मासु खाँदा मात्र दशैं आउने हो र ?

मेनुका शर्मा

‘हामी त दशैँमा के–केको मासु खान्छौं, तिमी प्रणामीहरु के खान्छौ ? मासु नखाई दशैं आउँछ र ?’

यस्ता प्रश्नले हिजो बाल्यकालमा एक किसिमको तनाव उत्पन्न हुने गथ्र्यो । किनभने, समाजमा कतिपय ठाउँमा चोकचोकमा शान अथवा मैले यति ठूलो किनेँ भनेर सबलाई देखाएर खसी, बोका काट्ने चलन थियो ।

के भनेर उत्तर दिनु ? आजजस्तो समय त थिएन । मैले केही बुझेको पनि थिइनँ । सबै साथीहरु के खान्छौ भनेर सोध्थे । कण्ठमा तुलसीको माला लगाएर हिँड्दा जिस्काउँथे । माले भनेर पनि भन्थे । त्यही भएर नि होला, मुखभरी जवाफ हुँदा नि यो त्यो भन्न सकिएन ।

खाने र नखाने आफ्नै आफ्नै विचार थियो । कसैलाई बलि दिनु, भोग लगाउनु प्रथा थियो त कसैलाई मासुजन्य जनावर नखानु नै धर्म थियो ।

त्यो बेला मान्छेहरू देउतालाई चढाउनु पर्छ भनेर मासुजन्य जनावर पालेको देख्दा लाग्थ्यो, कस्तो होला मासु खाने देउता ? बुझ्दै आउँदा लाग्यो, मान्छे आफू नै पो देउता रहेछन्, काटेर आफै खाँदा रहेछन् नाम चाहिँ देउताको । एकपल्ट सोच्नुस् त, आमाले आफ्नो सन्तानको रक्षा गर्नुहुन्छ, हत्या गर्न पक्कै भन्नुहुन्न । धार्मिक मान्यता अनुसार राक्षसलाई पो वध गर्नुभएको भन्ने कुरा स्पष्ट रुपमा लेखिएको छ ।

दशैंमा खानेकुराहरू टन्न हुन्थ्यो तर आजजस्तो सबैको नाम याद थिएन । दिनहुँजसो खान पाइन्थ्यो या पाइन्थेन् त्यो बेला थाह छैन । जे भए नि हुन्थ्यो खान पाउँदा । त्यसबेला चिउरा कुटाउन गएको याद छ । दही, दूध, घिऊ प्रशस्त हुन्थ्यो । खान पेटभरी पाएका थियौँ । कहिल्यै दशैँमा केही खानेकुरा कमी महसूस भएन ।

माछामासुसम्बन्धी हामीलाई केही पनि थाहा थिएन । अरु त के कुरा किताबमा अक्षर पढ्दै जाँदा माछा, मासु, अण्डा भनेर पढ्दा नि के पढे जस्तो हुन्थ्यो ।हामी यस विषयमा एकदम अनविज्ञ थियौँ । कसैलाई लाग्ला, यो त अचम्म, आफुलाई मन लागेका कुरा नि खान नपाउनु ? किन सानैमा थाहा नपाउँदै गलामा तुलसी माला लगाइदिएका होलान्य ? यस्ता प्रश्नले हामीलाई हिजो स्कूल पढ्दा सताउने गर्थ्यो ।

आज यस्ता पनि छन् जो आफु स्वतः स्फूर्त रूपमा शाकाहारी भोजन खान्छन् ।

समय अनि परिस्थिती बदलिँदै जाँदा आज छाती फुलाएर भन्न सकिन्छ, गर्व पनि लाग्छ, हामी शाकाहारी हौं । आज मन्दिरमा पहिले जसरी बलि दिन पनि पाइँदैन, एउटा निश्चित ठाउँ तोकिएको छ भन्ने सुन्नमा आउँछ ।

पाप नलागोस्, साँच्चै भन्नुपर्दा सबै जानकारी छैन, अरु मन्दिर यस्तो हुन्छ, अरु मन्दिरमा भनेर देखेको आज पनि छैन । भित्रसम्म पुगेर हेरेको नै छैन, डर लाग्छ, त्यो रगतको खोला बग्छ भनेको सुनेर नै । मन्दिरमा बलि रोक्न धेरै र्याली, बिरोध प्रदर्शन, जुलूस भएपछि कम भएको छ, यो राम्रो कुरा हो । मासुजन्य खाद्य पदार्थ खानु नखानु बस् विचार मात्र हो भनेर बुझ्न जरुरी हुन्छ ।

आज पनि सोध्छन्, के खान्छौ भनेर उसका साथीहरु स्कूलमा भन्दै थियो छोरा ।

‘अनि के भन्यौ त ?’

‘हामी माछामासु अथवा अरुलाई हत्या गरेर पकाएको खाँदैनौ, अरु खानेकुरा कत्ति छन् कति भन्दिएँ ।’

मासु नभए नि दशैँ कहाँ रोकिन्छ र ? मासु खाँदा मात्र दशैँ आउने हो र ? यो खानु या नखानु त दुई ओटा विचार मात्र हो । आफ्नो घरमा जस्तो तरिकाले मनाउँदै आएका छौं, त्यही अनुसार मनाउने गरिन्छ । आजसम्म खुशीसाथ मनाएका छौं।

तर जब दशैँ आउँछ अनि पुराना दिन याद आउँछ, त्यसमा झन् वर्षैपिच्छे छोराछोरी पनि दशैँको छुट्टी भएसँगै साथीहरूले सोध्ने प्रश्नले अझै पनि हामीले हाम्रो परिवारमा शाकाहारी खाना बारेमा जानकारी दिनु भएको छैन ।

खाना जुन खाए पनि दिने भनेको स्वास्थ्यलाई फाइदा हुनुपर्छ । आफ्नो विचार हो, जसलाई जे मनपर्छ, चाडवाडमा त्यही अनुसार खानेकुरा खाईन्छ भन्ने कुरा सबैले बुझ्ने हो भने मासु विना दशैँ आउँछ र कसैले भन्ने थिएनन् होला । बर्ष दिनमा एकपल्ट आउने हिन्दू धर्मको सबैभन्दा ठूलो चाडपर्व कसैको बिरोध होइन आफ्नो तरिकाले आफूलाई जसरी सहज हुन्छ त्यसरी नै मनाउनु पर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button