भाइरलः आधूनिक समाजको महारोग

तोकनारायण भुसाल
अर्घाखाँची, भुमिकास्थान न.पा. १, ओखटे

सामाजिक सञ्जाल आफैमा नकारात्मक हुँदैनन् । त्यसलाई हामी प्रयोगकर्ताले नै खराब बनाइरहेका हुन्छौं ।

हिजोआज सामाजिक सञ्जाल निकै धमिलो बनेको छ । गाली गर्ने, खुट्टा तान्ने, भए नभएको होहल्ला मच्चाउने, अनावश्यक नाटक मञ्चन गर्ने थलो बनेको छ । हामी एकअर्कालाई असल मित्र बनाउने र सामाजिक बन्ने अभिप्रायबाट सामाजिक सञ्जाल बनाइएका हुन् । एकातिर विचारहरुको मन्थनले एउटा युग बदल्न सक्छ भने अर्कातर्फ निराधार र असामाजिक शब्दहरू पोख्दै जाने हो भने हामी मानिसबाट बदलिएर जंगली हुन समय लाग्दैन ।

कतै कमेन्टमा गाली गरिरहेका हुन्छन्, मान्छेले मान्छेलाई मारिरहेका हुन्छन्, कतै मेलो बेब्बि, कतै मेलो बाबा भन्ने नौटंकीहरु चलिरहेका हुन्छन् । कतै युट्युव भर्सेस् टिकटकका झगडाहरुको आगो बलिरहेका हुन्छन् । एउटाले मरुन्जेल गाली गर्यो भने ऊ महान भइदिन्छ, एउटाले सामाजिक काम गरेको भिडियो हाल्यो भने ओहो त्यो देखाउनलाई हाल्यो भनेर त्यो नौटंकीहरुको लिस्टमा गैदिन्छ । एकले अर्काको खेदो खन्दैमा व्यस्त छन् मान्छेहरू । आफ्नै घरपरिवारको झगडामा पनि मान्छेहरू पत्रकार बोलाएर महान बन्न खोज्छन् ।

टिकटक हेरौँ, युट्युब हेरौँ, जहाँ शालिन र आवश्यक सन्देश प्रवाह गर्ने मीठा गीत संगीतको तुलनामा अभद्र, उत्तेजक, अश्लिल शब्दसंगीतहरुले व्यापक चर्चा पाएको देखिन्छ । अहिले चलेको ट्रेन्ड आफु भाइरल हुने चक्करमा मान्छे नाङ्गिन समेत पछि हट्दैनन् । यसै क्रममा कुनै ठाउँमा हामी घुम्न गयौँ भने घुमेर त्यो ठाउँको अवलोकन गर्ने, नयाँ नयाँ कुरा सिक्ने, मजा लिनेतर्फ भन्दा पनी हामी फोटोहरु खिच्ने, फोटो कस्तो आयो, टिकटक बनाउने भन्नेतर्फ लाग्छौ । अरे घुमेर त्यो ठाउँको मजा लिन र नयाँ नयाँ कुरा खोजी गर्नतिर पो लाग्नु पर्छ । तर हामी त्यसो गर्दैनौ किनकि हामीलाई भाइरल हुनुछ । फोटो, भिडियो, टिकटक कस्तो आयो भनेर त्यतातिर ध्यान दिन्छौं । मनोरञ्जन लिनुको सट्टा हामी सामाजिक सञ्जालमै झुण्डिरहेका हुन्छौं । आखिर हामी किन यतिसम्म निरहि बनिरहेका छौँ ? मान्छे दुर्घटनामा परेर छटपटाई रहेको हुन्छ तर हामी उसलाई बचाउनुको सट्टा मोबाइल फोनमा भिडियो खिचेर कसरी सबैभन्दा छिटो राखेर भाइरल हुन्छु भन्ने दौडधूपमा लाग्छौं । साँच्चै भाइरल हुने चक्करमा मानवता हराएकै हो त ? हामी मान्छेबाट किन दानव भइरहेका छौं ?

कुन कुरा कति बेला, कस्तो ठाउँमा, कस्तो परिस्थितिमा सामाजिक सञ्जालमा राख्ने भन्ने कुरा अधिकांशलाई थाहा नै छैन । अरूले गरेकै अनुसार आफु चल्ने नियममा बाँधिएका छन । अरूले गरेकै अनुसार आफु चल्ने नियमले नै मान्छेले आफ्नो कला चिन्दैनन् । सामाजिक सञ्जाल सहि तरिकाबाट चलाउने हो भने विश्व यसैमा छ तर गलत तरिकाबाट चलाउने हो भने छिनभरमै अपराधी बन्न पुगिन्छ ।

कसैले गलत गरेको देखेर, किन यसो गरेको सामाजिक सञ्जालमा भनेर भन्ने हो भने उसले उल्टै मलाई तल पार्न खोजेको भनेर बुझ्छ । कसैको गल्ती देखाउन खोज्नु उसलाई तल पार्न खोजेको हुँदैन, उसलाई सुध्रने मौका दिएको हो भन्ने कुरा बुझ्दैनन् । हो, कसैको व्याक्तिगत जीवनलाई हस्तक्षेप गर्न हुँदैन । उसले चाहेअनुसार बाँच्न दिनुपर्छ तर समाजमा बसिसकेपछि समाज एकातिर अनि आफु अर्कोतिर हुन खोज्नु भनेकै आफु पतन हुन खोज्नु हो । हामीले चलाउँदै आइरहेको टिकटकमा अहिले सबै बुढादेखि बच्चासम्म झुण्डिरहेका हुन्छन् । आफ्नो वास्तविक क्षमताभन्दा अलगै टिकटकमा जसो गर्छ आफु पनि त्यसै गर्ने भएकाले आफ्नो वास्तविक क्षमता चिन्दैनन् मान्छेहरू ।

कुनै थकानको बेला यसो मनोरञ्जन गर्ने एउटा एप हो टिकटक तर यहाँ मान्छेहरू आफु भाइरल हुने चक्करमा जस्तोसुकै, जे पनि गर्न तयार हुन्छन् । परिवारको साथमा हेर्न नसकिने भएको छ । सकारात्मकभन्दा बढी नकारात्मक कुराहरू धेरै देखिन लागेका छन् । हो, टिकटक बनाउनु नराम्रो होइन तर कुन बेला, कस्तो कुरा राख्ने भन्नेमा भर पर्छ । केटीमान्छे केटा बनेर राखेको छ, केटामान्छे केटी बनेर राखेको छ, कोही नाङ्गै भएर राखेको छ, कोही छाडा बोलेर राखेको छ, केटा केटा बिहे गरेर राखेको छ, केटी केटी बिहे गरेर राखेको छ। आखिर भाइरल हुने अन्य सकारात्मक कुराहरू पनि त छन् । जस्तै, समाजसेवा गर्ने, दुःखी पीडितलाई सहयोग गर्ने, बालबालिकाहरुलाई राम्रो ज्ञान दिने, अन्य थुप्रै कुराहरू छन् । तर मान्छेहरू गलत बाटो नै किन रोज्छन् ?

आफुले गर्ने हरेक कुरा होस् या काम, गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सोच विचार गरेर गर्नुपर्छ भन्ने ज्ञान सायद सबैमा विकास नभएको अनुभव गरेँ मैले । त्यसैले सामाजिक सञ्जालमा धेरै समर्पित नहौं । सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप नगरौँ, सबै सचेत रहौं । सकारात्मक सोचौं । एकपटक सबैले विचार गरौं ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button