लाग्छ, दुखी कोहि पनि छैन, सबै रमाइरहेका !

रेजिना आचार्य

अहिले सोसल मिडियामा हेर्ने हो भने लाग्छ, दुखी त कोहि पनि छैन, सबै हँसिला सबै रमाइरहेका !’ त्यसैले होला, सम्झना एकहोरो भएकी छ, खुशी त हराएको जस्तो छ उस्को । काम गर्छे अनि सामाजिक सन्जाल हेरेर बस्छे ।

के सम्झनाले सोचेको जस्तो छ त बाहिरी दुनियाँ ? पक्कै पनि छैन । फेसबुकमा हालेको फोटो होस् या टिकटकमा हालेको भिडियो, आत्मियता पटक्कै छैन । त्यसमा आएका कमेन्टहरुमा ओहो ! कति माया, कति स्नेह छ जस्तो लाग्छ । त्यो पनि कतिले त ‘लेखिदिँदा के नै जान्छ र ! मख्ख परिदिनु पर्छ’ भनेर देखाउनकै लागि लब रियाक्टसँगै ‘लभ यु’, ओहो ! के के हो के के !

विचरी सम्झनालाई कत्रो चिन्ता ! उसको जन्मदिनमा उसको बुढाले उपहार र शुभकामना दिएर काममा गए तर सामाजिक सन्जालमा मेरी मायालु भन्दै पोस्ट गरेनन् । सम्झनाको मन दुख्नु स्वभाविक छ । परिवारमा एक जनाको जन्मदिन परोस् त होडबाजी हुन्छ, कसले फर्स्ट पोस्ट गर्ने ? कत्तिको मायाका शब्द हाल्ने ? जन्मेको एक महिने बच्चाले पनि लेखिरहेको हुन्छ । दुनियाँलाई देखाउनु त पर्‍यो, हाम्रो परिवारमा माया कति छ भनेर ! परिवारमा बोलचाल होस् या नहोस् । ‘मिलेको परिवार’भित्रको लडाइ कसले देख्ने ?

डिजिटल होडबाजी कति हो कति ! सासुको कुरा काट्ने, रुखो वचनको बडाको आदरभाव नभएकी बुहारीले सासुसँग ‘हजुरबिना म बाँच्न सक्दिनँ, मेरो संसार हजुर हो’ भनेर काखमै सुतेर भिडियो बनाएको पनि देखिएकै छ । मख्ख पर्नु कि दुखी हुनु, सासु दोमनमा !

आत्मियता र मानवता घट्दै गएको भान हुन्छ । यस्तो होडबाजीले गर्दा सक्नेले त गर्लान्, नसक्नेलाई कत्रो पिर थपिएको छ भने परिवारमा कलह, मानसिक रोग, झगडा । विकृति धेरै बढेको छ । कतिले ज्यान समेत गुमाएका छ्न् लाइक पाउने फोटो, भिडियो बनाउने लोभमा । देखाउनको लागि भन्दा पनि रमाइलोको लागि चलाउन सिकौँ । सामाजिक सन्जालको लडाइ केका लागि ?

सम्झना झसंग्ग् हुन्छे, उताबाट सासुले ‘नातीलाई लिन जा, ढिला भयो, म चिया बनाउँछु’ भनेको सुन्दा । अनि खुशी हुन्छे, ‘धन्न ! मेरो परिवार देखावटी दुनियाँभन्दा टाढा छ, आत्मिय छ, मायालु छ ।’ जन्मदिनको शुभकामना भन्दा धन्यवाद नभनेर दुखी भएकी सम्झाना बुढालाई फोन गरेर ‘थ्याँक्यु बुडो’ भन्दै बच्चा लिन कुद्छे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button