
त्यतिबेला प्रधानमन्त्री कीर्तिनिधि थिए, सिंहदरवार जलेपछि राजीनामा दिए
एउटा ऐतिहासिक दु:खद दिन (कालो दिनको) संझना !
रामकृष्ण हुमागाई
२०३० साल असार २५ गते सोमबारका दिन अर्थात आजभन्दा ठिक ५० बर्षअघि (असार २५ गते सोमबार ठ्याक्कै आजकै दिन) मुलुकको प्रमुख प्रशासकीय भवन सिंहदरवारमा अचानक आगलागी भएर पूरै खरानी बनेको थियो ! म त्यतिबेला जम्मा ७/८ बर्षको नाबालक नै थिए ! त्यतिबेला म लगायत ललितपुर जिल्लाकै करिब मध्य भागमा पर्ने बुखेल र चौघरेको सिमानामा रहेकोे बिमिरेचौर वरपरका पचासौं जना व्यक्तिहरु दैनिक रूपमा बिमिरेचौरमा गाईगोरु, भैंसी र बाख्राहरु चराउन गोठालो जाने चलन थियो !
बिमिरे चौरबाट काठमाडौ उपत्यकाको करिबकरिब पूरै भाग प्रष्टसंग देखिने हुनाले हामी गोठालाहरुले उक्त दिन काठमाडौको मुटुमा रहेकोे सिंहदरवार जलेर धुवाँको मुस्लो उठेको प्रष्टैसंग देखेका थियौं ! तर पनि त्यतिबेला के भएको हो भन्ने कुराको यथार्थ जानकारी भने हामीलाई भएन ! भोलिपल्टबाट मात्रै मुलुकको प्रधानमन्त्रीको कार्यलय समेत रहेको सिंहदरवारमा आगलागी भएर जलेको भन्ने कुराको हामीले जानकारी पायौं ! त्यसको केही महिनापछि हुनुपर्छ मकवानपुर फापरबारीका भीमप्रसाद दुलाल हो वा अरु कसैले यो घटनाको सम्बन्धमा गीतको किताब नै लेखेर गाउँगाउँमा गाउँदै हिडेको पनि मलाई अलिअलि सम्झना छ ! उक्त किताबमा रहेका गीतका केही हरफहरु समेतको अहिलेसम्म पनि मलाई सम्झना छ ! मलाई सम्झना भएसम्मका सो घटनासंग सम्बन्धित गीतका ती हरफहरु:-
दुई हजार शून्ना तीस असारको महिना !
पच्चीस गते भाको थियो सोमबारको दिन !!
सिंहदरवार जलेर गयो,
दुनियाँको धमिलो मन भयो !
नरमाइलो दुनियाँ हामीलाई,
पिर पर्यो राजा र रानीलाई !
दैव संजोग के कारणले आगो लाग्न गयो !
त्यति राम्रो सिंहदरवार भष्माचुर भयो !!
त्यतिबेला राजालाई कस्तो भो,
विपना नि सपनी जस्तो भो !
त्यतिबेला आगोलाई कस्तो भो ?
पानी पनि मट्टीतेल जस्तो भो !
त्यतिबेला प्रधानमन्त्री कीर्तिनिधि थिए,
सिंहदरवार जलेपछि राजीनामा दिए !
ज्वाला पनि फिलियो कसरी ?
खर भिरको डढेलो जसरी !
सिंहदरवार जलेर हुरुरु,
राजारानी रुदैछन धुरुरु !
— यस्तै यस्तै—-!!
त्यतिबेला यस्तै यस्तै गीतका थुप्रै स्वरहरु गाउँगाउँसम्म गुन्जिएका थिए ! तर अहिले ती मध्ये प्रायः जसो हरफहरु बिर्सिएको हुनाले यहाँ उल्लेख गर्न म असमर्थ छु ! यदि कोहि मित्रहरूलाई ती गीतका हरफहरु अझै पनि संझनामा छन भने कृपया यहाँ उल्लेख गर्न सक्नुहुनेछ ! यस सम्बन्धमा मैले भने यत्तिकैमा बिट मारे !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



