पत्रकार महासङ्घ निर्वाचन सम्पन्न
नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएको छ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो ।
महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा गरी १३ हजार १२२ मतदाता थिए । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको थियो ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको थियो ।
यस निर्वाचनबाट तीन हजोरभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने बताइएको छ ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका थिए भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी थिए । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल नदोहोरिएको बताइन्छ ।
महासङ्घले सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।
२०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ ।