टिकटकमा कला देखाउने हो, चर्तिकला होइन

भरेलाई के बनाऊँ ? कतिबेला आइसिन्छ ? चाँडै आइसेला है ! टिकटक बनाउनुपर्छ ।

लघुकथा: कलहको बिउ

उमेश कार्की
खाँदबारी-७, संखुवासभा

सुकिला मुकिला लुगा, शरीरबाट हररर अत्तरको बास्ना, दिनहुँ साथीहरुसँग जमघट र फुर्तिफार्ती, घरभान्सामा अटुट बिशिस्ट परिकार अनि श्रीमतीप्रति अगाध माया-प्रेम । श्रीमती पनि अरुबेला भन्दा श्रृंगारपटारमा विशेष ध्यान दिन थालेकी छ । छिनछिनमा लोग्नेलाई भिडियो कल गर्छे र भन्छे, ‘भरेलाई के बनाऊँ ? कतिबेला आइसिन्छ ? चाँडै आइसेला है ! टिकटक बनाउनु पर्छ ।’

बिदेशबाट फर्केको केहि हप्ता सम्म सन्तनारायण र उसकी पत्नी सन्चरीको दैनिकी यस्तो भए नि अहिले दुवैमा बदलाव आएको छ । स-साना कुरामा भनाभन, चर्काचर्की एकाअर्काको बेमतलब । बिहान घरबाट निस्केको सन्तनारायण साँझसम्म घर पुग्दैन । सन्चरीको टिकटकको लतले ऊ दिक्क भएको छ । पटक पटक संझाउदा भन्छे, ‘भिडियो/टिकटक बनाउन तिमीले नै ल्याइदिएको उपहार होइन ? बनाउँछु त !’

‘टिकटकमा कला देखाउने हो, चर्तिकला होइन ।’

‘उस्स्स्स ….!’, ऊ ओठ लोप्र्याउँछे ।

‘अहिलेसम्म चुलो बलेको छैन ! कस्ति अलच्छिनी आईमाई !’, ऊ भुत्भुतायो ।

‘तिमी लच्छिनले बनाए भै गो त !’

‘तँ हुदाहुदै मैले बनाउनु ?’

‘म तिम्रो नोकर्नी हो र ! सधैं ठिक्क पार्न ।’

दुवै आगो-आगो । भनाभन चर्काचर्कीकै बिच ऊ जुरुक्क उठ्यो र फोन खोसेर पछार्दै चिच्यायो. ‘ल खा ! जत्तिखेरै यहि, जत्तिखेरै यहि ।’

‘मेरो रिस के मोबाइलमाथि पोख्छौ ? हिम्मत हुनेले मलाई नै हाने भो त’, एकछिनपछि अलि सानो स्वरमा फेरि बोली, ‘मलाई त के छ र ! आफैले उपहार ल्याइदियौ आफैले फुटायौ ।’

फुटेको मोबाइललाई पुनः लात्तीले हुर्‍याउँदै भन्यो, फुटोस् कलहको बिउ ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button