ पनि उज्यालो चम्किलो अनुहार, र सुकिलो कपडामा त्यहाँ पुग्नुभएको रहेछ । भगवानको दर्शनपछि ‘राम्ररी हात धुनु है’ भनेर मन्दिरको अलि तलबाट धारा देखाएँ । हात धोएर हामी अन्य मन्दिरहरूको दर्शनका लागि त्यहाँबाट हिँड्यौँ ।

हुन त करिब १÷२ दिन अगाडिबाट नै मलाई अलिअलि ज्वरो आउन–आउन लागेजस्तो भान भइरहेको थियो । तर दसैँको चटारो र घरका अन्य कामको व्यस्तताले मलाई खासै यादै भएन । विभिन्न मठमन्दिरको दर्शनपछि परिवारका अन्य सदस्यसँग रमाइलो गरी दिन बिताइयो र त्यसरात खानपिन गरेर सबैजना आ–आफ्ना कोठातिर छि¥यौँ ।

भोलिपल्ट बिहान मेरी धर्मपत्नीले ‘ओहो, हजुरलाई त ज्वरो आएछ’ भनेर धेरै आत्तिइन् । मलाई पनि त्यस्तै असहज महसुस भइरहेको थियो । निधार छामेको त हन्हनी ज्वरो आइरहेको थियो । दसैँको मुखमा बिरामी परिने डर भयो । त्यसदिनबाट करिब दुई दिन लगातार मैले ज्वरोको औषधी सेवन गरेँ । घरको कामले गर्दा परिवारका सदस्यहरूसँग घुलमिल भइरहेको थिएँ । बुबाले बेलाबेलामा मेरो स्वास्थ्यस्थितिको बारेमा उत्सुकता देखाउनु भई जानकारी लिइरहनुहुन्थ्यो । मेरो ज्वरो भने घटेकै थिएन । १०२ं फरेनहाइटबाट तलमाथि भइरहन्थ्यो । सामान्य ज्वरो होला भनेर परिवारका सबै सदस्यसँग उठबस र खानपिन भने भइरहेको थियो । तेस्रो दिन पनि ज्वरो नघटेपछि परिवारकै सल्लाहमा छोरी आकांक्षालाई लिएर पिसिआर परीक्षण गर्न टेकु अस्पताल पुगेँ । परीक्षणको रिपोर्ट भोलिपल्ट बिहान एघार बजेतिर मोबाइलमा आयो – पोजेटिभ ।

मोबाइलको म्यासेज हेर्ने बित्तिकै म त छाँगाबाट खसे झैं भएँ । आफूले जानेबुझेअनुसार परिवारका सबैलाई जानकारी गराई माथि आफ्नो कोठामा थपक्क आइसोलेशनमा बस्न गएँ । परिवारमा त्रास फैलिसकेको थियो । भोलिपल्टै सबैजनाको पिसिआर परीक्षण गरियो, तर सबैको रिपोर्ट नेगेटिभ देखियो ।

होम आइसोलेशनमा बस्नु मेरा लागि निकै पीडादायी थियो । मेरो स्वभाव बुबाको जस्तै घुलमिल हुने, हँसीमजाक गर्ने, सुख, दुःखका कुरा गर्ने, बुबाकै कोठामा बसेर नेपाली साहित्य, संगीत र नयाँनयाँ सिर्जनाका विषयमा छलफल गर्दै समय बिताउने थियो । तर कोरोना संक्रमित भएपछि छुट्टै बसेर दिन बिताउन मलाई निकै कठिन हुन्थ्यो ।

बुबा बिहान छ बजे नै उठेर आफ्नो दैनिक सांगितिक रियाजमा जुट्नुहुन्थ्यो । त्यो मीठो तानपुराको धुन, सारेगम अनि भगवान शिवजीको आराधना गर्दै आफ्ना औँलाहरू हारमोनियममा खेलाउनुहुन्थ्यो । मलाई कताकता आफ्नो घर ठूलाठूला संगीतका उस्तादको विद्यालयजस्तो लाग्थ्यो । बीसको दशकका चर्चित गायक जगतमर्दन थापाले आफ्नो जागिरे जीवनमा व्यस्त भएका कारण संगीतमा लागिरहन सक्नुभएन । उहाँले सरकारी सेवाबाट अवकाश पाएपछि शास्त्रीय संगीतज्ञ प्रभुराज ढकाललाई गुरु थापेर पुनः गाउने अभ्यास गर्न थाल्नुभएको थियो । उहाँले वरिष्ठ भारतीय गायिकाहरू कुमारी लिली सिंह, स्वरसाधिका उषा मंगेशकरलगायत नेपालका चर्चित गायकगायिकाहसँग पनि युगल गीतहरू गाइसक्नुभएको थियो । हुन त विगतका दिनहरूमा जगतमर्दनले आफ्नो पछिल्ला विभिन्न गीति एल्बममा वरिष्ठ रचनाकार म.वि.वि.शाह, रत्न शमशेर थापा, सहदेव ढुंगाना, तोकबहादुर लामा, विश्व वल्लभ, विवश वस्ती, हर्क साउद, सुनिल कोइरालार त्यस्तै अन्य ख्यातिप्राप्त साहित्यकार, संगीतकर्मीहरूसँग सहकार्य गरिसक्नुभएको थियो । वरिष्ठ गायक जगतमर्दन थापाले नेपालका चर्चित गायिका मेलिना राईसँग भर्खरै युगल गीत गाइसक्नुभएको थियो । त्यसै क्रममा पछिल्लो पुस्ताकी अर्की स्वरसाधिका सञ्जिवनीसँग युगल गीतको तयारी भइसकेको थियो । हुन पनि जगतमर्दनको छैटौँ नयाँ गीति एल्बम कोरोना कहरको बाबजुद पनि तीव्र गतिमा तयारी भइरहेको थियो । कहिले आफ्नै रचना त कहिले हरिराम पौडेल, इन्द्रध्वज खड्का, वसन्त वि. थापा, तुलाराम थापा जस्ता विभिन्न रचनाकारहरूका शब्द केलाउँदै बस्नुहुन्थ्यो । सचेत हुँदै मास्क, सेनिटाइजरको प्रयोग गर्दै कहिले भोला पौडेलको स्टुडियो साउण्ड डिजाइन, नक्साल, त कहिले जेम्स प्रधानको म्युजिक वर्क स्टुडियो, पुतलीसडकबाट वरिष्ठ संगीतकार शक्ति बल्लभ, मदन सिंह, मनोहर सुनाम र जेम्स प्रधानलाई समेटेर छैटौँ गीति एल्बमको सिर्जनामा जुट्नुभएको थियो ।

म झस्किएँ । ओहो ! मलाई त कोरोना संक्रमण भएको छ । उमेरले ८५ वसन्तमा प्रवेश गर्न लाग्नुभएको बुबालाई कतै मबाट यस्तो डरलाग्दो रोग सर्ने त होइन ? हुन त म एकदम सावधानीका साथ आफ्नो कोठामा एक्लै बस्थेँ । घरका सदस्य त के, आफूले पालेको कुकुर ब्रुनोलाई समेत भेट्न र स्पर्श गर्न नपाउने । मलाई कोरोना संक्रमण भएर ज्वरो आउँदा बुबा खुबै चिन्तित हुनुहुन्थ्यो । कहिले ज्वरो बढेर १०४ त कहिले घटेर ९६ गर्दै तलमाथि भइनै रहन्थ्यो । झुक्याइराख्ने बेइमान रोग कोरोना । यस्तो भयावह महामारीले विश्वका सबै जनमानसमा त्रास र आतंक मच्चाइरहेको थियो । मानिसहरूले भोग्नुपरेको कष्ट देखेर होला, बुबा आफ्ना मित्रहरूसँग बेलाबेलामा ‘कोरोनाको भ्याक्सिन कहिले आउँछ?’ भनेर गफगाफको क्रममा सोधिराख्नुहुन्थ्यो । रेडियो, टेलिभिजन, मोबाइलको कलर–ब्याक ट्युन र अन्य पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा कोरोनासम्बन्धी जनचेतनामूलक सन्देशहरू गुन्जिरहन्थे ।

कार्तिक १० गते ःम होम आइसोलेशनमै कष्टपूर्ण दिनहरू काट्दै थिएँ । विजयादशमीको शुभ दिनमा छोरीहरू र परिवारका अन्य सदस्यहरू नयाँ कपडा लगाएर फर्याकफुरुक गर्दै थिए । बुबाको हातको टीका ग्रहण गरेर माथिम बसेकोे कोठामा ‘बुबाको आशिर्वाद’ भन्दै छोरी आकांक्षाले सानो टपरीमा रातो टीका राखेर ल्याइदिई । यत्रो ठूलो महामारीमा यसपाली टीका नलगाउने भनेको त घरमा आफन्तहरू निकैजना जम्मा भइसक्नुभएछ । बुबाको हातबाट टीका लगाउने भनेर जेठी छोरी कविता, ज्वाइँ अनिल, नाति आशुतोष, त्यस्तै कान्छी छोरी पुष्पाञ्जली, ज्वाइँ विशाल, नाति आयुषमान घरमा जम्मा भइसक्नुभएको रहेछ । म भने माथि कोठाबाटै तलको हल्लाखल्ला सुनिराखको थिएँ । एकछिनपछि मेरा दुबै छोरीहरू आकांक्षा, अलैना मलाई हेर्न माथि भ-याङसम्म आए । उनीहरूलाई देख्नेबित्तिकै मेरो भक्कानो छुट्यो । तलबाट माथि हेर्दै ‘बाबा रोइस्यो, किन रोइसेको ?’ भन्दै दुबैजना चिच्याएर रुँदै थिए । त्यो आवाज र दृश्यले मलाई निकै मर्माहत तुल्यायो । प्रत्येक वर्ष हरेक चाडबाड सबै परिवारसँग बसेर रमाइलो गर्दै मनाउँदै आएको, तर विडम्बना यसपालि दशैं जस्तो एक मात्र महान चाडमा आफू एक्लै छुट्टिएर बस्नुप¥यो, हाम्रा सबै योजना रद्द भएपछि यसपालिको दसैँ निकै निरस र खल्लो भयो ।

तीन दिनपछि मेरी श्रीमतीले मलाई फोन गरेर ‘मेरो जिब्रोमा स्वाद र नाकमा बास्ना नै छैन, बुबालाई पनि ज्वरो आएको छ’ भनिन् । उनको कुराले मेरो मनमा निकै चिसो पस्यो । मेरो मात्र हैन, पूरै घरको वातावरण निकै सन्त्रासयुक्त र तनावपूर्ण रह्यो । भोलिपल्टै श्रीमती र बुबाको फेरि पिसिआर परीक्षण गर्दा दुबै जनाको रिजल्ट पोजेटिभ आयो । त्यसपछि फेरि घरका बाँकी सदस्यहरूको पनि पिसिआर परीक्षण गरियो, नतिजा उही, सबैको पोजेटिभ रिपोर्ट आयो । ‘बेइमान कोरोना ! कस्तो झुक्याएको ?’ भन्दै एक्लै फतफताउँदै माथि कोठाबाट सिधै तल बुबाको कोठामा आएँ र उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिएँ । बुबालाई ज्वरो आउने क्रम जारी नै रहेछ । उहाँको शरीर विस्तारै शिथिल हुँदै गइरहेको थियो । आफू संक्रमित भए पनि हामी सबै परिवारको ध्यान वृद्ध बुबाप्रति गयो । आफूले चिनेका नजिकका चिकित्सकहरूसँग बेलाबेलामा परामर्श भइनै रहन्थ्यो । धिक्कार छ जिन्दगी!यो कोरोना हामीलाई त लाग्यो–लाग्यो, हाम्रो वृद्ध बुबाको शरीरमा चाहिँ किन लुटपुटिएको होला ? परिवारका सबै सदस्यहरूलाई संक्रमण भएका कारणले हामी सबै होम आइसोलेशनमै बस्न बाध्य थियौँ । आफ्ना नजिकका इष्टमित्रहरूले औषधीलगायत खाद्यान्न सामग्रीहरू बाहिर मूलगेटमा नै छाडेर जान्थे ।

बुबाको सोखहरूमध्ये टिभी हेर्नु पनि थियो । घरमा भएको सानो पुरानो टिभी हटाएर एउटा नयाँ ठूलो पर्दाको टिभी किन्ने रहर थियो । त्यसै समयमा भाइ रितेशले मलाई फोन ग¥यो, ‘नयाँ टिभी आयो दाइ, के गर्ने ?’ बुबालाई सोधेँ, उहाँ एकदमै हर्षित हुनुभयो । मैले बुबालाई भनेँ, ‘यस्तो बेलामा नयाँ टिभी नकिन्ने हो कि ?’ तर उहाँ मान्नुभएन, बरु ‘तुरुन्त मगा’ भन्नुभयो । बुबाकै इच्छाअनुसार नयाँ टिभीले घरमा प्रवेश पायो । बुबाको कोठाको पुरानो टिभी हटाएर नयाँ टिभी टेबुलमाथि राख्न खोज्दा त अटेन । मैले टिभी नअटेको कुरा बुबालाई जानकारी गराएँ । ‘बरु हामी सबैजना निको भएपछि नयाँ टेबुल बनाएर हेरौँला’ भनेर आग्रह गरेँ । मेरी धर्मपत्नी दीपा, हरिकी धर्मपत्नी मेनुका र म स्वयंले नयाँ टिभीलाई फेरि त्यही कार्टुन बाकसमा राखेर थन्क्यायौँ । बिचरा बुबा रोगले शिथिल भए पनि अलिअलि झुकेको शिर, चिम्सेचिम्से आँखाले प्याक गर्दै गरेको नयाँ टिभीतिर हेर्दै संयम भएर बस्नुभयो ।

कार्तिक २३ गते ः बुबाले खाना खान सक्नुभएन । तुरुन्तै दिज्जू–भिनाजुसँग फोनमा कुरा गरेँ । ‘बुबा त एकदमै शिथिल हुनुभएको छ, अब के गर्ने?’ सबैको राय सल्लाहअनुसार बुबाको ब्लड टेस्ट गरियो । उहाँको लिभरहल्का सुन्निएको रिपोर्टआयो । चिकित्सकको सल्लाहअनुसार उहाँलाई तुरुन्त आफ्नै कारमा राखेर नर्भिक अस्पतालतिर हुइकियौँ । डेढ दशक अघिदेखि नै बुबाको नियमित चेकजाँच त्यही अस्पतालमा गर्ने गरेको भएर नर्भिक अस्पतालमै लग्यौँ । हामी सबै आत्तिएर अस्पतालमा भर्ना त ग-यौँ तर त्यसै समयमा उहाँको नियमित स्वास्थ्य परीक्षण गर्दै आउनुभएका डाक्टर साहेव हाम्रै अगाडि आएर झोक्किदै कराउनुभयो ‘थापा सरलाई यस्तो नाजुक अवस्थामा पु¥याएर अहिले अस्पतालमा भर्ना गर्न ल्याउनुहुन्छ ? उहाँलाई एकदमै गाह्रो भइरहेको छ । तपाईँले बुझ्नुहुन्छ ? एक महिनाअगाडि मात्रै कस्तो राम्रो थियो उहाँको रिपोर्ट, तर आज उहाँको यस्तो गम्भीर अवस्था !’ भन्दै निकै हकार्नुभयो । हामी सबै परिवारजनले बुबालाई कोरोना संक्रमण भएको थाहा पाउनेबित्तिकै अस्पताल भर्ना गर्न पाएको भए यस्तो नाजुक अवस्था हुँदैन थियो कि भनेर एकआपसमा दुःखमनाउ गर्दै थियौँ । आज पनि मनमा त्यहि कुरा खेलिरहन्छ ।

अस्पताल भर्ना भएको पहिलो दिनमै उहाँलाई एमआइसियु कोभिड क्याविनमा राखियो । भर्ना हुनुअघि बुबा र मैले पिसिआर जाँच गरेका थियौँ । त्यसको नतिजा सोही दिन साँझ आयो, मेरो नेगेटिभ, बुबाको पोजेटिभ । यता अस्पतालको माहोल निकै भयावह थियो । एमआइसियु क्याविनबाट चिकित्सकहरूले हामीलाई बोलाएर उहाँको स्वास्थ्यस्थितिको जानकारी गराउँदा त हामी सबैको होसहवास उड्यो । मान्छे नै नचिनिने गरी सेतो पोशाक (पिपिई) लगाएका डाक्टरले ‘उहाँजस्तो वृद्ध मान्छेलाई संक्रमण भएपछि बचाउन एकदमै मुस्किल हुन्छ । दस जनामा मात्र १ जना जीवित रहने चान्स हुन्छ’ भनेर सुनाउनुभयो । सोही डाक्टरलाई हातका दस औँला जोडी हाम्रो बुबा वरिष्ठ गायक, साहित्यकार र ज्यादै इमानदार, सरल स्वभाव भएको व्यक्ति हुनुहुन्छ, जसरी हुन्छ उपचार गर्नुप¥यो भनेर विन्ती गरेँ । डाक्टर साहेब ‘हस् हस्’ भन्दै भित्र पस्नुभयो । फेरि केही क्षणमै बाहिर आउनुभयो । ‘उहाँको स्वास्थ्य अवस्था निकै जटिल छ, तर पनि हामी सबै उहाँका लागि खटेर कोसिस गर्नेछौँ’ भन्नुभयो । हामी सबैले उहाँलाई जसरी भए पनि बचाउनुप¥यो भन्दै निवेदन ग-यौँ, विन्ती विसायौँ । हामीलाई हिम्मत राख्न भन्दै उहाँ बुबालाई राखिएको क्याविनतिर जानुभयो ।

वुवालाई निको हुन्छ, फेरी पहिलेको जस्तै सामान्य हुनुहुन्छ भन्ने कल्पनामा दिन अनि रात बित्दै थिए ।एमआइसियु कोभिड क्याबिनमा कुनै पनि भिजिटरलाई जान अनुमति थिएन । परिवारका सबै सदस्यहरूमुखमा मास्क र हातका औँलाहरूमा सेनिटाइजर प्रयोग गर्दै बुबालाई खानपिनको व्यवस्था पालैपालो गरिरहेका थियौँ । बुबालाई कोभिड क्याविनमा राखिएको केहीदिनसम्म त कुनै स्वास्थ्य उपलब्धि भएको जानकारी नै प्राप्त भएन । निकै नै महँगो अस्पतालमा बुबाको उपचारको क्रममा खर्च पनि प्रशस्तै भइरहेको थियो । वृद्धअवस्थाको बुबा अनि वरिष्ठ कलाकारको नाताले सरकार तथा कुनै संघसंस्थाहरूबाट सहयोगको आशा गरेका थियौँ । तर विडम्बना, कतैबाट सहयोग प्राप्त हुन सकेन । बरु आफ्नै दिदीबहिनीहरूबाट बुबालाई आर्थिक सहयोग भयो । त्यस्तै गरेर उहाँका आफ्नै भाइ सन्तोष मर्दनका छोराको सहयोगले टेक्सास, अमेरिकाबाट बुवालाई विशेष आर्थिक सहयोग गर्छु भनेर आश्वासन पनि दिएको थियो । आफन्त तथा इष्टमित्रहरूले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएका थिए ।

बुबा बिरामी भएर थला परिरहनुभएको बेला एमआइसियु क्याबिन भित्रबाट चिकित्सकहरूको सहायताले कहिलेकाहीँ परिवारका सदस्यहरूसँग फोनमा सम्पर्क हुने गर्दथ्यो । बुबाको धेरैजसो अन्तर्वार्तामा ‘म कहिले पनि धुम्रपान गर्दिनँ, त्यसैले मेरो फोक्सोले राम्रो काम गरेर नै अहिलेसम्म गायनमा सक्रिय छु’ भन्नुहुन्थ्यो । तर आज परिस्थितिले गर्दा उहाँलाई हाइफ्लो अक्सिजनको सहारा लिनुपरेको छ । झण्डै १४ वर्षअगाडि मेरी ममतामयी माताले पनि दम रोगका कारणले यस धरतीलाई छोडेर जानुभएको थियो । फेरि बुबालाई केही भइहाल्यो भने हामी सबै परिवारजन त टुहुरा हुन्छौँ । इमान्दार, रसिक, एकदमै अनुशासित जीवनशैली भएर पनि कोरोनाबाट संक्रमित भइसकेपछि उपचार गर्न र जीवन बचाउन निकै कठिन हुँदो रहेछ । कोरोनाबाट संक्रमित घरका बाँकी सबै सदस्यहरूको फेरि एकपल्ट पिसिआर परीक्षण गर्दा सबैजनाको निगेटिभ रिपोर्ट आयो । कस्तो अचम्मको रोग, कहिले पोजेटिभ, कहिले नेगेटिभ, लुकामारी खेले जस्तो ।

करिब १०० वर्षअगाडि स्पेनिश फ्लु को महामारीबाट पीडित भएको जस्तै अहिले कोरोना भाइरस रोगले विश्वका सबैजसो राष्ट्रहरूलाई दुःख दिइरहेको छ । यस्तै सोचेर बसिरहेको मात्र थिएँ, भित्र क्याबिनबाट पूरै सेतो वस्त्र(पिपिई) लगाएका डाक्टर साहेव बाहिर आएर ‘थापा सरलाई प्लाज्मा थेरापी गर्नुप¥यो’ भन्नुभयो । २५ कार्तिकमा पहिलो प्लाज्मा थेरापीको लागि भिनाजु अनिल र भान्जा आशुतोषबाट पहल भएर लायन्स क्लवका सदस्य रामोद फुयालजीबाट बुबालाई प्लाज्मा दान गरियो । उहाँलाई केही समय राहत त भयो तर केही दिनपछि फेरि थापा सरलाई दोस्रो पटक प्लाज्मा थेरापी दिनुपर्छ भन्ने खबर आयो । मंसिर १ गते भाइटीका, नेपाल सम्बतको नयाँ वर्ष परेको दिनमा बुबालाई जसरी भए पनि प्लाज्मा डोनेट गर्नुपर्ने भएको थियो । चिकित्सकहरूको सल्लाहअनुसार फेरि हामी सबै परिवार जुर्मुराउँदै यत्रो ठूलो चाडबाडको दिनमा पनि डोनरसँग सम्पर्क गर्न सफल भयौँ । तिहारको दिन परेकोले भर्खरै सगुन खाएर गलामा माला सहित प्लाज्मा दाता आउनुभयो । हामी सम्पूर्ण परिवार उहाँप्रति आभार व्यक्त गर्दै थियौँ । पछि उहाँको परिचय बुझ्दा रामकृष्ण शाही (चर्चित एवं प्रसिद्ध गायिका सरिता शाहीजीको श्रीमान्) हुनुहुँदो रहेछ । सरिता जी जसले बुबाको केही कार्यक्रमहरूमा युगल गीत गाएर पनि साथ दिनुभएको थियो । हामीले बुबालाई पछि यो खबर सुनाउँदा निकै हर्षित भएर दुई हात जोडेर ‘उहाँहरूलाई धेरैधेरै धन्यवाद सुनाइदिनू है’ भन्नुभयो ।

दोस्रो पटक प्लाज्मा थेरापी गरेपछि बुबाको स्वास्थ्य सुधार भइरहेको थियो । प्रकाश सायमी (नेपाली साहित्यसंगीतका इन्साइक्लोपिडिया) ले उज्यालो रेडियो नेटवर्कबाट प्रशारण हुने कार्यक्रममा अजर अमर गीतहरूबाट बुबा जगतमर्दनको दिनहुँ स्वास्थ्यलाभको कामना गरिराख्नुहुन्थ्यो र उहाँको स्वास्थ्यस्थितिको सबैलाई जानकारी गराइराख्नुहुन्थ्यो । वरिष्ठ पत्रकार एवं रेडियोकर्मी हरिराम पौडेलले पनि रेडियो सिटी एफ.एम. ९८.८ बाट विभिन्न प्रस्तुतिहरु मार्फत बुबाका विभिन्न गीतहरु प्रसारण गर्दै स्वास्थ्यस्थितिबारे सबैलाई जानकारी गराउनुहुन्थ्यो । अन्य धेरैजसो पत्रकार साथीहरूले समाचार सम्प्रेषण गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गरिराखेका थिए ।

बुबाको स्वास्थ्यस्थिति जटिल भएर अस्पतालको शैयामा छटपटाइरहनुहुँदा उहाँका सबै शुभचिन्तक, पत्रकार साथीहरू र इष्टमित्रहरूले दिनहुँ जस्तो फोन गरेर अवस्था बुझ्ने अनि बेलाबेला अस्पतालमै स्वास्थ्यलाभको कामना गर्न पनि आउनुहुन्थ्यो ।

मंसिर ६ गते बुबाको फेरि पिसिआर परीक्षण गरियो । रिपोर्टनेगेटिभ आयो । हामी सबै परिवार निकै खुसी भयौँ । ठूलो युद्धजितेको भान भयो । त्यसै क्रममा काठमाण्डू प्रेसमा ‘८५ वर्षिय गायक जगतमर्दनले जिते कोरोना’ भनेर समाचार सम्प्रेषण भयो । चारैतिर खुसीयाली अनि बधाईको ओइरो लाग्यो । उहाँले कोरोनालाई जितेपछि अर्को सिसियु क्याविनमा सारियो । केहीदिनउहाँको स्वास्थ्य सामान्य नै थियो । सबै चिकित्सकहरू स्वास्थ्यअवस्थाको प्रगतिले सन्तुष्ट हुनुहुन्थ्यो । त्यसैक्रममा बुबाले एकदिन मलाई आफूद्वारा रचना गरिएको नयाँ गीतको बोल सुनाउनुभयो– कुनै भेदभाव छैन प्रकृतिको वरदान । ‘बुझिस् बाबु, मैले यो गीतको भाव बल्ल बुझेँ । तँलाई म पछि भन्छु ।’ भन्नुभयो । तर अफशोच ! त्यो भाव र वेदना अपुरो, अधुरो नै रह्यो ।

एकदिन मेरो मोबाइलमा फोनको घण्टी बज्यो, फोन गर्ने कान्तिपुर दैनिकको पत्रकार आदरणीय सुशीला तामाङ, हुनुहुँदो रहेछ । उहाँलाई बुबाले आफ्नै छोरीसरह माया गर्नुहुन्थ्यो । उहाँले बुबाको हालखबर सोध्नुभयो, मैले ‘ठीक छ’ भनेर जानकारी गराएँ । उहाँले ‘के म उहाँलाई भेटेर केही कुराको जानकारी लिन सक्छु ?’ भनेर सोध्नुभयो, मैले बुबालाई यो कुरा सुनाएँ, उहाँ एकदमै हर्षित हुनुभयो र सुशीलाजीलाई भेट्न तयार हुनुभयो । फेरि चिकित्सकको सल्लाहअनुसार बुबालाई हप्ता दिनपछि अर्को नर्मल क्याविनमा राख्ने योजना बनाइयो । सुशीलाजीलाई पनि मैले ‘बुबाको स्वास्थ्यस्थिति सामान्य भएपछि भेट गरौँला’ भनेँ । अहिले सोच्छु, उहाँलाई समयमा भेट गर्न दिन सकिएको भए बुबाबाट नेपाली साहित्य, संगीतका धेरै कुराहरू बुझ्न पाइन्थ्यो कि ? बुबालाई त्यसबेला सुशीलाजीसँग भेट गराउन नसकेकोमा मलाई आजसम्म पनि पछुतो लागिरहेको छ । बिरामी हुनुअघि बुबाले म, मेरी कान्छी बहिनी पुष्पाञ्जली र नाति आयुषमानसँग धेरैजसो समय नेपाली साहित्य, संगीत र नयाँनयाँ सिर्जनाका विषयमा छलफल भने गरिरहनुहुन्थ्यो ।

बुबालाई जसरी पनि कोरोनामुक्त गराएर घर लाने हाम्रो अथक प्रयास थियो तर केही समयपछि उहाँको स्वास्थ्य अवस्था अचानक झनझन् बिग्रिँदै गयो । चिकित्सकहरूले कहिले ह्वाइट ब्लड त कहिले अनेकौँ औषधी शरीरमा चढाउन थाल्नुभयो । उहाँहरूको अनेकौँ प्रयासबाट पनि बुबाको स्वास्थ्यस्थिति सुधार हुन सकेन, बरु अकल्पनीय रुपमा झनै नाजुक पो हुँदै गयो ।

जीवनको अन्तिम घडीःबुबालाई राखिएको सिसियु क्याविनभित्र हामी सबै परिवार आत्तिएर पुग्यौँ । चिकित्सकहरूको सल्लाहअनुसार उहाँलाई तुरुन्तै भेन्टिलेटरमा राख्नुपर्ने भयो । शैय्याबाट अलिकति उठाएर नर्सहरूको सहाराले बुबाको स्वास्थ्य परीक्षण एकदमै तीव्र गतिमा भइरहेको थियो । एउटी नर्स एकदम आत्तिएर ‘उहाँको त एक्कासी ब्लडप्रेसर हाइ भयो’ भन्दै चिच्याउँदै थिइन् । तर अरु चिकित्सकहरूले सान्त्वना दिँदै थिए । बुबा भने टुक्रुक्क बसेको आफ्नो शैय्याबाट हामीहरू सबै परिवारलाई हेर्दै ‘तिमीहरू सबैजना बाहिर जाऊ, बाहिर जाऊ’ भन्दै कराउँदै हुनुहुन्थ्यो । मैले हौसला दिँदै बुबालाई ‘केही हुँदैन’ भनेँ तर उहाँले आफ्नो शिथिल हात हल्लाउँदै ‘खै ! मलाई अब के राम्रो होला र ?’ भन्ने भावमा निकैबेर मलाई हेर्नुभयो । सायद बुवाले हामीहरूलाई अन्तिम बिदावारीको कतै संकेत पो दिनुभएजस्तो महसुस हुन थाल्यो । उहाँलाई तुरुन्तै स्ट्रेचरमा राखेर तल अपरेशन थिएटरमा लगियो ।

नर्भिक अस्पतालको त्यस अपरेशन थिएटरभित्र सायद उहाँलाई यो तेस्रो पटक लगिएको हो । करिब एक दशकअगाडि उहाँलाई पेसमेकर जडान गरिएको थियो । दोस्रो पटक हर्नियाको सानो शल्यक्रिया भएको थियो । आज त्यही शरीर त्यहि अस्पतालको भेन्टिलेटरमा राख्नुपर्ने भयो । बाहिर हामी सबै परिवार भगवानसँग प्रार्थना गर्दै थियौँ । अचानक ‘क्र्याश्–क्र्याश्’ भन्दै अस्पतालका केही स्वास्थ्यकर्मीहरू त्यसै अपरेशन थिएटरभित्र आत्तिएर जानुभयो । म अनि मेरा सबै परिवारजनलाई यो राम्रो संकेत होइन भन्ने लाग्यो । तर खै ! के ‘क्र्याश्’ कता ‘क्र्याश्’ के भनेको हो बुझिएन । केही घण्टापछि बुबालाई अचेत अवस्थामा भेन्टिलेटर जडान गरेर बाहिर ल्याइयो । केही दिन उक्त भेन्टिलेटरको सहारामा बुबालाई उपचार गरेर राखियो, तर केही उपलब्धि भएन । सिसियुमा बुबाको होश भएको बेला उहाँसँग केही भलाकुसारी गर्ने मौका प्राप्त भएको थियो । मैले बुबाको मनोबल बढाउनका लागि भनेको थिएँ, ‘तिमी नआत्तिनू, तिमीलाई राम्रो हुन्छ । जसरी भए पनि लड्न कोसिस गर, यताबाट चाँडै डिस्चार्ज भएर घर जानुपर्छ । हाम्रा धेरै कामहरू अझै अधूरा छन् ।’ त्यस्तै ‘नयाँ गीति एल्बम निकाल्ने, सम्माननीय राष्ट्रपति ज्यूबाट सुप्रवल जनसेवाश्री तृतीय पदक थाप्ने, बाबु, बाजेको पैतृक जग्गाजमिनका कागजात मिलाउने काम आदि सबै बाँकी छ’ भन्दै बुबाको मनोबल बढाउन कोशिस गर्दै थिएँ । तर परिस्थिति निकै नाजुक भइसकेको थियो । बुबा त शिथिल भएर अचेत हुनुहुन्थ्यो । अब त उहाँसँग दोहोरो संवाद गर्न कहाँ सक्थ्यौं र ? महाराजगञ्जमै जीवन बिताउनुभएका बुबा जगतमर्दनले शीतल निवासमा पदक थाप्ने अवसर पाउनुभएन ।

विडम्बना, कोरोना संक्रमणले अन्य कयौँ नेपालीलाई नछाडेजस्तै उहाँको पनि कोरोनाका कारण असामयिक दुःखद् निधन भयो । हुन त उहाँले कोरोनालाई जितेर पुनर्जीवन पाउनुभएको थियो । तर कोरोनाकै कारण थलिएको उहाँको ज्यानले आखिर मंसिर २२ गते सधैंका लागि विश्राम लिएरै छाड्यो । आँसुको भेल बहाउँदै ‘बेइमान कोरोना’ भन्दै आफ्नै बुबाको ‘डेथ सर्टिफिकेट’ मा दस्तखत गरियो । बाहिर सबै इष्टमित्रहरूबीच कोलाहल मच्चिरहेको थियो । कोही ‘बुबा–बुबा’ त कोही ‘दाइ–दाइ’ को कारुणिक चित्कारसंगै रुँदै थिए । अ अथक प्रयासको बावजुद पनि बुवालाई बचाउन नसकेकोमा म लाचार भएँ । मनभरि ग्लानी छ, हिनताबोध छ, मन ह्वारह्वार दन्किएको आगोको लप्कामा पिल्सिए झैं अनुभूति भइरहेछ, एकाएक ठुलो कम्पन आएर धर्ती नै भासिन लागे झैं भइरहेछ । दुई नयनबाट असारे झरी झैं आँसु बर्सिरहेछन् । एकाएक गुमेको बुवाको सानिध्यको अभाव अव मैले जीवनभर भोग्नु पर्नेछ ।

कोरोनाकै कारण हामीले हाम्रो परिवारको खम्वा हाम्रो बुवालाई गुमायौ, नेपाली गीत संगीत र साहित्य क्षेत्रले एक होनाहार व्यक्तित्व गुमायो । बुवाको अवासनले यी क्षेत्रमा अपुरणीय क्षति पुगेको गीत संगीत तथा साहित्य संग सम्वन्धित विशिष्ट व्यक्तित्वहरुले बताउनु भएको छ । यति बेला फेरी कोरोनाको नयाँ भेरियन्टले जनजीवन अस्तव्यस्त र कष्टकर बनेको छ । गत वर्ष जस्तै निषेधाज्ञा जारी गरिएको छ, यो समय सबै जना सजक र सतर्क रहनुहोला, कोरोनालाई सामान्य र हेलचेक्राईको रुपमा पटक्कै नलिनु होला, हामीले जस्तै आफ्ना अभिभावक र परिवारको प्रिय सदस्य कसैले पनि गुमाउन नपरोस् ।

One Comment

  1. Heart touching…got to recall all the past days at hospital praying for Buwa hajur recovery, but regret we could not hold his life despite of all the best done by all the helping hands.
    Missing you more than words can be expressed. Heartfelt condolence.

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button