भानुभक्त, जो मन पराउँछन् सात्विक र शाकाहार भोजन

तपाईंको मिडिया साथी ‘नेपालनाम्चा’ले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा मिडिया अन्वेषक भानुभक्त आचार्य । डिजिटल सञ्चारमा विद्यावारिधि गरेका आचार्य क्यानडाको युनिभर्सिटी अफ अटवामा पत्रकारिता र सञ्चार विषय प्राध्यापन गर्दछन् ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
सबैभन्दा मनपर्ने खाना सात्विक र शाकाहार भोजन । मेरो परिवार र आफन्तहरू समेत श्रीकृष्णप्रणामी सम्प्रदायको अनुयायी भएकाले सानैदेखि यस्तै खानपिनमा अभ्यस्त भइयो । आध्यात्मिक वा सांस्कृति दृष्टिकोणले मात्रै होइन, स्वास्थ्य र पर्यावरणका दृष्टिले समेत शाकाहार भोजन संसारभरि लोकप्रिय बन्दै गइरहेको छ ।

२. तपाईँलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
नेपालका हरेक ठाउँ मनपर्छन् । कुनै ठाउँ त्यहाँका मानिसको व्यवहार, संस्कृति र चालचलनले गर्दा हो । ऐतिहासिक विरासत, भौतिक विकास वा भौगोलिक बनावटका आधारमा पनि कतिपय स्थान मनपर्छन् । पहिलोपल्ट २०५० सालमा पोखराजाँदा माछापुच्छ्रे हिमाल देखेर अति लोभिएको थिए । त्यहाँ बसुञ्जेल हरेकदिन एकटकले माछापुच्छ्रेको चुचुरो हेर्नु मेरो दिनचर्या थियो । पछि सन् २०१७ मा ग्रिसको एथेन्स सहरजाँदा त्यहाँको एक्रोपोलिस दरबार देखेर मोहित भएँ । सन् २००९ मा सिंगापुर जाँदा बालुवा र पानी मात्र प्राकृतिक स्रोत भएको त्यहाँको भौतिक विकासले मन्त्रमुग्ध भएँ । त्यस्तै, ऐतिहासिक दृष्टिकोणले क्यानडाको अल्बर्टा राज्यको डाइनोसर म्युजियम र प्राकृतिक रूपमा क्यानडाकै नायगरा फल्स जस्ता अद्भुत स्थान सधैं गइरहूँ जस्तो लाग्छ ।

३. तपाईँलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
कुनै एउटा किताब मात्रै मन पर्ने हुन्न किनभने जिन्दगीमा अनेक पुस्तकहरू पढिन्छन् र तिनीहरूको आ–आफ्नै उद्देश्य हुन्छ । कविताको पुस्तकमा मुनामदन, कथाको पुस्तकमा मधुमती उपन्यास, पत्रकारिताको पुस्तकमा जोन मरिलको ‘जर्नलिजम् एथिक्सः फिलोसोफिकल फाउन्डेसन्स फर न्युज मिडिया’ आदि मन पछन् । पत्रकारिताको यस पुस्तकले पेसागत आचारसंहिताको व्यावहारिक र दार्शनिक पक्षलाई उजागर गरेको छ । त्यस्तै सञ्चारसम्बन्धी पुस्तकमा जोन डुह्र्याम पिटर्सको ‘स्पिकिङ इन टु द अएर’ भन्ने किताब अद्वितीय लाग्छ, जसले सञ्चारको २५ सय वर्षको ऐतिहासिक विकास र त्यसका प्रवृत्तिहरूलाई उजागर गर्दछन् ।

४. तपाईँलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
नाताभित्र र बाहिरका अनेक मान्छेहरू मन पर्छन् । नाताभित्र सबैभन्दा मन पर्ने मान्छे आमा हो । आमा किन मन पर्छ भनेर व्याख्या गर्नु जरुरी पर्दैन । आमाको कारणले हरेक मान्छे यस संसारमा छ । नाता बाहिरका व्यावसायिक मान्छेमा पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मी मनपर्छ । उहाँको सरल जीवनशैली, बोलीमा विनम्रता, ज्ञानको गहिराई र सिक्न चाहनेलाई उत्प्रेरणा दिने लगायतका गुणहरूले मलाई उहाँ जत्तिको असल मान्छे व्यावसायिक जीवनमा सहजै पाइन्छ जस्तो लाग्दैन ।

५. तपाईँलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
मेरा केही आफ्नै बानीहरू छन् । पहिलो, शाकाहार जीवनशैली । शाकाहार जिवनशैली मैले जानेर अपनाएको भन्दा पनि पारिवारिक र सांस्कृतिक विरासत हो । पछि त्यसलाई थप बुझ्दै गइयो र यो शैली सबैभन्दा उत्तम छ भन्ने बुझेपछि यसैमा प्रतिबद्ध भइयो । दोस्रो, कसैसँग ईख नलिने र कसैका कारणले दुःखी भएमा केही पढ्न थाल्ने र त्यो दुःख भुल्ने । त्योसँग पौंठेजोरी खोज्न नजाने । साथै, आफ्नो पेसा–व्यावसायमा राम्रो गरेर त्यसलाई देखाइदिने । सके त्यस मान्छेलाई नतमस्तक पार्ने । तर, यो बाटोले अलि समय लिन्छ । यसलाई केही हदसम्म बैगुनीलाई गुनले मार्नु भन्न पनि सकिएला । तेस्रो, खस्रो सुनिए पनि, अप्रिय भए पनि सत्य बोल्ने । कुनै ठूलै मान्छेले गल्तीकमजोरी गरेको रहेछ भने पनि तथ्य र कारण सहित त्यो गलत हो भन्ने । मोलाहिजा नराख्ने । बुझ्नेका लागि यो वरदान हो तर धेरैले यसलाई पचाउन सक्दैनन् ।

६. तपाईँलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
यो प्रश्नमा कस्तो नेता भन्न खोजिएको हो, प्रष्ट छैन । नेता समाजका हरेक पक्षमा हुन्छन्—सामाजिक नेता, राजनीतिक नेता, सांस्कृतिक नेता, कूलघरानाको नेता आदि । राजनीतिक नेताहरूमा अविच्छिन्न मन परिरहने गरी कोही टिक्न सकेनन् । तर, भाषणशैलीका हिसाबले मदन भण्डारी, आचारणका हिसाबले मनमोहन अधिकारी, हास्यव्यंग्य र वाक्पटुताका हिसाबले केपी ओली, प्रशासनिक कामकारबाहीका हिसाबले बालेन, संसदीय भूमिकाका हिसाबले सुमना श्रेष्ठ, संवैधानिक कानुनका हिसाबले भीमार्जुन आचार्य, पत्रकारितामा निरन्तरताका हिसाबले भैरब रिसाल, खोजपत्रकारिताका आधारमा मोहन मैनाली, भाषा आन्दोलनका नेताको रूपमा शरच्चन्द्र वस्ती आदि मनपर्छन् ।

७. तपाईँलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
तिहार । यो चाड मन पर्ने अनेक कारणहरू छन् । समयका हिसाबले यो पाँच दिनमा सकिन्छ । दशैंजस्तो लामो र भद्दा छैन । पशुपक्षी र मानिसको योगदानको स्मरण गरिन्छ । पर्यावरणसँग मानिसको जीवनशैलीलाई जोडिन्छ । सयपत्री र मखमली फूलको झिलिमिली, रंग र बिजुलीको झकिझकाउ, जाँदै गरेको शरद र आउँदै गरेको ग्रीष्म ऋतुको मिलन, कृषकहरूलाई अन्न भण्डारण गर्ने समय, देउसी भैलो खेल्नेको तामझाम, दिदीभाइको हार्दिकताको नवीकरण आदि कारणले तिहार गज्जब लाग्छ ।

८. तपाईँलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
शिक्षक । समाजलाई नयाँ दिशा दिन शिक्षक जति प्रभावकारी कुनै पेसा छैन । साथै, जुनसुकै पेसा/व्यवसायका उत्तम सिकाइहरूलाई नयाँ पुस्तामा पुर्याउन तपाइँ अल्पकालीन भए पनि शिक्षक हुनुपर्छ । केही वर्षअघि गरेको यौटा अनुसन्धानले के प्रमाणित गरेको छ भने शिक्षण पेसाले जति सहजै ज्ञान फैलाउने र समाजलाई प्रभावित पार्न सक्ने काम त कुनै अध्ययन वा रिसर्चले समेत गर्न सक्दैन । शिक्षक हुन आफू इमान्दार हुनुपर्छ । हृदयमा कुनै कपट नराखी मेरा शिष्यले यी कुरा सिकुन्, मभन्दा जान्ने हुन् र समाजलाई अझै अगाडि लैजाउन् भन्ने ध्येय राख्नुपर्छ । आफ्नो मूर्तिको आराधना र साधना गरेर विलक्षण प्रतिभा बनाएको एकलब्यले मेरो प्रिय अर्जुनलाई उछिन्ला कि भनेर उसको बुढी औंलो माग्ने द्रोणाचार्यहरू राजनीतिज्ञ हुन्, असल शिक्षक होइनन् ।

९. तपाईँलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
सेतो । सेतो रंगले सादा जीवन र उच्च विचारको प्रतिधितित्व गर्दछ किनभने हरेक रंगहरू सेतो पृष्ठभूमिमा प्रष्ट खुल्छन् । यो जुन रंगसँग पनि सहजै मिल्छ । अँध्यारोमा स्पष्ट देखिन्छ ।

१०. तपाईँलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
कुनै खास गीत सधैं मन पर्छ भन्ने हुँदैन । गीत मानिसको मुड अनुसार मन पर्ने हुन्छन् । तपाइँ कस्तो शारीरिक वा मानसिक वा सांस्कृतिक वा भौगोलिक परिवेशमा हुनुहुन्छ । गीतहरू पनि त्यही सन्दर्भ अनुसार मन पर्छन् । उदाहरणका लागि दशैं वा तिहार वा कुनै चाडपर्वको माहौल छ, खुशीयाली छ, विदेश वा टाढाबाट फर्केर गाउँघरमा आफन्तहरू भेट्ने योजना छ । यस्तो परिवेशमा नारायण गोपाल र दिलमाया खातीको विछोडको पीडा नसकी खप्न भन्ने गीत उत्कृष्ट हुनसक्छ । तर, माहौल चाडपर्वकै छ तर आफ्नो नाताभित्र जुठो परेको छ भने त्यो गीत उपयुक्त हुँदैन । त्यसैगरी राष्ट्रियताको भाव प्रकट गर्ने बेलामा ‘यो नेपाली शीर उचाली…’ भन्ने माधव घिमिरेको गीत गुन्गुनाउने गर्छु तर देशको राजनीतिक माहौल देख्दा त्यो गीत गाउन उत्ति जाँगर लाग्दैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button