पाल्पाको सत्यवती ताल, जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ

केशवराज आचार्य
सिभिल ईन्जिनीयर

अलि पहिलेको पुस्ताले हाजिरीजवाफ लगायत अन्य त्यस्तै खाले अवसरमा प्राय: सामना गर्ने एउटा प्रश्न हुनेगर्थ्यो, “पाल्पा जिल्लामा रहेको तालको नाम के हो ?”

उत्तर थाहा नहुने पनि सायदै कोही हुन्थ्यो, “सत्यवती ताल” ।

लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तिनाउ गाउँपालिका वाडा नं. ४ स्थित सत्यवती ताल धार्मिक आस्थाको केन्द्रपनि हो । कार्तिक पूर्णिमाका दिन तालको वरिपरि बाँस र पातीका लिंगा गाडिएका तथा हजारौं भक्तजनहरुलेभीडमा चिच्याउँदै र भाकल गर्दै जंगलको बीचमा रहेको तालको परिक्रममा गरिरहेका छन् भने त्यो सत्यवतीबज्यैको बासस्थान “सत्यवती ताल” हो भनेर सहजै अनुमान गर्न सकिन्छ ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण मानिन्छ । करीब १,४००मीटरको उचाइमा रहेको ताल क्षेत्रमा सधैँ चिस्यान रहने हुँदा शितल हावा चल्ने गर्दछ । करीब चार रोपनीक्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र वन, वातावरण र जैविक विविधताको हिसाबले तथा चुरेको सीमसारक्षेत्रमा रहेका कारणले पनि महत्वपूर्ण मानिन्छ । तालको छेउमा बाजेबज्यैको मन्दिर छ । तालको वरिपरिघुम्नका लागि भक्तजन र पर्यटकका लागि व्यवस्थित गोरेटो पनि बनाइएको छ । सत्यवती ताल क्षेत्रमाबाजेबज्यै दुवैको मन्दिर रहे पनि विशेष गरी बज्यैसँग चिच्याएर वर माग्दा प्राप्त हुने धार्मिक विश्वास छ ।

मन्दिरमा वा पूजाआजा गर्दा देवी देवतासँग मनमनै ‘वर’ माग्ने चलन बढी छ । तर सत्यवती ताल क्षेत्रमा रहेकीबज्यैले सुन्दिनन् भन्ने जनविश्वास रहेकाले चिच्याएर ‘वर’ माग्ने चलन छ । ताललाई तीन पटक घुम्दै चिच्याएरवर मागिन्छ । वर माग्न र सत्यवती बज्यैको दर्शन गर्न जाने भक्तजनले बाँस र पातीको लिङ्गो आफूसँगै लिएरजान्छन् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको छ । तालको छेउमा गाडिएकोलिङ्गोको पूजा गरे पछि बज्यैको मन्दिरमा पूजा गर्ने र दर्शन गरी टीका ग्रहण गर्ने गरिन्छ । त्यहाँ बोका, कुखुरा, हाँस, राँगाको बली चढाउने पनि गरिन्छ तर परेवालाई चाहिँ उडाउने चलन रहिआएको छ ।

पहिले रातिमा मात्र पूजा गरिन्थ्यो । त्यसैले अँध्यारो भए पछि तालमा पुग्ने, राति पूजा गर्ने, मेला भर्ने र उज्यालोनहुँदै फर्किने गर्नुपर्थ्यो । वि. सं. २०५२ सालमा कार्तिक पूर्णिमाका दिन पहिलो पटक त्यहाँ जाने मौका मिल्दाअँध्यारोमा सिद्धार्थ राजमार्गको दोभान बजारबाट करिव २-३ घन्टा अप्टेरो बाटो हिँडेको, रात भरीको अनिँदो, चिसो भगाउन सबैले बालेको आगोको धुवाँ तालको सानो उपत्यकामा रुमल्लिएर आँखामा फुलो परेको अनिभोलिपल्ट बिहान अँध्यारोमै फर्केको हिजो झैं लाग्छ । तर पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागिदिनमा समेत पूजा हुन थालेको तथा तीन दिने धार्मिक मेला लाग्ने गरेको छ ।

वि. सं. २०५२ सालमा राति मेलामा जाँदा एउटा गज्जबको रमाइलो किस्सा पनि दिमागमा ताजै छ । रातिएकजना महिलाले चिच्याएर वर मागिन्, “बज्यै मलाई एउटा घोर्ले छोरो दिनुहोस् । अर्को साल हजुरकोमन्दिरमा बोकाको बली चढाउँछु” ।नजिकैको एकजना उरन्ठाउलो पुरुष चिच्यायो, “कस्तो लाटी हौ तिमी । घोर्ले छोरो पाउन पनि देवीसँग चिच्याएर हुन्छ त ?” धन्न अँध्यारो भएकाले न त त्यो चिच्याउने उरन्ठाउलोमान्छेको अनुहार, न त त्यो सुन्दा सायद लाजले भुतुक्क भएकी ती महिलाको अनुहार नै देख्न सकिन्थ्यो ।

सत्यवती ताल जानका लागि बुटबल तिरबाट आउनेलाई केराबारी र झुम्साबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्नेहुन्छ । करिव छ किलोमिटर जंगलको उकालो बाटो हिँडेर सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । झुम्सादेखि करीबदुई घण्टामा सत्यवती पुग्न सकिन्छ । पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न पनि पाल्पा वुटवल सडककोचौबीस किलोबाट करिव दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ । मेला अवधिभर भक्तजनकाकारण बाटोमा भीड हुने भएकाले यातायातका साधन सञ्चालनमा रोक लगाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button