ती सुवास नेम्वाङ, यी अमित ढकाल र म टंक पन्त
टंक पन्त
एमाले र माओवादी केन्द्रबीच जति हतारमा एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो, त्यत्तिकै हतारमा विभाजन पनि । र, जनप्रतिनिधिमुलक निकाय प्रतिनिधी सभा यो विवाद र विभाजनको शिकार भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि गत आम निर्वाचनमा सबैभन्दा ठुलो बनेको पार्टी नेकपा विभाजित हुनुले आमनागरिकमा नैराश्यता उत्पन्न भएको छ । वास्तवमा कुनै पनि पार्टी विभाजित हुनु देश र जनताका लागि राम्रो होइन । विगतमा पनि विभिन्न कारण देखाएर समयभन्दा अगावै संसद्लाई आर्यघाट पु-याइएको थियो तर आम नेपालीले देशका लागि त्यो घातक भएको महसुस गरेका थिए । नागरिक महसुसलाई सविधानसभाबाट सविधान बनाउन दिलोज्यानले लागिपरेका सबैले गहिरोसँग अनुभुति पनि गरेका थिए । त्यसैले पनि जनताले दिएको मतलाई ५ बर्षसम्म उपयोग गर्न पाउने गरी अर्थात निर्वाचनपछि चयन हुने प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको खण्डमा बाहेक संसद् विघटन हुनुहुँदैन भन्ने मनसाय सविधान निर्माताहरुले राखेका थिए ।
सविधानसभाको दुई कार्यकालको समय अवधिका कुनै पनि बैठक, कुनै पनि समिति र अन्य औपचारिक–अनौपचारिक गृहकार्यका बैठकहरुलाई आफु संसदीय पत्रकारको हैसियतले नछुटाएकाले सकेसम्म संसद अकालमै मृत्युशैय्यामा नपुगोस् भन्ने आशय सबैको जस्तै मेरो पनि थियो । र, सविधानसभाका अध्यक्ष सुवास नेम्वाङ पनि निकै पत्रकारमैत्री थिए । यसर्थ पनि पत्रकारहरुलाई संसदीय रिपोर्टिङ धेरै सहज पनि भएको थियो ।
उनले संविधान निर्माणका लागि कसरी सहयोग पुग्न सक्छ भनेर औपचारिक रुपमा भन्नु पर्ने कुरा औपचारिक रुपमा भन्थे । र, अनौपचारिक रुपमा भन्नु पर्ने कुरा कोट नगर्ने गरी ‘स्रोतका अनुसार है’ भनेर पनि पत्रकारहरुलाई सुचनासामग्री दिन्थे । त्यसले गर्दा संविधानसभामा अधिकांश पत्रकारले सविधान जनताको पक्षमा बनोस्, दीर्घकालसम्म टिक्ने बनोस् भन्ने अभिप्रायले रिपोटिङ गर्ने गर्थे । मिडिया हाउसको पनि सोही बमोजिमकै भुमिका थियो । ‘स्रोतका अनुसार है’ भनेर सविधानसभा अध्यक्ष नम्वाङले पत्रकारहरुलाई सामग्री दिनुको आशय संविधान राम्रो बनाउन पत्रकारहरुको भुमिका सकारात्मक होस् भन्ने उदेश्यमा केन्द्रित थियो ।
संविधानसभाका दुई कालभरमात्र होइन, अन्तरिम संसदका बेला पनि प्राय महत्वपुर्ण घटनाक्रमका समयमा दैनिकजसो सुवास नेम्वाङसँग पत्रकारहरुको एकै छिन भए पनि भेटघाट हुने गथ्र्यो र कहिलेकाहिँ भेट भएन भने पनि हामीले फोनमा पनि सम्पर्क गर्ने गथ्र्यौं । उनले हामीसँग जहिले पनि भन्ने गर्थे, ‘संसदले निर्धारित समयावधि पुरा गर्न पाउनुपर्छ । संविधानसभाले बनाउने संविधान सोही अनुरुपको हुनेछ ।’ र, संविधानमा सोही बमोजिमको व्यवस्था गरिएको कुरा संविधान जारी भएपछि उनले नै हामी पत्रकारहरुलाई बडो खुशीसाथ बताएका थिए । संविधान निर्माणकै समयमा संविधानको धारा ७६ बारे नेम्वाङले गरेको व्याख्या अहिले झलझली सम्झिरहेको छु ।
संसद विघटन बेठिक वा ठीक भन्ने भन्ने हैसियतको म नहुन सक्छु तर सविधान निर्माणका समयमा अधिकांश सविधान निर्माता जनप्रतिनिधिले व्यक्त गरेको भावना र आशयको सम्झना गरेको मात्रै हो । त्यो पनि अस्ति मात्रै सेतोपाटीका प्रधानसम्पादक मित्र अमित ढकालजीले सविधानसभाका अध्यक्ष सुवास नेम्वाङ नेम्वाङज्यूलाई लेखेको चिठीले सविधानसभा निर्माणका सन्दर्भमा भएका छलफल र नेम्वाङले वयक्त गरेका विचारहरु मेरो मानसपटल वरिपरि घुमिरहेपछि केही लेख्न मन गरेको हुँ । र, केही थप प्रसंग सम्झन खाजेको हुँ ।
सेतोपटीमा प्रकाशित पत्रकार मित्र ढकालजीको संविधानसभाका अध्यक्षलाई लेखेको चिठीकै प्रसंगमा पत्रकार एवं लेखक मित्र अशोक सिलवाल र म छलफल गर्दै थियौं । सिलवालजीले थप स्मरण लेख्नुपर्छ भन्ने कुरामा जोड दिए । पत्रकारका लागि त्यो आफैमा सकारात्मक पक्ष पनि हो ।
संयोग पनि कस्तो भने सेतोपाटीका प्रधानसम्पादक ढकाल र हामी कलेज पढ्दा एउटै घरमा तलमाथि बस्थ्यौं । काठमाडौको मुटु भए पनि अनामनगरछेउको त्यति बेला वास्तवमै दुर्गम मानिने घटेकुलामा रहेको बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको पहिलेको घरअगाडिको घरमा हामी डेरावाल थियौं । बार्दलीबाट दैनिक हरिवशंसँग हेलोहाई हुन्थ्यो । हरिवंश र उनकी धर्मपत्नी मीरा हामी कलेज पढ्नेलाई ‘राम्रो गर्नुपर्छ है’ भन्थे । हरिवंशले पारीपट्टिको घरबाट ‘के छ भाइहरुको खबर ?’ भनी सोध्ने गर्थे ।
कृष्णप्रसाद पन्थ दाजु, भाइहरु महादेब पन्थ, रेवती पन्थ, रवि पन्थ र म एउटै कोठामा बस्थ्यौं । म कलेज पढ्दा नै समाज दैनिकमा जान थालेको थिएँ । त्यसैले तलमाथि बस्ने सबैले पत्रकारजी भन्ने पनि गर्थे । अमित ढकाल र उनका दाजु राजेश ढकाल हामीभन्दा माथिल्लो कोठामा बस्थे । अमितजी अमृत साइन्स कलेज पढ्थे । उनंले त्यतिखेरै मलाई ‘के छ पत्रकारजी खबर ?’ भन्ने गर्थे ।
म दैनिक समाजमा काम गर्न थालेकोले त्यसो भनेको होला भन्ने हुन्थ्यो । र, आनन्द पनि लाग्थ्यो । र साँच्चै ‘पत्रकार’ हुने नै भएँ कि क्या हो भन्ने भान हुन्थ्यो । अमितका दाजु आरआर कलेजमा मभन्दा सिनियर थिए भने अमितजीले एभरेष्ट हेराल्ड अग्रेजी दैनिकबाट पत्रकारितातिर सक्रियता सुरु गरे । उनका दाजु राजेश शैक्षिक व्यवसायतिर लागे ।
हामीसंगै बसेका कष्ण दाजु अहिले गृहमन्त्रालयमा हुनुहुन्छ भने महादेव पन्थ, रबि पन्थ प्रदेशका मन्त्रालयमा सचिव छन् । रेवती पन्थ दुरसंचार प्राधिकरणमा छन् । सोही घरमा माथिल्लो तलामा बस्ने देबबहादुर बोहरा प्रहरी प्रधान कार्यालयमा एसएसपी छन् । सोही घर बस्ने मणि गौतम चिकित्सक छन् भने उनका दाजु बाबुराम गौतम निजामति क्षेत्रमै उच्चाधिकारी छन् ।
मैले उल्लेख गर्न खोजेको के भने हामी कलेज पढ्न शुरु गर्दा बहुदलीय व्यवस्थाको लागि संघर्ष हुदै थियो । त्यो संघर्षमा अमित ढकालजी र हामी पनि विधार्थीका हिसाबले एउटै उद्धेश्यका लागि लागेका थियौ । खासगरी प्रजातन्त्रका लागि नै हामी एक थियौ । निश्चय नै विचारका हिसाबले फरक रहे पनि पत्रकारिताको मैदानमा भने व्यवसायिकताको पक्षमा एक भयौ र अहिले पनि त्यो क्रियाशीलतामा कमी आएको छैन । र, व्यवसायिक पत्रकारिताका लागि हामी सँगै छौ । त्यसैले पनि संविधानसभाका अध्यक्षलाई उनले लेखेको चिठ्ठी पढेपछि मलाई केही स्मरण लेख्न मन लागेको हो ।
लोकतन्त्र र मानव अधिकारका लागि निरन्तर क्रियाशील हुनु नै सचेत नागरिकको धर्म हो । म जहिलेदेखि पत्रकारितामा लागेँ, त्यसैमा निस्वार्थ लागिरहेको छु । मलाई पत्रकारिता क्षेत्रमा ल्याउन बरिष्ठ पत्रकार मणिराज उपाध्यायको जति योगदान रह्यो, त्यत्तिकै रुपमा पत्रकारिताबाटै टंक पन्तको नामबाट मलाई परिचित बनाउन नेपाल समाचापत्र र त्यसका संस्थापक प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको प्रमुख भुमिका रहेको छ ।
पत्रकारिता गर्न थालेपछि मेरो गाउँ गुल्मीको बलेटक्सार, दार्सिबास जाँदा शुरु शुरुमा ‘पत्रकार भैइएछ नि !’ भन्ने गर्थे । मैले पनि गाउँको खबर अखबारमा छाप्दा निकै चर्चा हुने गथ्र्यो । वास्तवमा भन्ने हो भने मैले रत्नराज्य कलेजमा पत्रकारिता नै पढेको भए पनि पढ्न शुरु गर्नासाथ पत्रकारिता गरिएला भन्ने थिएन । घर गएको बेला लिएर आएको थोरै पैसा निकै धौधौसाथ चलाउनुपर्ने भएपछि जे गर्न पाए पनि गर्न हुन्थ्यो भैरहेका बेला थियो त्यो । आरआरमै संगै पढ्ने मित्रहरु सोमराज लुईंटेल, घमराज लुईंटेल (जो दैनिक समाजमा कम्पोजर थिए) हरुसँग कलेजबाट घर फकिैने बेला कहिलेकाहिँ म पनि डिल्लीबजार बाटुलेघरनेर दैनिक समाजको कार्यालयमा पस्ने गर्थें, जहाँ बरिष्ठ पत्रकारहरु राजेन्द्र दाहाल, मोहन मैनाली, रघु मैनाली पनि भेट हुन्थे । उनीहरुलाई देखेर आफुले पनि केही गर्न शुरु गरिहाल्न पाए हुन्थ्यो भन्ने भैरहेको थियो । नभन्दै सोम लुईंटेलजी र घमराज लुईंटेलजीले ‘यतै काम गरौं’ भने ।
दैनिक समाजका व्यवस्थापक ब्रजेश शर्मा दाइले पनि निकै सौहार्दतापुर्बक प्रुफ हेर्ने जिम्मेवारी दिए । मित्र लुइटेलजीहरुले कम्पोजसंगै समाचार लेख्थे भने मैले पनि प्रुफ हेर्ने कामसंगै न्यूज रिपोर्टिङ पनि गर्न थालेँ । त्यति बेला मैले मासिक एक हजार रुपियाँ पाउथे । पछि प्रुफ हेर्न छोडेर न्यूज मात्र लेख्न थालेँ । मित्र लुइटेलजीहरुले पनि कम्पोजरको छाडे ।
संसदको रिपोर्टिङ घमराज लुइटेलजी र मैले पालैपालो गथ्र्यौं । त्यतिखेर थोरै मात्र पत्रपत्रिका र पत्रकार हुने भएकोले साँसदहरु पत्रकार दीर्घातिर फर्केर बोल्ने गर्थे । र्दािर्सबास, दिगाममा पत्रकारिता गर्ने एक्लो थिएँ जस्तो लाग्थ्यो तर अहिले लोकान्तर अनलाइनमा महत्वपुर्ण जिम्मेवारसाथ क्रियाशील सुशील पन्तलगायतका एक दर्जन बढी दार्सिबास, दिगामका भाइबहिनीहरु पत्रकारितामा नै जमेर काम गरिरहेका छन् । मलाई गौरव अनुभुति हुन्छ ।
आफ्नै गाउँको खबर, आफैले पढेको स्कुलको समाचार प्रकाशन गरेर गाउँ पठाउँदा त्यसको रौनक यति धेरै हुन्थ्यो त्यसको कुनै सीमा नै छैन । झन्डै २९ बर्षअगाडि गाउँगाउँमा अहिलेजस्तो रेडियो टेलिभिजन र पत्रपत्रिका थिएनन् । अनलाइन त निकै पछाडिको कुरा भयो । त्यतिखेरको पत्रकारिता र आजको पत्रकारितामा आमुल परिवर्तन भएको छ ।
पत्रकारितामा जति आमुल परिवर्तन भएको छ, त्यो अनुसार व्यवसायिकता हुन अझै बाँकी नै छ । राजनीतिक चेतना पनि निकै बढेको छ तर नेताहरु नमिल्दा आम नागरिकहरुले जीवन परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । कम्युनिष्ट पार्टीले झण्डै दुइ तिहाई ल्याउँदा पनि जनप्रतिनिधिमुलक निकायलाई उपयोग गर्न सकेनन् । र, सर्वत्र निराशा छाएको छ । जनप्रतिधिमुलक निकायले तोकिएको समयसम्म किन काम गर्न पाएन ? कस्को कमजोरीले अहिलेको अवस्था आयो ? त्यो राजनीतिक बिश्लेषणको विषय होला तर संविधान निर्माण गर्ने जनप्रतिधिहरुको आशय सरकार बन्न नसक्ने र प्रधानमन्त्रीले बिश्वासको मत लिन नसक्ने अबस्था भएमा बाहेक ५ बर्षसम्म संसदले निर्वाध रुपमा जनताको पक्षमा काम गर्नुपर्छ भन्ने नै थियो ।