
७२ बर्षे रेडियो नेपाल र अबको बाटो
बुद्धिबहादुर केसी
कार्यकारी निर्देशक, रेडियो नेपाल
रेडियो नेपाल आजैदेखि आफ्नो स्थापनाकालको ७१ वर्ष पुरा गरी ७२ औँ वर्षमा प्रवेश गर्दैछ । विगत कालखण्डदेखि अनेक आरोह अवरोह खेप्दै सात दशकको यात्रा पुरा गरेको रेडियो नेपाल सरकारी सञ्चार माध्यमको संरचानाबाट सार्वजनिक प्रसारण माध्यमको ढाँचामा रुपान्तरण हुने क्रममा छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले अनौपचारिक र अनियमित शिक्षा विस्तारमा समेत सहयोग पुर्याउँदै आएको रेडियो नेपालको नेपाली समाजको सकारात्मक परिवर्तन र सामाजिक जनचेतना फैलाउन साथै समसामयिक समाचार, सूचना सहित स्वस्थ मनोरञ्जन उपलब्ध गराउनमा भूमिका छ भन्दा अतिसयोक्ति नहोला । राज्यको राष्ट्रिय प्रसारणका हिसाबले नविनतम प्राविधि र बदलिंदो परिप्रेक्षमा रेडियो सामग्रीहरु श्रोता समक्ष पु¥याउन कम्मर कसेको रेडियो नेपालका आफ्नै समस्या र चुनौतिहरु पनि नभएका होइनन् । आज रेडियो नेपाल जुन अवस्थामा छ, यसको श्रेय आदरणीय श्रोता र सम्बन्धित सरोकारवालाहरुलाई नै जान्छ । यद्यपि रेडियो नेपालको समग्र पाविधि, प्रस्तुति, प्रसारण सामग्री, पहुँच र प्रभावकारिताका बारेमा तेस्रो पक्षबाट नियमित मुल्याङ्कन र विश्लेषणको पाटो चाहिँ उजागर हुन चाहिँ बाँकी नै छ ।
नेपालमा रेडियो प्रसारणको जननीका रुपमा रेडियो नेपालको स्थापना वि.सं. २००७ साल चैत्र २० गते (सन् १९५१)मा भएको हो । प्ररम्भमा “प्रजातन्त्र नेपाल रेडियो”, “नेपाल रेडियो” हुंदै रेडियो नेपाल नामाङ्करण भएको यस स्टेशनको शुरुवातको प्रसारण प्रविधि ए.एम. (सर्टवेभ) थियो। स्थापनाकाल देखि नै समाचार र सूचनाका अतिरिक्त जनचेतनामूलक, शिक्षाप्रद, विकास निर्माण र स्वस्थ्य मनोरञ्जन्प्रद कार्यक्रमहरु प्रसार गर्दै आएको रेडियो नेपाल मूलत सरकारी स्वामित्वमा संचालन हुदै आएको छ । संसारमासार्वजनिक, व्यवसायीक, नीजि, गैर नाफामूलक र राज्य नियन्त्रित जस्ता रेडियो प्रसारण संस्थाहरु संचालन हुंदै आएको परिप्रेक्ष्यमा रेडियो नेपाल स्थापनाकाल देखि २०४१ भाद्र १ गते अघि सम्म नेपाल सरकारको प्रसार विभागको रुपमा र यसपछि विकास समिति ऐन अन्तर्गत नेपाल सरकारले जारी गरेको गठन आदेश बमोजिम “रेडियो प्रसार सेवा विकास समिति” को रुपमा सञ्चालन भएको देखिन्छ ।
अग्रणी प्रसारण माध्यमका रुपमा क्रियाशिल रहन राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिहरुको जानकारी दिदैसत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार संप्रेषण गर्ने,नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई सम्मान गरी समाचार तथा कार्यक्रमहरु प्रसारण गर्ने, विभिन्न जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदाय वीच भावनात्मक एकता अभिवृद्धि गर्ने जस्ता विषय वस्तुहरुनै रेडियो नेपालको मुख्य विषयवस्तुहरु रहेको देखिन्छ । साथै नागरिकको आर्थिक, वौद्धिक, शैक्षिक र सामाजिक उत्थानमा सघाउ पु¥याउन शैक्षिक, सूचनामूलक, चेतनामूलक, मनोरञ्जनप्रद कार्यक्रमहरु संचालन गर्ने र यसका लागि रेडियो नेपालले मिडियम वेभ, एफ.एम. र डिजिटल प्रविधिमा अनलाइ इन्टरनेट मार्फत रेडियो प्रसारण सेवा संचालन गर्दै आएको छ ।
स्थापना कालदेखि सर्ट वेभ प्रविधिमार्फत शुरु भएको शर्टवेभ प्रविधिक २०६८ सालदेखि पार्ट पूर्जा अभावमा पूर्ण रुपमा बन्द छ । वि.सं. २०४२ देखि जापान सरकारको सहयोगमा तत्कालिन पाँचै विकास क्षेत्र (धरान र वर्दिवास, पोखरा, काठमाण्डौं, सुर्खेत र दिपायल) मा स्थापना भएको मिडियम वेभट्रान्समिटरहरुबाट प्रसारण सेवा सञ्चालन हुंदै आएकोमा हाल ती मिडियम वेभट्रान्समिटरहरु पनि स्पेयर पार्टस अभावका कारण पूर्ण क्षमतामा संचालन हुनसकेका छैनन् । रेडियो नेपालले देशमा नै पहिलो पटक २०५२ कार्तिक देखिएफ.एम. प्रसारण आरम्भ गरी समसामयिक प्रसारण प्रविधी अपनाउँदै आएकोमा हाल २०७८ चैतसम्म आइपुग्दा देशभरका सातै प्रदेशहरुका विभिन्न स्थानहरुमा गरी जम्मा २७ एफ.एम. स्टेशनहरु ९८, १०० र १०३ मेगाहर्ज मा सञ्चालन भैरहेका छन् । यसका अतिरिक्त रेडियो नेपालले डिजिटल प्लेटफर्ममा इन्टरनेट अनलाइन प्रसारण प्रविधि समेतको प्रयोग गरी www.onlineradionepal.gov.np न्युज पोर्टल मार्फत २४ सै घण्टा देशभित्र र वाहिर सर्वत्र रेडियो नेपाल सुन्न चाहनेहरुका लागि इन्टरनेटमार्फत सेवा उपलव्ध गराएको छ ।
यसका अतिरिक्त रेडियो नेपाल एप्स र www.onlineradionepal.gov.np मा पनि रेडियो नेपाल सुन्न सकिने व्यवस्था गरिएको छ ।साथै सोसीयल मिडिया अन्तरगतका फेसबुक, ट्वीटरआदिमा रेडियो नेपाल सुन्न र प्रतिक्रिया पठाउन सकिने प्रवन्ध पनिउपलव्ध छ । साथै यसै वर्षदेखि नविनतम प्रविधि अन्तर्गत डिजिटलमा रेडियो डि.आर.एम. Journaline (Webcasting) मार्फत रेडियो नेपालको प्रसारण भइरहेको छ । १५ औं योजनाको अन्त्यसम्ममा रेडियोको पहुँच शत प्रतिशत भूभागमा पु¥याउने नेपाल सरकारको नीति अनुरुप रेडियो नेपालले हरेक वर्ष आफ्नो प्रसारण पहुँचलाइ वृद्धि गर्दै लगेको छ । हालसम्म रेडियो नेपालको प्रसारण पहुंच कूल जनसंख्याको ९१% रहेको पाइन्छ । यसका अलावा रेडियो नेपालका श्रव्य सामग्रीहरुलाई चिरकाल पर्यन्त सुरक्षित राख्न हालका वर्षहरुमा डिजिटलाइजेशन र अर्काइभिङको कार्य पनि संचालन गरिसकेको छ ।
जनशक्ति, भौतिक र आर्थिक अवस्था
रेडियो नेपालमा ५५८ जना स्थायी कर्मचारीहरुको दरवन्दी रहेकोमा हाल ३६० जना मात्र कार्यरत छन् । नपुग जनशक्तिहरु करार, ज्यालादारी तथा सिफ्ट वेसिसमा राखी कार्य सञ्चालन गरिएको छ रेडियो नेपालको केन्द्रिय कार्यलय सिंहदरवार, काठमाण्डौंमा रहेकोछ भने संघीयताको अवधारणा अनुसार २०७४ भदौ ७ गते देखि सातै प्रदेश (धनकुटा, वर्दिवास, पोखरा, काठमाण्डौं, दाङ, सुर्खेत र दिपायल) मा प्रादेशिक प्रसारण कार्यालयहरु संचालनमा रहेका छन् । ती प्रादेशिक प्रसारण कार्यालयहरु अन्तर्गतएफ.एम. रिले प्रसारण केन्द्रहरु देशका विभिन्न स्थानहरुमा गरी जम्मा २७ स्थानमा रहेका छन् । यीवाहेक रेडियो नेपाल प्रसारण केन्द्रहरु (धरान, भैसेपाटी र खुमलटार)पनि संचालनमा छन् । केन्द्रिय कार्यालय र सातै प्रदेशका प्रादेशिक प्रसारण कार्यालयहरु रेडियो नेपालको आफ्नै भवनहरुमा रहेको कार्यालयहरुवाट संचालित छन् भने कतिपय रिलेएफ.एम. स्टेशनहरु चाहि विभिन्न निकायहरुसँग सहकार्य गरी टावर एण्ड पावर शेयरिङ्ग मोडेलमा पनि रहेका छन् । रेडियो नेपाल देशको राष्ट्रिय दायित्व र सार्वजनिक जिम्मेवारी पुरा गर्ने प्रसारण संस्था भएकोले पनि यसले शतप्रतिशत बजेट खर्च आफ्नै आम्दानीबाट धान्न सक्ने सम्भावना न्यून छ । विगत वर्षहरुको आय व्ययहरुलाइ विश्लेषण गर्दा रेडियो नेपाललको आम्दानीले कुल बजेटको बढीमा २० देखि ३० प्रतिशत खर्च मात्र धान्न सक्ने अवस्था छ । बांकी ७० देखि ८० प्रतिशत खर्च नेपाल सरकारवाट उपलव्ध हुँदै आएको छ । तसर्थ, रेडियो नेपालको बजेटको ठूलो हिस्सा नेपाल सरकारवाट व्यहोरिदै आएको पाइन्छ ।
समाचार र कार्यक्रम
बिहानी सेवा, दिवा सेवा, वेलुकी सेवा र रात्रीकालिन सेवा २४ सै घण्टा मध्ये विहान ५ वजे देखि दिउंसो २वजेको समाचारसम्म केन्द्रीय प्रसारण र २ वजे देखि ६ वजेसम्म ४ घण्टा प्रादेशिक प्रसारण र त्यसपछि राति ११.०० वजे सम्म वेलुकी सेवा र राति ११ बजे पछि भोलिपल्ट विहान ५ वजे सम्म रात्रीकालिन सेवा गरी २० घण्टा केन्द्रीय प्रसारण संचालनमा छ । रेडियो नेपालबाट घण्टा÷घण्टामाजिरो आवरमासमाचार वुलेटिनहरु प्रसार हुने गर्दछ । केन्द्रवाट वाहेक प्रादेशिक प्रसारणवाट पनि आ–आफ्ना प्रदेशहरुमा तोकिएका भाषाहरुमा समाचार तथा कार्यक्रम प्रसार गर्ने व्यवस्था छ । यसरी समग्रमा हेर्दा हाल रेडियो नेपालबाट २१ भाषामा समाचारहरु र २० भाषामाकार्यक्रमहरु प्रसारण भैरहेकाछन् ।यस्तै रेडियो नेपालले विविधथरीका र फरकफरक स्वादका शैक्षिक, जनचेतनामूलक, विकासनिर्माण र मनोरञ्जनप्रद कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । रेडियो नेपालले आफ्नो प्रसारण समयको करिव ७० देखि ७५ प्रतिशत समय राष्ट्रियदायित्व र नागरिक प्रतिको जिम्मेवारीवोधका सेवामूलक कार्यक्रम उत्पादनमा खर्च गर्दछ भने वांकी २५ देखि ३० प्रतिशत समय मात्र वाह्य संघसंस्थावाट प्रायोजन तथा अन्य विविध सूचना, सन्देश जानकारी प्रसारणका लागि उपलब्ध गराएको पाइन्छ । त्यसैले गर्दा रेडियो नेपाल कार्यक्रम उत्पादन र प्रसारण तथा पहुंचका हिसावले पनि विगत वर्ष देखि नै सार्वजनिक प्रसारण माध्यमको पक्षपोषणगर्दै आएको छ । यसरी नै रेडियो नेपालले गीत सङ्गीतको संरक्षण तथा सम्वर्धन, नवप्रतिभाहरुको स्वर परिक्षा, विभिन्न राष्ट्रिय पर्वहरुमा गीत सङ्गी प्रतियोगिता तथा संगीत प्रशिक्षणकक्षा समेत संचालन गर्दै आएको छ ।
भोलिको बाटो
विगत २०४१ सालदेखि हाल सम्म विकास समिति २०१३ को कानूनी संरचनामा सञ्चालन हुँदै आएको रेडियो नेपाल अवका दिनमा पनि यहि संरचनामा यसरीनै सञ्चालन गर्दा “राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार” रेडियो नेपालको प्रसारणको समग्र लक्ष्य र उद्देश्य प्राप्त हुनमा कठिनाइ भइरहेको यथार्थलाइ आत्मसाथ गरी निम्न २ विकल्पहरु सहित अगाडि बढाउन सकिने सम्भावना देखिन्छ । जुन आंशिक रुपमा कार्यान्वयन पनि हुँदै गइरहेको पाइन्छ ।
१. विद्यमान कानूनी संरचना पूर्ण रुपमा परिवर्तन गरेर ।
२. विद्यमान कानूनी संरचनामानै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रमहरु सञ्चालन गरेर ।
१. विद्यमान कानूनी संरचना पूर्ण रुपमा परिवर्तन गरेर
वि.सं. २०४७ सालको राजनैतिक परिवर्तन पछि नेपालमा पे्रस स्वतन्त्रता र प्रसारण क्षेत्रमा द्रुत्तदर विकास भएको देखिन्छ । यस्तै २०६२÷०६३ सालको युगान्तकारी परिवर्तन पछि जनताको बढ्दो आकाङ्क्षालाइ सम्बोधन गर्न पनि नेपालमा आम सञ्चार माध्यमहरुको क्षमता अभिवृद्धि र प्रतिस्पर्धा निकै बढ्दो छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था लागू भएपछि संविधानमा उल्लेख भए बमोजिमका सूचनाको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक लगायतका प्रावधानहरुलाइ व्यवहारमा उतार्न पनि सञ्चार माध्यमहरु सम्बन्धी कानूनलाइ सरलीकृत, एकीकृत र संहिताकरण गर्ने कार्यमा बढोत्तरी भएको पाइन्छ ।
रेडियो नेपाल हाल विकास समिति ऐन २०१३ अनुसार गठित समिति भएकोले सीधा सरकारको मातहतमा छ तसर्थ नियमन पनि सरकारकै हातमा हुने नेैे भयो । तर २१ औं शताव्दीमा संचार माध्यम सरकार आफैले संचालन गर्नुभन्दा अर्कै स्वतन्त्र निकायद्वारा संचालन गरिनु अब्बल मानिन्छ । तसर्थ सार्वजनिक प्रसारण सेवामा रुपान्तरण भएपछि रेडियो नेपाल प्रत्यक्ष रुपमा राज्यको हातमा जान्छ भन्ने सोच हो । सरकारी संचार माध्यमलाई सरकारको नेतृत्व गर्नेले राजनितिक रुपमा निर्देशित गर्न सक्ने संभावना रहन्छ तर सार्वजनिक प्रसारण सेवामा रुपान्तरण भइ सकेपछि स्वतन्त्र रुपमा वा संसदको मातहतमा रहेको संचालक परिषदवाट प्रसारण सेवा निर्देशित हुने हुँदा समाचार, कार्यक्रम तथा अन्य प्रसारित सामग्रीहरु नागरिकहरुको इच्छा, माग र चाहाना अनुसार उत्पादन गरिन्छ भन्ने मान्यता रहेको छ । हाल सरकारी संचारमाध्यहरु केही मात्रामा मात्र आफ्नो आयआर्जनवाट र नपुग वजेट सरकारवाट प्राप्त सरकारी रकमवाट संचालन भएको अवस्थामा छन तर सार्वजनिक प्रसारण सेवामा परिवर्तन भइसकेपछि राज्यले निर्देशित गरेको सार्वजनिक कोष वा जनताद्वारा सेवा शुल्क प्रदान गरेको कोष वा सिधै राज्यवाट प्राप्त कोष वा मिश्रित सार्वजनिक कोषवाट संचालन गरिने हुँदा सार्वजनिक सेवामा नागरिकहरु र राज्यको सम्वन्ध नङ र मासु सरह रहन्छ । सार्वजनिक प्रसारण सेवा स्वायत्त, जनताप्रति उत्तरदायी र स्वार्थवाट मुक्त रहन सक्ने अपेक्षा गरिन्छ ।
यसै परिप्रेक्षमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण माध्यमको रुपमा विकास गर्न विविध खाका सहितका मस्यौदहरु÷प्रतिवेदनहरु र सुझावहरु प्राप्त हुँदै आएका छन् । यसै सन्दर्भमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई हालका संरचनाबाट रुपान्तरण गरी सार्वजनिक प्रसारण माध्यमको भूमिकामा लैजान २०६३ पौषमा गठित सरकारी सञ्चार माध्यमको पूनर्संरचना र स्वायत्तता सम्बन्धि कार्यदलको प्रतिवेदन, २०६३ भदौमा गठित उच्च स्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन,मिडिया फर पिस प्रोजेक्ट (जाइका २०१०-२०१३) राष्ट्रिय आम सञ्चार नीति २०७३, पि.एस.वि. कार्यदल प्रतिवेदनहरु (निर शाह २०७३ र रघु मैनाली २०७५) लगायतका विभिन्न आयोग र कार्यदलहरुले पनि सुझाइसकेका छन् । यस्तै नेपाल सरकारको आर्थिक वर्ष २०७१/०७२ को बजेट वक्तव्य मार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनको वर्तमान संरचानालाईपरिवर्तन गरी सार्वजनिक प्रसारण सेवाको रुपमा विकास गर्ने योजना अनुरुप पनि नेपालमा आवश्यक सार्वजनिक प्रसारण सेवाको संस्थागत संरचना, ऐन नियम र आवश्यक कानूनी व्यवस्थाको प्रस्ताव गरिसकेको छ ।
यसरी समयको अन्तरालमा पटक पटक आयोग र कार्यदलहरु निर्माण हुँदै सुझावहरु प्राप्त हुने क्रममा हरेक पटक रेडियो नेपाल र नेपाल टेलिभिजनलाई हालको संरचानाबाट रुपान्तरण गरी सार्वजनिक प्रसारण सेवा मार्फत एउटै छाता मुनि संचालन गर्ने गरी हरेक नागरिकको पहुँच राज्यको शत प्रतिशत भूभागमा सार्वजनिक प्रसारण सेवा उपलब्ध हुनुपर्ने गरी व्यवस्था हुन पटक पटकका कार्यदलहरुको राय परामर्श प्राप्त हुने क्रममा हाल सार्वजनिका सेवा प्रसारण सम्बन्धी कानूनलाई शंसोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समिति सम्म पुगेको छ । यो विधेयक प्रतिनिधि सभाबाट छलफल पश्चात पारित भएपछि मात्र सार्वजनिक सेवा प्रसारण सम्बन्धी ऐन जारी हुनेछ । त्यसपछि मात्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पूर्ण रुपमा सार्वजनिक सेवा प्रसारणकै रुपमा सञ्चालन गर्न सकिने छ । हाल रेडियो नेपालले सार्वजनिक सेवा प्रसारणकै प्रारम्भिक स्वरुपमा आफ्नो नियमित प्रसारणलाई विकास र विस्तार गर्दै लगेको हुँदा भोलिका दिनमा हुने सार्वजनिक सेवा प्रसारण सम्बन्धी व्यवस्थामा रुपान्तरण हुन खासै समस्या रहने देखिदैन किनकि सन १९९० को दशक देखि यताविश्वका धेरै मूलुकहरुमा रहेका सार्वजनिक प्रसारण सेवासंग सम्बन्धित संस्थाहको सहभागीतामा गोष्ठी, सेमिनार र सम्मेलन र बैठकहरुबाट प्रतिपादन भएका सिद्धान्तहरुसहित ब्चतष्अभि ज्ञढ नामक अन्तर्राष्ट्रिय संस्थाले तय गरेका मापदण्डहरुसंग मिल्दा जुल्दा विशेषताहरुमध्ये भौगोलिक क्षेत्र र प्रविधिका आधारमा रेडियोको पहुँच समग्र नागरिकहरुमा हुनु पर्ने, प्रसारण गरिने सामाग्रीहरु चाख र स्वादका हिसावले गुणस्तररियता र प्रभावकारिताका दृष्टिले कार्यक्रम प्रकारका हिसावले पनि विविधतापुर्ण देखिनुपर्ने, यो प्रसारण सेवा सरकार र व्यापरिक वर्ग लगायत अन्य कुनै स्वार्थ राख्ने वर्गका निहित स्वार्थबाट मुक्त भई सार्वजनिक प्रसारण सेवा स्वायत्त र उत्तरदायी हुनुपर्ने, उत्पादित सामाग्रीहरु (समाचार, कार्यक्रम र श्रव्य सामग्री) निष्पक्ष, सन्तुलित, वस्तुपरक र सत्यतथ्यमा आधारित हुनुपर्ने, उत्पादित सामाग्रीहरुले अल्पसंख्यक, लोपोन्मुख, पिछडिएको वर्ग, जाति, भाषा, क्षेत्र, संस्कृति आदिको पहिचान, संरक्षण र सम्वद्र्धन गर्न सक्नुपर्ने, सार्वजनिक प्रसारण सेवाले समग्र राष्ट्रको÷क्षेत्रको पहिचान र संस्कृतिको जर्गना गर्दै तिनको विकसमा सघाउन सक्नुपर्ने, यस प्रकारका सार्वजनिक प्रसारण सेवाहरु राज्यले सार्वजनिक कोष वा नागरिकहरुद्धारा प्रदत्त सेवा शुल्कद्धारा स्थापित कोषद्धारा संचालन गरिनु पर्ने लगायतका विषयवस्तुहरु रेडियो नेपालले विगत वर्षहरुदेखि नै आफ्ना कार्यक्रम समाचार तथा प्रसारण प्रविधिमा प्रयोग गर्दै आइरहेको कार्यहरुसंग मेल खान्छन्, केवल यिनिहरुलाइ सार्वजनिक सेवा प्रसारणसम्बन्धि कानूनी रुपबाट पूर्णता दिन बाँकी छ ।
यी सिद्धान्तहरुको मनन् गर्दा अहिलेको रेडियो नेपालसार्वजनिक प्रसारण सेवा उन्मुख छ, यसका कार्यक्रमहरु÷समाचारहरु र अन्य श्रव्य सामाग्रीहरुमा सार्वजनिक प्रसारण सेवाको झलक वा स्वरुप सुन्न पाइन्छ तर शतप्रतिशत सार्वजनिक प्रसारणमा हुनु पर्ने खुराकहरु र योग्यताहरु/मापदण्डहरु/गुणहरु चाहिं कानूनी संरचनामा परिवर्तन भएपछि मात्र लागु हुँदै जाने छन् । यसवाहेक सार्वजनिक प्रसारण सेवा जनहितकारी र लोक कल्याणकारी भएकोले पनि यस्तो सेवामा रेडियो नेपाल रुपान्तरण हुनु आवश्यक छ । साथै सार्वजनिक प्रसारण सेवा सवैका लागि र सधैका लागि भन्ने आधारभूत/मूलभुत सिद्धान्तहरुको पालना गर्न र सवै नागरिकको रेडियो, राज्यको रेडियोको रुपमा रहन पनि नेपालमा सार्वजनिक प्रसारण सेवा आवश्यक परेको हो ।
राष्ट्रिय आमसंचार नीति २०७३ मा उल्लेख भएअनुसार “सार्वजनिक प्रसारण सेवाले कुनैे व्यक्ति वा समुदाय उपर कुनै भेदभाव विना राष्ट्रिय एकता, लोकतान्त्रीक मूल्य र व्यवसायिक पत्रकारिताको स्थापित मान्यता अनुरुप समाचार तथा कार्यक्रमहरु उत्पादन र प्रसारणको व्यवस्था मिलाउने, आदिवासी, जनजाति, दलित, मधेसी पिछडिएको क्षेत्र, महिलाको स्वामित्व वोध र सम्मान गर्ने खालका कार्यक्रम प्रसारण गर्ने तथा नेपालको सवै भुभाग र अन्तराष्ट्रिय क्षेत्रमा समेत पहुँच पुग्ने गरी प्रसारण हुने र निश्चित वजेट सरकारवाट व्यवस्था गरी जनताप्रति उत्तरदायी वनाउने जस्ता कामहरु गर्ने निश्चित गरिएका छ जुन रेडियो नेपालले आफ्नो स्थापना कालदेखि नै अवलम्बन गर्दै आएको नीति हो । यसैले गर्दा पनि होला राष्ट्रिय आम सञ्चार नीति २०७३ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रुपान्तरण गरी सार्वजनिक सेवा प्रसारणमा लैजाने विषय उल्लेख भएको देखिन्छ ।
यसरी रेडियो नेपालले गर्दै आएका प्रसारणसंग सम्बन्धित तमाम क्रियाकलापहरु पनि सार्वजनिक सेवा प्रसारकले गर्ने जस्तै भएकोले गर्दा यस संस्थालाइ सार्वजनिक प्रसारण संस्थामा. याथाशिघ्र रुपान्तरण गर्न सक्नुनै रेडियो नेपालको भोलिको बाटोको एउटा विकल्प हुन सक्छ ।
२. विद्यमान कानूनी संरचनामानै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रमहरु सञ्चालन गरेर ।
विकास समिति ऐन २०१३ अन्तर्गत गठित रेडियो प्रसार सेवा विकास समितिको काम, कर्तव्य र अधिकार अन्तर्गत समितिको लागि नीति निर्धारण गर्ने तथा व्यवहारिक एवं वैज्ञानिक रुपबाट प्रसार गर्न आवश्यक पर्ने अनुसन्धान र अध्ययन गर्ने, गराउने लगायतका कामहरुको बारेमा उल्लेख गरिएका हुँदा हालको कानूनी संरचनामानै रहेर पनि थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर अवको दिनमा रेडियो नेपाललाई प्रभावकारी रुपमा सञ्चालन गर्ने दाश्रो विकल्प हुन सक्दछ । नेपाल सरकारले रेडियो नेपालको संचालन चालु खर्च र पूँजिगत खर्चमा दिंदै आएको अनुदानको अतिरिक्त रेडियो नेपाल आफैंले रेडियो प्रसारणसंग सम्बन्धित कार्यहरु मार्फत रेडियो नेपालको कार्यक्षेत्र विस्तार गरी विस्तारित कार्यक्रमहरु सञ्चालन गर्दै जाने क्रमको एउटा उदाहरण हो तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम स्थापना तथा सञ्चालन निर्देशिका २०७८ मार्फत विराटनगरमा सञ्चालन हुँदै आएको सञ्चारग्राम । यस्तै प्रकारका अन्य विस्तारित कार्यक्रमहरु जस्तैः रेडियो एकेडेमी स्थापना (रेडियो प्रसारणसम्बन्धि अध्ययन अनुसन्धान तथा रेडियो प्रसारण प्रविधि, कार्यक्रम उत्पादन, सङ्गीत प्रशिक्षण लगायतका अल्पकालिन र दीर्घकालिन तालिम कार्यक्रमहरु सञ्चालन), रेडियो संग्रहालय (रेडियो प्रसारणसंग सम्बन्धितऐतिहासिक सामग्रीहरुको विगतदेखि वर्तमान सम्मकोे संकलन र प्रदर्शन), आदि । हालको विज्ञापन व्यापारका अतिरिक्त डिजिटल प्लेटफर्ममार्फत ई.—विजिनेशको थालनी (रेडियो नेपालका पुराना र नयाँ गीत सङ्गीत तथा श्रव्य सामग्रीहरुलाई ओ.टी.टी. एप्स मार्फत विश्व बजारीकरण गरी थप आय आर्जन), व्यवसायिक डिजिटल स्टुडियो स्थापना (केन्द्रीय तथा प्रादेशिक प्रसारण केन्द्रहरुमा व्यवसायिक डिजिटल रेकर्डिङ्ग स्टुडियो स्थापना गरी व्यवसायिक उत्पादन, स्टुडियो भाडा वा तेश्रो पक्षबाट सञ्चालन गर्ने गराउने व्यवस्था) र दोश्रो च्यानलको शुरुवात (हालको केन्द्रीय र प्रादेशिक प्रसारणका अतिरिक्त दोश्रो च्यानलका रुपमा म्युजिक/न्यूज/स्पोर्टस आदि च्यानलहरुको शुरुवात) हुन सक्दछन् ।
यो दोश्रो विकल्पका लागि रेडियो नेपालले संस्थागत सुधार जस्तैः प्रसारण सामग्रीमा विविधता, प्रतिस्पर्धी जनशक्ति र समयानुकुल डिजिटल प्रविधि प्रयोग गर्दै आफ्ना प्रसारणमा अझ निखार ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ जसका लागि रेडियो नेपाल प्रयत्नशिल देखिन्छ । त्यस्तै हाल रेडियो नेपालले प्रारम्भ गर्दै आइरहका आफ्ना पुराना तथा नयाँ गीत सङ्गीत लगायतका श्रव्य सामग्रीहरुलाइ डिजिटल प्रविधि मार्फत व्यवसायीकिकरण गर्ने जसबाट रेडियो नेपाललाई आय आर्जनका अतिरिक्त रेडियो नेपालका उत्पादनहरुले विश्व बजारसम्म पहुँच राख्न सक्ने सम्भावना देखिन्छ ।
यी आन्तरिक कार्यक्षेत्रको विस्तार तथा सुधारका लागि अतिरिक्त रेडियो नेपालको चल÷अचल सम्पत्ति जग्गा/जमिन, भवन/प्रसारण उपकरण आदिको व्यवसायिक रणनितिक योजना मार्फत थप नीति नियम बनाई हालको समितिको कार्यक्षेत्र समेत विस्तार हुने गरी प्रसारणसंग सम्बन्धित कार्यहरु बाहेक अन्य कार्यहरु जस्तै प्रयोगमा आउन नसकेका जग्गा/जमिन/भवनहरुको बहुपक्षिय उपयोग हुन सक्ने गरीदोश्रो पक्षलाई उपयोग गर्न दिएर थप आय आर्जन गरी हालकै कानूनी संरचना भित्र रहेर पनि सञ्चालनमा विशिष्ठता कायम गर्न सकिने अवस्था छ ।
यसरी अहिले रेडियो नेपाललाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको तोकिएको अनुदान र रेडियो नेपालले रेडियो कार्यक्रम/विज्ञापन/प्रायोजनमार्फत आर्जन गरेको सिमित आम्दानीका कारण हाल रेडियो नेपाल सञ्चालनमा देखा पर्न थालेका अर्थिक समस्या तथा समसामयिक चुनौतीहरुलाइ सामना गर्न र समाधान तर्फ लैजान पनि थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर पनि अघि बढ्न सकिने यो दाश्रो बैकल्पिक व्यवस्था हुन सक्दछ ।
उल्लेखित विकल्पहरुमा सरोकारवाला सबै निकायहरुको पहलकदमी र समन्वय अनि रेडियो नेपाल आफैंको अग्रसरता र क्रियाशीलता पनि उत्तिकै जिम्मेवार पक्षहरु हुन सक्छन । हालसम्मका गतिविधिहरु हेर्दा रेडियो नेपालको भोलिको बाटोको विकल्पको रुपमाविद्यमान कानूनी संरचनामानै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रमहरु सञ्चालन गरेर वाविद्यमान कानूनी संरचना पूर्ण रुपमा परिवर्तन गरेर अघि बढ्न सक्ने गरी सार्वजनिक प्रसारणको बाटोमा रेडियो नेपाललाई राष्ट्रिय रेडियो राष्ट्रको सञ्चारको रुपमा प्रभावकारी र गतिशिल प्रसारण माध्यममा विकास र विस्तार गर्न सकिन्छ भन्ने विषयमा दुई मत नहोला ।
अन्त्यमा, ७२ वर्ष सम्म आइपुग्दा रेडियो नेपाललाई विगत देखि वर्तमानको अवस्था सम्म ल्याउनमा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले साथ सहयोग दिनुहुने सबै समादरणीय श्रोता, सरोकारवाला र नागरिक समाज सबैप्रति एकमुष्ठ आभार प्रकट गर्दै, भोलिका दिनमा समेत यसप्रकारको सहयोग र समन्वयका अतिरिक्त समसायिक सल्लाह र सुझावको अपेक्षा पनि राख्दछु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)