कभर स्टोरीहरूका लागि एउटै विषयमा ५ वटासम्म पुस्तक अध्ययन गर्ने गर्छु

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा बरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी

१. तपाईंको पठन यात्रा कहिले र कसरी सुरु भयो?
मैले ठ्याक्कै यही वर्षबाट पुस्तक पढ्न थालेँ भन्ने कुनै निश्चित मिति त छैन, तर मेरो साक्षरतासँगै पठनको रुचि पनि अघि बढेको हो। विद्यालय पढ्दादेखि नै मलाई पाठ्यपुस्तक बाहिरका सामग्रीमा रुचि थियो। मेरो घर छेउमा ‘रौतह नवजागरण पुस्तकालय’ थियो (जसलाई पछि २५ बसन्त पुस्तकालय नामाकरण गरियो)। त्यहाँ केटाकेटीले रुचाउने बालसाहित्य प्रशस्त पाइन्थ्यो। साथै, नजिकैको बालमन्दिर स्कुलमा आउने ‘बालक’ पत्रिका मेरो प्रिय थियो। कक्षा ८ तिर पुगेपछि भारतीय ‘कमिक बुक्स’ र कक्षा १० सम्म आइपुग्दा जासुसी उपन्यासहरूमा मेरो रुचि झाँगियो। यसरी नै मेरो पठन बानीको जग बस्यो।

२. तपाईंको दैनिकी र जीवन-दृष्टिमा पुस्तकले कस्तो भूमिका खेलेको छ?
पुस्तक मेरो लागि सूचनाको स्रोत मात्र नभई सोचका आयाम विस्तार गर्ने माध्यम हो। २०६५ सालको सडक दुर्घटना मेरो जीवनको एउटा मोड बन्यो। त्यसपछिको कठिन समयमा मैले अध्ययनलाई अझै गहनतापूर्वक लिएँ। आध्यात्मिक पुस्तकहरूले मलाई निराशाबाट बाहिर निकालेर जीवनप्रति उत्प्रेरित गरे। साहित्यिक पुस्तकले फरक दृष्टिकोण निर्माण गर्न सघाउँछन् भने जीवनीले संघर्षको उर्जा दिन्छन्। खासमा, अध्ययनले नै मलाई व्यावसायिक जीवनमा पुनस्र्थापित हुन र मेरो चिन्तनको दायरा फराकिलो बनाउन मद्दत गरेको छ।

३. तपाईं कुन विधाका पुस्तकहरू बढी रुचाउनुहुन्छ?
म प्रायः सबै विधाका पुस्तक पढ्छु, तर विशेषगरी अनुसन्धानमूलक, ऐतिहासिक तथ्यमा आधारित, नियात्रा र उत्प्रेरणादायी पुस्तकहरू मेरो प्राथमिकतामा पर्छन्।

४. अध्ययनले तपाईंको व्यावसायिक लेखन र अनुसन्धानमा कस्तो प्रभाव पारेको छ?
धेरै ठूलो प्रभाव छ। हाल म ऐतिहासिक तथ्यहरूको खोजीमा केन्द्रित छु। विशेषगरी मध्यकालदेखि यताको नेपालको अर्थव्यवस्था, राणाकालीन व्यापार प्रणाली र पञ्चायतकालीन आर्थिक संरचनाबारे प्रचलित धेरै तथ्यगत त्रुटिहरू सच्याउन मलाई अध्ययनले नै सघाएको छ। उदाहरणका लागि, मारवाडी समुदायको नेपाल प्रवेश र उनीहरूको व्यावसायिक इतिहासबारे गहन अध्ययनले मेरा धेरै भ्रम निवारण गर्यो। म ‘टक्सार म्यागजिन’को प्रधान सम्पादकको हैसियतले लेख्ने कभर स्टोरीहरूका लागि एउटै विषयमा ५ वटासम्म पुस्तक अध्ययन गर्ने गर्छु।

५. तपाईंलाई कुन समयमा पढ्न बढी आनन्द आउँछ?
पढ्नका लागि ठ्याक्कै यही समय भन्ने त हुँदैन, तर बिहानको समय मेरो लागि स्वर्ण समय हो। बिहान पढेका कुराले दिनभरको चिन्तन र लेखन कार्यलाई एउटा लय दिन्छ। यद्यपि, दिउँसो होस् वा साँझ, फुर्सद मिल्नेबित्तिकै म पुस्तक पल्टाएर बसिहाल्छु।

६. छापा कि डिजिटल? तपाईंको रोजाइ कुन हो?
प्रविधिले गर्दा मसँग लगभग ४ जीबी जति डिजिटल पुस्तकको संग्रह छ, जसमा कतिपय दुर्लभ ऐतिहासिक पुस्तकहरू पनि छन्। तर, मेरो पहिलो रोजाइ सधैँ छापा पुस्तक नै हो। पुस्तकका पानाहरू सुम्सुम्याउँदै अक्षरहरूको गहिराइमा डुब्दा जुन अनुभूति हुन्छ, त्यो डिजिटल स्क्रिनमा कदापि पाइँदैन।

७. आजको डिजिटल युगमा एकाग्र भएर पढ्नु कत्तिको चुनौतीपूर्ण छ?
इन्टरनेटको यो युगमा ध्यान केन्द्रीकृत गर्नु नै मुख्य चुनौती हो। पढ्दापढ्दै मोबाइल वा कम्प्युटरतिर आँखा जाने र लय टुट्ने समस्या हुन्छ। यसलाई चिर्न म एउटा उपाय अपनाउँछु- म पुस्तक पढ्दा छेउमा एउटा सानो टिपोट डायरी राख्छु। आफूलाई छोएका वा महत्त्वपूर्ण लागेका कुराहरू तत्काल नोट गर्ने मेरो बानी छ, जसले गर्दा विषयवस्तुबाट म भड्किन पाउँदिनँ।

८. नयाँ पाठकहरूलाई पुस्तक पढ्ने बानी बसाल्न के सुझाव दिनुहुन्छ?
पढ्नका लागि कुनै जटिल सूत्र छैन। पहिलो कुरा, आफ्नो रुचि पहिचान गर्नुहोस्। तपाईंलाई जे विषयमा चासो छ, त्यही विधाबाट सुरु गर्नुहोस्। फुर्सद पाउनेबित्तिकै मोबाइलको स्क्रिनमा स्क्रोल गर्नुको सट्टा एउटा राम्रो पुस्तक हातमा लिने प्रयास गर्नुहोस्। प्रविधिको सदुपयोग गर्दै अडियो बुक वा प्रवचनहरू सुन्न पनि सकिन्छ, जसले तपाईंको ज्ञानको दायरा फराकिलो बनाउँछ।

९. तपाईंको भविष्यको कुनै ‘पुस्तकीय योजना’ छ कि?
छ। म आफ्नो घरमा एउटा सानो ‘मिनी लाइब्रेरी’ बनाउने योजनामा छु। अहिले मसँग लगभग १५०० पुस्तकहरू छन्। यसलाई ३००० सम्म पुर्‍याउने मेरो लक्ष्य छ, ताकि आफूलाई आवश्यक परेका सन्दर्भ सामग्रीहरू खोज्न अन्त कतै धाउनु नपरोस्।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button