‘पत्रकारिताबाट नेम र फेम पाएको छु’
चितवनको गुन्जानगरमा जन्मेकी उपासना घिमिरे कान्तिपुर मिडिया गु्रपको मासिक प्रकाशन ‘नारी’ मासिककी सम्पादक हुन् । १८ वर्षअघिदेखि पत्रकारितामा सक्रिय उपासनाले पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् । लामो समयको कामको अनुभव, लगनशील र निरन्तर खटाईले आफू यो स्थानमा पुगेको उनी गर्वसाथ बताउँछिन् । नेपालनाम्चाको धारावाहिक श्रृंखला ‘पत्रकारलाई ५ प्रश्न’को चौथो अंकमा उपासनाको उत्तर ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र सोचेजस्तै गरिरहनु भएको छ ?
म एसएलसी दिएपश्चात् पोखरामा फरेष्ट्रीको इन्ट्रान्स दिन गएकी थिएँ । त्यहाँ मेरो नाम निस्केन । त्यसपछि काठमाडौंमा मेरो बुवाको सल्लाह बमोजिम रत्नराज्य क्याम्पसमा पत्रकारिता पढेको हुँ । त्यसो त मेरो परिवारका सदस्य वरिष्ठ पत्रकार युवराज घिमिरेको प्रसिद्धी देखेर पनि प्रभावित भएको थिएँ । त्यसैको प्रभावले होला म यो क्षेत्रमा आकर्षित भएको । अहिले त यो क्षेत्रमा लागेर राम्रै गरेछु भन्ने महसुस हुन्छ । मैले गर्ने पत्रकारिता मूलधारभन्दा केही फरक छ । नारी मासिकमा महिलाका विषयवस्तुलाई बढी प्राथमिकता दिइन्छ । आफ्नो कार्यप्रति सन्तोषजनक नै छु ।
पत्रकारिताका सुख–दुःख के हुन् ?
सबै क्षेत्रमा आ–आफ्नै किसिमका सुख, दुःख र चुनौती हुन्छन् । त्यसलाई कसरी सामना र समाधान गर्ने भन्ने कुरा व्यक्ति स्वयंमा निर्भर रहन्छ । सुचना संकलन गरी जनमानसमा पु¥याउनु यसको सुखद पक्ष हो जस्तो लाग्छ । अन्तर्वार्ता लिने क्रममा धेरै मानिससँग भेटघाट र उहाँहरुको विचार बुझ्न पाइन्छ, यो राम्रो कुरा हो । कहिलेकाहीँ कार्यव्यस्तताले आफ्नो लागि समय नहुनु दुःखद पक्ष हो कि ?
नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन्, यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
पछिल्लो समय नेपाली पत्रकारिताको विकास तीब्र रुपमा भएको छ । अनलाइन मिडिया धेरै आए पनि दिगो भने छैनन् । संख्यात्मक रुपमा धेरै भए पनि गुणस्तर र व्यवसायिकता कम भएको हो कि जस्तो लाग्छ । साथै पत्रकारले पनि कसैको पक्ष वा विपक्षमा नलागी स्वतन्त्र हुनुपर्छ । त्यसो त पत्रकारले गरेको मिहिनेतको पनि सही मूल्यांकन हुनुपर्छ । यसो भएमामात्र यो क्षेत्र दिगो रहन्छ ।
पत्रकारितामा लागेर के पाउनु भयो, के गुमाउनुभयो ?
कुनै पनि क्षेत्रमा लागेर के पाउने वा गुमाउने भन्ने कुरा व्यक्तिको सोचाईमा निर्भर रहन्छ । मैले पत्रकारितामा लागेर खासै केही गुमाए जस्तो लागेको छैन । यसबाट नेम, फेम पाएको छु । कतिपय अवस्थामा भने निजी समय नभएको हो कि भन्ने महसुस हुन्छ । समग्रमा भन्नुपर्दा म मेरो कार्यक्षेत्रप्रति सन्तुष्ट नै छु ।
पत्रकारितामा नहुनु भएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको भए म स्वास्थ्य या बैंकिङ क्षेत्रमा हुन्थेँ होला । यो पनि रुचिको क्षेत्र थियो ।