यति लामो अवधिसम्म यी ‘अरु, सबैजना र समाज’ कहाँ थिए ?

अरूले के भन्लान् ?

सरिता शर्मा

धेरै दिनपछि मेरी प्रिय सखी शैलीसँग बसेर कुरा गर्ने मौका मिल्यो । ऊ आफ्नो जीवनको यथार्थ कथा मलाई सुनाएर मन हलुका गर्ने गर्छे । आज पनि उसले यो क्रम अघि बढाउँदै बोल्न सुरु गरी !

प्राय आफन्तहरु भेट भयो कि उमेरको बारेमा कुरा गर्न सुरु गरिहाल्छन् । कसको छोरो पहिले जन्मेको कसकी छोरी पछि जन्मेकी आदिआदि । यस्तै एक जमघटमा आमाकी दिदी पर्नेले मलाई सोधिन्, ‘कति वर्ष भइस नानी ?’

केहि नसोची मैले भनेँ, ‘खै म कहिले कहाँ जन्मेको मलाई त याद नै छैन, त्यो त तपाईंहरूलाई थाहा हुनु पर्ने होइन र ?’

‘ए ! हो त ! दिपकभन्दा एक वर्ष कान्छी होस् अनि मेरी छोरीभन्दा एक वर्ष जेठी ।’

मैले भनेँ, ‘हामी त सङ्गै खेलेर हुर्कियौं । जेठा भनेर चिनाएकालाई दाजुदिदी भनियो, कान्छा भनेर चिनाएकालाई भाइबहिनी भनियो । तर को कहिले जन्मेका भन्ने थाहै भएन ।’

आमाहरु फेरि जैविक उमेरको हिसाबकितावमा ब्यस्त भए । म भने सोच्न थालेँ, ‘मान्छेको वास्तविक उमेर कहिलेबाट गन्न सुरु गर्ने ? अरूले बताएको तिथीमितीबाट सुरू गर्ने कि आफूले बाँच्न थालेपछि बाट सुरू गर्ने ?’

उनीहरूले भने अनुसार मेराे उमेर करिब पाँच दशक भएछ । तर आफूले बुझेर बाँच्न थालेको त पाँच वर्ष पनि पुगेको रहेनछ । अरूको हरेक निर्देशन र निर्णयलाई शिरोपर गरी बिताएको समयलाई नै आफनो जीवन मान्ने कि आफूले बुझ्न थालेपछिको समयलाई ? किनकी विगत केहि बर्षअघिदेखि आफूभित्र एक विद्रोही स्वभावले जन्म लिदै गरे जस्तो लाग्छ । यो विद्रोही अरूका हरेक आदेशको पालना आँखा चिम्लेर गर्न मान्दैन । आज्ञाकारी स्वभावकाे व्यक्तिभित्र हुर्कदै गरेको यो विद्रोही स्वभावका कारण धेरै आलोचना, अप्ठ्यारा र अपमान समेत झेल्नु र भोग्नु परिरहेको छ अहिले ।

केहि बर्षअघि जब मैले अनुभव गर्न थालेँ कि मभित्र एक विद्रोही स्वभावले जन्म लिन सङ्घर्ष गर्दैछ तब गम्भीर रूपमा सोच्न बाध्य भएँ । अब के गर्ने ? पुरानै परिचयलाई निरन्तरता दिँदै सहज (?) मार्गमा चलेर अस्तित्व विहिन हुने वा विद्रोही व्यक्तित्वलाई जन्म दिएर सङ्घर्षको कठिन मार्ग चुनेर स्वअस्तित्वको रक्षा गर्ने ? पुरानो बाटोमा हिँड्ने हो भने आफूभित्र जन्मदै र हुर्कंदै गरेको विद्रोही भ्रूणको हत्या गर्नु जरुरी थियो । यदि ‘विद्रोही व्यक्तित्व’लाई चुनेर परम्पराको धारभन्दा अलग बाटोमा हिँड्ने हो भने पुरानो परिचयको अन्तिम संस्कार गर्नु आवश्यक थियो । किनकी अहिलेसम्म बाचिआएको (?) सामाजिक जीवनमा बिद्रोही भ्रूणले जन्म लिन सक्ने कूनै सम्भावना नै थिएन । त्यसैले दुई मध्ये कुनै एक निर्णय लिनु जरुरी भइसकेको थियो ।

मैले आफूले धेरै सोच विचार गरें अनि केहि आफन्तहरु (?) सँग पनि सल्लाह गरें । ९९.९% बाट पुरानै बाटोमा चल्नु पर्ने सल्लाह पाएँ । विशेष गरी सबैबाट पाएको सल्लाहको निष्कर्ष एउटै थियो, ‘अरूले के भन्लान्, समाजले के भन्ला ?’ म पनि सोच्न बाध्य भएँ, ‘अरूले के भन्लान्, समाजले के भन्ला ?’

फेरि बिस्तारै विगत साढे तीन दशकदेखिका मेरा भोगाइहरु चलचित्रका दृश्य झै बन्द आँखा र खुला दिमागले नियाल्न थाल्यो । पहिलो भाग तीन दशक अघिको, दोस्रो भाग दुई दशकअघिको, फेरि १५ बर्षअघिको, अनि दश बर्षअघि, पाँच वर्षअघि हुँदै तीन बर्षअघिसम्मका मुख्य मुख्य दृश्यहरु मन र मस्तिष्क दुवैले राम्ररी नियाल्यो । निकै समय लिएर पटक पटक नियाल्यो । अनि एउटै वाक्य गुन्जियो, अरूले के भन्लान् ? समाजले के भन्ला ?’

फेरि बिस्तारै आफू भित्रबाट अर्को आवाज आएझैं लाग्यो, यति लामो अवधिसम्म यी ‘अरु, सबैजना र समाज’ कहाँ थिए ? यिनीहरूले किन केहि भनेनन् त्यति बेला ? एउटी १३ तेह्र वर्षे अबोध बालिकामाथि एकपछि अर्को गर्दै अन्याय र अत्याचारको सिलसिला चलिरहँदा ती अरु सबै कहाँ थिए ? त्यो समाज कहाँ थियो ? सबै जना अन्धा भएका थिए या बहिरा ? कि केवल रमिते बनेर तमाशा हेरिरहेका थिए ? यति लामो अवधिसम्म देखेर पनि केहि नदेखेझै, सुनेर पनि नसुनेझैं, सहयोगको याचना गर्दा मुन्टो अर्कातिर बटार्दै ‘तेरो भाग्य नै त्यस्तै रहेछ’ भन्दै नैतिक जिम्मेवारीबाट पन्छिदा यो समाजलाई लाज लागेन ? तैंले सहयोग र प्राण रक्षाका लागि गुहार माग्दा समेत हलुका रूपमा लिने समाजबाट के अपेक्षा गर्छेस् ? सहयोगका लागि उठनु पर्ने केही हातहरू ताली बजाएर मनोरञ्जन लिँदै थिए भने कोहि तेरो घाइते जीवनमा मौका यहि हो भने झै वचन र अपमान को बाणले प्रहार गर्नमा ब्यस्त थिए ।

जीवनको यस यथार्थ चलचित्रले मस्तिष्कलाई धेरै दिनसम्म रन्थन्याई रह्यो । अनि मैले आफूलाई मानसिक रूपमा बलियो बनाउँदै एक विद्रोही स्वभावलाई मूर्त रुप दिने निर्णय गरें ।

यति भनेर मेरी सखी शैली आँखा चिम्लेर केही सोच्न थाली । मैंले सोधें, ‘अनि के भयो ?’

उसले भनी, बाँकी अर्को भेटमा है !’

क्रमश:


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button