यता ‘क्रान्तिकारी’ थिए अनि म ‘क्रान्ति’ गर्न जापान गएँ

रुपा अधिकारी

देशलाई ‘क्रान्तिकारी’को द्धन्दले आक्रान्त पारेको थियो । जीवनका अनगिन्ती सपनालाई देशको असहज परीस्थितिमा पुरा गर्न अत्यन्त कठिन बनेको थियो समय । आफ्नो सुनौलो सपनालाई पूर्ण गर्ने अभिलाषा बोकेर कयौँ युवाहरु विदेशीने लहर चलिराखेको अवस्थामा एक आलो काँचो मस्तिष्कसँग विदेशिनेमध्ये म पनि एक थिएँ । विशेषत: अंकल र बुवाको सहयोगले मेरो विदेश जाने सपना सफल भयो ।

सन् २००६, १ अप्रिलमा म विदेशिएँकी थिएँ । तदअनुसार अप्रिलफुलको दिन मेरो जीवनले मसँग नराम्ररी अप्रिलफुल मनाएको त होइन ? के म साँच्चै जापान पुग्छु त ? भन्ने संकोच मानीमानी म हवाई यात्रा गर्दै थिएँ । आफ्नो मातृभूमि, आफ्नो जन्मदाताको काख र साथीभाइको न्यानो माया छोडी विदेशिनु पर्दाको पीड़ाले मेरो मुटुलाई बेजोडले भक्कानो पारिरहेको थियो । तर पनि विदेश जाने सुवर्ण अवसर पाएकोमा मेरो आलोकाँचो मन र मलाई लालायित पारिहेको थियो ।

तर, नेपालदेखि जापानसम्मको दुरीभर मेरो आँखा ओभाना थिएनन् । त्यो दिन म किन त्यसरी रोएँ, मलाई नै थाहा थिएन । अवसर पाएको खुशीभन्दा पनि अवसरले मलाई सहि मार्गनिर्देशन गर्ला या नगर्ला ? अवसर प्राप्तिसँग म परिवारलाई खुशी दिन सक्छु, सक्दिन होला ? यावत कुराहरुले तरंगित गरिरहेको थियो मलाई ।

जापानको भिषा लगाई हामि एकै कलेजको लागि ५-६ जना संगै गएका थियौँ एप्रिल इन्टेकमा । जसमध्ये केटी म एक्ली थिएँ । तसर्थ पनि होला, त्यो दिन मेरो मनमा अनेक कुरा खेलिरहेको थियो । एक्लो महसुस भइरहेको थियो । म रोएको देखेर सँगै गएका केटा साथीहरु पनि दुःखी भई मलाई सम्झाई रहेका थिए। आकाशको बाटो पहिलो पल्ट भएर नै होला, प्लेनमा म डराईरहेँ । हाम्रो ट्रान्जिट चाइनामा परेको थियो ।

काठमाण्डौँको ग्रामीण भेगमा जन्मिएकी म थानकोट कटेर कतै नगएकी । बाफ रे बाफ ! कति ठुलो ! राम्रो अनि सफा देश चाइना ! कति विकास ! ढोकाहरू अटोमेटिक ! जब मानिस नजिक जान्छन्, आफै खुल्छ । धाराहरू हात थापेपछि आफै खुल्छ र बन्द हुन्छ । म त यो गगनचुम्बी विकास देखेर अचम्ममा परेँ । हातमा डोर्‍याई हिँडेको ह्यान्ड क्यारी इलेक्ट्रिक भर्‍याङमा अड़केर क्या दुःख दियो । सायद त्यो इलेक्ट्रिक भर्‍याङ पनि पहिलो भएर होला, म हिँड्न जानिनँ । त्यति बेला मलाई हामी नेपाली त सारै पिछडिएको देशमा पो जन्मेका रहेछौ । हामीलाई त विदेशीले पाखण्डी सोच्ने होलान् । यस्तो राम्रो देश । स्वर्ग नै यहि हो जस्तो लागेको थियो।

चाइना बाट पुन प्लेन चढियो अनि करिब करिब जापान पुग्न लाग्यो भनि अनाउन्स गरियो । तब झ्यालबाट चियाउन थालेँ जापान कस्तो होला भनी ।समुन्द्रको माथिमाथि प्लेन उडेको थियो । कतै यहिँ खसिने हो कि भन्ने डर मनमा थियो तर पनि समुन्द्र पहिलोपल्ट देखेको । अहो ! कति रमाउन थाल्यो नि मेरो मन ।

यसरी म जापान पुगेँ । जापान त झन कल्पना गरे भन्दा पनि सुन्दर र विकसित देखेँ । एयरपोर्टमा हामीलाई लिन हाम्रो कलेजबाट प्रिन्सिपल आउनु भएको थियो । भोलि नै कलेजको इन्ट्रान्स । भोलिबाट कलेज आउन आग्रह गरी उहाँ छुटिनु भयो । साथीहरू कलेजको होस्टल बस्ने कारण सरसँगै गए । म एकजना दिदीको रूम पार्ट्नर भई बस्न गएँ । पुगेँ भनी परिवारलाई फोन गरेँ ।

भोलिपल्टबाट कलेजचर्या सुरु भयो । विस्तारविस्तार जापानको दिनचर्यासँग मुक़ाविला गर्न थालेँ । जापनिज भाषा अंग्रेजी भाषाको तुलनामा निकै कठिन थियो । एकै शब्द भए पनि खान्जी (चित्रजस्तो अक्षर) अनुसार फरक अर्थ बोकेको हुँदा खान्जी बुझ्न कठिन । नेपालमा दुईचार महिना पढेर गएको भाषाले मात्र जापनिजसँग बोल्न कठिन । तर जापनिज शिक्षकहरुले उदाहरण दिइदिई बुझाउने शैलीबाट म प्रभावित भएँ । जापानिज भाषामा हिरागाना, काताकाना र खान्जी गरी तीन पाटाहरुको अध्ययन हुन्छन् । हिरागाना जापानको मौलिक लेखन पद्धति हो, जस्को माध्यमबाट लेख्दा भाषा लामो हुने हुँदा भाषालाई छोटो सहज र एक शब्दमा समेट्नको लागि खान्जीलाई प्रयोगमा ल्याईयो । जस्तैः हिरागानामा おかね वखाने (पैसा) लेखिन्छ त खान्जीको रूपमा お金 वखाने (पैसा) लेखिन्छ, जुन शब्दहरु जापान बाहिरबाट आगन्तुक भई आउँछन्, तिनीहरूलाई काताकानामा लेखिन्छ। जस्तै: ネパール नेपारु (नेपाल) । काताकानामा लेखिने शब्द अर्थात आगन्तुक शब्दको खान्जी प्रयोग हुँदैनन् । जापनिज भाषा कठिन त छ तर रमाइलो पनि ।

भावनामा बहने मनलाई काबुमा कसेर एक्लो लडाई चल्न थाल्यो जीवनमा । स्टूडेन्टहरूले जापानको नियम अनुसार आफ्नो दैनिकिको लागि दिनको ४ घण्टा पार्ट टाईम काम गर्न पाउने प्रावधान रहेछ । त्यो काम गर्नको लागि वर्क पर्मिटको आवश्यकता पर्नेरहेछ । त्यसको लागि सम्पूर्ण कागजात कलेजले ब्यवस्था मिलाई अप्लाई गराई दिनुभयो । वर्क पर्मिट बिना लिग़ल्ली काम गर्न नपाईने र वर्कपर्मिट आउन १ महिना लाग्ने रहेछ । तर, रूममेट दिदीले आफ्नो कम्पनीमा लगेर कामको लागि सहयोग गरेको हुदाँ लगभग जापान गएको ५-७ दिनबाट नै मैले बिहानको पार्ट टाइम काम गर्न थालेँ । मेरो कलेज टाईम डे भएको हुँदा म बिहानको काम सकी कलेज जाने गर्थें ।

जापान गएका अधिकांश स्टूडेन्टहरूको पहिलो प्राथमिकता काम रहेको देखेँ । दिनको ४ घण्टाको कामबाट हुने कमाईले आफ्नो दैनिकिलाई ठिक्क हुने । रूम भाडा, दैनिक खर्च, कलेज फि सम्पूर्ण आफुले नै तिर्नुको अलावा नेपालबाट खर्च गरी आएको ऋण समेत थाप्लोमा हुँदा सम्पूर्णले २-३ वटा काम गर्ने रहेछन् । आफु नेपालबाट ऋण बोकेर गएको बाध्यता सबैको थियो । म पनि त्यो समय सम्पूर्ण खर्च गरी ७ लाखको ऋणको भार बोकेर गएकी थिएँ ।परिवारलाई त्यो तिर्नु त आफ्नो दायित्व थियो नै । त्यो भन्दा पनि ठुलो ठुलो अपेक्षाकृत थियो परिस्थिति । पढ़ेर अव्वल बन, राम्रो गर भन्दा पनि धेरै काम गर पैसा कमाउ भनी अपेक्षाकृत परिस्थितिको कारण जापानमा पढ़ाईभन्दा बढ़ी कामतर्फ केन्द्रित थियो सबैको ध्यान ।

यसमध्येकै एक थिएँ म ।मलाई पनि जाबो दिनको ४ घण्टाको कामले मासिक खर्च नै धौधौ पर्न थालेपछि म पनि काम धेरै गरी पैसा कमाउनेतिर लालायित हुन थालेँ । बिहानको काम जेनतेन चलेको थियो । तर जापान पुगेको भर्खरभर्खर । वर्क पर्मिट त एक महिनामा आयो । तर जापनिज भाषा त्यति नआउनाले काम पाउन त कठिन पर्‍यो । शनिवार आइतबार काम गर्‍यो भने धेरै कमाई हुन्छ भन्थे साथीहरू। तर लगभग जापान गएको ५-६ महिना कामले सारै दुःख भयो । आफ्नो भन्ने कोहि थिएन । बल्ल बल्ल काम पाए पनि धेरै टाइम नदिने । भनेको नबुझेर जापनिजको गाली खानु पर्ने जस्ता यावत कुराले पिरोलिराख्यो । तर, पनि परिवारलाई भने काम राम्रो चलेको छ भनी झुटो बोली खुशी पार्न मन लाग्थ्यो । साथीभाइसँग सरसापट गरी पैसा पठाउँदा ऋणको भार कम भयो भनी मन आनन्दित हुने गर्दथियो ।

विस्तारविस्तार भाषामा सुधार हुन थाल्यो । तब पार्टटाइम कामदार मागेको ठाँउ र राम्रो तलब देखेपछि आफै फोन गरी म भ्याकेन्सी भएको ठाउँ कामको लागि इन्टरभ्यु जाने गर्न थालेँ । जापान पुगेको ७, ८महिना बितेपछि कामलाई पछि फर्केर हेर्नु परेन । आफूले काम गर्ने कम्पनीले मेरो मेहनत र ईमानदारीलाई निकै रुचाउन थाल्यो । कामहरु बढ्दै जान थाल्यो । भाषा पनि राम्रो हुन थाल्यो । एकै कम्पनीमा लामो समय काम गर्न थालेँ । म बिस्तारै म्यानेजरको विश्वासको पात्र बनेँ । कम्पनीमा दिनहुँको हिसाबकिताब करीब ६०-७० लाखको हाराहारीमा हुने गर्दथियो, जस्लाई भोलिपल्ट बिहानको निर्धारित समयमा कम्पनीको बैंक अकाउन्टमा डिपोजिट गर्नु र सम्पूर्ण विवरण हेडअफिसमा फ्याक्स गर्नु मेरो जिम्मेवारी थियो । सानोसानो त्रुटि भएमा पनि सबैको प्रमाण जुटाईराख्नुपर्ने कम्पनीको नियमबाट म प्रभावित थिएँ ।

सिस्टममा चल्नु पर्ने हुँदा विवरणहरु तलमाथि हुने ठाउँ नै थिएन । यदि सो भएको खण्डमा सम्पूर्ण डिटेल बुझाउनु र कारणहरू पुष्टि गर्नु पर्दथ्यो । मेरो कम्पनीमा नेपाली कोही थिएनन् । पछि नेपाली आए । भाषा राम्रो छ भने भर्ती हुन्थे ।तर लामो समय कोहि टिकेनन् । काममा लापरवाही गर्ने, जापनिजसँग झगडा गर्ने गर्दा कामबाट अवकाश पाउँथे । म नेपाली भई राम्रो इमेज बनाई बसेकी थिएँ । तर, त्यस्ता नेपाली आउने जाने गर्दा नेपाली यस्ता पनि हुँदा रहेछन् भनी नेपाली कामदारलाई भर्ती गर्न म्यानेजरले रुचाउने थिएनन् । मेरो माध्यमबाट लागिएकालाई भने मेरो ज़िम्मामा भर्ना गर्थे । मैले अनुकूल बनाउने प्रयास गर्थेँ । जापनिजले एकपटक विश्वास मानेको व्यक्तिलाई सधैँ विश्वासको नजरले हेर्ने र माया गर्ने गर्थे त नरुचाएपछि सधै घृणा गर्दथे । सुरुको ५-७ महिना भाषाको कारण निराश मैले जापान बसुञ्जेल जापनिजको माया र विश्वास जितिरहेँ । जापनिज भाषा सामान्य लेख्न र बोल्न जानेपछि र ईमानदार अनि मेहनती भएपछि सबै जापनिजको माया पाइन थालियो । काम नभएर कलेजबाट घर आइ एक्लै रुदै बस्ने म अब आफ्नो कम्पनीमा अरु साथीहरु (सँगै पढ्ने अन्य देशका) समेतलाई काम लगाउन थालेँ ।

जापनिज लाइफ धेरै कष्टकर रहेछ, जहाँ कामभन्दा ठुलो केही नहुँदोरहेछ । आफूले काम गर्ने कम्पनीमा बिदा बस्नु परेमा बिना खबर बिदा बस्यो भने बेस्सरी गाली खाइन्थ्यो । तसर्थ बिदा बस्नु पर्ने कारण पूर्वजानकारी गराई, सकेसम्म आफ्नो बिदाको दिन आफ्नो सट्टामा काम गर्ने (खावारी) खोजेर र बिदा बस्नु पर्ने प्रमाणसहित भयो भने बल्लतल्ल बिदा पाइन्थ्यो । जापान सिस्टममा चलेको देश हो, जहाँ पार्टटाइम कामदारहरुले कार्डको घण्टा अनुसार तलब बुझ्छन् । काम सुरु हुने लगभग ५ मिनेट अगाडि कार्ड हालिसक्नु पर्ने नियम थियो मेरो कम्पनीको ।

एक मिनेट मात्र कार्ड हाल्न ढिला भयो भने १५ मिनेट तलब काटिने र हाजिर काटिने हुँदा समयलाई मिनेट मिनेटले महत्व दिनुपर्ने थियो । यो नियम जापान भरको कम्पनी, कलेज जतासुकै छ । काम या कलेज १ मिनेट मात्र ढिला भए पनि त्यसको कारण दिनुपर्ने हुँदा सुरुवाती दिन जापनिजसँग रिस उठे पनि विस्तारैविस्तारै सभ्य मानिस बनियो ।

क्रमशः


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button