
नाच्थे, गाउँथे, दर खान्थे, जे छ घरमा बनाएर, ऐले खान्छन् बोतल खनाएर
मौलिकपन हराउंदै गएको तिज
दुर्योधन बस्नेत
समय नि कस्तो आयो
मौलिकपन लोप भयो
पश्चिमाको संस्कृतिले
आफ्नो भन्नु सबै गयो ।
विकृतिले प्रहार गर्यो
मौलिक तिज गीतलाई
ध्वस्तै पार्यो हेर्दा हर्दै
हाम्रो विशेष रितलाई ।
वेदना र खुसी पोख्थे
तिजमा गाईने गीतले पैले
सपरिवार सँगै हेर्न
नहुने छ तिज गीत ऐले ।
नाच्थे, गाउँथे, दर खान्थे
जे छ घरमा बनाएर
ऐले चलन यस्तो आयो
खान्छन् बोतल खनाएर ।
उहिले आमा, हजुरामा
आफ्नै भाका गुन्गुनाउँथे
दुख, सुख एक अर्कालाई
गीत गाउँदै सुनाउँथे ।
ऐले गाईने तिजको गीत
केही मिल्दैन संस्कारसित
छोटा लुगा पप र र्याप
त्यस्तै गीत हुन्छन् हिट ।
अघिल्लो दिन दर खान्थे
भोलिपल्ट बस्थे व्रत
दुई तीन महिना अगाडि नै
खान्छन ऐले छैन अर्थ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)