
जापान: आँखा वरिपरिको डार्कसर्कल देखेर रुन मन लाग्थ्यो
पहिलो अध्याय पढ्नु भयो । अब दोश्रो अध्याय ।
रुपा अधिकारी
जापानको सिस्टमलाई अनुकरणीय मान्न थालियो । सायद यहि कारण होला, जापनिजले रुचाउन थाले । जापनिज लाइफ़ मा घुलमिल हुन थालियो ।
जब कामहरू बढ्न थाले तब मनमा असन्तुष्टिहरु बढिरहेका थिए किनकी विद्यार्थीले नियम अनुसार गर्ने काम दिनको जम्मा ४ घण्टा तोकिएको थियो । म भने बिहान बेलुका गरी दिनको १०, १२ घण्टा काम गर्दै थिएँ । शनिवार, आइतबार र सरकारी बिदाको दिन त झन १५ घण्टासम्म पनि काम चल्थ्यो, जुन लिगल थिएन । जुन सुकै बेला निगरानीमा परेर भिषा क्यान्सिल भई सदाको लागि नेपाल फर्काइनुपर्ने रिस्क म मोलिरहेकी थिएँ ।
केहि मानिस धेरै काम गरेको कारणनै नेपाल फर्काइएको समाचार सुनिरहे पनि कामलाई प्राथामिकता दिइरहेका थियौं । मरीमरी काम गरे पनि जम्मा मासिक २लाख ५० हजारसम्मको रुपैयाँ हाराहारीमा काम चलेको थियो । समर बिदा १ महिना क हुन्थ्यो कलेजको । त्यो समय झन् बिहान, दिन र रात काम गर्दा तलब बढी पाइने लोभमा सकिनसकी काम गरियो । दुई टाइम काम गर्ने अनि कलेज जाने गर्दैगर्दा सुत्ने समय कम हुँदै जान थाल्यो । बिहान ४ः३० मा उठ्ने, काममा जाने, काम सकी घर आउने अनि पुनः दिनमा कलेज जाने, कलेज सकी पुनः ६ः देखि १०/११ बजेसम्म काम गर्ने । कलेज बिदाको समय आयो दिनभर काम, काम । अहो, लाइफ यसरी नै चल्न थाल्यो । मिनेटमिनेटको कति महत्व छ विदेशमा । घडीको सुई अनुसार र रोबर्ट झैँ चल्ने मानिस । सुत्ने समय कम भई आँखा वरिपरिको डार्कसर्कल देखेर रुन मन लाग्थ्यो तर काम भने घटाउन मन मानेन ।
त्यो समय एक लाख भनेको करोड जस्तो थियो । तसर्थ आफूले बोकेर आएको ऋण तिर्ने र भाइबहिनीको लागि पनि एक उदाहरण बन्ने कोशिस नै ठुलो सपना थियो मेरो लागि । खै पुरा गरेँ ? गरिनँ ? त्यो समयलाई थमाइदिएँ । केटी मानिस भएर विदेशी भूमिमा मुकाविला गर्नु ठुलो चुनौती थियो । अवसरको खोजीमा मलाई प्रयोग गर्न खोज्नेको कमी थिएन । तर म आफ्नो आत्मविश्वासमा आँच आउने र परिवारको इज्जतमा दाग लाग्ने कुनै अनैतिक कार्यतर्फ लागिनँ । आलोकाँचो उमेरमा विदेश पुगेकी म परिस्थितिसँगै निकै परिपक्व बन्दै गएँ ।
विद्यार्थी जीवन अत्यन्त कष्टकर थियो । पैसाका लागि महिना दिन काम गर्यो, तलब बुझ्यो, नेपाल पठायो । कलेजलाई फी तिर्यो । खाता रिक्त । कहिलेकाँहि कलेजबाट भ्रमण जानु पर्दा बल्लबल्ल बिदा लियो अनि घुम्न गयो । जापानको रमणीय ठाउँ देख्न पाउँदा मन प्रफुल्ल हुन्थ्यो । फोटो खिच्नमा पारखी म । फोटो प्रिन्ट गर्ने काममा भने खाना खर्च कटाएर पनि मन खोलेर गर्थे ।
त्यो समय केटी मानिस अलि अलि मात्र भेटिन्थे, विद्यार्थी भई जाने, जसमध्ये म नितान्त एक्ली थिएँ, मेरो कलेजको नेपाली छात्रामा । मलाई धेरै असहज परिस्थितिसँग सामना गर्नु त परेको थियो नै तर पनि आफ्नो लागि आफै बाँच्न सिकाइसकेको थियो परिस्थितिले । सोझी गाँउले केटी त्यो समय म मेरो एरियाकै प्रथम थिएँ र जापान जानेमा उदाहरण बनेकी थिएँ । विस्तारविस्तार आफ्नो गाउँठाउँको धेरैलाई जापानमा भेट्न थालेँ । अंकलअण्टी पनि आउनु भयो । तब मैले परीवारसँग बस्ने अवसर पाएँ अनि नेपाल, आफन्त र साथीभाइको यादमा विचलित म सम्हालिन पुगेँ ।
अरुको देशमा गएपछि त्यहिन्को नियम कानुनमा चल्नुपर्छ भन्ने मेरो मान्यता सधैंभर रह्यो । काम होस् या कलेज टाइममै पुग्ने । कारणवस् ढिला हुने भए झैँ लाग्यो भने पूर्व जानकारीको लागि फोन गरिहाल्ने कारण जापनिजहरूको दृष्टिमा म इमानदार थिएँ । प्रायःजापनिजहरु मानिसहरुसँग त्यति घुलमिल हुँदारहेनछन्। अरुलाई डिस्टर्व गर्नु हुन्न भन्ने धारणाका उनीहरू बिना काम कोहिसँग बोल्दैनन् । सहयोगी भावनाका उनीहरुलाई बाटो नचिनेर सोध्दा झनझट नमानी पुर्याइदिन्थे । मानिसलाई प्रोत्साहित गर्ने, सहयोग गर्ने, मिठो र नरम बोलीका जापनिजहरु सरल हुन्छन् । ट्रेनमा एकै सिटमा बस्दा पनि उनीहरु बोल्दैनन् । अरुलाई नछोइ बस्ने उनीहरु अनुशासन मान्ने गर्छन् । साथीभाइ भएर खाने, हिँड्ने गरे पनि प्रायः उनीहरु आ-आफ्नो खर्च गर्न रुचाउँछन् ।
दुई वर्षको जापनिज भाषाको कोर्ष पुरा गरी म डिप्लोमाको लागि सिस्टम इन्जिनियरिंग कलेज भर्ना भएँ, त्यो कलेजमा पनि नेपाली छात्रा म एक्लै रहेँ । मलाई कता कता एक्लो फिल हुन्थ्यो । तर पनि नेपाली केटा साथीहरु हुँदा र नेपालीमा बोल्न पाउँदा कलेज अवधि रमाइलो थियो । शिक्षकहरुले नेपाली विद्यार्थीलाई रुचाउनु हुन्थ्यो । म एक्ली छात्रा भएको कारण बिशेष माया पाएकी थिउँ । कलेजको लाइफ़ पनि सोही तालिका अनुसार बित्यो ।

एउटा संस्मरण अझै ताजा छ । हामीलाई भाषा कलेजमा पढाउने जापनिज म्यामले आफ्नो विवाह पार्टीमा हाम्रो नेपाली ग्रुपलाई बोलाउनु भयो । हामी सबै मिलेर उहाँको लागि गिफ़्ट लिएर गएका थियौं । मैले लेँगा लगाईगएकी थिएँ । विवाहलाई रमाइलो बनाउन इन्ट्रान्स गेटमा अटोमेटिक क्यामरा जड़ान गरी विवाहमा आउने सम्पूर्णको फोटो इन्ट्रान्स परिसरमा टाँस्ने र उक्त फोटो हेरेर जो आजको स्पेसल लाग्छ, उस्को फोटोमा ब्लु स्टिकर लगाउने नियम राखिएको थियो । टाँसिएको स्टिकरको आधारमा प्रतियोगी छनोट र उपहार समेतको व्यवस्था रहेछ । मैले लगाएको पोशाक राम्रो लागेर होला सायद, प्रायःको ध्यान ममाथि परेछ ।
विवाह समारोहबाट सम्पूर्ण कुरा सुनाउँदै आजको विजेता भनी उपहार लिनको लागि र आफ्नो धारणा राख्न मलाई कार्यक्रम मण्डपमा बोलाइयो । जापनिजहरुको त्यो भिडले मलाई उपहार दिँदै माला लगाइदिँदा म धेरै खुशी र भावुक भएँ । उपहार इलेक्ट्रिक भिडियोगेम थियो । त्यो मीठो याद बनिरह्यो ।
सहज-असहज परिस्थितिलाई सामना गर्दै डिप्लोमा सकियो । पढाईलाई सिमित राखी मैले पनि विद्यार्थी भिषा परिवर्तन गर्ने निर्णय गरेँ । वर्कपर्मिट लिई बाहिर काम गर्नुभन्दा आफ्नो ब्यवसाय नै राम्रो भन्ने सबैको राय सल्लाह अनुसार मैले पनि सोहि अनुरूप पाइला चालेँ । आफ्नो ब्यवसाय गर्न पहिले त कम्पनी दर्ता गर्ने र त्यो कम्पनीबाट के ब्यवसाय संचालन गर्ने भन्ने महत्वपूर्ण हुने हुँदा मैले परिवार, भाइ, साथी, अंकल र श्रीमानको आर्थिक सहयोगमा रेष्टुरेन्ट ब्यवसाय गर्ने निर्णय गरेँ । कम्पनी दर्ता भयो । हाम्रो कम्पनीको नाममा रेष्टुरेन्ट किनियो । भिषाको लागि सम्पूर्ण कागजात तय गरी सम्बन्धित जापनिज वकिलले इमिग्रसनमा बुझाए । म भिषाको पर्खाईमा रहेँ ।
रेष्टुरेन्ट ठिकै चलेको थियो । केही समयपछि मेरो भिषाको नतिजा आयो । ममाथि पहाड नै उल्टिरहेको थियो । इमिग्रेसनमा भिषाको लागि बुझाईएको कागजातहरुमध्ये कम्पनीमा लगानी गरिएको पैसाको बलियो प्रमाण नभेटिएको (जुन पैसा मैले साथीभाइ, अंकल र श्रीमानबाट जम्मा गरी खातामा चाहिने जति पुर्याएकी थिएँ, त्यो पैसा बैंकबाट किन ट्रान्सफर भएन ? जम्मा गरिएको माध्यम वैधानिक भएन) भनी मलाई एक महिनाको अवधि दिई सो समयभित्र सदाको लागि नेपाल फर्कनु भनि जम्मा एक महिनाको भिषा दियो । म धेरै विचलित भएँ । के गर्नु कसो गर्नु भयो । कम्पनी रजिष्टर, रेष्टुरेन्टमा गरिएको लगानी र अन्य खर्च सम्पूर्णको कागजात र प्रमाणको बलियो आधार बोकेर म इमिग्रेसन गएँ र मेरो सम्पूर्ण लगानी मलाई फिर्ता भएमा म एक हप्तामै नेपाल फर्कनेछु भनी मैले आफ्नो लगानी फिर्ताको माग राखेँ । तब मलाई इमिग्रेसनले कलेज साक्षी राखी केही कागजात तय पार्न अनुरोध गर्यो । मैले सोहि अनुरूप गरेँ । मलाई ६ महिनाको अवधि दिईयो । सो अवधिभित्र मैले पुन अर्का जापनिज वकिलको सहयोगमा पुन भिषा अप्लाई गरेँ । ती वकिललले मेरो सम्पूर्ण केश अध्यन गरे र सोहि कागजातलाई प्रमाणित गरी छाडे । र, मैले विजनेस भिषा पाएँ । तत् पश्चात भिषामा कहिले पनि समस्या आएन । विद्यार्थी जीवनपछिको कार्यकाल केही हदसम्म आरामदायी रह्यो ।
जापानमा धेरैजसोले गर्ने ब्यवसाय नै रेष्टुरेन्ट थियो । रेष्टुरेन्ट खोल्ने नेपालबाट कुक ल्याउने, उसलाई ५-७ महिना काम दिने अनि उसलाई निकाली पुन अर्कों कुक हाल्ने र आफ्नो लगानी उठाउने प्रलोभनमा थियो समुदाय । हामी भने यो प्रलोभनमा परेनौं । हामीले लगभग दुई-तीन वर्ष मात्र ब्यवसाय चलायौं । उहाँ रेमिट्यान्स कम्पनीको शेयर होल्डर हुनुभयो । राम्रो नै चलिहेको थियो । तर, उहाँ (श्रीमान)को ‘आफ्नो देशमा जानुपर्छ, आफ्नो देशमा नै भविष्य खोज्नुपर्छ, विदेश त हेर्न आउने हो, केही समय पो बस्ने त, यतै पलायन हुने होइन’ भन्ने चाहना तीव्र थियो । मलाई भने आफ्नो कर्मभुमि, यति सुन्दर हावापानी र सुखसुविधाले लालायित पारेको कारण कर्मदेश छोडी नेपाल फर्कने इच्छा थिएन ।
मेरो पहिलो सन्तानको रूपमा छोरी आइन् । हुर्कदै ठुली भईन् । उनको स्कूल भर्ना हुने समय आयो । तब मन दोमन भयो । छोरीलाई नेपाल राख्ने या जापान ? नेपाल राखी आफु जापान कसरी बस्ने ? जापान नै राखी पढाऊँ त जापनिज माध्यमको पढ़ाईले भोलि नेपाल फर्काइ कसरी लाने ? देशको बारेमा उनीहरुले के सिकुन् ? भोलि पढाई न यताको न उताको हुन्छ । यहि दोमनदोमनमा छोरी हुर्काइयो । र, दोश्रो सन्तान पनि भएपछि भने अब जापान छोड्नु नै पर्छ । विदेशमा जति बस्यो, उति मातृभूमि फर्कन नसकिने लालच बढ्ने छ भनी उहाँले निर्णय लिनुभयो । नेपाल फर्केर आफ्नो देशमै दुःख गरे एकदिन अवश्य राम्रो हुनेछ । उहाँको सोचलाई सार्थक गर्न लगभग १३ वर्ष बसेको कर्मभुमिलाई छोडी हामी नेपाल फर्कियौँ ।
हुन त उच्चस्तरका परीवारका सन्तति विदेश पलायन हुनु परेको छैन । आखिर मध्यमवर्गीयका सन्तति विदेशी भुमिमा गई आफ्नो भविष्य खोजिरहेछन् । धनी, हुनेखानेहरु देशमा रजाई गरिरहेछन् । तसर्थ देशमा नै रोजगारीको अवसर पाएमा कोही पनि विदेश पलायन हुने थिएनन् । जापानमा रहेका अधिकांशको मन अस्थिर छ । जापान बसेर सन्ततिको भविष्य सुनिश्चित छैन । नेपाल फर्कुँ त गएर के गर्ने ? दोधार मा ७० प्रतिशतको मन आक्रान्त छ । हुनेखाने, टाठाबाठा र ओहोदामा पहुँच हुनेको हालिमुहाली छ नेपालमा तर जापान फरक देश हो, जहाँ सबैलाई एकै तराजुमा जोखिन्छ । स्वदेशी र विदेशी भनी भेदभाव गरिन्न । भाषा अनुसार सबैले काम पाउँछन । जनता राज्यलाई आम्दानी अनुसार कर तिर्छन र कर तिरेबापत यथेष्ट सुविधा लिने गर्छन् । वनजंगल, पार्क जतासुकै जाने बाटोहरु पिच छन् । स्वास्थ्य र शिक्षा निशुल्क छ । असक्तहरुलाई हतोत्साहित नगर्न राज्यले सोहि अनुरूपको ब्यवस्था गराई दिएको छ । असक्त भत्ताहरु दिएको छ । सरकार परिवर्तन भए पनि राज्यको कार्य प्रणालीले जनतालाई चपेटामा पर्न दिँदैन । जो सरकार आओस्, देश चलाइने सिस्टमलाई ब्यवस्थित गरेको छ । यस्ता यावत कुराहरुले गर्दा नेपालमा झैँ जापानमा सरकारको आलोचना गर्ने र सरकारविरूद्ध आन्दोलन गर्ने कार्य हुँदैन । सरकारलाई आँखा चिम्म गरेर विश्वास गरेका हुन्छन् जनताले । यसरी जनताको मन जितेको सरकार आफ्नो कार्यकाललाई सफल रूपले पूर्ण गर्ने हुँदा जापान नियम कानुनमा धेरै राम्रोसँग परिचालित छ । देशमा कुनै संकट आयो भने जापानभरका सम्पूर्ण जनता देशीविदेशी सबैलाई आर्थिक चपेटा नहोस भनी सरकारले आफ्नो तलब काटेर पनि राहत दिनेगर्छ । आर्थिक मन्दीको बारे पूर्व तयारी गर्ने हुँदा जापानमा सरकारको आलोचना कम र सरकारलाई प्रोत्साहन बढ़ी मिल्ने गर्छ । जापानमा सम्पूर्ण कामहरू नियम अनुसार चल्ने हुँदा ढिलासुस्ती हुने अवस्था छैन । निर्धारीत समयमा जनताले सुविधा पाई सक्छन् । पावरको भरमा काम लिनु पर्दैन । मानिसहरु धेरै नरम र बोलिमा पोलाईट छन् । जहाँ गए पनि जापनिजले आफ्नो कस्टुमरसँग धेरै राम्रो ब्यवहार गर्छन् । भित्र पिरव्यथा जे होस्, अनुहार र बोली नियममै चलेको हुन्छ । अर्थात हाँसिखुशी सेवा गर्छन् ।
जापान अवधिभर म पनि रोबोर्ट् झैं चलेकी थिएँ । जापनिजहरु मेहनतीका जल्दाबल्दा उदाहरण हुन् । जापानमा जुन काम गरिन्छ, त्यो प्रमाण र कानुनी आधारका हुनेगर्छन् । जापनिजहरु आफ्नो साइन गरी गराइने काममा निकै डराउँछन्, भोलि त्यसले कतै आफु नफसियोस् भनेर । जापनिजहरु काममा धेरै सजग रहन्छन् । ९९ प्रतिशतले काम हुने या साँचो कुरा हो भने पनि उनीहरु हामीले झैँ अड्कलका कुरा गर्दैनन्, बाँकी १ प्रतिशत पनि प्रमाणित हुने समयको प्रतिक्षा गर्ने हुँदा जापनिजहरु संसारका नमुना हुन् मेरो नजरमा ।
जापानमा राम्रो पाटोहरु धेरै छन् । जनता जस्तोसुकै काममा आत्मनिर्भर छन् । शान्ति र सुरक्षामा अब्बल छ जापान ।नेपालमा झैँ केटीहरुलाई बाँच्न गार्हो पर्देन । आधारात कामबाट फर्कँदा पनि सुरक्षित छन् । कोहिले नराम्रो नियत राखी पिच्छा गरे भने पुलिसको नाम लिइदिए पुग्छ । कानुनले चेलीहरुलाई प्राथमिकता दिएको हुँदा उनीहरुको प्रमाण बलियो हुनेगर्छ । तसर्थ केटीहरुलाई ठाडो शिर गरी हेर्ने, गिज्जाउने प्रचलन देखिनँ मैले । बरु नेपालीहरु नै जहाँ पुगे पनि आफ्नो स्वभावको परिचय दिन्थे । जाँडरक्सी खाने अनि अभद्र बोल्ने नेपाली नेपालीबीच झगडा भएको र ट्रेनको लिकमा साइकल लगिराखीदिने समाचार सुन्नुपर्दा नरमाईलो लाग्थ्यो ।
जापानको व्याख्या जति गरे पनि अधुरो हुन्छ । समग्रमा जापानमा आफ्नो भविष्य खोजी जानेलाई म भन्न चाहन्छु, जापानमा देख्नेसिक्ने कुरा र अवसरहरु धेरै छन् । सुन्दर सपना लिएर जानेहरू कर्मठ बनेर जानु । जस्तो परिस्थिति आइपरे पनि सामना गर्ने र विचलित नहुने मनसाय बोकेर जानु । सुरुवाती दिन जुन देश गए पनि कठिन हुने हुँदा आफु संयमित हुनु । राम्रो कुराहरुको कपि गनु । नराम्रो तर्फध्यान नदिनु । जापानमा मेहेनत गर्यो भने सुवर्ण अवसर छन् । तर विशेष गरी पढ्न जानेहरुले पैसाको धेरै मोह नगर्नु । सुरूवाती दिनबाट नै पैसाको पछि लाग्यो भने भविष्य अन्धकार हुने हुँदा अभिभावकले पनि आफ्नो सन्तानको सपना पुरा गर्न खर्चिएको धन उनीहरुका भार नबनोस् भनेर सोच्नु ।
प्लस टु सकी विदेशिने जमात बढ़ेको छ । त्यो कलिलो मस्तिष्कले जापान पुगेपछि नेपालमा हुँदा कल्पनामा लालायित भएभन्दा अलग परिवेशसँग सामना गर्नु पर्ने हुनेछ । र, उनीहरुले फ्रस्टेसनको शिकार भई गलत कदम चाल्नसक्छन् । मैले जापान हुँदा विद्यार्थीको मुखबाट सुन्ने गर्थेँ, महिना मर्यो कि घरमा खालि पैसाको कुरा गर्छन् फोन गर्न मन लाग्दैन । विदेशमा पैसाको बोट हुन्न । निर्धारित कामबाट पाप्त रकमले आफ्नो खर्च नै धौधौ हुन्छ । तसर्थ पैसाको मात्र आशा गर्नुभन्दा पनि उनीहरुको भविष्यको लागि उर्जा दिनुहोसस् । ताकि तपाईंका सन्ततिले उचित शिक्षा लिई सुवर्ण अवसर पाउन सकुन् ।
सन्ततिलाई पैसाको लागि माध्यम नबनाउनुहोस् । यदि आम्दानीको लागि पठाउने सोच हो भने १०-२० लाख खर्च गरी जापान पठाउने पैसा देशमै लगानी गरियो भने देशमा नै राम्रो हुन सक्छ । सरकारले पनि विदेश जाने र उता पलायन हुनुपर्ने बाध्यतात्मक परिपाटिको अन्त्य गर्न क्रियाशिल भई योगदान दिनु जरूरी छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



