पत्रकारितामा २ दशक बिताएका अधिकारी भन्छन्, ‘पाएभन्दा गुमाएकै बढी’

नवराज अधिकारी दुई दशकदेखि मूलधारको पत्रकारितामा सक्रिय छन् । खासगरी अनुसन्धानमुलक रिपोर्टिङ, अनुवाद र सम्पादनमा अब्बल अधिकारी आर्थिक विषयमा नियमित कलम चलाउँछन् । पत्रकारिता प्रशिक्षकसमेत रहेका अधिकारीको पत्रकारिताप्रति कस्तो धारणा छ ? नेपालनाम्चाले पहिलो पटक सुरु गरेको धारावाहिक ‘पत्रकारलाई ५ प्रश्न’को पहिलो श्रृंखलामा पत्रकारिताकर्ममा जीवन नै समर्पण गरेका अधिकारीको सरल, सीधा र सटिक उत्तरः

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
रहरले प्रवेश । सोचेजस्तो चाहिँ हुन सकेन ।

पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
नयाँ–नयाँ सूचना प्रवाह गर्न पाउँदाका सन्तुष्टि सुखद पक्ष हो भने पत्रकारिता आफैं र पत्रकारिताका अभिन्न अंग मिडिया हाउसहरु व्यावसायिक बन्न नसकेर यस क्षेत्रले आलोचना खेप्दा दुःख लाग्छ । पत्रकारिताको खास्टो ओडेर गरिने कर्महरु देख्दा पनि दुःख लाग्छ ।

नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
व्यावसायिक बन्न सकेन । कुनै न कुनै स्वार्थ समूहको गोटी बन्दै आएको छ । नवप्रवेशीदेखि सम्पूर्ण जीवन यसैमा वितेका व्यक्तिहरुले समेत पेसागत मूल्य र मान्यतालाई कायम राख्न नसकेको देखिन्छ । नेपाली पत्रकारिता क्षेत्रलाई साँच्चिकै पत्रकारिता क्षेत्र बनाउने हो भने शुद्धीकरण अभियान नै चलाउनुपर्छ । लगानीमा शुद्धीकरण, लेखन अभ्यासमा शुद्धीकरण, सूचना प्राप्त गर्ने प्रक्रियामा शुद्धीकरण आदि इत्यादि ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ।
प्रारम्भिक चरणमा एकप्रकारको आत्मसन्तुष्टि थियो । पछिल्लो समयमा त त्यो पनि हरायो । यस हिसाबले यस क्षेत्रमा लागेर पाएको भन्दा गुमाएकै बढी होला । जीवनको अत्यन्त महत्वपूर्ण समय गुमाइयो ।

यदि तपाई पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको भए जीवन अघि बढाउने सन्दर्भमा कुन बाटो उपयुक्त लाग्थ्यो त्यसैमा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button