मैले पत्रकारिता थाल्दा काठमाडौंमा मुसलमान समुदायबाट कोही सक्रिय थिएनन्
एसएलसी गरी उच्चशिक्षाका लागि काठमाडौं आउने गोरखाको गोरखा नपा-२ (साविकको ताप्ले-५ स्थित गाइखुर गाउँ)का उनी पहिलो विद्यार्थी थिए, मुसलमान समुदायबाट । साइन्स पढ्ने सोच थियो । तर, आवश्यक अंकको अभावमा अवसर पाएनन् । त्यसपछि ध्यान पत्रकारितातिर मोडियो । र, पत्रकारिता अध्ययनसँगै पत्रकारिता पनि सुरु गरे । साप्ताहिक पत्रिकाबाट सुरु उनको पत्रकारिता स्पेसटाइम, राजधानी हुँदै कान्तिपुर आइपुगेको पनि बर्षौं भयो ।
पत्रकारिता गर्दाका दुई दशकमा जलवायु परिवर्तन, वन्यजन्तु र जैविक विविधता संरक्षण तथा अन्य वातावरणीय मुद्दामा करिब २० देशको भ्रमण गरी समाचार सम्प्रेषण गरे । स्वदेशमै पनि ७० जिल्लाको भ्रमण गरी समाज, संस्कृति, परिवेश, विकासबारे अनगिन्ती समाचार लेखे । लेखिरहेकै छन् ।
नियमित स्तम्भ ‘पत्रकारलाई प्रश्न’मा नेपालनाम्चा प्रस्तुत अब्दुल्लाह मियाँ ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
२०५५ सालको असारमा गोरखाबाट एसएलसी दिएर काठमाडौं आउँदा मैंले साइन्स पढ्ने सोच बनाएको थिएँ र त्यसका लागि अमृत साइन्स कलेजमा इन्ट्रान्स परीक्षा पनि दिएको थिएँ । तर, एसएलसीमा मेरो अंक प्रथम श्रेणीका लागि अलि कम थियो । त्यति बेला प्रथम श्रेणीबाहेकका विद्यार्थीले साइन्स पढ्ने अवसर अत्यन्तै कम पाउँथे, म पनि त्यसैभित्र परें र छनौट हुन सकिनँ ।
त्यसपछि मेरो ध्यान पत्रकारितातिर मोडियो, मेरो बुबा पनि छोरा अरु भन्दा फरक भइदिओस् र समाजमा अलग्गै पहिचान राख्न सफल होस् भन्ने चाहनुहुन्थ्यो । हाम्रो समाज (मुसलमान समुदाय) बाट एसएलसी पास गरी उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आउने गाउँकै म पहिलो विद्यार्थी थिएँ ।
आर्थिक रुपमा खासै सबल नभए पनि बुवाले मलाई उच्चशिक्षा अध्ययनका लागि काठमाडौंसम्म ल्याउनु भएको थियो । कानुन र पत्रकारितामा मेरो पहिलेदेखि नै रुची थियो, त्यसअनुसार आरआर कलेजमा पत्रकारितामा भर्ना भएँ । पत्रकारिता अध्ययनसँगै मैंले पत्रकारिता पनि सुरु गरें । मेरो पत्रकारिता साप्ताहिक पत्रिकाबाट सुरु भएको हो । स्पेसटाइम, राजधानी हुँदै म कान्तिपुर दैनिकसम्म आइपुगेको हुँ ।
पत्रकारितामार्फत् समाजका धेरै विषयबस्तुलाई उजागर गर्न सकिने र समाज बदल्न प्रत्यक्ष भूमिका खेल्न सकिने भएकाले यो क्षेत्रमा म रमेको हुँ । अर्को कुरा, म जुन समाज प्रतिनिधित्व गर्छु, त्यो समाजबाट मैले पत्रकारिता थाल्दा यो पेशामा कोही संलग्न थिएनन् । अहिले भने नयाँ पुस्ताको आगमन भइरहेको छ, यो खुसीको कुरा हो । समाजलाई कलममार्फत् योगदान दिने उद्देश्य धेरै हदसम्म पूरा भएको मेरो मुल्यांकन छ । आगामी दिनमा अझै जुझारु हुनुपर्ने अवस्था छ ।
पत्रकारितामा मैंले सोचे अनुसार काम गर्न पाएको महसुस गरेको छु । करिब दुई दशक मुलधारका मिडियामा संलग्न भएकाले मैले मेरो दख्खल भएको विषयमा आफ्नो क्षमता प्रदर्शन गरिरहेको छु । हुनत, सिकाई कहिले पनि सकिंदैन । मैंले पत्रकारितामा सिक्ने र सिकाउने दुबै काम गरिरहेको छु । आगामी दिनमा अरु परिस्कृत भएर प्रस्तुत हुने संकल्प पनि गर्दछु ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारिताका सुख र दुःख दुबै पक्ष रोमान्चक हुन्छन् भन्ने मेरो अनुभव छ । पत्रकारितामा सुख भन्दा पनि दुःख धेरै हुन्छन् भन्ने लाग्छ मलाई । जहिल्यै व्यस्त भइरहनुपर्ने पेशा भएकाले एउटा सक्रिय व्यवसायिक पत्रकारले सुखका दिनको धेरै मजा चाख्न पाएको हुँदैन ।
जहिले दुःख, कष्टसँग पौंठेजोरी गर्नुपर्ने, समाचारकै दुनियाँमा संघर्ष गर्नुपर्ने पेशाकर्मी भएकाले सुखशयलमा रम्ने अवसर नै प्राप्त हुँदैन । समाचारकै भोक मेट्न सक्रिय हुनुपर्ने भएकाले एउटा पत्रकारमा सुखभन्दा दुःखका संग्रह बढी हुन्छन् जस्तो लाग्छ ।
सारमा भन्दा आफूले लेखेको विषयबस्तुले समाजमा केही बदलाब ल्याउन सक्यो भने पत्रकारका लागि त्यो नै सबैभन्दा ठूलो खुसी र सुख हो । पत्रकारिताको समग्र चक्र नै संघर्षपूर्ण हुन्छ । त्यो चक्रमा घुमेर, ज्यानको बाजी लगाएर लेखिएका हजारौं समाचारले पनि बेथिति बदल्न सकेन भने एउटा पत्रकारका लागि त्यो भन्दादुःख केही हु“दैन ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
कुनै पनि पेशाका राम्रा र नराम्रा दुबै पक्ष हुन्छन् । पत्रकारितामा पनि त्यस्तै छ । पत्रकारिताको सुन्दर पक्षभनेको, स्वतन्त्र ढंगले पत्रकारले समाचार सम्प्रेषण गर्न पाइरहेका छन् । निर्भिकतापूर्वक पत्रकारले कलम चलाउन पाएका छन् । कसैको धाकधम्कीले पत्रकारको कलम रोक्न सकेको छैन ।
मुलुकका हरेक आन्दोलन र परिवर्तनमा पत्रकारको समेत अहम् भूमिका रहेको छ, पत्रकारहरुको सक्रिय भूमिकाकै कारण मुलुकमा विभिन्न परिवर्तन सम्भव भएको छ । पत्रकारिताप्रति विश्वभर नै जनमानसको विश्वास बढ्दो छ, यसलाई सुन्दर पक्षका रुपमा लिन सकिन्छ । नेपालमा पनि पत्रकारितालाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको छ ।
पत्रकारिताले अन्यायमा परेकालाई न्याय दिन सहयोग गरेको छ । अत्याचार गर्नेहरुलाई कठघरामा उभ्याउन सक्रिय भूमिका खेलेको छ । पछिल्लो समयमा नेपालमा पनि पत्रकारिता फस्टाउँदो क्रममा छ । पत्रकारितामा आएका नया“ आयामका कारण यो क्षेत्र थप फराकिलो बन्दै गएको छ ।
फैलदो सूचनाप्रविधिले पत्रकारितालाई पनि सहज तुल्याएको छ । आगामी दिनमा यो क्षेत्रमा थप विकास हुने अपेक्षा गर्न सकिन्छ । सुधार गर्नुपर्ने भनेको पत्रकार पनि जिम्मेवारपूर्वक प्रस्तुत हुनुपर्ने देखिन्छ ।
व्यवसायिक पक्षलाई वकालत गर्दै र आफूलाई परिस्कृत गर्दै अघि बढ्ने हो भने यसमा थप सफलता हात पर्नेमा कुनै शंका छैन । पत्रकारिताका नाममा खोल ओढेर नाजायज फाइदा लिने र पत्रकारितालाई बदनाम गर्ने दुस्साहसको अन्त्य हुनु आवश्यक छ ।
पत्रकारितामा लागेर के पाउनुभयो ? गुमाउनुभयो ?
पत्रकारिताको करिब दुई दशकको दौरानमा मैले गुमाएको भन्दा पनि प्राप्त गरेको अंश बढी छ । सबभन्दा ठूलो कुरा त, पत्रकारिताले मलाई नाम दिएको छ । यसमा गर्व लाग्छ । म वातावरण र प्रकृति संरक्षणका क्षेत्रमा कलम चलाउँछु, त्यो क्षेत्रमा मेरो पहिचान स्थापित भएको आभास हुन्छ । यसलाई मैंले उपलव्धीका रुपमा लिन्छु ।
स्वतन्त्रपूर्वक आफ्नो क्षेत्रमा कलम चलाउन पाउँदा जत्तिको मजा अरु केहीमा छैन । सँगै पत्रकारिताले मलाई अवसरहरु पनि दिएको छ । मैंले यो अवधिसम्म प्राप्त गरेका कतिपय कुराहरु पत्रकारितामा नभएको भए सायदै जीवनमा प्राप्त हुने थिए । हुनत, समग्र विश्व परिवेश बुझ्न र बुझाउन दुई दशक काफी समय होइन । यस अवधिमा विश्वजगतमा उथलपुथल मच्चाएको जलवायु परिवर्तन, वन्यजन्तु र जैविक विविधता संरक्षण तथा अन्य वातावरणीय मुद्दामा करिब २० वटा देशको भ्रमण गरी समाचार सम्प्रेषण गर्ने अवसर मलाई पत्रकारिताले नै दिलायो ।
पत्रकारिताकै कारण मैंले विश्व समाज, विश्वको अर्थतन्त्र, विश्वको वातावरण, विकास, उद्यम, धर्म, संस्कृति, परम्परा, रहन सहनलगायतका विषयलाई नजिकबाट नियाल्ने अवसर पाएँ । स्वदेशमै पनि करिब ७० वटा जिल्लाको भ्रमण गरी समाज, संस्कृति, परम्परा, परिवेश, विकास र समस्या बुझ्ने अवसर पनि पत्रकारिताकै दौरान प्राप्त भयो ।
मैले पत्रकारिता गर्दाका बखत् केही पनि गुमाएको महसुस गरेको छैन । आगामी दिनमा पनि मलाई लाग्छ, मैंले गुमाउने भन्दा पनि प्राप्त गर्ने चीज नै धेरै हुनेछ ।
पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकारिताको विद्यार्थी भएकाले नै म पत्रकारितामा भएको हुँ । यदि, पत्रकारिता नपढेको भए सायद यो पेशामा म हुने थिइनँ । हुनत, पत्रकारिता गर्न यही विषय पढ्नै पर्छ भन्ने पनि छैन, रुची सबभन्दा ठूलो कुरो हो । मेरो हकमा पत्रकारिता अध्ययन गर्दागर्दै काम गर्ने अवसर पनि पाएकाले अरु पेशातिर होमिने अवस्था नै भएन ।
पत्रकारिता एउटा नशा पनि हो । यही पेशामा जम्न थालेपछि अरुतिर जाने समय नै भएन । समय, परिवेशले पनि यो वातावरण सिर्जना गरेको हो जस्तो लाग्छ । यदि पत्रकारिता नगरेको भए सायद म यति बेला शिक्षण वा राजनीतिमा सक्रिय हुन्थें होला ।