खाजा खान १ पैसा !

दुर्योधन बस्नेत

यो काभ्रे जिल्लाको त्यही गोरखनाथको २०३५–३६ सालतिरको डांडो हो, जहाँ हामी विद्यालयमा अध्ययन गर्दै गर्दा हाफटाईम (अहिले भनिने गरिएको टिफिन टाईम) मा खेल्ने गर्थ्यौं । त्यतिमात्र होइन, यो हाम्रो घाँस काट्ने ठाउँ पनि थियो ।

घाँस काट्दै गर्दा बारुलाको चाका भेटिन्थ्यो । घरमा लगेर भुटेर अर्थात तारेर खान्थेम । बाउले थाहा पाउनुभयो भने बेस्सरी रामधुलाई गर्नुहुन्थ्यो । लुकिलुकी खानुपर्थ्यो । गोरखनाथ डांडाको पश्चिमतर्फको व्रह्माईनी मन्दिरसँगै बगैँचा थियो । अनार, स्याउ, नासपाती, आरु फल्थ्यो । केटाकेटी बुद्धि न हो, कांचैमा टिपेर टाप ठोकिन्थ्यो । पालेले देखेमा पिट्थे । पुरानो झोलुङ्गे पुलमुनी पुण्यमाता खोलामा दह थियो । पौडी खेल्थेम ।

यो पुलको धार्मिक महत्व पनि जोड्न चाहन्छु । सायद जेठको जात्राकै अवसरमा होला भुलेजस्तो लाग्छ, डुडुल्निले पाईला नाप्ने नेवारी संस्कृति थियो । यतिबेला यो संस्कृति लोप भैसकेको छ । त्यसैगरी डवलिमा दसैं आउँदै गर्दा कृष्णचरित्र, रामायणको धार्मिक कथामा आधारित नाटक देखाईन्थ्यो । आज ती सबै लोप भैसकेका छन् । खोजी गरेर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ ।

पढ्न जाँदा बाटोमा सुँगुर भेटिन्थ्यो । छोयो भने जात जान्छ भनेर रुंदै भाग्थेम । घाट नजिकै भएकोले लास बाटोमा फेला पर्थ्यो । डरले सातो जान्थ्यो ।

हाम्रो पालाको हाफ टाईमलाई अहिले किन टिफिन टाईम भनेको रहेछ भनेर सोच्दा हामीसँग खाजा खाने पैसा हुन्नथ्यो । अहिलेका बच्चालाई जे जे भन्यो, त्यही त्यही पुर्याईदिन्छन बाबुआमाले । फेरि अंग्रेजी स्कुल पढ्ने भएकाले पनि टिफिन भनिएको रहेछ । त्यतिमात्र कहाँ हो र । ऐले त खाजा लाने भाँडाको नाम नै टिफिन बट्टा भैसकेको छ ।

म स्कुल पढ्दा बाबुले १ पैसा दिनुहुन्थ्यो खाजा खानका लागि । १ पैसाको १ चौथाई भुटेको भटमास आउँथ्यो । त्यति खाएर टन्न पानी पिएपछि अघाईन्यो । कहिलेकाहीं बाबुले २ पैसा दिनुहुन्थ्यो । खुसिले गद्गद् भएर बारिका कान्ला हाम फाल्दै स्कुल गईन्थ्यो । १ जोर लुगाले बर्षदिन पुर्याउनुपर्थ्यो । स्कुल जाने र अन्त जाने लुगा एउटै हुन्थ्यो । अहिलेको जस्तो स्कुल जाने ड्रेस त्यो पनि हप्ताको ३ जोर कहाँ पाउनु त्यतिबेला ।

समयको खेल ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button